पोखरामा कुखुराको मासुको भाउ ह्वात्त घट्यो। हुन त अहिले जताततै कुखुराको मासुको मूल्य घट्दो छ तर, पोखराको घटाइको भने विशेष अर्थ छ। दसैँअघि किलोको ३ सय नाघेको कुखुराको मासु अहिले २ सय ५० रुपैयामा झरेको छ। पोखरा, काठमाडौंलगायतका अरू सहरभन्दा केही महंगो मानिन्छ। भनिन्छ, पोखरामा मोलमोलाई हुँदैन। बेच्नेले जति भन्यो, त्यति तिर्ने गरिन्छ। त्यसो त काठमाडौमा जताततै दलाली हुने भए पनि मासु किन्नेहरूले मोलतोल गरेको सुनिदैन। पोखराभन्दा काठमाडौँमा औसत ५० रुपैया फरक पर्ने कुखुराको मासुको मूल्यमा अहिले २० रुपैयाको मात्र अन्तर छ। सरसरी हेर्दा के देखिन्छ भने यसपाली पोखराका उपभोक्तालाई फाइदा भयो, काठमाडौंका ठगिँदैछन्। पोखरा र काठमाडौं मात्र होइन, कुखुराको मासुको मोलमा ठूला सहरहरूमा एकरूपता देखिँदैन। चितवनमा किलोको १ सय ६० देखि १ सय ८० छ, विराटनगरमा काठमाडौंभन्दा महंगो २ सय ४० छ भने नेपालगंजमा करिब २ सय २० छ।
एक किलो मासुमा यस्तो फरक हुनुको कारण भने एउटै छ - कोटा प्रणाली अर्थात् सिन्डिकेट। पोखरामा किन सस्तो भयो? काठमाडौं र धादिंगका कुखुरा पालक किसानका नाममा पृथ्वी राजमार्गको धार्केमा लगाइएको तगारोका कारण पोखरामा भाउ ओरालो लागेको हो। किसानका नाममा धार्केमा पहरा राखिएको छ। चितवनका फर्मका उत्पादन सहज किसिमले काठमाडौँ ल्याउन दिइँदैन। कोटा तोकिएको छ, दैनिक ५ ट्रक मात्र। दैनिक १५ ट्रक कुखुरा काठमाडौ भित्रिने गर्थे। काठमाडौं ल्याउन नपाएका कुखुरा पोखरा पुगेकोले त्यहाँ मूल्य घट्यो।
लगाम बिनाको सिन्डिकेटका कारण आन्तरिक बजारमै यस्तो विविधता भएको हो। संगठितरूपमा मिलोमतोमा काम गर्ने सीमित व्यक्तिको मनोमानीको सिकार भएको छ, प्रतिस्पर्धात्मक बजार प्रणाली। सीमित व्यक्तिले बलका भरमा बजारमा कब्जा जमाएकाले मिलोमतोमा मूल्य तोक्नेहरूको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्।
यस्ता व्यवसायी उपभोक्ता अधिकारमा मात्र प्रहार गर्ने हैन सरकारी नीतिलाई आफ्नो अनुकूल निर्माण र कार्यान्वयन गराउने हैसियत पनिराख्छन्। कुखुराकै उदाहरण लिँदा के देखिन्छ भने बर्डफ्लुको नाममा भारतबाट कुखुरा, अन्डा र चल्ला ल्याउन रोकिएको छ। 'उद्यमी' को चाहनाअनुसार भारतबाट कुखुरा, अन्डा र चल्ला ल्याउन नपाउने सरकारी नीतिबाट उपभोक्ता भने पिल्सिएका छन्। सीमित व्यक्तिले ब्रह्मलुट गरेका छन्।
विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीमा १ सय ९० मा एक किलो मासु पाइन्छ भने नेपालगन्जको छिमेकी रुपैडियामा १ सय ७० मात्र। सीमावर्ती भारतीय बजारमा कुखुराको मासु नेपालभन्दा किलोमा ५० रूपैया सस्तो छ।
भारतबाट आयात गर्नै नपाइने भएपछि यसलाई छाडौँ। नेपालभित्रै पनि एक ठाउँबाट अर्को ठाउँमा विक्री गर्न नपाउने बन्देज कसरी लागिरहेको हो? नेपालले प्रतिस्पर्धी बजार प्रणाली अख्तियार गरेको ३ दशक बित्नलाग्यो। सन् १९८० को दशकदेखि नै नेपालले आर्थिक उदारीकरणको नीति प्रयोगमा ल्याएको हो। पञ्चायत, प्रजातन्त्र हुँदै लोकतन्त्रमा पनि खुला बजारमाथि खुल्लमखुल्ला आक्रमण भइराखेको छ। नेपाल विश्व व्यापार संगठन (डब्लुटीओ)को सदस्य पनि हो। डब्लुटीओको मान्यता निर्बाध बजार प्रणाली हो। तर, नीतिगत कुरा कागजमा सीमित भएका छन्।
यातायात व्यवसायमा त सिन्डिकेट झन् डरलाग्दो छ। यो रोग अहिले पूर्वी नेपालमा सल्किएको छ। माउन्ड मकालु यातायातलगायतका यातायात व्यवसायी सिन्डिकेटका दादाहरू सामुन्ने घुँडा टेक्न बाध्य भएका छन्। पश्चिम नेपाल र अरनिको राजमार्गमा कानुन हातमा लिएर मिलोमतोमा यातायात सञ्चालन गर्नेहरूको सिको गरेर दसैँ यता विराटनगरमा संयुक्त बुकिङ्ग काउन्टर खोलिएको छ। काउन्टरबाट मात्र टिकट काट्न पाउने जर्बजस्ती 'व्यवसाय' सुरु गरिएको छ। आजकल मकालु, अग्नि, मितेरीलगायतका यातायात सेवाका विराटनगरस्थित काउन्टर खोल्नै दिइँदैन। यी यातायातले आफ्ना कर्मचारी पनि राखेका छन् तैपनि सिन्डिकेटका सञ्चालकहरूलाई निश्चित् प्रतिशत बुझाउन वाध्य छन्। मकालु पोखरातिर त जानै पाउँदैन। उसको बारम्बारको प्रयासमा सरकारको सहयोग नभएर विफल भयो। पोखराका 'डन'हरू सामु उसको प्रतिस्पर्धी क्षमता कमजोर साबित भयो। सिन्डिकेटका विरुद्ध प्रशासनले साथ दिँदैन। अर्थात्, मिलोमतोमा मनपरी गर्ने सिन्डिकेटलाई प्रहरी प्रशासनको संरक्षण र सहयोग छ। सम्भवतः, बढी नजराना पाउने भएकोले प्रहरी, प्रशासन सिन्डिकेट प्रथाको पक्षपोषण गर्छन्।
तीर्थस्थल मुक्तिनाथ जाने तीर्थालुसमेत यातायात व्यवसायीको मनपरीबाट उम्कन सक्तैनन्। एउटै बाटामा तीर्थालुले तीन ठाउँमा गाडी फेर्नुपर्छ। तातोपानी नाकाबाट चीनिया सामान आयात गर्ने व्यवसायीले आजित भएर सिन्डिकेटको विरोधमा उत्रने घोषणा गरेका छन्। व्यापारीहरूको आन्दोलनमा सरकारको भूमिका कस्तो हुने हो? राजनीतिक पार्टीहरू सिन्डिकेटविरूद्धमा उत्रिने हुन् वा होइनन् अहिले परीक्षाको घडी हो।
राजनीतिमा स्वतन्त्रताको अर्थ स्वच्छन्दता बन्दै गएको पृष्ठभूमिमा आर्थिक क्षेत्रमा पनि अधिनायकवादी अराजकता व्याप्त र प्रबल हुँदै गएको छ। उदार र प्रतिस्पर्धी बजारमा विश्वास गर्नेहरूले सिन्डिकेटजस्तो घातक अभ्यासविरुद्ध नउठ्ने हो भने स्थिति झन् बिग्रने छ। सिन्डिकेटबाट सास्ती कहिलेसम्म?