स्खलित बनाउने 'नेपाली सपना'
११ असार २०६९
•
१३ मिनेट पाठ
स्खलित बनाउने 'नेपाली सपना'
अपराधशास्त्री मेस्नर र रोजनफिल्डले अमेरिकी समाजका सदस्यलाई महत्वाकांक्षी लक्ष्य प्राप्तिमा प्रेरित गर्ने तर सीमित साधनका कारणले लक्ष्य प्राप्त गर्नेहरू नगन्य मात्रामा हुने उल्लेख गर्दै यसलाई सपनाको संज्ञा दिँदै 'अमेरिकी ड्रिम' बारे गहिरो व्याख्या गरेका छन्। अमेरिका जस्तो साधन र स्रोतले सम्पन्न देशमा समेत सामाजिकीकरणले बोकाउने महत्वाकांक्षाका कारण ठूलो उद्देश्य लिनेमध्ये अधिकांश असफल भई निराश बन्न पुग्छन्।
जसका कारण किशोरावस्थामै आपराधिक गतिविधितर्फ धकेलिनेको सम्भावना बढ्छ। आत्महत्या या अन्यलाई हानि पुर्यापउने क्रियाकलापमा सानै उमेरकाहरू उल्लेख्य संख्यामा हुन्छन्। सामाजिकीकरणले दिलाउने परिणामले दीर्घकालीन समस्या बनेर समाजमा चुनौती आइपर्छ।
सपना देखाउने र देख्ने नेपालीहरूको आफ्नै शैली छ। झट्ट हेर्दा सुन्दर भविष्यको आशमा सपना देख्नु र देखाउनु नकारात्मक नदेखिएला। तर सीमित सम्भावना बोकेको लक्ष्यलाई निर्विकल्प प्रस्तुत गरी उत्प्रेरित गर्दा उल्टो परिणाम आउन सक्छ। घरदेखि विद्यालय हुँदै राज्यसम्मले सीमित पेशातर्फ केन्द्रित गर्ने गरी सपना देखाउँदा किशोरावस्थाबाटै सामाजिक मूल्य मान्यताबाट स्खलित (डेभियन्स) हुने सम्भावनाको आधार बन्छ। हाम्रो शिक्षा नीतिले दिएको परिणामले दक्ष जनशक्तिमात्र जन्माइरहेको छैन, आपराधिक गतिविधितर्फ धकेल्न भूमिकासमेत खेल्दैछ। पाठ्यक्रममा नैतिक शिक्षाको ज्ञान समेट्दैमा विद्यार्थी मूल बाटोबाट स्खलित हुनबाट रोकिँदैन। त्यसले केलाई प्राथमिकतामा राखेको छ र राज्यमा तद्नुरुपको सम्भावना छ कि छैन भन्ने सवाल महत्वपूर्ण रहन्छ।
नेपाली समाजमा घरबाटै सपना देखाउन सुरु हुन्छ। अभिभावकले उनीहरूको इच्छाअनुसारको पेशा अंगालोस् भन्ने आशयले प्रत्यक्ष/अप्रत्यक्ष दबाब सृजना गर्ने परम्परा बसिसकेको छ। दबाबले न्युन संख्यामा सकारात्मक परिणाम दिन सक्ला। बाँकीले उल्टो परिणाम ल्याउने खतरा रहन्छ। सपना पूरा गराउन विद्यालय पठाइनेमध्ये बीचैमा विद्यालय छाड्नेहरूको उल्लेख्य संख्या छ। अपराधशास्त्री रोबर्ट आग्निउको तर्कलाई आधार मान्ने हो भने व्यक्तिगत इच्छामाथि अत्याधिक चुनौती थपिएपछि व्यक्तिले विद्यालय जान बीचैमा छाड्छ। अरुको दबाबले चाहना विपरितको बाटोमा जबर्जस्ती हिँड्नुपर्दा भोग्नुपर्ने पीडाबाट मुक्ति पाउन कर्तव्य बनेको विद्यालयको नियमित आवत्जावत्बाट छुट्कारा लिन खोज्छ। खेलाडी, कलाकार, आदि बन्ने भित्री चाहनामाथि आइपर्ने चुनौतीले विद्यालय बीचैमा छाड्ने संख्या बढेको अमेरिकामा गरिएका शोधले देखाएका छन्। हामीकहाँ बीचैमा विद्यालय छाड्नेको संख्या उल्लेख्य छ। गरिबीलाई प्रमुख कारण देखाइए पनि आर्थिकरुपमा बलियो परिवारबाट आएकाहरूले समेत बीचैमा विद्यालय छाड्ने गरेबाट विद्यालयको कडा अनुशासन र व्यक्तिगत चाहना पूरा हुने सम्भावना क्षीण देखेपछि पुग्ने पीडाबाट मुक्त पाउने अभिप्रायले यसो गर्नेहरू समेत देखिन्छन्।
सामाजिकीकरणको पहिलो विद्यालयका रुपमा रहेको घरबाटै सीमित रहेको लक्ष्यमा पुग्न अत्याधिकरुपमा प्रेरित गरिने परम्परा नेपाली समाजमा छ। अधिकांश अभिभावकले सानैदेखि डक्टर या इञ्जिनियर बन्नुपर्छ भनी सिकाउन थाल्छन्। आफ्ना छोराछोरी समाजले सम्मानित भनी दर्जा दिएको पेशा अंगालून् भन्ने चाहना कुनचाहिं बाबुआमालाई नहोला र! विद्यालयमा समेत सिकाउने उही हो। सम्मानित दर्जा गरिएका केही पेशामै लाग्न विद्यार्थीलाई प्रायः शिक्षक झक्झकाइरहन्छन्। सीमित स्थान रहेको लक्ष्यभेद गर्न सबैले सक्दैनन् भन्ने जान्दाजान्दै त्यसैतर्फ सबैलाई उत्प्रेरित गरिरहनु कहाँसम्म जायज हो? यस्ता गतिविधिले अप्रत्यक्षरुपमा कतिपय विद्यार्थीलाई निराश बनाउँछ। विद्यार्थीलाई स्खलित बनाउनेदेखि अपराधतर्फ धकेल्न घरबाट हुँदै विद्यालयसम्म रहेको सामाजिकीकरणको अवस्था जिम्मेवार छ। शिक्षाको पवित्र थलो अपराधतर्फ धकेल्ने स्थल त बन्दै छैन? अपराध कार्यमा सक्रियमध्ये अधिकांश बीचैमा विद्यालय छाडेका या एसएलसीपछि अध्ययनअगाडि बढाउन नसकेकाको तथ्यांक छ। समाजले सिकाएको लक्ष्यभेद गर्न नसक्ने निश्चित भएपछि उनीहरू स्खलित बन्ने आधार तयार भएको हो। यति भन्दैमा समाजले प्रतिष्ठित भनी दर्जा दिएको पेशा अंगाल्ने अपराधमै लाग्दैनन् भन्न खोजिएको होइन। तथापि, जबर्जस्ती बुन्न लगाइएको सपना बीचैमा चुँडिएपछि व्यक्ति निराश हुन्छ र अपराध कार्यमा संलग्न हुने सम्भावना अधिक रहन्छ।
एसएलसीको परीक्षाफल प्रकाशित हुँदा आधाभन्दा बढी अनुत्तीर्ण भएका छन्। चार लाखको संख्यामा सहभागीमध्ये सबै उत्तीर्ण हुने सवाल नरहला। मौका परीक्षा दिँदा पनि लाखको संख्यामा त्यत्तिकै थन्किने अवस्था बनिहाल्छ। यति ठूलो संख्याका किशोर-किशोरीलाई व्यवस्थित गर्ने सामर्थ्य राज्यमा छैन। घर हुँदै विद्यालयसम्मले देखाएको केही सम्मानित पेशामा पुग्ने तिनका सपना बीचैमा चकनाचुर हुन्छन्। पीडा थेग्न नसक्नेहरू मृत्युको बाटो अंगाल्न पुगेको समाचार हरेक एसएलसी परीक्षाफल प्रकाशित हुँदा आउने गरेको सामान्य भइसकेको छ। यस पटक तिनले पत्रपत्रिकामा प्राथमिकताका साथ स्थान पाए। समाजशास्त्री इमाइल दुर्खिमले आत्महत्यालाई सामाजिक वास्तविकता भन्दै सीमित घटनालाई सामान्य भने पनि अत्याधिक घटना हुँदा समाज बिरामी भएको मान्नुपर्ने तर्क गरेका छन्। हरेक वर्ष एसएलसी परीक्षाफलसँगै हुने गरेका आत्महत्याको घटनालाई समेत केलाएर समाज कति बिरामी छ/छैन पत्ता लगाउने शोधकर्ताहरूको विषय हो। तर, आत्महत्याको बाटोमा पुर्यािउने जिम्मेवारी समाज र शिक्षा प्रणालीको समेत हो। आत्महत्या त जघन्य घटना भएकाले चर्चामा आएकोमात्र हो। एलएलसीले उत्तीर्ण बनाएकाहरूको भविष्य सम्हाल्ने सामर्थ्यसमेत नरहेको राज्य संयन्त्रले अनुत्तीर्ण बनाएकाहरूको भविष्य सम्हाल्ने सामर्थ्य राख्दैन। यो तीतो सत्यलाई स्वीकार्ने हो भने हरेक वर्ष एलएसलीको सामना गर्नेमध्ये अधिकांशले नयाँ सपना सृजना गर्दै विदेशी भूमिको मार्ग कोर्ने पहल सुरु गर्छन्। दश जोड दुई उत्तीर्ण गर्ने र अमेरिका, युरोप, अष्ट्रेलिया जस्ता विकसित देशहरू पुग्ने सपना बुन्न थाल्छन्। पश्चिमा शहरहरूको आकर्षक तामझामसहित पत्रपत्रिकामा विज्ञापन रंगिएबाटै सपना देखाउनेहरूको सामर्थ्य र शक्ति पहिचान गर्न सकिन्छ। घरबारसमेत बेचेर या धितो राखेर सपना साकार पार्न पश्चिमा देशहरूतिर कानुनी/गैरकानुनीरुपमा जाने प्रवृत्तिलाई बल दिन शिक्षा नीति उत्तिकै जिम्मेवार छ।
सपनाहरू एकपछि अर्को गर्दै भताभुंग भएपछि एकाथरि युवा अरबी मुलुक र मलेसियातिर हान्निने परम्परा बनिसकेको छ। शैक्षिकरुपमा कम योग्यता भएका या भए पनि आर्थिक सामर्थ्य नपुगेकाहरूको सपना सीमित हुँदै मरुभूमिमा पुग्ने गरेको तीतो सत्य हो। घरदेखि विद्यालयले भरिदिएको मीठो सपना टुट्दै गएर रेगिस्तानको पीडा भोग्नुपर्ने अवस्थाबीच लाखौं युवा बाँच्न विवश छन्। हामीले लाखौंको संख्यामा उत्पादन गरेका जनशक्ति सस्तो पारिश्रमिक पाउने विदेशको श्रम बजारका लागि केन्द्रित भइरहेको छ। सम्भावनाहरू सीमित बनाइएकाले स्वदेशमा रहने सपना कमैले देख्न थालेका छन्। हाम्रो शिक्षाले सीमित पेशालाई मात्र केन्द्रबिन्दुमा राखेर सपना देखाउने गर्दा ठूलो मूल्य चुकाउनुपरेको छ। कृषिप्रधान देशमा कृषकले अझै सम्मान पाउन सकेको छैन। सफल कृषक बन्न शिक्षाले प्रेरित गरेकै छैन। यतिसम्म कि उद्योगी व्यवसायी बन्नसमेत प्रेरित गरेको छैन। रोजगारीको अवसर सृजना गर्ने पेशातर्फ लक्षित बनाउने शिक्षा नपाएसम्म अधिकांश नयाँ पिँढीका सपना निरन्तर चकनाचुर भइरहन्छन्। पश्चिमा शहरमा पुग्नुमै सफलता मानिने सामाजिक सोचको जरो गाडिँदै जानुमा शिक्षा प्रणाली जिम्मेवार छ। नत्र कुनै पढे/लेखेको युवाले कृषि पेशा अंगाल्दा आश्चर्य मान्नुपर्ने अवस्था रहिरहन्छ। उत्पादकका रुपमा सक्रिय जनशक्तिले समग्र समाजबाट सम्मान नपाइरहेको वास्तविकता हो। शिक्षाले रोजगार र उपभोक्ता बन्नमै बढी प्रेरित गर्दाको परिणाम हो। शिक्षाले रोजगारभन्दा रोजगारदाता र उपभोक्ताभन्दा उत्पादक बनाउन प्रेरित नगरेसम्म सपना बीचैमा तुहिरहन्छन्। सामाजिकीकरणको तल्लो एकाई घरदेखि विद्यालय हुँदै राज्यसम्मले नयाँ पिँढीलाई सम्भावनाका धेरै मार्ग देखाउन सक्नुपर्छ। अन्यथा 'नेपाली सपना' ले धेरैलाई पश्चिमा शहरहरूमा निराशा र रेगिस्तानमा पीडा भोग्न विवश बनाइरहन्छ। देशले दक्ष जनशक्तिबाट पाउनुपर्ने योगदान गुमाइरहन्छ। शिक्षा लिने क्रममै धेरै संख्याका किशोरकिशोरी र युवा स्खलित भई अन्तमा आपराधिक कार्यतर्फ मोडिइन सक्छन्।
 


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस