दक्षिण एसियामा सैन्य प्रभाव
१५ फागुन २०६८
•
१५ मिनेट पाठ
दक्षिण एसियामा सैन्य प्रभाव
मालदिभ्सको सत्ता संघर्षभित्र अन्तर्राष्ट्रिय शक्तिहरुको भूमिका छर्लंग छ। सैन्य दबाबका कारण राजीनामा दिएका निवर्तमान राष्ट्रपति मोहमद नसिदले आफू भारतप्रति झुकाव राख्ने भएकाले सत्ताच्यूत हुनुपरेको अभिव्यक्ति दिइसके। सत्तापलटमा सतही खेलाडी मालदिभ्सभित्रका राजनीतिक शक्ति भए पनि भित्री शक्ति अन्तर्राष्ट्रिय शक्तिराष्ट्रहरु थिए, जसमा मुख्यतः भारत र चीन छन्।
हिन्द महासागरमा सैन्य प्रभाव विस्तारमा देखिएको प्रतिस्पर्धाअन्तर्गत दक्षिण एसियाको सानो टापु राष्ट्रमा राजनीतिक संकट गहिरिन पुगेको छ। अप्रत्यक्षरुपमा सैनिक कु मानिएको घटनाले यस क्षेत्रको राजनीतिमा सैन्य प्रभाव स्पष्ट देखिएको छ।

भारतबाहेक दक्षिण एसियाका सबै राष्ट्रहरुको आन्तरिक राजनीतिमा सेनाको प्रभाव छ। पाकिस्तानमा विगतको सैनिक कु विश्वमै चर्चित भएको थियो। पछिल्लो समय कुको खतरा टरेको छैन। निर्वाचित सरकार र सेनाबीचको टकरावले लोकतन्त्रलाई कमजोरमात्र पारेको छैन, आर्थिक र सामाजिक विकासलाई सुस्त पनि बनाएको छ। कुनै बेलाको पूर्वी पाकिस्तान बंगलादेशमा कुको पछिल्लो प्रयास असफल भयो। अलोकप्रिय बन्दै गएको सेख हसिना सरकार गिराउन वरिष्ठ सैन्य अधिकारीहरु लागेको खुलासा भएपछि उनीहरुमाथि कारबाही बढेको छ। विगतमा सैनिक कु भइसकेको बंगलादेशमा खतरा टरे पनि सम्भावना जीवितै छ। श्रीलंकामा तामिल विद्रोहीमाथि जित हात पारेपछि सेना र सरकारबीच टकराव बढेकै हो। पूर्वसेनापति सरत फोनसेकाको राजीनामापछि उनी राष्ट्रपति महिन्दा राजापाक्षेविरुद्ध चुनावमा उत्रेर पराजित भए। सरकारविरुद्ध युद्धअपराधको झुटा आरोप लगाएको अभियोगमा कारबाहीमा परी जेलमा छन्। सैन्य प्रभावकै आडमा कठोर शासन चलाएको आरोप राजापाक्षेमाथि छ। विपक्षीहरुलाई दमन गर्ने सिलसिला चलाएकाले उनी आलोचित छन्।
दक्षिण एसियामा सेनाको प्रभावका पछाडि आन्तरिक राजनीतिले जति परिस्थिति तयार पार्छ उत्ति नै बाह्य सहयोगको भूमिका रहन्छ। परभेज मुसर्रफले नवाज सरिफलाई पदच्युत गरेर कु गर्दा पश्चिमाहरुको भित्री सहयोग लुकेको छैन। विशेषगरी अमेरिकी सेनासँगको विशेष सम्बन्ध राख्दै आएको पाकिस्तानी सैनिकलाई कु गर्दासमेत अर्बौँ डलरको सहयोग रोकिएन। बिन लादेनको खोजी र अलकायदाविरुद्ध लक्षित प्याकेज अभियानमा अर्बौँ डलर सहयोग गरिएको थियो। अमेरिकाले चाहेको भए सहयोग रोक्का गरी सैनिक सरकारलाई उहिल्यै दबाब दिई कुबाट पछि हट्न बाध्य पार्न सक्थ्यो। आफ्नो स्वार्थका लागि सैनिक कुलाई समेत भित्री समर्थन गर्ने चाल चलेर अमेरिकाले दक्षिण एसियामा आफ्नो उपस्थिति बलियो बनायो। अफगानिस्तानमा सैन्य उपस्थिति प्रभावकारी बनाउन पाकिस्तानको सैन्य शासन अमेरिकाका लागि फलदायी साबित भएको छ। बिन लादेन मारिएपछि सम्बन्ध चिसिए पनि सैन्य स्वार्थका कारण पाकिस्तानलाई अमेरिकी सहयोग निरन्तर रहने अवस्था बन्ने निश्चितप्रायः छ। चीनको प्रभावलाई सन्तुलनमा राख्न र भारतलाई कूटनीतिक दबाब दिन पाकिस्तान अमेरिकी स्वार्थमा पर्छ। अफगानिस्तानमा प्रभावलाई कायमै राख्न पाकिस्तानको सहयोग अनिवार्य छ। पाकिस्तानी सीमाभित्र ड्रोन हमलाले तनाव बढाए पनि सहमति बन्नुको विकल्प छैन। चीनसँग पाकिस्तानको निकटता बढेको देखिए पनि अमेरिकासँगको सम्बन्ध सुधारको पहललाई कायमै राखेकाले उसले परम्परागत सम्बन्धलाई त्याग्ने अवस्था देखिँदैन। कुनै पनि बेला हुनसक्ने कुबाटै सहमतिको पहल थालनी भए आश्चर्य नमान्दा हुन्छ। अस्थिरताबाटै फाइदा देख्ने शक्ति राष्ट्रहरुका लागि गरिब राष्ट्रहरुमा हुने अलोकतान्त्रिक गतिविधिको विरोध औपचारिकतामै सिमित हुन्छ। इतिहास साक्षी छ, भित्री रुपमा उनीहरु सहयोगी भूमिका गर्नेमै अग्रपंक्तिमा पर्छन्।
कुनै पनि देशको सैनिक शक्तिशाली हुनु नकारात्मक होइन। तर, त्यो कुन धरातल टेकेर शक्तिशाली बन्दै गएको छ भन्ने गम्भीर विषय हो। एक्काइसौँ शताब्दीमा जनअधिकार खोसेर शक्तिशाली बन्ने सेना समग्रमा केलाउँदा देशलाई बर्बादीमा पुर्‍याउनै केन्द्रित हुन्छ। पाकिस्तानको पटकपटकको सैनिक शासनले उसलाई प्रगतिभन्दा दुर्गतितिरै लगेको छ। आन्तरिकरुपमा अतिवाद र बाह्य रुपमा तेस्रो शक्तिको प्रभावलाई मैदान खुला गरिदिएको छ। आफ्नो देशमा मात्र नभएर छरछिमेकमा समेत असर पार्ने गरी अस्थिरताको बिउ रोप्न महत्वाकांक्षी सैनिक अधिकारीहरुले भूमिका खेल्दै आएका छन्। लोकतन्त्रका पक्षधर राजनीतिक दलहरुलाई दोषको भारी बोकाएर सैनिक शासनलाई विकल्प देख्ने प्रवृत्ति भारतबाहेक दक्षिण एसियाका अन्य देशहरुमा अझै छ। तानाशाहलाई मोहराका रुपमा अगाडि सारेर सेनाले आडभरोसा दिएर शासन चलाउने शैली यस क्षेत्रमा नदेखिएको होइन। मालदिभ्सम्मको घटनामा सेनाको भित्री भूमिका देखिएकै छ। वाहिद हसनले संयुक्त राष्ट्रसंघमा काम गरेको इतिहास बोके पनि उनी निर्वाचित राष्ट्रपति होइनन्, सेनाकै बलमा अप्रत्यक्ष कुका पात्र हुन्। कमजोर देशको आन्तरिक राजनीतिमा सेना बलियो हुनु भनेको तेस्रो शक्तिलाई चलखेलमा निम्त्याउनु हो। निवर्तमान राष्ट्रपति नसिदले भारतलाई भूमिका निर्वाह गर्न आग्रह गरिसकेका छन्। उनले खुलेरै आफूलाई 'प्रो-इन्डियन' भने। भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नवनियुक्त राष्ट्रपति हसनलाई औपचारिक बधाई सन्देश पठाए पनि मालदिभ्स घटनामा भारत सन्तुष्ट छैन। भारतीय विज्ञहरुले मालदिभ्स घटनाले भारतको प्रभाव धराशायी बनाउने खतराको संकेत गरेका छन्। हिन्द महासागरमा चीनलगायत अन्य शक्तिराष्ट्रको सैन्य उपस्थितिको उद्देश्य निहित भन्दै तत्काल कदम चाल्नुपर्नेसम्मका लेखहरु सार्वजनिक भएका छन्। चीनसँगको सैन्य सम्झौताको विपक्षमा उभिएका पहिलो निर्वाचित राष्ट्रपति नसिदको सत्ता बर्हिगमनले भारतीय अधिकारीहरुलाई चोट पुर्‍याउनु स्वाभाविकै हो। साथै दक्षिण एसियामा अस्थिरताको अर्को अध्याय सुरु भएको छ। कु वा अन्य राजनीतिक दुर्घटनाको खतरा अन्यत्र छँदैछ। यस क्षेत्रमा हुनसक्ने राजनीतिक अस्थिरताले सबैभन्दा घाटा भारतलाई हुन्छ। उसको प्रभावमाथि तेस्रो शक्तिले खेल्ने प्रशस्त ठाउँ पाउँछ। पाकिस्तानबाहेकका देशमा प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव बनाएको भारतलाई चीनको प्रभाव विस्तार सबैभन्दा चुनौती बनेको छ। पश्चिमाहरुको प्रभाव विस्तार टाउको दुखाइ छँदैछ। अस्थिरताबीच तेस्रो शक्तिले समग्र क्षेत्रलाई आफ्नो स्वार्थअनुरुपको अवस्थामा राख्ने भूमिका खेलिरहेका छन्।
लोकतन्त्रको बलियो जग बसिसकेको भारतमा सैन्य कुको खतरा छैन। छिमेकी देशहरुमा कुको चर्चा चलिरहँदा भारतीय विज्ञहरुले समाजको तल्लो तहसमेत लोकतन्त्रमा अभ्यस्त भइसकेको अवस्थामा कहिले कु हुन नसक्ने ठोकुवा गरे। हुन पनि दक्षिण एसियाकै सबैभन्दा बलियो सेना भए पनि भारतीय सेनाले जननिर्वाचित सरकारलाई चुनौती दिएको इतिहास छैन। सेनापति भीके सिंहको जन्ममिति विवादमा सरकार उनको दाबीको विपक्षमा उभिएर अदालतमा गएर टुंगिएको संवेदनशील विषयमा पनि सेना सरकारविरुद्ध देखिएन। यस हदसम्म सेना जननिर्वाचित सरकारको नियन्त्रणमा रहेको देशको छिमेकीहरु भने सैन्य कुको खतरा वा सैन्य प्रभावका कारण राजनीतिक उतारचढाव भोग्न बाध्य छन्। छिमेकमा हुने सैनिक कु रोक्ने दिशामा भारत भूमिकाविहीन जस्तै बन्नेगरेको छ। कतिपय अवस्थामा उसले प्रत्यक्ष-अप्रत्यक्ष सहयोगी भूमिका खेलेको आरोप खेपेको छ। त्यसबाट उसले लाभभन्दा नोक्सानै धेरै भोगेको छ। मालदिभ्समा आफूप्रति लचिलो सरकारलाई त्यहाँको सेनाबाट जोगाउन सकेन। बरु उल्टै औपचारिक बधाई सन्देश पठाउन बाध्य भयो। बंगलादेशमा शेख हसिना सरकार कमजोर बन्दै गएको घटनाक्रमले देखाउँदै लगेको छ। कुको प्रयास जननिर्वाचित सरकार कमजोर हुनुकै कारण भएको हो। हसिनालाई भारतप्रति नरम नीति राख्ने प्रधानमन्त्रीका रुपमा चिनिन्छ। उनको सरकार कमजोर हुँदै जानुले भारतीय प्रभाव घटेको बुझ्न सकिन्छ। ग्यासको खानी रहेको बंगलादेशमा भारतबाहेक अन्य शक्तिहरुको उपस्थिति बढ्दो छ। राजनीतिक अस्थिरताबाटै आफ्नो सम्भावना देख्ने त्यस्ता शक्तिहरुलाई निस्तेज पार्न उसको भूमिका कतिसम्म सफल हुन्छ भन्ने हेर्न कुर्नैपर्ने हुन्छ।
छिमेकको अस्थिरताले भारतलाई कदापि फाइदा हुँदैन। इतिहास साक्षी छ, अस्थिरताबीच जन्मिएका तानाशाहहरु समग्र दक्षिण एसियाकै लागि चुनौती बने। राजनीतिक र आर्थिक फाइदाको आशामा केहीलाई भारतको प्रत्यक्ष अप्रत्यक्ष समर्थन मिले पनि तिनीहरु उसका लागि प्रत्यूत्पादक साबित भए। छिमेकको स्थिरतामा रचनात्मक भूमिका निर्वाह गर्नुमै भारतको हित छ। पाकिस्तानबाहेकका मुलुकमा उसको महत्वपूर्ण भूमिका रहेको खुलस्तै छ। छिमेकको अस्थिरतालाई पूरै निस्तेज पार्ने सामर्थ्य नभए पनि बढ्न नदिने र कम गर्नेतर्फ योगदान दिनसक्छ।
मालदिभ्सका निवर्तमान राष्ट्रपतिको भनाइ सापट लिएर भन्दा 'पाकिस्तानको सिको गर्दै हुनेगरेको कु' ले दक्षिण एसियाको लोकतान्त्रिक जगलाई कमजोर पार्छ। लोकतन्त्रको नाममा ठूला स्वरले वक्तव्य निकाल्ने तर आफ्नो स्वार्थ अनुरुप उदाउने तानाशाहलाई भित्री सहयोग गर्नेहरुको हस्तक्षेप बढाउँछ। भूमण्डलीकरणको गति बढिरहँदा जग बस्दै गरेको लोकतन्त्रलाई कमजोर पार्न हुने दुष्प्रयासहरुलाई निस्तेज पार्न आन्तरिकरुपमा जनताको जति भूमिका रहन्छ, बाह्य शक्तिको सहयोग उत्तिकै महत्वपूर्ण हुन्छ। छिमेकी देशहरुको रचनात्मक भूमिका अपरिहार्य हुन्छ। दक्षिण एसियाको समृद्धि र शान्तिमा भारतको सकारात्मक भूमिकाको महत्व छ। यसले उसको छिमेकीहरुमात्र लाभान्वित हुँदैनन्, उसैलाई पनि लाभ हुन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस