जेएनयु चुनावको पाठ
२२ फागुन २०६८
•
१६ मिनेट पाठ
जेएनयु चुनावको पाठ
पैसा र बल प्रयोगबिनाको चुनाव। त्यो पनि दक्षिण एसियामा। जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी युनियनको चुनावले भने यही गरिमामय परम्परा कायम गरेको छ। विशुद्ध विचार र व्यवहारका आधारमा उम्मेदवार चयन हुने यो चर्चित चुनाव साढे तीन वर्षपछि हुँदा मतदाताक रूपमा नजिकैबाट हेर्ने मौका मिल्यो। दरिलो लोकतान्त्रिक प्रणाली अन्तर्गतको स्वस्थ र स्वच्छ चुनावमा मतदाता बन्न बिरलै पाइन्छ।
अदालतमा मुद्दाका परेका कारण हरेक वर्ष हुनुपर्ने यो चुनाव केही वर्षको अन्तरालमा हुनपुग्यो। त्यसले पनि यसको महत्व थपिनु स्वाभाविक थियो। तथापि, बेग्लै प्रतिष्ठा भएको यस चुनावको वातावरण देखेपछि यसले भारतभर महत्व पाउनुको अर्थ बुझिन्छ।
केही पहिलेदेखि नै जेएनयुको चुनावसम्बन्धी समाचारले भारतभरका संचारमाध्यमले महत्व पाउँदै आएको थियो। कट्टरपन्थी र उदार कम्युनिस्ट विद्यार्थी युनीयनहरू बलियो रहेको भए पनि यस विश्वविद्यालयको चुनावमा गैरवामपन्थीको समेत उत्तिकै चासो देख्न पाइन्छ। 'मनी' र 'मसल' (पैसा र बल) बिनाको प्रतिष्पर्धा बिरलै हुने दक्षिण एसियाको चुनावी राजनीतिमा जेएनयुले भिन्न पहिचान बनाएको छ। विचार र व्यवहारका आधारमा मतदाताले मतदान गर्ने हुँदा जर्बजस्ती तथा पैसाको प्रभावै देखिएन। भारतका शक्तिशाली राजनीतिक दल निकट विद्यार्थी संघहरूले विचारबाटै मतदातालाई आकर्षित गर्न राजनीतिक विषयलाई प्रस्तुत गरेर चुनावको मिति घोषणा हुनुभन्दा धेरै अघिबाट सक्रियता देखाइरहे। उनीहरुका सबालहरू छोटो तर मीठो भाषामा हरेक दिनजसो पर्चाका रूपमा पढ्न पाइन्छ। भारतमा मात्र नभई संसारभर विकसित राजनीतिक, सामाजिक र आर्थिक गतिविधिलाई समेटेर उठाइने राजनीतिक विषयहरू विश्वविद्यालयका भवनहरूको बाहिरी भित्तामा टाँसिएका हुन्छन्। नभए सम्बन्धित संघ संगठनका कार्यकर्ताले त्यस्ता पर्चा बाँडिरहेको पाइन्छ। उनीहरू दिउँसोभन्दा रातमा छात्रावासमा पुगेर खानाको समयमा बाँड्दाको प्रभावकारिता बुझेर सक्रिय हुन्छन्। मेसमै छाडिने ओझिलो शब्दहरूसहितका पर्चा प्रायः विद्यार्थीका लागि चासोको विषय बन्ने गरेको छ। भिन्न विचारलाई समेत सुन्ने र पढ्ने संस्कार जागृत गर्ने पर्चा जेएनयुको आकर्षण मानिन्छ। चुनावी परिवेशमा संख्यात्मक र गुणात्मक दुवै दृष्टिले लिखित एजेण्डासहितका पर्चाले विशेष महत्व पाए। सूचनाबाहेक समसामयिक राजनीतिक, आर्थिक र सामाजिक ज्ञान पाउन सकिने विषयले भरिपूर्ण लिखित वक्तव्य जेएनयु निर्वाचनको अर्को विशेषता हो। विशुद्ध अध्ययन अध्यापनमात्र नभई राजनीतिक र सामाजिक गतिविधि र संस्कारले गर्दा पनि यसले पृथक पहिचान बनाएको छ।
दक्षिण एसियाका देशहरूमा संसदीय चुनावदेखि शैक्षिक संघसंस्थामा हुने चुनावसम्म पैसा र बलको बाहुल्य देखिँदै आएको छ। सँसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देशका रूपमा परिचित भारतको अवस्थासमेत खासै फरक छैन। आधुनिक प्रविधिको प्रयोग हुँदा पनि निर्वाचनमा प्रत्यक्षअप्रत्यक्ष धाँधली हुनछाडेको छैन। विश्वविद्यालयका चुनावहरूमा विद्यार्थीहरू गोली र बमसहित उत्रेका हुन्छन्। भारतको राजधानी दिल्ली र अरू प्रमुख सहरमा रहेका विभिन्न विश्वविद्यालयमा समेत यस्ता समस्या देखिँदै आएको छ। जेएनयुको चुनावमा भने लठ्ठसम्म पनि देखिएन। कम्युनिस्ट समर्थक विद्यार्थीहरूले समेत 'लाल सलाम' को चर्को नारा लगाउने र भित्तामा आकर्षक चित्रद्वारा विपक्षीको विरोध गर्ने शैली अपनाउँदा रहेछन्। हदै गरे सेमिनारहरूमा गैरकम्युनिस्ट नेताहरु जेएनयु आउँदा प्रश्न सोधेर आत्थुआत्थु पार्छन्। गैरकम्युनिस्ट विद्यार्थीहरूले पनि वैचारिक ढंगबाटै कम्युनिस्टहरूको चर्को आलोचनाको शैली अपनाइरहेका छन्। चुनावताका लिखितरूपमा पर्चा बाँडेर सस्ता नारा पछाडि नलाग्न र व्यावहारिक राजनीतिक प्रणालीका पक्षधरलाई सघाउन अपिल गरिरहे। उनीहरूले ठाउँठाउँमा गान्धीदेखि नेहरुसम्मका नेतहरूको चर्चित उक्तिको बोर्ड झुन्ड्याउने र भित्तामा लेख्ने गरेका छन्। जेएनयुअर्न्तगतका स्कुल, पुस्तकालय र प्रशासनका भित्ताहरूलाई कुनै वैचारिक पुस्तकको पन्नाजस्तो बनाइएको छ। आलोचनाको सूची हेरेरै सम्बन्धित संगठनको पहिचान सजिलै गर्न सकिन्छ।
विरोधको शैली अपनाउँदा जेएनयुमा आक्कलझुक्कल अध्ययनअध्यापन बन्दको आह्वान पनि गरिन्छ। आचारसंहिता विवादले चुनावमा अन्योल भएपछि केही दिन बन्द आह्वान गरिएको थियो। बन्द आह्वान गर्नेहरूले जर्बजस्ती चाहिँ नगर्ने भएकाले कोही पनि बाध्य भने हुनुर्दैन। कक्षा चलाउन चाहने प्राध्यापकले पढाए। पढ्न चाहने विद्यार्थी कक्षामा गए। कसैबाट रोकटोक भएन। जर्बजस्ती बन्द गराउने शक्तिशाली विद्यार्थी संगठनका नेतासमेत निष्कासित गरिएको इतिहास रहेकाले कसैले त्यस्तो दुष्साहस गर्न सक्दैन। प्रशासन होस् या स्कुलकै मुख्य द्वारमा अवरोध गरेर विरोधका कार्यक्रम गरिँदैन। न शक्तिशाली माइक राखेर भाषणवाजी नै गरिँदो रहेछ। सात हजार विद्यार्थी मतदाता रहेको विश्वविद्यालयमा 'प्रेजिडेन्सियल डिबेट' (सभापति उम्मेदवारहरूको बहस) को रातमा बाहेक अन्य दिनमा राजनीतिक संघसंगठनको माइक बजेन। हजारौँ विद्यार्थीको चासो रहने बहसको विशेष महत्व रह्यो। स्वतः स्फूर्त वैचारिक बहस सुन्न आउनेमा प्राध्यापकसमेत देखिन्थे। उम्मेदवारहरूले व्यक्तिगत आरोप प्रत्यारोप गर्न पाउँदैनथे। आचारसंहिताअनुसार उनीहरू विषयमा केन्द्रित भएर बोल्नुपर्थ्यो। त्यसैगरी बोले पनि। ताली र गालीका चर्को स्वरले वातावरण गुञ्जायमान हुन्थ्यो। भिन्न विचार राख्ने विद्यार्थीहरू सँगसँगै बसेर समर्थन र विरोधमा चर्का नारा लगाइरहँदा समेत झडप भएन। उम्मेदवारहरूले कुनै राजनीतिक दललाई हत्यारा त कुनै जाति विशेषलाई क्रूर तथा बलात्कारीको आरोप लगाउँथे। आरोपप्रत्यारोप शब्दबाटै हुन्थ्यो। बौद्धिक स्थलको मर्यादा रक्षा हुनेगरी संयम अपनाइएको देखिन्थ्यो। एउटै थलोमा उभिएर भिन्न विचारका विद्यार्थीले रातका समयमा चर्का नारावाजी गर्दा पनि भौतिक झडप नभई बहस सम्पन्न हुनु जेएनयुको आन्तरिक लोकतन्त्रिक अभ्यासको सौन्दर्य हो। चुनावको दुई दिनअघि बहस सौहार्द्रपूर्ण वातावरणमा सकिने परम्परा बसिसकेको रहेछ। बहससँगै विद्यार्थीको लिखित प्र्रश्नको सामना गर्न उम्मेदवार तयार हुनुपर्छ। कागजमा लेखेर प्रश्न निश्चित बाकसमा खसाल्न समय तोकिन्छ। प्रश्न गरिएको उम्मेदवारलाई जबाफ दिनका लागि समय दिइन्छ। सभापतिको एउटा उम्मेदवारले अर्कालाई प्रश्न सोध्ने अवसरसमेत पाउँदो रहेछ। मतदाताले क्षमता मापन गर्ने अवसर पाउने हुँदा यस्तो बहसले निकै महत्व राख्छ। रातभर चल्ने बहसलाई निन्द्रा माया मारेर सुन्ने र हेर्नेको उत्साहजनक उपस्थिति हुँदो रहेछ। यसैले त 'जेएनयु संस्कृति' का रूपमा परिचय पाएको यस अभ्यासको भारतभर मात्र नभई अन्तराष्ट्रिय जगतमा समेत चर्चा हुने गरेको रहेछ।
चुनावी वातावरणले मतदानको दिनबाहेक अन्य दिन पठनपाठन अवरुद्ध पारेन। चुनाव अघि र पछिका दिनमा नियमित अभ्यास सामान्य अवस्था जसरी नै चले। केन्द्रीय पुस्तकालय चुनावको दिनसमेत बन्द भएन। उम्मेदवारहरूले मत माग्दा कहिल्यै कक्षा अवरुद्ध पारेनन्। प्राध्यापकले कक्षा सकेर निस्किएको मौका छोपेर भित्र पसी आफ्ना भनाइ राख्ने प्रयाससम्म गर्थे। कतिपयले त्यसो गर्दा मतदाता चिढिने डरले स्कुलहरूको मूल ढोकाबाहिर बसेर या छात्रावास पुगेर पर्चा बाँडे। बलको केही काम नलाग्ने र हरेक उम्मेदवारको भविष्यको फैसला स्वैच्छिक मतबाट हुने भएकाले यस्तो अवस्था सिर्जना भएको हुनुपर्छ। मतदाताको हैसियत बलियो हुँदा उम्मेदवारहरूले उनीहरुको इच्छाविरुद्ध कत्ति पनि प्रभुत्व देखाउन नसकेको होला। विश्वविद्यालय विचारको आदानप्रदान गर्नेमात्र नभई लोकतान्त्रिक संस्कृति अभ्यास गर्ने पनि उपयुक्त थलो हो। मतदाताको मन उपयुक्त विचार र व्यवहारबाटै जित्नुपर्ने अवस्थाले लोकतान्त्रिक अभ्यास सशक्त हुनसक्छ। जेएनयुमा उग्रपन्थी कम्युनिस्टदेखि उदार अर्थतन्त्रका पक्षधर, पहिचानको राजनीतिदेखि क्षेत्रीय राजनीतिमा विश्वास गर्नेहरूसम्मका सबै लोकतान्त्रिक प्रणालीमा चल्नु अनिवार्य हुन्छ। प्रत्यक्ष राजनीतिमा सक्रिय विद्यार्थीहरूले अर्को विचार, जाति, क्षेत्र र समुदायको विरोध गर्नसक्छन् तर लोकतान्त्रिक संस्कारलाई चुनौती दिनसक्दैनन्। जर्बजस्ती शैली चल्दैन। त्यस्तो दुस्साहस गर्न खोज्नेले मतदाताबाट गतिलो अस्वीकृतिको सामना गर्नुपर्ने हुन्छ। अध्ययन र अध्यापनलाई अवरुद्ध गर्ने तागत कुनै पनि विद्यार्थी संघमा छैन। अनुशासनको स्वतःस्फूर्त पालना सशक्त छ। विश्वविद्यालयको नियममाथि कोही छैन। नियम उल्लंघन गर्नेले कुनै राजनीतिक शक्तिसँगको पहुँच या सामर्थ्यकैे भरमा छुटकारा पाउँदैन।
हुनत, विश्वविद्यालयको गरिमा राख्न पठनपाठनै महत्वपूर्ण हुन्छ तर विश्वविद्यालय राजनीतिक र सामाजिक संस्कार सिक्ने थलो पनि हो र त्यसलाई कायम राख्नुपर्छ। यसका लागि विद्यार्थीको नाममा राजनीति गरेर उनीहरूको पठनपाठन बिगार्ने र जर्बजस्ती विचार लाद्न खोज्ने कुसंस्कारको अन्त्य हुनु अनिवार्य छ। हाम्रा विश्वविद्यालयहरूमा हुने गलत राजनीतिले पैसा र बलको राजनीतिक अभ्यास गरााउने कुसंस्कार समेत भिœयाइएको छ। बौद्धिक थलोमै भद्रगोलको अवस्था र कुसंस्कारको प्रभुत्व भएपछि देशमा सुशासनको आशा गर्नु व्यर्थ हुन्छ। किताबका पन्ना पल्टाएर शब्द घोकाउनुमात्र शिक्षा होइन। शिक्षाले त जीवनमा लागु गर्नेगरी स्वस्थ संस्कार बसाउनुपर्छ। अधिकार प्राप्तिका लागि अरूको स्वतन्त्रता र अधिकार नखल्बिलिने अवस्था निर्माण गर्न विश्वविद्यालयहरूमा दरिलो प्रणालीको विकास अनिवार्य हुँदो रहेछ। त्यसलाई विद्यार्थीहरूले नै सुदृढ बनाउने हो। जेएनयुमा नियम र कानुन मिच्न हैन पालना गर्नैपर्ने गरी बनेको रहेछ। नियमकानुनमा खुकुलोपना आएपनि लोकतान्त्रिक संस्कार विद्यार्थीहरूकै पहलमा सुदृढ भएकाले जर्बजस्ती र बलमिच्याइँले त्यहाँ स्थान पाएको छैन। सबै स्वतन्त्र छन् तर अरूको स्वतन्त्रतामा धावा बोल्न सकैले पनि सक्दैनन्।
 


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस