एकीकृत नेकपा (माओवादी)का अध्यक्ष कमरेडले कार्यकर्तालाई 'शान्तिपूर्ण आन्दोलन गर्नू' भनेर निर्देशन दिएपछि उनका कार्यकर्ता स्तव्ध भए। कसैको टाउको फुटाउनै नपाउने आन्दोलन पनि के आन्दोलन? कोही अल्छी मान्दै मसाल जुलुसका लागि पुल्ठो बनाउन लागे। कोही हाई काढ्दै दोस्रो चरणको आन्दोलनको 'नारा' सोच्न लागे। अस्ति भरखर कालो मोसो दल्ने पुरानो कार्यक्रमबाट अग्रगामी छलाङ मार्दै भोजपुरे विद्यार्थी कमरेडले क्याम्पस प्रमुखको टाउकै फुटाई दिए। आन्दोलन नगर्दाको सामान्य परिस्थितिमा त विद्यार्थी कमरेडहरूको क्रान्तिकारिता त्यो हदको थियो भने आन्दोलन भनेपछि अलि गतिलै होलान्।
हुन त, अध्यक्ष कमरेडले आन्दोलनको सम्पूर्ण जिम्मेवारी लिन्छु भनिसके। आफ्ना छुक्छुके कार्यकर्ताले गर्नुसम्म गरिसकेपछि माफी माग्ने पुरानो शैली अब त्याग्नुहुन्छ त? अलि धेरै बदमासी भए घुसपैठ भयो भन्ने बानीको पनि अब हरिबिजोग नै हुने भयो त? कसैले सप्रमाण गल्ती औँल्याए शक्तिखोरका विविधलाई जस्तै पार्टीभित्र छानबीन हुँदैछ भन्ने सदाबहार थेगो हंगकङ तिरै छोड्या हो त?
कठपुतली सरकारको बहिष्कार गर्ने कार्यक्रम अन्तर्गत कालो झन्डा देखाउने कलामा माओवादी कार्यकर्ता निपुण भएछन्। कडा सुरक्षाबीच प्रधानमन्त्रीलाई बसन्तपुरमा कालो झन्डा देखाइदिए। खै, कुन मन्त्री हो (मन्त्री पनि अलिअलि भए पो चिन्नु?) की उपप्रधानमन्त्रीलाई घाँटीमा कालो झन्डाको मालै लगाउन भ्याए रे। पछिल्लो समयमा कालो झन्डादेखि माओवादी कार्यकर्तै वाक्क हुने भए क्यार। विगत पाँच महिनादेखि माओवादी निरन्तर आन्दोलनमा छ। कालो झन्डे आन्दोलनमा। कालो झन्डा देखाउने नि आन्दोलन हुन्छ? माओवादी कार्यकर्तालाई चित्त बुझेन जस्तो छ। चितवनमा कांग्रेसका नेता, कार्यकर्तालाई ढुँगा हानेर, घेरो हालेर र धम्क्याएर आच्छुआच्छु पारेर नयाँ चरणको आन्दोलन थाले।
अहिलेको सरकारलाई गन्दै नगन्ने माओवादी नीति छ। सरकार कठपुतली हो भन्ने तिनको ठम्याइ छ। एकीकृत माओवादीको चियापान कार्यक्रममा पनि प्रधानमन्त्रीलाई 'एमाले वरिष्ठ नेता' मात्रै लेखेर निमन्त्रणा पठाएछन्। प्रधानमन्त्री चियापानमा गएनन्। एमालेमा वरिष्ठ नेता अरु पनि छन्। माधव नेपाल नाउँ गरेको मान्छे त झन् छ्यास्छ्यास्ती भेटिन्छन्। प्रधानमन्त्री नभन्ने माओवादी नीति नै हो। माधव नेपाललाई निमन्त्रणा पठाउँदा 'संवैधानिक समितिका तत्कालीन सभापति' भनेको भए उपयुक्त हुने थियो। नेपाल संवैधानिक समितिको सभापतिमा मात्रै फिट छन्। किनभने माओवादीलाई त्यही ठीक लागेको थियो। माओवादीले ठीक भनेपछि ठीक। माओवादीले 'हरुवा' भन्यो भने त्यो पनि झन् ठीक। व्यवहारमा त्यही देखिँदैछ।
एकीकृत माओवादीले नागरिक सर्वोच्चता र राष्ट्रिय सरकारको माग राखेर कार्तिक १५ देखि दोस्रो चरणको आन्दोलन सुरु गरिसकेको छ। पहिलो दिन मसाल जुलुस गरे। रत्नपार्कमा आगो टेकेर आगै बोकेर आन्दोलनकारीले कुइरीमण्डल धुवाँ पारे। मसालका ठूल्ठूला पुल्ठा बनाउनेे सीप र लगानीले दुधकोशीमा एउटा सानोतिनो पुल चैं बन्थ्यो होला। हामीलाई त के र? मसाल जुलुसको छेउमा लुरुलुरु हिँड्दा न्यानो भयो। राँकाले पोल्ला कि भनेर अलिकति जोगिए पुग्यो। जंगलमा लुकिछिपी आन्दोलन गर्नेलाई काठमाडौंको खुला सडक सजिलो भएको भान हुन्थ्यो। सत्तामा गएपछि एकीकृत माओवादीका नेता, कार्यकर्ता सुविधाभोगी भए भन्ने सुनेको थिएँ। प्रचण्डलगायतका नेताले स्कर्टिङसहित गाडीका झ्यालबाट मसाल बाल्लान् जस्तो लागेको थियो। देखिएन।
ज्यान हत्केलामा राखेर देश र जनताको लागि लडेको मान्छेले भनेको मात्रै सबैले मान्नुपर्छ। बाह्र वर्ष युद्ध लडेर आएको पार्टीले जे जे भन्छ, अरूले मान्नैपर्छ नि। होइन त?