माओवादी : बुद्धिमान् कि मूर्ख ?
१७ असार २०६७
•
१४ मिनेट पाठ
माओवादी : बुद्धिमान् कि मूर्ख ?
'पुष्पकमल किमार्थ हुँदैन, बाबुराम नभई हुँदैन।' हाल राजनीतिको अराजक बजारमा खुबै चल्तीमा छ यो कपटसूत्र। 'हुँदैन' र 'नभई हुँदैन' भन्ने यो जिद्दीमा प्रधानमन्त्रीरूपी पात्र रोज्ने आग्रहले बास गरेको छ।
झट्ट हेर्दा यो आग्रह अयोग्यको खारेजी र योग्यको खोजी हो कि जस्तो लाग्छ। तर, गुह्य अर्कै छ। यो कुटिल आग्रहमा पुष्पकमलको छविको दानवीकरण र बाबुरामको छविको देवत्वकरण गर्ने अभिप्राय लुकिबसेको छ। आखिर केका लागि? सत्तारूपी मुहुनीमय चारो देखाएर फकाउँदै, लोभ्याउँदै र उक्साउँदै कमल र रामका टाउका जुधाएर तल कराई थाप्नका लागि। माओवादी महलभित्र कुर्सी, अहम् र वर्चस्वको रणसङ्ग्राम रचेर त्यसको छवि खुइल्याउन, त्यसको कद कलमी गर्न र त्यसलाई पत्रु बनाउन।




लक्षण हेर्दा लाग्छ, छल-प्रपञ्चको यो खेलमा पुष्पकमल र बाबुराम कुटिलमति खेलाडीका गोटी बन्न राजी भएका छन्। अहिले खेल जारी छ। खेलाडीको इच्छाबमोजिम पुष्पकमल र बाबुराम जोडतोडले टाउका ठोक्काइरहेका छन्। र, ठोक्काउने खेलाडी तल हेमानको कराई थापेर ओठ चाट्दै आफ्नो सफलतामा मक्ख परिरहेछ।

न पुष्पकमल दुर्गुणै दुर्गुण भएका दानव हुन् न त बाबुराम हुन् गुणैगुण भएका देवता। यी दुवै मर्त्यलोकका गुणदोषयुक्त मानव हुन्। दुवै माओवादी हुन्। दुवै विद्रोहको आँधीबेरीको ऊर्जाले परिवर्तनका बुँदा रचेर कहिले जुध्दै र कहिले मिल्दै आएका सहयोद्धा हुन्। जहाँ पुष्पकमलको धेरथोर चमत्कारिक व्यक्तित्व र नाटकीय हाउभाउ तथा बाबुरामको बौद्धिक सामर्थ्य, लगन र इमानको योग हुन्छ, त्यहाँ माओवादी सग्लो र सिङ्गो देखिन्छ।

जहाँ यो योग भङ्ग हुन्छ, त्यहाँ माओवादी खण्डित र निम्छरो बन्न पुग्छ। तर लाग्छ, यो तथ्यप्रति न पुष्पकमल सजग छन् न बाबुराम जागरुक छन्। वास्तवमा 'पुष्पकमल हुँदैन'को हल्लामा पुष्पकमलको शक्ति र त्यो शक्तिप्रति हल्लाकर्मीहरूको त्रास झल्किएथ्यो। र, त्यसमा बाबुरामलाई उचाल्दै पुष्पकमललाई पछारेर त्यो शक्ति क्षीण तुल्याउने अभिप्राय पनि खुलस्त प्रकट भएथ्यो। तर, यो तथ्यको चेत न पुष्पकमललाई भयो न बाबुरामलाई। उल्टै, पुष्पकमल तर्सिए, बाबुराम हौसिए। र, जीब्रो किञ्चित् खुकुलो भएका पुष्पकमलले दिल्ली बाबुरामलाई प्रधानमन्त्री बनाउन चाहन्छ भनेर प्वाक्क भनिदिए।

'भारतीय विस्तारवाद - मुर्दावाद'को नारा उरालेर राष्ट्रवादी छवि बनाउन अभ्यस्त नेपाली कम्निस्टका दृष्टिमा यो भयंकर आरोप हो। प्रायः नसोचीकन बोल्ने र कुरो बिगारेर रफ्फु भर्ने पुष्पकमलको आरोपले बाबुरामको राष्ट्रवादी पहिचानको हुर्मत लियो। स्वभावतः रुष्ट र दुखित बाबुरामले पुष्पकमलको आरोपलाई आफ्नो चरित्र हत्या गर्ने दाउ भनिदिए। विचारका सगोत्री, क्रान्तिका सहयात्री र सुखदुःखका साथीबीचको यो आशङ्का, यो अविश्वास र आक्षेपको लेनदेन तिनको भद्दा सांस्कृतिक स्तरको सबुत त हो नै, माओवादीभित्र गुम्सिएर रहेको तुच्छ गुटबन्दीको मुखर अभिव्यक्ति पनि हो।
माओवादी स्थायी समितिको बैठक जब तुरियो, यसपाला त्यसमा क्रमभङ्ग भएको देखियो। यसअघि बैठकमा विचारहरूको टक्कर चल्थ्यो, बैठक स्थगित हुन्थ्यो, फेरि टक्कर चल्थ्यो र फेरि स्थगित हुन्थ्यो।

र, आखिरमा अध्यक्ष पुष्पकमल सबै पक्षको मन राख्ने गरी पृथक् विचारको ट्याक्क समायोजन गर्थे। अनि माओवादी हिजो एक ढिक्का थियो, आज एक ढिक्का छ र भोलि पनि एक ढिक्कै रहनेछ भनी घोषणा गरिन्थ्यो। त्यो घोषणासँगै माओवादी नेताहरू हर्कबढाइँ गर्दै मुस्कुराउँथे, उमंगका साथ गला मिलाउँथे र फुर्किएर कम्मर मर्काउँदै छम्छम् नाच्थे। र, माओवादी जुधुन् र फुटुन् भनेर धुप हाल्नेहरू हिस्स पर्थे। तर, यसपाला न त्यो रोमाञ्चक धुमधाम भयो न त त्यो उल्लासपूर्ण रमिता नै देखियो। बरु उल्टै पुष्पकमल बाहिर डबलीमा निस्केर रोए। तिनले भने - आफ्ना भनिनेको घेराउ र चिमोटाइको पीडा कति मर्मान्तक हुन्छ मलाई थाहा छ! तिनको त्यो दयनीय अलापमा मैले दिग्भ्रमित भएको माओवादी पार्टी चर्किएर चिरा पर्न लागेको अनिष्टकर चित्र देखेँ।

माओवादी सिंगै राज्य जितेर आफ्ना परिवर्तनमुखी नीति र कार्यक्रम आफूखुसी लागू गर्ने गगनचुम्बी आकाङ्क्षा बोकेर जनयुद्धमा होमिएको थियो। तर, ऊ न जित न हारको अक्करमा अड्किन पुग्यो। र, परिस्थितिका सीमाले तोकिदिएको नियतिवश ऊ उनै पुराना संसद्वादी खेलाडीसँग हातेमालो गर्न विवश भयो। अहिले ऊ न जनयुद्धमा छ, न शान्ति र संविधान लेखनमा उसलाई कतै ठाउँ छ। सङ्घीयताको नामै सुन्न नचाहने पात्र राष्ट्रपति छन्। संविधान सभाविरोधी मनुवा काम न काजका कामचलाउ प्रधानमन्त्री छन्। संविधान सभाको सभामुखको नयाँ आसन पुरानो संसद्का पुरानै सभामुखले ओगटेका छन्। पुरानो संविधान लेख्ने बासी हातलाई नयाँ संविधान लेख्ने कलम सुम्पुवा गरिएको छ।

माओवादीले उठान गरेका परिवर्तनका बुँदा अलपत्र परेका छन्। र, माओवादीलाई घेरेर लखेट्दै भित्तामा पुर्‍याउने प्रपञ्च तीव्र गतिमा चलिरहेछ। यसरी माओवादी न ओल्लो घाट न पल्लो तीरको हालतमा बिलखबन्द परेको छ। अनिश्चितकालीन आम हडतालबाट रित्तो हात फर्केको र तीन बुँदे छलमा थाङ्नामा सुताइएको माओवादी आहत र दिग्भ्रमित भएको छ। र, माओवादी नेतृत्वभित्र अहिले आफ्ना असफलता, अनिश्चय र अन्योल थोपर्ने पात्रको खोजी भइरहेछ।

सुनिजानेको कुरा हो, त्रिगुटका तीनतिर फर्केका त्रिमूर्ति अर्थात् बाबुराम, किरण र बादल प्रचण्डलाई साइजमा ल्याउन वा पाखा लगाउन एक मुख भएका छन्। भित्र तिनले पुष्पकमललाई के के भने थाहा छैन, बाहिर पुष्पकमल अबोध बालकझैँ चित्त दुःखाउँदै रोइरहेका छन्। माओवादी नेतृत्वको यो गाईजात्रे ताल देख्दा 'विनाश काले विपरीत बुद्धि' भन्ने नीति वचनको सम्झना हुन्छ। आफूलाई घेर्ने, ताछन्, निचोर्ने र लतार्ने एकगठ भइरहँदा आफूहरू झनै एकताबद्ध हुनुपर्ने हो। तर, संसार फेर्न हिँडेकाहरू आफ्ना टाउका ठोक्काएर कराई थाप्नेका इच्छा तृप्त गरिदिन आफैँ तुच्छ कलहमा लिप्त हुन खोजिरहेछन्।

आजका पुष्पकमल हिजो प्रचण्ड थिए। प्रचण्ड भन्ने नाम एउटा प्रतीक थियो। त्यसलाई समस्त माओवादीको विवेक, सौर्य र दूरदृष्टि केन्द्रित भएको शक्ति वा प्राधिकार मानिन्थ्यो। पछि 'प्रचण्डपथ'मा प्रचण्डको देवत्वकरण गर्ने कर्मकाण्ड सुरु भयो। कोही एकजनालाई प्रायोजित तरिकाले उच्च, श्रेष्ठ, विवेकवान् र जाज्ज्वल्यमान् बनाउन बाँकीलाई लिलिपुटे मानवमा झार्नु अनिवार्य हुन्छ। माओवादीमा त्यही गरियो। यो अस्वाभाविकरूपले अग्लो र होचोको बीचमा जुन रिक्तता छ, तानाशाह जन्मिने थलो त्यही हो। हिजो प्रचण्डलाई त्यसरी असामान्य र अद्भूत उचाइ प्रदान गरियो, माओवादी नेतृत्वमाझ आज त्यही उचाइ घाँडो भएको छ। र, घाँडो पन्छाउन अस्वस्थ र अशोभनीय चेष्टाको सहारा लिइँदो छ।

हो, कृत्रिम एवं आडम्वरी तरिकाले देवत्वको मिथ्या उचाइमा उकासिएका प्रचण्डको मानस-मनोविज्ञानमा म भनेको मै हुँ भन्ने दम्भ होला। उनको चंचल चुरिफुरी, उनको लगभग स्वेच्छाचारी कार्यशैली र उनको 'एकला चलो'को अर्घेल्याइँमा उनको देवत्वकरणको प्रभाव होला। तर, यो मानस-मनोविज्ञानका स्रष्टा उनी एक्लै होइनन्। अहिले जो उनलाई घेरेर लतार्न कस्सिएका छन्, ती सबै धुरिएर उनलाई यस्तो बनाइएको हो। सबै धुरिएर बिगार गर्नु अनि असफलताको दोष थोपर्ने बलिको बोको खोज्दै फलानाले बिगार्‍यो भन्नु कुन मार्क्सवादी शास्त्रको कमरेडेली काइदा हो? मिलेर बिगार गर्नेले त मिलेरै पो बिगारलाई सुधार्नु पर्ने हो।

माओवादी सच्चिनुपर्छ, यो सत्य हो। तर, माओवादी सच्चिनु भनेको जनमुखी उदात्त सिद्धान्त र आदर्शलाई परित्याग गरी कंग्रेस-एमालेको दक्षिणपन्थी मूल धारमा विलय हुन लायक हुनु किमार्थ होइन। ऊ सच्चिनु भनेको मुख्यतः दलको आन्तरिक जीवनमा देवत्व र लिलिपुटत्वबीचको दूरी घटाउनु एवं लोकतान्त्रिक सोच, कार्यशैली र सम्बन्धको विकास गर्नु हो। ऊ सच्चिनु भनेको लम्पट भोगवादमा पतीत हुनु होइन, परिवर्तनका बुँदाको ध्वजा उचालेर सादा जीवन उच्च विचारको आदर्शमा कटिबद्ध रहनु हो। तुच्छ गृहकलहमा लिप्त भएर यो महान् कार्य सम्भव छैन।

प्रचण्डका दोषहरूको तीन हात लामो सूची तयार पार्न सकिन्छ। तर के लाग्छ, गिरिजाप्रसाद कोइरालापछि नेपालीहरूको नियतिअनुसारका नेता तिनै हुन्। मनचिन्ते नेता न चतुमुर्खी ब्रह्माजीको कारखानाबाट झिकाउन सकिन्छ, न कतै विदेशबाट आयात गर्न सकिन्छ। शान्ति र संविधानलाई सफलिभूत तुल्याउने हो भने त्यो दुरुह कार्यको अगुवाइ गर्ने पात्र, अनिवार्य पात्र, यिनै खुकुलोजिब्रे प्रचण्ड हुन्। तर, एकथरी खान्दानी भद्रभलाद्मीहरू प्रचण्डको विनाशमा नेपाल सुख-शान्तिले भरिपूर्ण बैकुण्ठ बन्ने सपना देखिरहेका छन्। र, प्रचण्डका सहयोद्धा जानअन्जान उनै खान्दानीका सपनामा मलजल हाल्न तम्सिरहेका छन्। अनि माओवादी नेताका टाउका ठोक्काएर कराई थाप्नेहरू कानसम्म मुख च्यातेर अट्टहास गरिरहेका छन्।

बुद्धिमानहरू आफूसित जो भएको सम्पत्ति जतनले स्याहार्छन्, मूर्खहरू आफ्नै घरमा आफैँ आगो लाउँछन्। आफ्ना टाउका ठोक्काएर नेपथ्यका कुटिल कर्ताको कराई भरिदिने उद्योगमा लागेका माओवादीलाई के भन्ने? बुद्धिमान् कि मूर्ख?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस