के समाजवाद? कस्तो समाजवाद?
२५ जेष्ठ २०७१
•
१५ मिनेट पाठ
के समाजवाद? कस्तो समाजवाद?
फरक धार र पृष्ठभूमिबाट विकसित नेपालका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र एनेकपा (माओवादी) यतिखेर करिबकरिब समान वैचारिक निष्कर्षमा आइपुगेका छन्। यी दुवै पार्टीका दृष्टिकोणमा नेपालमा 'पुँजीवादी–जनवादी क्रान्ति' आधारभूतरूपमा पूरा भएको छ।केही बाँकी कार्यभार छन्, जुन संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणसँगै पूरा हुनेछन्। त्यसपछि देश समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्नेछ। यसरी 'नयाँ जनवादी क्रान्ति' को सोच विसर्जनको संघारमा आइपुगेको छ। यद्यपि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले भने अझै पनि यो कार्यदिशा छाड्न सकेको छैन। मानवीय स्वभाव र संगठनात्मक व्यवहारको एउटा पक्षले सधैँ आफ्नो पुरानो स्कुलिङ कायम राख्ने इच्छा गर्छ तर त्यसका वस्तुगत आधार बाँकी रहेनन् भने इच्छा वा आग्रहले मात्र कुनै संगठन आफ्ना मान्यतामा टिकिरहन सक्दैन। एमाओवादीभित्रका मुख्य वैचारिक समूह डा. बाबुराम भट्टराई निकटस्थहरुले पार्टीबाट बहिर्गमित हुने संकेत गर्नु, प्रचण्ड समूह नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा हुँदै गएको निष्कर्षमा दृढ देखिनु, वैद्य र प्रचण्ड पक्षको निकटता बढ्दै जानुले वैद्य पक्ष लामो समयसम्म 'नयाँ जनवादी क्रान्ति' को सोचमा टिकिरहन नसक्ने प्रष्ट हुन्छ।




यो बद्लावसँगै एउटा विचित्रको नयाँ राजनीतिक परिदृश्य देखा परेको छ। नेपालका सबै ठूला पार्टी समाजवादी भएका छन्। नेपाली कांग्रेस 'प्रजातान्त्रिक समाजवादी' छँदै थियो। एमाले र एमाओवादी पनि समाजवादी भएका छन्। सिद्धान्ततः कम्युनिस्टहरु आफूलाई मात्र खाँटी समाजवादी दाबी गर्छन्। समाजवादी पार्टी हुनुको एमाले/एमाओवादी दाबा नयाँ हैन। तर व्यवहारतः नै उनीहरु समाजवादी कार्यदिशाको नजिक आइपुगेको चाहिँ यो पहिलो पटक हो। ठीक यस्तै अवस्था सन् १९५० को दशकमा भारतमा थियो। जवाहरलाल नेहरु नेतृत्वको कांग्रेसले पनि आफूलाई समाजवादी भन्थ्यो। भारतीय कम्युनिस्टहरु पनि आफूलाई समाजवादी भन्थे। जयप्रकाश नारायाण, आचार्य नरेन्द्रदेव, डा. राममनोहर लोहियाहरु पनि आफूलाई समाजवादी नै भन्थे। सन् १९९० अघिसम्म आफूलाई समाजवादी भन्नु विश्व राजनीतिको एउटा फेसनजस्तो भइसकेको थियो। बर्माका सैनिक शासक, इथियोपिया र पूर्वी युरोपका स्तालिनपन्थीहरु पनि आफूलाई समाजवादी नै भन्थे। कतिसम्म भने बेलायतको लेबर पार्टी पनि आफूलाई समाजवादी कित्तामै राख्छ। अमेरिकाका रिपब्लिकन र डेमोक्र्याट्सहरु, बेलायतका कन्जर्भेटिभ र लिबरलहरुबाहेक संसारमा आफूलाई समाजवादी दाबी नगर्ने पार्टी बिरलै थिए। एउटा ठीक त्यस्तै अवस्थामा नेपाल छ अहिले तर विरोधाभाष पनि उत्तिकै छ। नेपालमा समाजवादी दावी गर्नेहरु जति बढ्दै गइरहेका छन्, राजनीति, समाज व्यवस्था र अर्थतन्त्रमा भने लिवरल मूल्य, मान्यता गहिरो गरी विस्तारित हुँदै गइरहेका छन्।

यो बिन्दुमा आइपुगेर एउटा नयाँ बहस निसन्देह आवश्यक हुन्छ। कुन समाजवाद? कस्तो समाजवाद? कसको समाजवाद कस्तो हो? सबैले बुझेका समाजवाद फरकफरक हुन् वा उस्तै उस्तै छन्। समाजवाद आफैँमा एउटा लोकप्रिय शब्द हो। राजनीतिक फाइदा र भोटका लागिसमेत समाजवाद शब्द प्रयोग गर्ने मोह सबैमा हुने नै भयो। तर बुझ्न के आवश्यक छ भने समाजवाद कुनै अमूर्त शब्दावली हैन। समाजवाद शब्द प्रयोग गर्दैमा कोही समाजवादी हुने हैन। संसारमा समाजवादको एउटै मोडेल पनि छैन। समाजवादबारे अनेकन बहस छन्, ती बहसमा नेपालका को को समाजवादी कुन कुन कित्ताका हुन भनेर प्रष्ट हुनुपर्छ। यी दलले बडो प्रष्ट र सरल भाषामा, सर्वसाधारणले बुझ्ने गरी भन्नुपर्छ कि उनीहरुको समाजवादबीच के के समानता र के के भिन्नता छ।

कार्ल मार्क्स र फ्रेडरिख एंगेल्सले समाजवादलाई मुख्य दुई भागमा विभाजन गरेका थिए– 'युटोपियन समाजवाद' र 'वैज्ञानिक समाजवाद'। कम्युनिस्ट समाजवादको परिभाषा एउटा यस्तो समाज व्यवस्था निर्माण गर्नु थियो जसले साम्यवादका लागि संक्रमणकालीन समाजको आवश्यकतालाई पूरा गर्नु थियो। त्यसका तीन वटा मुख्य पक्ष थिए। एक– वर्गले राज्य जन्माउने, वर्गको उत्पत्तिमा निजी सम्पत्तिको भूमिका हुने हुँदा समाजवादको उद्देश्य निजी स्वामित्वलाई घटाउँदै र सार्वजनिक स्वामित्व बढाउँदै लानु हो। दुई– बजार अर्थतन्त्रले अतिरिक्त मूल्य र मुनाफालाई अपरिहार्य प्रवर्गका रूपमा स्वीकार गर्ने हुँदा समाजवादको अर्को उद्देश्य स्वतन्त्र बजारमाथि नियन्त्रण कायम गर्दै राज्य निर्देशित अर्थतन्त्र निर्माण गर्नु हो। तेस्रो– राजनीतिक प्रणालीका रूपमा 'प्रतिनिधिमूलक लोकतन्त्र' ले बुर्जुवा वर्चश्वलाई स्थापित गर्ने हुँदा समाजवादको तेस्रो उद्देश्य सर्वहारा अधिनायकत्वलाई सुनिश्चित गर्दै कम्युन प्रणालीमा आधारित राजनीतिक प्रणाली खडा गर्ने हो। यी तीन प्रक्रियाबाट 'योग्यताअनुसारको काम र कामअनुसारको दाम' प्राप्त गर्ने अवसर सबैलाई दिनु नै समाजवाद हो।

कम्युनिस्ट चिन्तनमा आधारित यस्तो समाजवाद आजमात्र हैन, त्यतिखेरैदेखि विवादरहित थिएन जब सन् १९१७ को क्रान्तिपछि रुसमा लेनिन र स्टालिनले यसको प्रयोग गरेका थिए। आज पनि चीन, उत्तरकोरिया, भियतनाम र क्युबाजस्ता केही देशले यस्तै समाजवादको अभ्यास गरिरहेका छन्। विशेषगरी जर्मन सामाजिक जनवादीहरु एर्डबर्ड बर्नस्टिन, कार्ल काउत्स्की र रोज लक्जेम्बुर्गले यसको चर्को आलोचना गरेका थिए। त्यसपछि समाजवादको एउटा अर्को धारा विकसित भएर आयो, जसलाई 'प्रजातान्त्रिक समाजवाद' भनियो। भारतका नेहरु, लोहिया र नेपालका बिपी कोइराला, सिके प्रसाई आदि चिन्तकमा यही प्रकारको समाजवादको प्रभाव थियो। यी समाजवादीले कम्युनिस्ट समाजवाद र प्रजातान्त्रिक समाजवादको आर्थिक नीति र उद्देश्यमा खासै भिन्नता नहुने तर राजनीतिक प्रणाली भने लोकतान्त्रिक हुने बताएका थिए। यो चिन्तनधारामा लोकतन्त्र प्रक्रिया हो र समाजवाद त्यसको उद्देश्य। लोकतन्त्र र समाजवाद एकअर्कासँग अभिन्न हुन्छन्। लोकतन्त्रबिना समाजवाद सम्भव हुँदैन जस्तो कि कम्युनिस्टहरुले सर्वहारा अधिनायकत्व र कम्युन प्रणालीबाट मात्र समाजवाद प्राप्त हुने प्रक्षेपण गरेका थिए। यदि यो ऐतिहासिक वैचारिक विकासक्रम स्वीकार गर्ने हो भने नेपाली कांग्रेस र नेकपा (एमाले) को समाजवादमा खासै भिन्नता हुँदैैन तर नेपाली कांग्रेस 'दोस्रो अन्तर्राष्ट्रिय' को समाजवादी चिन्तनबाट प्रेरित दल र एमाले 'तेस्रो अन्तर्राष्ट्रिय' को समाजवादी चिन्तनबाट प्रेरित दल भएकाले उनीहरुलाई यो यथार्थ स्वीकार गर्न गाह्रो छ।

काउत्स्कीवादी समाजवादी चिन्तनमा लेनिनवादी समाजवाद अधिनायकवादी समाजवाद हो। लेनिनवादी समाजवादी चिन्तनमा काउत्स्कीवादी समाजवाद गद्दार पुँजीवादी समाजवाद हो। यही ऐतिहासिक पूर्वाग्रहले कांग्रेस र एमालेलाई आज पनि फरक बनाएको छ। एमाले कांग्रेसलाई बुर्जुवा दल देख्छ। कांंग्रेस एमालेलाई लेनिनवादी दल देख्छ। यथार्थसंगत विश्लेषण गर्ने हो भने यी दुवै दल उदारवादमा निरन्तर विचलन गरिरहेका सामाजिक जनवादी मात्र हुन। नाम उनीहरुका लागि ट्यागमात्र हो जसले उनीहरुको चरित्रलाई आधारभूतरूपमा भिन्न बनाउँदैन। तर एमाओवादी भने अझै संदिग्ध नै छ। यद्यपि उसले पनि 'बहुदलीय व्यवस्थालाई दार्शनिकरूपमा नै स्वीकार गर्ने' बताएको छ। तर उसले भनिरहेको समाजवाद लोकतान्त्रिक प्रक्रियाबाट निरन्तर हासिल हुँदै जाने 'मेन्सेभिक समाजवाद' हो वा पुँजीवादलाई ध्वंस र निषेध गर्न सहरिया जनविद्रोह भड्काएर सत्ता कब्जा गर्ने 'बोल्सेभिक समाजवाद' हो भन्ने कुरा प्रष्ट भइसकेको छैन। परिस्थितिले उसलाई एमाले बाटोमा नै लगिरहेको छ। एमालेको बाटो हिँड्दै गए अन्ततः पुग्नै भनेको फेरि पनि कांग्रेस भएको ठाउँमा नै हो। यो प्रक्रियाले केही समय लेला। तर नेपालका तीन ठूला दल यसरी परोक्षरूपमा एउटै वैचारिक बिन्दुमा पुगेका छन् वा पुग्ने तरखरमा छन्।

विश्वमा समाजवादको अर्को पनि धार छ। बेलायतको 'फेवियन समाज' बाट प्रभावित यो धारलाई जोन स्टुअर्ट मिल, जोन डिवे, एडबर्ट बर्नस्टिन, कर्लो रोसेली, विल्ली व्रान्ड, रामसे म्याकडोनाल्ड आदिले प्रवर्धन गरेका थिए। यो धारका पार्टीहरुले आफूलाई लेवर, वर्कस, सोसलिस्ट वा लेफ्ट डेमोक्र्याटिक पार्टी भन्ने गर्छन्। युरोप र ल्याटिन अमेरिकामा यस्ता पार्टीको आज पनि व्यापक प्रभाव छ। यी पार्टी न 'दोस्रो अन्तर्राष्ट्रिय' मा थिए न 'तेस्रो अन्तर्राष्ट्रिय'। यी धारका पार्टीले मार्क्सवाद, लेनिनवादको सत्यतामा सधैं शंका गरे। यो धारको समाजवादलाई 'लिबरल सोसलिज्म' भनिन्छ। 'उदार समाजवाद' ले बजारको जनमुखी नियमन र सहभागितामूलक लोकतन्त्रद्वारा समाजवादको उद्देश्य हासिल हुन सक्ने विश्वास गर्छ। यो एक प्रकारको 'बजार समाजवाद' हो तर चीनमा देंगले अभ्यास गराएजस्तो 'निरंकुश बजार समाजवाद' भने हैन। श्रमसिद्ध निजी सम्पत्तिको स्वतन्त्रता, आधारभूत बजार नियमको स्वतन्त्रता, सर्वहारा अधिनायकत्व र कम्युन प्रणालीप्रतिको अविश्वास, प्रतिनिधिमूलक लोकतन्त्रका औपचारिक प्रक्रियाको निरन्तर निर्मलीकरण र सहभागितामूलक लोकतन्त्रको पक्षपोषण उदार समाजवादका आधारभूत गुण हुन्।

आज समाजवादको कुरा गर्नेहरुले भन्न सक्नुपर्‍यो, कसको समाजवाद कस्तो हो? कुन समाजवाद? कस्तो समाजवाद? अमूर्त र अपरिभाषित समाजवाद नवतानाशाहीको आवरण बन्न सक्छ भन्ने यथार्थ नेपाली सर्वसाधारणले बिर्सनुहुँदैन।
अर्को समाचार
कस्तो समाजवाद ?
२५ असार २०७६
•
१७ मिनेट पाठ
कस्तो समाजवाद ?
स्वतन्त्रतासहितको समाजवाद प्रयोग कसरी हुनसक्छ ? त्यसको मोडल कस्तो हुन्छ ? आमनागरिक र राज्यका काम कसरी सञ्चालन हुनुपर्छ ? राज्य–नागरिकबीच कस्तो समझदारी र सहकार्य हुन आवश्यक छ ? यसपटक लोकतान्त्रिक समाजवाद प्रयोगभूमिमध्ये एक– डेनमार्क पुग्ने मौका मिल्यो। २५ वर्षपहिले पत्रकारहरूको एक टोलीसँग लोकतान्त्रिक समाजवादको प्रयोगभूमि मानिएको स्विडेन पुग्ने मौका मिलेको थियो। जतिबेला नेपालमा भर्खर ०४६ सालको परिवर्तन र लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने पार्टी नेपाली कांग्रेस बलियो सरकार बनाउन सफल भएको थियो। यसपटक स्विडेनकै छिमेकमा रहेको देश डेनमार्क पुग्ने अवसर प्राप्त भएको हो। राजनीतिक अर्थको समाजवादप्रति प्रतिबद्ध कम्युनिस्ट पार्टीको बलियो सरकार भएको अवस्थामा लोकतान्त्रिक समाजवादको प्रयोग बुझ्न र देख्न पाउनु सुखद कुरा हो।




२५ वर्षअघि आदरणीय गोपालदास श्रेष्ठको नेतृत्वमा हामी ६ पत्रकार स्विडेन भ्रमण गर्दा लोकतान्त्रिक समाजवादका विषयमा नेपालमा भर्खर बहस सुरु भएको थियो। हामीले भारतीय नेताहरू खासगरी डा. लोहिया, जयप्रकाश नारायण र नेपालमा बिपी कोइरालाका विचार अध्ययन मात्र गरेका थियौँ। ती विचार परिभाषित हुँदै गर्दा आजको जस्तो सूचना प्रविधिको विकास थिएन र यस खालको विकासको सपना पनि देखिएको थिएन। सु माकरको स्मल इज ब्युटिफुल मान्यताले समाजवादीहरूलाई प्रभाव पारिरहेको थियो। मेसिनमा होइन मानिसमा मात्र भरपर्ने र तिनको श्रमलाई मात्र महत्व दिँदै गरिएका विश्लेषणभन्दा निकै पर अहिलेको समाजवादको प्रयोग र आवश्यकता पुगेको छ। मानिसको बदला रोबोर्टद्वारा सुपरमार्केट सञ्चालन हुन थालेका छन्।

श्रमबजारको अवस्था अधिकतम स्थानमा निकै परिवर्तित छ र कृषि वा औद्योगिक उत्पादन, वितरणको स्थिति पनि निकै भिन्न छ। तर अहिले पनि स्वतन्त्रतासहितको नागरिकलाई सर्वोपरी मान्दै समानताका सिद्धान्त ती समाजवादी देशमा यथावत् छन् र त्यसमा कुनै परिवर्तन आएको देखिँदेैन। दोस्रो विश्वयुद्धसम्म विकासका मोडल स्थापना नभएका ती देशमा अहिले समृद्धिको उत्कर्ष छ।  ती देशका जेल खाली छन्। शिक्षा र स्वास्थ्यको पूरै जिम्मा सरकारले लिएको छ। अशक्त, असहाय, बालबालिकालाई राज्यले आफ्नो जिम्मामा लिएको छ। नागरिकको स्वास्थ्यलाई सर्वाधिक महŒव दिइएको छ। जहाँ नागरिक कर तिर्न त्यसरी प्रतिस्पर्धा गर्छन् जसरी आर्जनमा उनीहरू सक्रिय हुन्छन्। राज्यले कानुन लगाउनुअघि नै नागरिकले त्यसको पालना गरिरहेका छन् र त्यहाँ नेता छैनन्, जनताका सेवक र आमनागरिकसरह फरक जिम्मेदारी बोकेका व्यक्ति मात्र छन्। डेनमार्कको विकसित राजधानी कोपनहेगनमा हामीले जम्मा ४ रात र ६ दिन बितायौँ। यसपटक नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाका तर्फबाट पहिलोपटक आयोजित विश्वस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुने अवसर मिलेको हो।

‘लोकतान्त्रिक समाजवाद’ शब्द  र अक्षर खेती होइन, यथार्थमा यसले व्यवहार खोजिरहेको छ ।

वरिष्ठ पत्रकार गोपालदास श्रेष्ठले स्विडेन पुगेर भन्नुभएको थियो– ‘नेपालमा लोकतान्त्रिक खेलमैदान बनेको छ तर खेलाडीहरू प्रशिक्षित छैनन्, यसैले यो मैदान कुरूप हुने खतरा जहिले पनि हुन्छ।’ कमसेकम  स्विडनेजस्ता देशका अनुभवलाई नेपालमा पाठ बनाउन सके हामीले धेरै गर्नसक्ने थियौँ। २५ वर्षपछि नेपाली कांग्रेसका तर्फबाट विचार, आचरण, चेतना र शिक्षा प्रवाह गर्नुपर्ने प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको नेतृत्वमा हामी डेनमार्क पुगेका हौँ। लोकतान्त्रिक समाजवादलाई कार्यरूप दिनुपर्ने भनी पार्टीको स्थापनाकालीन चिन्तन कसरी सार्थक बनाउने भन्ने चिन्ता बोकेर विमलेन्द्रजी पनि कोपनहेगनबाट फर्किएको हुनुपर्छ। डेनमार्क पुगेका विश्वका ३३ देशमा छरिएर विभिन्न पेसा–व्यवसाय वा अध्ययनमा संलग्न लोकतान्त्रिक नागरिकले गठन गरेका नेपाली जनसम्पर्क समितिका २ सयभन्दा बढी सदस्यलाई लक्ष्य गरी उक्त कार्यक्रम आयोजना गरिएको थियो।

नेपाली कांग्रेससँग संलग्न नागरिक जो अत्यन्त सचेत छन्, तिनलाई नेपाली लोकतन्त्रको, लोकतान्त्रिक आन्दोलनका उपलब्धिहरूको र आजको नेपालको अवस्था मात्र होइन, नेपाली डायस्पोराको भूमिका, वातावरणमा आएका परिवर्तन र चुनौतीदेखि युरोपको समृद्धिमा योगदान पु¥याइरहेको लोकतान्त्रिक समाजवादका अनुभव आदानप्रदानका लागि यो छोटो समय पर्याप्त नभए पनि केही न केही सिक्ने अवसर यस भ्रमणले दियो। करिब ७ दशकको समाजवादी व्यवस्थाले ल्याएको परिवर्तनको पाठ नेपालको लोकतन्त्रले सिक्नसके कस्तो हुने थियो ? हाम्रो मनमा उठिरहेको प्रश्न हो यो। बालुवा, गिट्टी, फलाम सबै चिज अरू देशबाटै आयात गर्दै आफ्नो देश समृद्ध, स्वस्थ, सफा र आकर्षक बनाउने कला डेनमार्कमा देखियो। पुराना सबै स्मारक संरक्षण गरी पर्यटन विकास त्यतिकै गरिएको छ। चारैतिर जलमय देखिने ती देशले  दोस्रो विश्वयुद्धपछि आफूलाई शान्ति र समृद्धिको उर्वर भूमिमा रूपान्तरण गरे। स्यान्डिनेबियन देशहरू डेनमार्क, नर्बे, स्विडेन र फिनल्यान्डलाई सबैले लोकतान्त्रिक समाजवादी राज्यका रूपमा चिन्छन्। त्यहाँको राज्य सञ्चालन, उत्पादन, वितरण, स्रोत व्यवस्थापन, कानुन निर्माण र प्रयोग देखि आमनागरिकको जिम्मेदारीपूर्ण व्यवहार र राजनीतिक नेतृत्व वर्गको उत्तरदायी सोच र व्यवहारबीच कस्तो सन्तुलन छ भनेर हामीले बुझ्नैपर्ने हुन्छ। ‘लोकतान्त्रिक समाजवाद’ शब्द  र अक्षर खेती होइन, यथार्थमा यसले व्यवहार खोजी गरिरहेको छ।

समाजवादलाई बुझ्ने काम मात्र भयो भने यो निरंकुश साम्यवादमा परिणत हुन्छ। बिपी कोइरालाले यसलाई बडो सजिलो तरीकाले सम्झाउनुभएको थियो– ‘साम्यवादमा लोकतन्त्र थपिदियो भने त्यो लोकतान्त्रिक समाजवाद हुन्छ र लोकतान्त्रिक समाजवादबाट लोकतन्त्र झिकिदियो भने त्यो एकदलीय अधिनायकवाद अर्थात् साम्यवाद हुन्छ।’ एउटा शब्द ‘लोकतन्त्र’ले साम्यवाद र समाजवादको अन्तर छुट्याउन सक्छ। समाजवादलाई स्वतन्त्रता, नागरिक अधिकार र नागरिकको सार्वभौम सर्वोच्चतासँग मिलाएर हेरियो भने त्यो नै प्रयोगमा आउन सक्ने असली समाजवाद हो। डेनमार्कमा राजसंस्था छ तर राजनीतिक प्रणाली लोकतान्त्रिक समाजवादी छ। लोकतान्त्रिक समाजवादी सामाजिक आर्थिक रूपान्तरण गर्न राजनीतिक नेतृत्व वर्गको इमान्दारिता, सामथ्र्य, योग्यता र निष्ठापूर्ण सक्रियता आवश्यक पर्दोरहेछ भनेर बुझ्न यो भन्दा अर्को उपयुक्त उदाहरण देखिँदैन। संघीयता र गणतन्त्र स्थापनाले मात्र विकास र समृद्धि आउँछ भन्ने तर्क आफ्नो स्थानमा छ तर राजनीतिक पद्धति भनेको रंगशाला मात्र हो, जुन जति राम्रो भए पनि खेलाडीको स्तर र हैसियत छैन, उनीहरू योग्य, इमान्दार र अनुशासित छैनन् भने परिणाम प्राप्त हुन सक्दैन। अर्थात् उपयुक्त रंगशालाले मात्र खेलाडीलाई राम्रो नजिता दिँदैन। हामीले राजनीतिक रंगशाला अत्यन्त राम्रो बनाएका छौँ तर त्यहाँ खेल्ने खेलाडीका शब्द, व्यवहार र नियत हेर्दा कुनै दिन त दर्शक नै अराजक रूपमा मैदानमा उत्रने हुन् कि जस्तो देखिन्छ।

डेनमार्कमा राजसंस्था छ, तर राजनीतिक प्रणाली लोकतान्त्रिक समाजवादी छ । लोकतान्त्रिक समाजवादी सामाजिक–आर्थिक रूपान्तरण गर्न राजनीतिक नेतृत्व वर्गको इमान्दारिता, सामथ्र्य, योग्यता र निष्ठापूर्ण सक्रियता आवश्यक पर्दोरहेछ भन्ने बुझ्न यो भन्दा अर्को उपयुक्त उदाहरण देखिँदैन ।

डेनमार्क कार्यक्रममा ९ नेपाली वैज्ञानिकले विभिन्न विधामा आफ्नो प्रस्तुति दिए। उनीहरू डेनमार्कसहित युरोपका विभिन्न देश पुगेर आफ्नो ज्ञान उपयोग गरिरहेका छन्। कृषि, स्वास्थ्य, सडक यातायात, वन, जल उपयोग, शिक्षा, अनेक विधाका अब्बल वैज्ञानिक हुन्, ती नेपाली। उनीहरू नेपाल बसेर आफ्नो योग्यता सदुपयोग गर्न तयार छन्, चाहन्छन्,  तर तिनका लागि यहाँ उपयुक्त वातावरणै छैन।

जुन वातावरण राजनीति अर्थात् खेलमैदानमा उत्रिएका खेलाडीहरूले दिनुपर्ने थियो। ०४७ को परिवर्तनले वातावरण बनाउन लागेको थियो, तर लगत्तै सुरु भएको सशस्त्र हिंसाले धमिलो मात्र बनाएन, नेपालका विशेषज्ञहरूको पलायनको ढोका नै खोलिदियो। अहिले सामान्य बाहुबल भएका युवा खाडीमा र पढेलेखेकाहरू अमेरिका, क्यानडा, बेलायत, कोरिया, जापान, जर्मनी र स्यान्डिनेबियन देशमा देखिन्छन्। श्रमबजारमा गएकाहरू घर फर्कने सम्भावना रहे पनि बौद्धिकहरूको पलायनले विदेशकै भूमि सिञ्चन गरिरहने अवस्था छ। सशस्त्र हिंसा, मधेस आन्दोलन, गणतन्त्र आदिले केही नेताको त उन्नयन भयो, जसले राजनीतिक  रथारोहण गर्दै स्वदेशमै श्रीसम्पत्ति सबै जोड्न पाए। तर आमनागरिक यसरी नै पलायन हुन बाध्य भइरहेका छन्। २५ वर्षपहिले एकजना मात्र नेपाली कार्यरत रहेको डेनमार्कमा अहिले यस्तो नेपालीको संख्या झन्डै ५ सय पुगेको छ। स्विडेन, बेल्जियमको अवस्था पनि उही छ। २५ वर्षअघि हामीले कानुनका विद्यार्थी कटक मल्ल र अर्का विद्यार्थी प्रणय आचार्यको परिवारलाई मात्र भेटेका थियौँ। सायद त्यतिबेला त्यहाँ नेपालीको संख्या यो भन्दा बढी थिएन, तर अहिले करिब हजार पुगिसकेछ। स्पेनमा पनि नेपालीहरू बौद्धिक काममा सक्रिय छन्।

यसरी हेर्दा नेपालको माटो समातेर बस्नेहरू वृद्धवृद्धा, विदेश जाने हैसियत नभएका, तिनका सन्तान, शारीरिक रूपले अशक्त, राजनीतिक मैदानमा लाभ लिने र स्वदेशको रोजगारीमा अटाएका सीमीत व्यक्ति मात्र हुनेछन्। बलिया युवा अथवा बौद्धिक क्षमता भएका व्यक्ति देशको होइन, संसारको हुने दौडमा देखिन्छन्। आजको हाम्रो परिवर्तनले यो अवस्था रोक्न सक्छ ? यसका लागि कुनै योजना छन् ? हामी स्वदेशमै रहने वातावरण बनाउन सक्ने कि उही कुइगन्धे भाषण ठोक्दै जनतालाई प्रहसनको स्वाद चखाउने र देश र परिवर्तन दुर्गन्धित गराउने काम मात्र गरिरहने ? विचार पुरानो हँुदैन, त्यसलाई परिमार्जन गर्दै उपयोग गर्ने हो। तर युद्धवादी, दुश्मनवादी, वर्ग संघर्षवादी विचार जति नयाँ भए पनि अस्वीकार गर्नैपर्छ।

लोकतान्त्रिक समाजवाद प्रयोग गर्न हिंसा जरुरी छैन। युद्ध आवश्यक छैन। जनतासँग दुश्मनी गर्दै नियन्त्रण सुरु भए, त्यसबेलाको विद्रोह सामयिक हुनसक्छ। ००७, ०४६ र ०६३ का जनआन्दोलन स्वीकार्य हुनाका कारण नागरिक स्वतन्त्रता अपहरण हुनु नै हो। तर समाजिक–आर्थिक रूपान्तरण भुसुक्कै बिर्सेर राजनीतिक विवादमै अल्झिएका कारण हामी असफल भएका छौँ। अहिलेको परिवर्तन पनि सदुपयोग गर्नुको सट्टा सत्ताव्यूहमा दम्भ गर्न लाग्यौँ र खेल्न लाग्यौँ भने हाम्रा पुस्ताका सपना तुहिएर जाने छन् भने अर्को पुस्ताले नयाँ विकल्प खोज्नेछ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
कस्तो वाम ? कस्तो समाजवाद ?
यादव देवकोटा यादव देवकोटा • · ०४ फागुन २०७४ · १३ मिनेट पाठ
अब कस्तो समाजवाद?
वामदेव गौतम वामदेव गौतम • · १४ साउन २०८१ · १६ मिनेट पाठ
नक्कली समाजवाद
नक्कली समाजवाद
भैरव रिसाल भैरव रिसाल • · ०४ फागुन २०७६ · १८ मिनेट पाठ
हो, म दलित हुँ
मेखराज परियार मेखराज परियार • · १२ असार २०७६ · १६ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस