'पतिदेव' को अवतार
०४ कार्तिक २०६७
•
१२ मिनेट पाठ
'पतिदेव' को अवतार
मित्र पद्मरत्न तुलाधर 'रुन्चे' मनुवा भनेर बित्थामा गिज्याइन्छन्। वास्तवमा यी अति कोमलहृदयी मानव हुन्। यिनका पवित्र आँसु समानताको उत्कट कामनाले भरिपूर्ण छन्। नारी-पुरुषबीचको समानताका प्रसंगमा एक दिन यिनले एउटा काइदाको कथा सुनाए।
कथाका कल्पनाशील रचनाकार यिनी आफैँ हुन्। पुरातन हिन्दु संस्कारमा हुर्कीबढेकी जीवनसँगिनी यिनलाई दिनदिनै गोडामा ढोग्दी रहिछन्। ढोगिँदा पटकैपिच्छे यिनको आङ सिरिङ्ग हुँदोरहेछ। सम्झाइबुझाइको भाकामा यिनले पटकपटक भनेछन् - लौ न, मलाई यसो नगर। म मार्क्सवादी हुँ। म जातिभेद, लिङ्गभेद, वर्गभेदआदि यावत् भेदभावको कट्टर विरोधी हुँ। नानीदेखि लागेको जरुवा संस्कारगत बानी न हो, बुढिया के मान्थिन्? आजित भएर एक दिन तुलाधरले आफ्नी जोईलाई प्रत्युत्तर ढोग अर्पण गरेछन्। जोई स्तब्ध भइछन्। हे भगवान्! 'पतिदेव'ले मलाई ढोगे। देख्नेले के भन्लान्? अब यो पापको फल मैले के के भोग्नुपर्ने हो? जोइका चित्तको ताप मत्थर पार्न उनले स्यानो मन्तव्य दिएछन् - हेर, बुढिया! लिंगको कारण मान्छे उच्च र तुच्छ हुँदैन। तिमीले मलाई ढोग्न हुने भए मैले तिमीलाई ढोग्न किन नहुने? बस्, ढोग्ने दैनिक उपक्रम गोपीक्याँच भयो। र, तुलाधर गृहमा पतिपत्नीको सम्बन्धमा ट्याक्क एक थान 'सांस्कृतिक रूपान्तरण' सम्पन्न भयो।


मलाई यो बागी कथाको स्मरण गराएको माधवकुमार नेपालको सामन्ती पतिदेव औतारले हो। माधवको यो औतार बुधबारको एउटा अङ्ग्रेजी दैनिकमा प्रकट भएको छ। तस्बिरमा पत्नी गायत्री लम्पसार परेर माधवलाई साष्टाङ्ग दण्डवत् गरिरहेकी छिन्। बायाँतिर चारवटी युवती माधवीय कृत्य देखेर चकित र विस्मित मुद्रामा हाँसिरहेका छन्। र, मास्तिर तीनजना फोटोकर्मी दुर्लभ सिकार फेला पारेझैँ गरी मखलेल मनोदसामा तस्बिर ‰याप्‰याप् खिचिरहेका छन्। र, तस्बिरमुनि लेखिएको छ - प्रधानमन्त्री माधवकुमार नेपाल टीकाको औसरमा आफ्नी पत्नी गायत्री नेपालको आदरपूर्ण ढोग ग्रहण गर्दै। 'पतिदेव' माधवका हात लम्पसार परेकी पत्नीको ढाडमा आशीर्वादको भावमा घोप्टिएका छन्। माधव अति प्रसन्न छन् मानौँ ढोग्न आफ्नी 'चरणदासी'लाई आफ्ना पावन चरण प्रदान गरेर उनी ठूलो कृपा गरिरहेका छन्।

माधव नेपाल कट्टर हिन्दुमार्गी एवं कर्मकाण्डी राप्रपा नेपालका 'वरिष्ठ नेता' होइनन्, एमालेका नेता हुन्। माधवको पार्टी रातोदिन मार्क्सवाद-लेनिनवादको रट लगाएको लगायै गर्छ। यो लिङ्गभेदविरोधी वाद हो। तर, आफ्नै कथनीलाई घोर उपहास गर्दै करनीमा माधव लिङ्गभेदको मोर्चामा कम्मर कसेर डटेका छन्। माधव सामन्ती 'पतिदेव,'को भूमिकामा छन्, उनकी पत्नी चरणदासीको भूमिकामा छिन्। पार्टीका यी 'वरिष्ठ नेता'को मति र आचरणका दृष्टिले एमाले 'प्राचीन सीता-राम पार्टी (लिङ्गभेदी)' हुनुपर्ने हो। तर, उत्पीडित जनतामाझ क्रान्तिकारी आवरण बिकाउ माल हुनाले यसले 'कम्निस्ट' नाउँको सिउर हल्लाउन छाडेको छैन।

'पतिदेव' माधवको सच्चा औतार देख्दा मलाई लिङ्गभेदी 'विष्णुका औतार'को याद आयो। औतारी ज्ञानेन्द्रले संसारले देख्ने गरी एक नारीलाई ढोगाएर गोडाको पानी ख्वाएका थिए। भ्रमित ज्ञानेन्द्रको दम्भ समानताउन्मुख समाजको भीषण आक्रमणको तारो बन्यो। जनविप्लवको डरले राजतन्त्रले घुँडा टेकिसकेको थियो। तैपनि, शाही प्रधानसेनापति रुक्माङ्गद कटवालले घुँडा टेकुवा ज्ञानेन्द्रका पाउ समक्ष टीका थाप्न घ्याच्च घुँडा टेकेका थिए। यिनीहरूबाट रूढिग्रस्त माधवले केही सिकेनछन्।

लम्पसार परेर मानवीय अस्मिता, गरिमा र स्वाभिमान 'पतिदेव'का पाउमा चढाइरहेकी आत्महीन नारीको तस्बिर देखाएर आफूलाई 'वाम' भन्न रुचाउने एकाध तरुणलाई सोधेँ - बाबु! यसलाई तिमी के भन्छौ? एउटाले पितापुर्खाका पालादेखि चलिआएको सनातन चलन भन्यो। अर्काले पतिभक्तिको नमुना भन्यो। अर्काले राजीखुसीको रोजाइ भन्यो। झन् अर्काले आदरभावको प्रदर्शन भन्यो। सोधेँ - गणतन्त्र नेपालमा पतिबाट बराबरी आदर पाउने हक यी पत्नीलाई छैन? छ भने अन्तरे, पद्मरत्नले झैँ माधवले गायत्रीका पाउमा लम्पसार परेर नढोगेका किन? तरुणहरू निरुत्तर भए। कुन्नि, यी लठुवा पनि उही माधवीय 'प्राचीन सीता-राम पार्टी (लिङ्गभेदी)'का अन्ध अनुचर पो हुँदा हुन् कि!

जमानाको मालेदेखि पछिको एमालेसम्म जेबी टुहुरे पनि सँगसँगै थिए। तिनको 'आमा दिदीबहिनी हो! कत्ति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर' भन्ने बोलको गीतले रनवन घन्किएको थियो। त्यो गीत माधवीय अहङ्कार र गायत्रीय दासताविरुद्ध लक्षित थियो। र, त्यसले थुप्रै नारीलाई दासताको गाढा निन्द्राबाट ब्युँझायो र माले महलमा लामबद्ध गरायो। लाम लाग्नेमा कुन्ता शर्मा पनि थिइन्। यिनले माधव मार्काको दम्भ र पाखण्डको धज्जी उडाउँदै 'पोथी बास्नु हुँदैन' भन्ने कविता रचिन्। कविता दामी थियो, र नै त्यो नामी भयो। सके नेतृत्वमा सामन्ती ख्वामित्हरूको जग्जगी देखेर होला जेबी टुहुरे अर्को कम्निस्ट पार्टीमा बसाइँ सरे। र, कुन्ता शर्मा पनि लुसुक्क उतै लागिन्। दिल साहनी र रामचन्द्र भट्टराईले पनि उतैको बाटो तताए। सिद्धान्त र आदर्श एक पित्को पनि बाँकी नरहेको एमालेभित्रको आन्तरिक सम्बन्ध शनैःशनैः दास-मालिकतुल्य हुँदै गयो। आफूजस्ता त्यागी र इमानी जनलाई भर्‍याङ बनाएर बैकुण्ठ सवारी हुने नवधनाढ्य सामन्तहरूको तिरस्कार र अपमानको त्रू्कर करौँतीले हृदय रेटिएर दिगेन्द्र राजवंशीले आत्महत्या गरे। त्यो पनि अन्त होइन, ख्वामित्हरूकै मुख्यालय परिसरभित्रै। त्यो दारुण आत्महत्या एमाले पंक्तिभित्र न त चासोको विषय बन्यो न बन्यो चिन्ताको विषय। मानौँ नवधनाढ्य मुखियाका आँगनमा कुनै तन्नम झुन्डिएर मर्नु कुनै समाचारै होइन। मानौँ मुखियाका दिव्य दृष्टिमा नाथे एक श्रमजीवीको ज्यान जानु कुनै ठूलो क्षति होइन। तिनका दृष्टिमा बाँचिरहनु पर्ने त इहलोकका कुलीनले, सम्भ्रान्तले, धनाढ्यले र वर्चस्वशालीले पो हो। तीसँग धन छ र नै त तिनका गाथको मूल्य छ। ख्वामित्हरूका हबेलीका द्वारद्वारमा धाएर छोरालाई निम्नस्तरीय जागिरको याचना गर्ने निरीह प्राणीको के को मूल्य?

'वरिष्ठ' नेता माधवको नारीद्वेषी कृत्यबारे एमालेका कनिस्ठहरू के प्रतिक्रिया गर्लान्? सके ती केही भएकै होइनझैँ गरी मौन रहलान्। अहिले बोल्यो कि भरे पोल्यो हुन्छ। बोल्दा खाइपाई आएको पदीय सुबिधा, प्रतिष्ठा, रैरकम र उँभौलीको सम्भावनामा धमिरा लाग्नसक्छ। आखिर नाथे सिद्धान्त र आदर्श के हो? जाबो निष्ठा र इमान के हो? एकबारको जुनीमा ठूलो त निजी लोभ, लाभ र मोजमस्ती पो हो। आफ्ना 'वरिष्ठ' सामन्तको नाटीकुटी गर्दा तलका कार्यकर्ता भड्किएलान्। ती जङ्गिदै र जोसिँदै टुहुरे र कुन्ता, दिल साहनी र रामचन्द्र भट्टराईको पलायनपथतिर लहसिएलान्। पार्टी खुम्चिँदै जानु भनेको मधुमय सत्ता टाढा हुनु हो। सत्ता टाढा हुनु भनेको त्यसको सुस्वादु भान्साबाट आफू विमुख हुनु हो। अतः एमालेका जुँगामुठे पुरुषहरू त मौन रहलान् रे लौ। महिला नि? महिला समानता र मुक्तिको पैरवी गर्ने राधा ज्ञवाली र शान्ता मानवीहरू मुख जाम गर्लान् कि ओठ खोल्लान्? मधु गुरुङ र रामकुमारी झाँक्रीहरू ट्वाँ परेर 'पतिदेव' माधवलाई हेर्लान् कि तिनको नारीपीडक आचरणतर्फ शब्दवाण प्रहार गर्दै र मुक्का उठाउँदै धज्जी उडानको मोर्चामा डट्लान्?

लाग्छ, कोही केही बोल्ने छैन। पार्टीको चुलीमा हँसिया-हथौडाको भ्रान्तिकारी ध्वजामुन्तिर एकसे एक नवधनाढ्य सामन्त ढसमस्स विराजमान छन् त बरा कमरेड माधवश्रीलाई मात्र किन अर्घेलो देखाउनु? सबै उस्तै छन् त फलानो सामन्ती 'पतिदेव'को औतारमा प्रकट भयो भनेर सबै मान्यजनको मानमर्दन किन गर्नु? से्रस्तामा जेसुकै भनिए पनि हाम्रो पार्टी 'प्राचीन सीता-राम पार्टी (लिङ्गभेदी)' हुँदै हो!

 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस