संकटमा राष्ट्रपति
०२ असोज २०६९
•
१४ मिनेट पाठ
संकटमा राष्ट्रपति
मुलुक संकटमा छ भन्ने सबैले मानेका छन्। संकट मोचनका लागि केही गर्ने निर्णायक क्षमता भने कसैको देखिएन। 'राष्ट्रपति रामवरण यादवले केही चमत्कार गरून् र आफूलाई नाफा हुनेगरी संकटबाट पार पाइयोस्' भन्ने चाहना राजनीतिका प्रमुख पात्रमा देखिएको छ। राष्ट्रपति यादवसँग निहुँ खोज्दै आएका प्रधानमन्त्री बाबुराम भट्टराई पनि आफ्नो हितका लागि उनैलाई प्रयोग गर्ने मनःस्थितिमा देखिएका छन्।




संविधानसभा संविधानै नलेखी र अर्को उपाय पनि नखोजी भंग गराइयो। सर्वाेच्च अदालतले 'म्याद थप्न' नपाइने निर्णय गरेकै दिनदेखि पनि संविधान निर्माणलाई प्रमुख राजनीतिक दलका नेताहरूले प्राथमिकता दिएका भए समस्या टुंगिने थियो। त्यसपछि पनि उनीहरूले 'तरबार र घिउ' बेच्ने संस्कारभन्दा माथि उठेका भए संकट झन् गहिरो पक्कै जाने थिएन। यसैले नेताहरूविरुद्ध जनआक्रोश छ। मौन बहुमत राष्ट्रपतिले निकास दिनुपर्छ भन्ने पक्षमा देखिन्छ। तर यो संगठित र प्रतिबद्ध छैन। यस्तै, निकास लोकतान्त्रिक र संविधानसम्मतै हुनुपर्छ भन्ने धारणा पनि व्यक्त हुने गरेको छ। राष्ट्रपतिले सरकार हटाए र त्यस अवस्थामा विरोध बढ्यो भने कसैले पनि साथ दिने छैनन्। एमालेको त यसै पनि कहिल्यै भर पर्नै हुँदैन। कटुवाल प्रकरणमा पनि त एमालेले त्यस्तै दोहोरो चरित्र देखाएको थियो। कांग्रेसमा पनि जनमत हेरेर लोकतन्त्र आंगमा चढ्नेहरू विरोधमा उत्रने छन्। संविधानसभामै पार्टीभन्दा ठूलो र माथि हुने रहर देखाउनेहरूले राष्ट्रपति यादवकोे विरोध गरेर 'लोकतन्त्रको मसिहा' देखिने रहर नगर्लान् र? बीपीले जस्तो 'एन्टी करेन्ट' उभिने आँट गर्ने र त्यसमा अडिने शक्ति भएको नेता अहिले कांग्रेसमा छैनन्। ( कांग्रेस त के देशमै छैनन्!।)
अर्कातिर राष्ट्रपति यादव स्वयं पनि बुद्धिजीवी भनिने अवसरवादी जमातजस्तै अलमलमा देखिन्छन्। 'राष्ट्रपतिले संकटको समाधान खोज्नुपर्छ' भन्नेमा लगभग सबै सहमत छन्। बुद्धिजीवी भन्नेहरू त्यस्तो समाधान अलोकतान्त्रिक नहोस् र संवैधानिक पनि होस् भन्ने रट लगाइरहेका छन्। संविधान यसबारे मौन छ। जनमत पनि देखिने गरेर कतै प्रकट भएको छैन। संविधानले शासन चलाउन राजनीतिक सहमतिको उपाय सुझाएको छ। तर, सत्तामा आँखा गाडेर दलगत र अझ बढी व्यक्तिगत स्वार्थको घेराबाहिर निस्कन नसक्ने नेताहरूले सहमतिको अर्थै बिगारिसकेका छन्। अनि कसरी निस्कन्छ निकास? सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने गरी के गर्ने राष्ट्रपतिले?
राष्ट्रपतिबाट अपेक्षा गरिएको निकास के हो? बाबुराम भट्टराईले मुलुक भड्खालैमा परे पनि सरकार छाड्दैनन् भन्ने त स्पष्टै भइसक्यो। उनलाई राष्ट्रपतिले हटाऊन् भन्ने नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूको चाहना हो भने सार्वजनिकरूपमा त्यही भन्ने आँट गर्नुपर्‍यो! संस्थागतरूपमै प्रधानमन्त्री भट्टराईलाई राष्ट्रपतिले बर्खास्त गर्नुपर्छ भन्ने निर्णय गरेर जनमत प्रदर्शन गर्नुपर्‍यो। अहिले त भट्टराईलाई हटाउँदाको दोष र जोखिमचाहिँ राष्ट्रपति रामवरण यादव एक्लैले बेहोरून् तर त्यसपछि सत्तामा हामी गएर स्वाद फेरौँ भन्ने चाहना कांग्रेस र एमालेको देखिएको छ। (लोकतन्त्र त यी सबैको देखाउने दाँतमात्रै न हो।) त्यतिमात्र हैन, एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल पनि लुच्याइँ गर्दैछन्। अरूले नै बाबुराम भट्टराईलाई हटाइदिए दलभित्र पनि उनलाई तह लगाउन सकिने थियो भन्ने दाहालको मनसाय लुकेको छैन। (धोबीघाट चक्रब्यूह तोड्न उनले देखाएको चतुर्‍याइँ निकै महंगो परिसकेको छ। मोहन वैद्यहरूले छाडेर गएपछि भट्टराई पार्टीमा झन् बलियो र दाहाल कमजोर भएका छन्। यसले 'समुद्री बूढो' ले सिनवादको घाँटी अँठ्याएजस्तै भट्टराईले पनि दाहालको बोझ बन्न छाड्ने लक्षण छैन। अरू दलका नेतासँग जे भने पनि दाहालले शायद अब भट्टराईलाई सोझै 'कुर्सी छाड' भन्ने आँट गर्नसक्ने अवस्था छैन।)
उपेन्द्र यादवले अलि स्पष्ट शब्दमा 'राष्ट्रपतिले दलका नेताहरूलाई बोलाएर चिया खुवाएर पठाउनेमात्र गर्नुहुँदैन। दलहरूले सहमति गर्न नसके संविधानको संरक्षकको हैसियतले राजनीतिक निकास दिन कडा कदम चाल्ने आँट गर्नुपर्छ' भनेका छन्। तर, त्यो 'कडा कदम' के हो भन्नेचाहिँ स्पष्ट भन्दैनन्। के बाबुरामलाई अपदस्थ गरेर राष्ट्रपतिले शासन हातमा लिनुपर्छ भनेका हुन्? हो भने राष्ट्रपतिले त्यसो गरेपछि हुने विरोधमा उपेन्द्र यादवले राष्ट्रपतिलाई साथ दिन्छन्? भट्टराई र विजय गच्छदारहरूको गठबन्धनको आहारिस र कुण्ठाले मात्रै त उपेन्द्रले कडा कदम खोजेका हैनन्? राष्ट्रपतिले शासन गर्न खोजे वा भट्टराईको हातबाट खोसेर अरूलाई सुम्पे भने सत्ता नपाउनेले सहलान् र? उनले संविधान सभा पुनःस्थापना गरे भने त्यो पनि वैधानिक र लोकतान्त्रिक त हुँदैन।
छरितो चुनावी सरकार गठन गरेर संविधानसभाको निर्वाचनतर्फ बढ्नु अहिलेका लागि सर्वोत्तम उपाय हुन्थ्यो। त्यसका लागि राष्ट्रपतिलाई जनाधार भएको कुन पार्टीले साथ दिन्छ? छिमेकीले के भन्छन्? भारतले यादवभन्दा भट्टराईलाई रुचाउँछ जस्तो देखिन्छ। चीन त यसै पनि यादवका पक्षमा हुने छैन। यस्तोमा सेनाले पनि साथ देला/नदेला? (दोस्रो जनआन्दोलनको अन्त्यतिर ज्ञानेन्द्रलाई भारतीय निर्देशनमा सेनाले साथ नदिएपछि सम्पूर्ण परिदृश्य बदलिएको अहिल्यै त कसैले पनि बिर्सेका छैनन् होला।) भट्टराईका तुलनामा यादव बढी राष्ट्रवादी देखिएका छन्। लोकतन्त्रवादी त उनी हुँदै हुन्। यसैले विदेश, विशेषगरी भारत र चीनका लागि यादवभन्दा भट्टराई नै बढी प्रिय हुन सक्छन्।
बाबुराम भट्टराईको मूल ध्यान जसरी पनि सत्ता लम्ब्याउनुमै देखिन्छ। प्रधानमन्त्रीको दलका कार्यकर्ता र कृपापात्रले राज्यको ढुकुटी अपचलन गर्ने वैध/अवैध अवसर शायद यसभन्दा पहिले कहिल्यै कसैका पालामा पाएका थिएनन्। भट्टराई नेतृत्वको सरकारले गराउने निर्वाचन पक्कै पनि स्वतन्त्र र निष्पक्ष हुँदैन। त्यसलाई रोेक्न राजनीतिक दलहरू बढी जागरुक र सक्रिय हुनुपर्छ। निर्वाचनमा हुने धाँधली रोक्ने पनि साहस र शक्ति नभए दलहरूले जनादेश लिने रहरै किन गर्नु? तर, संविधानसभा पुनःस्थापना गर्नेजस्ता गलत उपायमा सहमति जनाउनु लोकतन्त्रका लागि आत्मघाती हुनसक्छ। अहिलेको एउटा समस्या नेपाली कांग्रेसका नेताहरू लोकतान्त्रिक र राष्ट्रवादी हुन नसक्नु पनि हो। उनीहरूले सत्ता हैन, लोकतन्त्र र राष्ट्रियताको पक्ष लिनेबित्तिकै भट्टराईमाथि दबाब चर्काउन सक्नेछन्। अहिले सत्ताको लोभ नगरी चुनावका लागि तयार हुनेबित्तिकै कांग्रेसले राजनीतिक बाजी मार्नेछ। चुनाव गराउन नसकेपछि वा चुनाव गराउनै नखोजेपछि त राष्ट्रपतिलाई भट्टराई हटाउन पनि सजिलो हुन्छ। त्यस अवस्थामा कांग्रेसका पक्षमा जनसमर्थन पनि बढ्नेछ।
संविधानसभा पुनःस्थापना हुनेबित्तिकै त्यसले खटाएको वा सहमति गरिएको विषयमा मात्र निर्णय लिन्छ वा लिनुपर्छ भन्नु लोकतान्त्रिक र व्यावहारिक हुँदैन। माओवादी र मधेसी दलहरूको बहुमत भएको संविधान सभाले सत्ता लम्याउन लोकतन्त्र र राष्ट्रियतामाथि नै प्रहार गर्ने निर्णय गरे पनि त्यसलाई कसरी अवैध भन्ने? त्यतिबेला राष्ट्रपतिले रोक्न मिल्छ? रोक्न सक्छन्? बरु, संविधानसभाकै लागि अर्को निर्वाचन गर्ने सहमति जनाउने हो भने बाबुराम भट्टराईमाथि सरकार छाड्ने दबाब बढ्दै जानेछ। उनको विपक्षमा वातावरण बन्दै गएपछि निर्वाचन गराउन नसकेको भनेरै पनि उनलाई हटाउन सकिनेछ। किनभने, भट्टराईको प्राथमिकता निर्वाचन हुँदै हैन। निर्वाचनलाई प्राथमिकता दिन्थे भने उनले अहिले अध्यादेशको बाढी चलाउने थिएनन्। राजदूत वा न्यायाधीश ६ महिना नियुक्त नगर्दैमा मुलुकमा कुनै विध्वंश भइहाल्दैन। अहिलेको प्राथमिकता त राजदूत नियुक्ति वा कर्मचारीको सरुवा बढुवा होइन, राजनीतिक निकास हो।
बाबुरामहरूले जति सकिन्छ यो अन्योल लम्याउन खोज्नु अस्वाभाविक होइन। उनीहरूलाई राज्य जति कमजोर हुन्छ, समाजको मनोबल जति गिर्छ र अराजकता जति बढ्छ, उति लाभ हुन्छ। बाबुराम भट्टराईले राज्यका सबै अंगमा नियन्त्रण गरेर शासन गर्ने आफ्नो रहर पटक पटक सार्वजनिक गरेका छन्। अराजकता बढी नै भएपछि जनमानसले दह्रो शासन खोज्छ। बाबुरामको रणनीतिक अभीप्सा शायद यही हो। यत्ति हो, त्यस अवस्थामा प्रकट हुने अधिनायक बाबुराम भट्टराईले गरेकै डिजाइनअनुसार नहुन पनि सक्छ। विधि नमानेपछि बल हुनेले शासन गर्ने हो। अहिले सबैभन्दा बलियो संगठित संस्था नेपाली सेना हो। बाबुराम भट्टराईभन्दा पनि भारत, चीन र नेपालकै पनि स्थायी संस्थापन भनिने तŒवका लागि नेपाली सेना बढी भरपर्दो हुनसक्छ। अर्थात्, अर्कै आवरणमा पञ्चायत दोहोरिन सक्छ। अनि लोकतन्त्रका लागि अर्को लडाइँ थालिनेछ।
मुलुकले लोकतन्त्रका लागि फेरि संघर्ष गर्न नपरोस् भन्ने हो भने तत्कालै केही गर्ने बाध्यता राष्ट्रपति यादवलाई छ। अर्थात्, एकपल्ट फेरि राष्ट्रपति रामवरण यादव सत्ता संघर्षमा निस्किएको 'हलाहल' पिएर 'नीलकण्ठ' बन्नुपर्ने अवस्थामा देखिएका छन्।
अर्को समाचार
नेतृत्वमा नैतिकता कमजोर हुँदा लोकतन्त्र संकटमा: प्रथम राष्ट्रपति यादव
२८ जेष्ठ २०८१
•
२ मिनेट पाठ
नेतृत्वमा नैतिकता कमजोर हुँदा लोकतन्त्र संकटमा: प्रथम राष्ट्रपति यादव
प्रथम राष्ट्रपति डा.रामवरण यादवले राजनीतिक दल र तिनका नेताहरूमा नैतिकता कमजोर हुँदा लोकतान्त्रिक शासन व्यवस्था नै संकटमा पर्ने गरेको बताएका छन्।




नेपाली कांग्रेसकी नेत्री शैलजा आचार्यको १५ औँ स्मृति दिवसका सोमबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपालसहित विश्वमै राजनीतिमा नैतिकता कमजोर हुँदै गएको दाबी गरेका हुन्।

विपी कोइराला, शैलजा आचार्य जस्ता नैतिकवान र दृढ नेताहरूको अभाव मुलुकमा खड्किएको बताउँदै यादवले राजनीतिक नेतृत्वमा इमानदारिता, नैतिकताका साथै आर्थिक रुपले पारदर्शी हुनुपर्ने बताएका हुन्। त्यस्तो नेतृत्वले मात्र अरुलाई प्रश्न गर्न सक्ने नैतिक बल हुने जनाउँदै उनले भने,‘राजनीतिक मान्छे इमानदार र नैतिकवान नभएसम्म अरुलाई हर्कान र प्रश्न गर्न सक्दैन। प्रश्न गर्न नसक्ने नेतृत्वले लोकतन्त्रको रक्षा गर्न सक्दैन।’

लोकतान्त्रिक शासन व्यवस्थाको जग बलियो बनाउने जिम्मेवारी राजनीतिक दल र नेतृत्वको भएको धारणा राख्दै यादवले थपे,‘यसका निम्ति नेपाली कांग्रेस बढी जिम्मेवार हुनुपर्ने पर्छ।’ गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहेको कांग्रेसले नै मुलुकमा शान्ति स्थापना गरेको स्मरण गर्दै उनले पछिल्लो परिवर्तनलाई संस्थागत गर्ने जिम्मेवारी पनि कांग्रेसमा धेरै रहेको बताए।

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुङ्गानाले २०६२/०६३को परिवर्तनलाई जनताले स्वामित्व लिन नसकेको भन्दै कांग्रेसले गुटभन्दा माथि उठेर लोकतन्त्रको रक्षाका लागि अघि बढ्नुपर्ने तर्क गरे। प्रजातन्त्रको विकल्प अझ सुदृढ प्रजातन्त्र भए जस्तै प्रजातान्त्रिक पार्टीको विकल्प कम्युनिस्ट पार्टी हुन नसक्ने उनले दाबी गरे।

कम्युनिस्ट पार्टीहरूले लोकतन्त्रलाई कमजोर मात्र बनाउने तर्क गर्दै उनले भने, ‘प्रजातान्त्रिक पार्टीको विकल्प प्रजातान्त्रिक दल नै हुनुपर्छ। कांग्रेसले त्यसको नेतृत्व गर्नुपर्छ।’

मुलुकमा राजनीतिक अस्थिरता रहेको जनाउँदै कांग्रेस नेता शेखर कोइरालाले पार्टीले अब सरकारको स्थिरताका कसरी कायम गर्ने भन्नेमा ध्यान दिनु पर्नेमा जोड दिए। ‘सरकारको स्थायित्व छैन, भ्रष्टाचारले गाँजेको छ,’ उनले भने, ‘आर्थिक विकास हुने अवस्था छैन। यस्तो अवस्थाबाट मुलुकलाई निकास दिन कांग्रेसले नेतृत्व लिनुपर्छ।’

कृष्णप्रसाद कोइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृति पोलिटेक्निकल परिवारले आयोजना गरेको कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाट, कांग्रेस नेता ओमकार श्रेष्ठसहितले शैलजा आचार्यको दृढता, इमानदारिता, नैतिकताका साथै संघर्षशिलपनाको चर्चा गरेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस