भुमरीमा भट्टराई
१८ भदौ २०६८
•
१४ मिनेट पाठ
भुमरीमा भट्टराई
जवाहरलाल नेहरु विश्वविद्यालयबाट अध्ययन गरेकामध्ये कुनै देशको कार्यकारी अधिकार सम्हाल्ने तहमा पुग्ने पहिलो व्यक्ति भएर बाबुराम भट्टराईले अर्को कीर्तिमान बनाए। सधैँ प्रथम भइआएका उनका लागि देशको प्रधानमन्त्री बन्न पाउनु निश्चय पनि जीवनको महत्वपूर्ण उपलब्धि हो। यस अवधिसम्म उनले जे जति कसरत गरेका छन् त्यसभन्दा भविष्यमा गर्नुपर्ने प्रयास झनै कठिन देखिन्छ।




विगतबाटै प्रधानमन्त्रीको चर्चामा रहेका भट्टराई सफल होऊन् भन्ने चाहना उनले औपचारिक अध्ययन गरेको नेहरु विश्वविद्यालयका निवृत्त एवं बहालवाला प्राध्यापक, सहपाठी र शोधकर्तामा हुनु स्वाभाविक थियो। प्रधानमन्त्री निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत् व्यक्त अभिव्यक्तिबाट भट्टराईको सफलताको कामना गर्नेहरू व्यग्र प्रतीक्षामा देखिएका छन्। उनलाई शुभकामना दिन कन्जुस्याइँ भएन। राजनीतिक अन्योलबीच अनिश्चित भविष्य बोकेको देशमा आशा रहनु स्वाभाविक हो। धेरै निराशा भोगिसकेका जनताले उनीबाट केही आशा राखेका छन्। देशभित्रबाट जत्तिकै विदेशबाट विशेषगरी भारततर्फबाट आशा गरिएको छ। भारतीय प्रधानमन्त्री मनमोहन सिंहले छिट्टै भेट्ने चाहनासहित शुभकामना पठाएर दक्षिणको शुभ सन्देश दिए। निवर्तमान प्रधानमन्त्री झलनाथ खनालले व्यग्र चाहना राख्दा पनि निम्तो पाएका थिएनन्।
अध्ययन र राजनीतिमा भारतभित्र लामो समय बिताएका बाबुरामको भारतीय पक्षसँग सुमधुर सम्बन्ध रहेको कसैबाट छिपेको छैन। राजनीतिकरूपमा उनी उग्र कम्युनिस्ट दलको नेता भएपनि कम्युनिस्टविरोधी भारतीय संस्थापन पक्षले उनलाई व्यक्तिगतरूपमा रुचाएको देखिन्छ। एनेकपा (माओवादी)को भारतसँग सम्बन्ध चिसिँदासमेत उनी गत वर्ष भ्रमणका लागि निम्त्याइएका थिए। अध्यक्ष पुष्पकमल दाहाल भारत आउन आतुर रहेका बेला भट्टराई बोलाइए। उनले उच्च राजनीतिक भेट गर्न भ्याएका थिए। माओवादीको भारतसँगको सम्बन्धमा उतारचढाव आउँदासमेत बाबुरामको सम्बन्ध सामान्य नै रहेको विगतको आतिथ्यबाट प्रष्ट हुन्छ। अघिल्लो भ्रमण पार्टीको सम्बन्ध सुधार्न सफल नभए पनि उनका लागि फलदायी भएको पछिल्लो परिणामबाट बुझ्न सकिन्छ।
सेनापति प्रकरणमा सत्ताबाट बाहिरिएका दाहालले भारततिर औंला देखाएका थिए। त्यस यता उग्र भारतविरोधी अभिव्यक्ति दिँदैआएका थिए। पार्टीको तल्लो तहमा पनि भारतविरोधी गतिविधि निकै हदसम्म बढेको थियो। माओवादी कार्यकर्ताले निवर्तमान राजदूत राकेश सुदमाथि भौतिक आक्रमणसम्म गरे। माओवादी बैठकमा भारतविरोधी ‘लाइन' पारित भयो। बाबुरामले पार्टीलाई भारतविरोधी हुन नदिने मुद्दा उठाइरहे। त्यस क्रममा उनीमाथि ‘भारतपरस्त' को आरोप लाग्यो। मोहन वैद्य खेमाले कडा स्वरमा आरोप लगाएको थियो। ‘भारतपरस्त' को आरोपबीच राजनीतिक जीवनलाई अविरल बढाएका उनको सत्तारोहरणलाई दक्षिणले निकै हार्दिकताका साथ हेरेको छ। विदेशी समकक्षीमध्ये मनमोहन सिंहको पहिलो शुभकामना र भारतीय संचारमाध्यमले दिएको प्राथमिकताबाट भारतको सकारात्मक धारणा स्पष्ट भइसकेको छ।
नेपालका मामलामा निकै चासो राख्ने गरेको भारतको महत्वपूर्ण राजनीतिक घटनाक्रममा विशेष भूमिका रहँदै आएको छ। यद्यपि, त्यसको निश्चित हद छ। पछिल्लो सरकार गठनमा भारतीय भूमिकाबारे इतिहास र राजनीतिका विद्यार्थीले खोतल्दै जालान्। भारतले चाहँदैमा नेतृत्व बदलिन र फेरिइहाल्ने होइन। देशमा भारतले रुचाएका र नरुचाएका दुवैथरी प्रधानमन्त्री भए। दुवैथरीमध्ये थोरैले मात्र सम्झनलायक काम गरेर गए। बाँकी सबै सिंहदरबारमा तस्बिर झुन्ड्याउनमै सीमित भए। सधैँ प्रथम भएर सफल व्यक्तिको उदाहरण बनेका भट्टराईलाई नियतिले विफल बनाउने सम्भावना उत्तिकै छ। जीवनमा सधैँ प्रथम भएको व्यक्ति महत्वपूर्ण समयमा आएर असफल हुन पनि सक्छ तर कामना गरौं उनी सफलै होऊन्। उनी जसरी प्रधानमन्त्री भएका छन् त्यसैले असफलताको खतरनाक रेखा कोरिसकेको छ। जुन परिस्थितिमा सत्तारोहण गरेका छन् त्यसले चुनौतीका अग्ला पहाड खडा गरिसकेको छ। त्यसलाई पार गर्न सहज पक्कै छैन।
अन्तर्राष्ट्रिय जगत्मा माओवादीप्रतिको आशंका हटाउन भट्टराईलाई हम्मे पर्नेछ। माओवादी हतियार र सेनासहितको दल कायमै छ, अर्धसैनिक बल सक्रिय छ। लडाकु व्यवस्थापन मुखले भनेजस्तो चमत्कारबाट पूरा भइहाल्ने छाँट देखिँदैन। माओवादीभित्रका उनका सहकर्मीहरूले व्यक्तिगत सुरक्षामा खटिएकालाई शिविर फर्काउन गरेको सौदाबाजी यसको साक्षी छ। राजनीतिक लाभका लागि लडाकुलाई कार्डका रूपमा प्रयोग गर्नेहरू क्रान्तिकारीका आवरणमा माओवादीभित्र प्रभावशाली छन्। हतियार राखेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने निर्णयपछि उत्पन्न तुफानले लडाकुको नाममा माओवादीभित्र राजनीति चलिरहने स्पष्ट भएको छ। बाबुरामले चाहेरमात्र चमत्कार सम्भव छैन। सांगठनिक पकडका दृष्टिले पार्टीभित्र उनी तेस्रो स्थानमा छन्। आन्तरिक टेको बलियो बनाइनसकेका उनी आफैँमा बलिया प्रधानमन्त्री हैनन्। हरेक निर्णयमा पार्टीबाटै अवरोध र चुनौती आइरहने त मन्त्री चयनलगायतबाट देखिइसकेको छ।
व्यक्तिगतरूपमा भट्टराई भारतीय संचारमाध्यमद्वारा राजनीतिक ‘सेलिब्रिटी' बनाइएपनि भारतीय संस्थापना पक्षको माओवादीसँगको सम्बन्ध सहज भइसकेको छैन। माओवादीले भारतविरोधी राजनीतिक धार लिइआएको छ। नेपालका माओवादी र भारतका माओवादीबीचको सम्बन्धबारे भारत सरकारमा रहेको आशंका कायमै छ। नेपालमा भारतीय लगानीका उद्योगमाथि माओवादीबाट भएका अवरोध र हस्तक्षेप पनि भारतको टाउको दुखाइ बन्दै आएको छ। विशेषगरी भारतले चासो राखेको जलविद्युत क्षेत्रमा अवरोध देखापरेका छन्। अवरोध र आक्रमणको जोखिम टरिसकेको छैन। प्रधानमन्त्री बनेका भट्टराईले असहजता अन्त्य गरुन् भन्ने चाहना भारतीय पक्षको पक्कै होला। भारतीय लगानीको सुरक्षा र प्रवर्द्धनमा उनीबाट दक्षिणले गरेको आशाअनुसारको वातावरण निर्माण सहज छैन। त्यसमा देशभित्र र बाह्य शक्तिको चलखेललाई सन्तुलनमा राख्नुपर्ने चुनौती आउने निश्चित छ।
भारतले सुरक्षा मामलामा राख्दै आएको चासो पनि पक्कै पुनः उठाउने छ। नेपाली भूमी आफूविरुद्ध प्रयोग हुनसक्नेतर्फ उसले ध्यानाकर्षण गराउँदै आएको छ। भारतले विमानस्थलमा एयरमार्सल राख्नेदेखि सुपुर्दुगी सन्धिसम्मका विषय उठाउने गरेको छ। आफ्नो सुरक्षा चासोमा नेपाल गम्भीर भइदेओस् भन्दै आएको भारतले नयाँ सरकारबाट आशा गरेकै हुनुपर्छ। त्यसबाहेक सीमा समस्या समाधान र सन् १९५० को सन्धि पुनरावलोकलगायतका विषयलाई भारतले आफ्नो राष्ट्रिय हितअनरूप बनाउन खोज्नेछ। सम्भवतः समाधान भइनहाल्ने उल्लेखित मुद्दा राजनीतिक रणनीतिका रूपमा चर्चामा आउनसक्छ। यी विषयमा भट्टराई र भारत दुवै पक्ष के कसरी प्रस्तुत होलान् प्रतीक्षाका विषय हुन्।
जीवनको ऊर्वर समय भारतमा बिताउने क्रममा उच्च तहमा पुगेका धेरैलाई नजिकको मित्र बनाउन सफल भट्टराईको व्यक्तिगत प्रगतिमा उनका भारतीय शुभचिन्तक खुसी भए पनि कम्युनिस्ट विरोधी संस्थापन पक्षलाई उत्तिकै सतर्क बनाएको हुनुपर्छ। भारतमा सशस्त्र माओवादी हिंसा फैलनमा नेपालका माओवादीको सफलताले मनोबल बढाएको भारतीय संस्थापना पक्षको ठम्याइ छ। तसर्थ भारतीय पक्षले भट्टराईको सफलतालाई माओवादी सफलतासँग जोडेर हेर्न चाहेको देखिँदैन। अर्कोतर्फ नेपालका माओवादी र भारतीय माओवादीबीचको सम्बन्धबारे विगतमा प्रश्न उठाइसकेको भारतीय पक्षले आश्वस्त हुने चाहना पुनः राख्नसक्छ। माओवादीभित्रका उग्रवादी धाराका नेताहरू अझै भारतीय माओवादीसामेल कम्युनिस्ट संगठनमा प्रत्यक्षअप्रत्यक्ष आम्बद्ध छन्। नरमपन्थी कम्युनिस्टको परिचय बनाएका भट्टराईका लागि यो परिदृश्य अर्को चुनौती बन्नसक्छ।
पार्टीभित्रका वैचारिक प्रतिद्वन्द्वी मोहन वैद्य पक्षको समर्थनमा भट्टराई प्रधानमन्त्रीको कुर्सीसम्म पुग्न सफल भएका हुन्। अर्कोतर्फ, माओवादीको कडा आलोचना गर्दै आएका मधेसवादी दलसमेत भट्टराईलाई प्रधानमन्त्री बनाउन सक्रिय रहे। त्यसका लागि जे जति लाभको भित्री सम्झौता गरिएपनि सहमतिमा ल्याउनसक्नु उनको सफलता हो। विपक्षीलाई समेत पकडमा ल्याउनसक्ने खुबी देखाएका उनले देशभित्र नेपाली कांग्रेस र नेकपा (एमाले)लाई सहमतिमा ल्याउनु फलामको चिउरा चपाउनुसरह हुनेछ। विगत छ वर्षयता निरन्तर सत्ता रहेको एमालेले सत्ताको मोह त्याग्नु अर्थपूर्ण छ। सत्ता पुनः पाउन भ्याएसम्मको सबै रणनीति चालेका पुष्पकमल दाहालले पछिल्लो समयमा आएर सजिलै भट्टराईका लागि बाटो खोलिदिए। माओवादीप्रति रुष्ट भारतीय संस्थापन पक्ष भट्टराईको सत्तारोहणलाई खुलेर स्वागत गरिरहेको छ। दार्शनिक डेक्कार्टले भनेजस्तै ‘हरेक कुरामा शंका गर्ने ठाउँ छ'। शंकैशंकाको राजनीतिक भुमरीमा भट्टराई उभिएका छन्।

लेखक जवाहरलाल नेहरू विश्वविद्यालयका रिसर्च फेलो हुन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस