विमानस्थल अस्तव्यस्त
२४ फागुन २०७१
•
११ मिनेट पाठ
विमानस्थल अस्तव्यस्त
काठमाडौं- चार दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण सञ्चालनमा आएसँगै जहाज र यात्रु चाप ह्वात्तै बढ्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबार दिनभरि अस्तव्यस्त बनेको छ। विभिन्न देशबाट आएका जहाज एकैचोटि राजधानी भित्रिँदा अवतरणको निम्ति समय मिलाउन विमानस्थललाई हम्मे परेको थियो।अन्तर्राष्ट्रिय उडानहरू लामो समय आकासमा घुमिरहन बाध्य भए। अवतरणपछि पनि यात्रुको चाप व्यवस्थापन गर्न विमानस्थल कार्यालय असफल रह्यो। जहाज अवतरण गरेको तीन–चार घन्टासम्म सामान नआइपुगेर यात्रु अन्यौलमा थिए। विमानस्थल व्यवस्थापनले यात्रुको चापबमोजिम पर्याप्त ट्रलीसमेत जुटाउन सकेको थिएन। ट्रली खोज्न यात्रुहरूले आफैं बाहिर निस्कनुपरेको थियो।




सामान्य दिनमा औसत ८० उडान–अवतरण हुने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान ६ देखि सोमबार बिहान ६ बजेसम्म १ सय ३० उडान– अवतरण हुनेछन्। शनिबार राति ७ः३० बजे विमानस्थल खुलेदेखि आइतबार बिहानसम्म २९ उडान–अवतरण भएका थिए। चार दिनदेखि अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा नेपालभित्र र बाहिर करिब ५० हजार यात्रु अलपत्र परेका थिए।

'सकेसम्म यात्रुलाई सहज तरिकाले उडाउन र आउनेलाई पनि त्यसरी नै विमानस्थलबाट बाहिर निकाल्न भरमग्दुर प्रयास गरिरहेका छौं,' त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका डेपुटी डाइरेक्टर टेकनाथ सिटौलाले आइतबार नागरिकसँग भने, 'सामान्य दिनको तुलनामा यात्रु र उडान चाप बढ्नु स्वाभाविक हो। त्यसमाथि विमानस्थल चौबीसै घन्टा सञ्चालन भएका कारण केही सहज भने भएको छ।'

उनका अनुसार सामान्य दिनमा हुने गरेको ३५ देखि ४० उडान–अवतरणमा वायुसेवा कम्पनीले थप ३० वटासम्म उडान–अवतरण गर्ने तालिका सार्वजनिक गरेका छन्। केही दिनका लागि दैनिक ६५ अन्तर्राष्ट्रिय उडान र त्यति नै संख्यामा अवतरण हुने भएका छन्। आगामी बिहीबारसम्म चौबीसै घन्टा विमानस्थल सञ्चालन हुनेछ। हाल २९ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान गरिरहेका छन्।

'शनिबार राति साढे ७ बजे विमानस्थल खुलेपछि आइतबार बिहान ६ बजेसम्म १४ अन्तर्राष्ट्रिय जहाज काठमाडौं अवतरण गरेका थिए,' सिटौलाले भने, 'नेपाल वायुसेवा निगमको समेत गरी १५ वटा जहाज विभिन्न अन्तर्राष्ट्रिय गन्तव्य गएका थिए।'

टर्किस एयरलाइन्सको २ सय ८९ सिट क्षमतायुक्त 'ए३३०' सिरिजको जहाज गत बुधबार अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेपछि विभिन्न देशका सुरु विमानस्थल, ट्रान्जिट र यहाँसमेत गरी करिब आधा लाख यात्रु अलपत्र छन्। विमानस्थल खुलेलगत्तै अलपत्र यात्रुबीच आफ्नो उडान कति बजे हुन्छ, जहाज आउने हो वा होइन र आए पनि उड्न पाइने हो वा होइन भन्नेमा रनभुल्ल थिए। साढे ८३ घन्टापछि अन्तर्राष्ट्रिय उडान–अवतरण सुरु भएपछि विमानस्थललाई व्यवस्थापन गर्न गाह्रो भइरहेको छ। 'सकेसम्म सम्पूर्ण व्यवस्थापन गरिरहेका छौं,' प्राधिकरणका डेपुटी डाइेक्टर सिटौलाले भने।

विमानस्थलका अनुसार बिहानैदेखि जहाजको चाप बढेपछि अधिकांश वायुसेवाका जहाज आधा घन्टादेखि डेढ घन्टासम्म आकाशमै फन्को (होल्ड) मारेका थिए। विमानस्थलमा एउटामात्र धावनमार्ग भएका कारण जहाजलाई उडान–अवतरण गर्न समस्या भएको हो। त्यसमाथि एकैचोटि चार दिनको उडान चाप थपिँदा समस्या बढेको हो।

सिटौलाका अनुसार आइतबार दिउँसो मलेसियाको क्वालालम्पुरबाट आएको एयर एसिया एक्स, युनाइटेड अरब इमिरेट्स (युएई) को अबुधाबीबाट आएको एयर अरेबिया र ओमानको मस्कटबाट आएको ओमान एयरको जहाज होल्ड गरेर पनि अवतरण समय नपाउँदा डाइभर्ट भएका थिए। एयर एसिया भारतको कोलकाता तथा एयर अरेबिया र ओमान लखनउ डाइभर्ट भएका थिए। साँझतिर ती सबै जहाज काठमाडौं फर्केका थिए।

'साँझ साढे पाँच बजेसम्म अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुको भीड सोचेभन्दा बढी नै थियो,' विमानस्थलका एक अधिकारीले भने, 'त्यसपछि जहाज आउने क्रम बढ्न थाल्यो र बिस्तारै यात्रु घट्न थाले।'

हङकङबाट आउने ड्रागन एयरले आइतबार दिउँसो २ बजे उडान हुने भन्दै आफ्ना यात्रुलाई विमानस्थल बोलाए पनि रातिसम्म कुराएर उडान रद्द भएको जानकारी दिएको थियो। 'हामीलाई बेकारमा सास्तीमात्र दिइयो, जहाज उड्छ–उड्छ भन्दै दिउँसभरि कुराए अनि अन्तिममा रद्द भयो भने,' ड्रागनबाट जापान जान लागेका गुम्लीका विष्णु न्यौपानेले नागरिकसँग भने, 'अब कहिले उड्ने हो, त्योचाहिँ भन्दैनन्। यहाँभन्दा सास्ती के होला अब? चाउचाउका भरमा घन्टौं विमानस्थलमा बस्नुपरेको छ। फेरि विमानस्थलबाट हिँडेपछि जहाज उड्ने भो पनि भन्न सक्छन्, ठेगान छैन।'

चार दिनदेखि उड्न नपाएका यात्रुको भीड विमानस्थलमा हुनु स्वाभाविक हो तर, विमानस्थल खुलेपछि नयाँ टिकट लिएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्य जानेको भीड वायुसेवा कम्पनीका सिटी अफिसदेखि ट्राभल तथा टिकेटिङ एजेन्सीमा पनि त्यत्तिकै छ।

'पहिल्यैदेखि अड्केका यात्रुलाई व्यवस्थापन गर्न हम्मे परिरहेको छ,' नेपाल उडान गरिरहेको एक अन्तर्राष्ट्रिय वायुसेवाका अधिकारीले भने, 'नयाँलाई टिकट दिए पनि कम्तीमा तीन दिनयता साह्रै अप्ठेरो छ। पुराना टिकटवालालाई पहिलो प्राथमिकता दिइरहेका छौं।'

त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा गत बुधबार बिहान ७ः४५ बजे टर्किस एयरलाइन्सको जहाज चिप्लिएर दुर्घटनामा परेपछि बन्द हुन पुगेको विमानस्थल शनिबार राति साढे ७ बजबाटे पुनः सञ्चालनमा आएको थियो। टर्किसको जहाजलाई दुर्घटनास्थलबाट बाहिर ल्याउन एयर इन्डिया, नेपाल वायुसेवा निगम र टर्किसका इन्जिनियर तथा नेपाली सेना, प्रहरीलगायतले चार दिनदेखि प्रयास गरेका थिए। जहाज हटाउन भारतीय हवाई सेनाको जहाजले उपकरण ल्याएको थियो। उक्त उपकरणको सहायताबाट टर्किस जहाजलाई धावनमार्गबाट बाहिर ल्याउन पूरा तीन दिन लागेको थियो।

त्रिभुवन विमानस्थलबाट दैनिक औसत १२ हजार यात्रु अन्तर्राष्ट्रिय उडान सेवा प्रयोग गर्छन्। पछिल्लो घटनाका कारण यात्रुले आफू उड्ने जहाज कति बजे आइपुग्छ र गन्तव्य जान सकिन्छ कि सकिँदैन वा आफ्नो उड्ने पालो आउँछ वा आउँदैन भन्ने उत्तर पाउन अझै सकेका छैनन्। त्रिभुवन विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने र राति साढे १२ बजे बन्द हुने गर्छ।

अलपत्र यात्रु 'क्लियर' गर्न ७२ घन्टा लाग्ने
काठमाडौं उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी अधिकांशले १ सय ५० देखि २ सय सिट क्षमताका जहाज ल्याउने गरेका छन्। एकाध मात्र करिब ३ सय सिट क्षमताका जहाज प्रयोग गर्छन्।

यो हिसाबले एउटा जहाजमा औसत १ सय ५० यात्रु आउन र जान सक्छन्। शनिबार रातिबाट आइतबार बिहानसम्ममा २९ उडान–अवतरणबाट औसत ४ हजार ३ सय ५० यात्रुको आवागमन भएको छ।

वायुसेवा कम्पनीहरूले आइतबार बिहान ६ बजेबाट सोमबार बिहान ६ बजे (२४ घन्टा) मा गर्ने १ सय ३० उडान–अवतरणबाट करिब २० हजार यात्रु जान–आउन सक्छन्। यही हिसाबमा निरन्तर उडान हुन सक्यो भने अलपत्र सम्पूर्ण यात्रुलाई बढीमा तीन दिनभित्र गन्तव्य पुर्यासउन र ल्याउन सकिन्छ।
अर्को समाचार
भीडले त्रिभुवन विमानस्थल अस्तव्यस्त
३० असोज २०७४
•
८ मिनेट पाठ
भीडले त्रिभुवन विमानस्थल अस्तव्यस्त
त्रिभुवन विमानस्थलकाे अान्तरिक टर्मिनलमा यात्रुकाे भीड । तस्बिर: नागरिक
काठमाडौं – केही दिनयता मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा परेको जहाज तथा यात्रु चाप व्यवस्थापन गर्न विमानस्थल व्यवस्थापनलाई हम्मे परेको छ। 




विमानस्थलले आफ्नो क्षमताभन्दा झन्डै दोब्बर जहाज उडान–अवतरण थेग्नुपरेपछि त्यसको प्रत्यक्ष असर यात्रुमाथि परेको छ । नियमित उडान तालिकाअनुसार गन्तव्य जानुपर्ने जहाजको चाप विमानस्थल कार्यालयले व्यवस्थापन गर्न नसक्नु र सँगैसँगै मौसम खराब भइदिँदा घन्टौंसम्म यात्रु विमानस्थलमै अड्किन थालेका छन्। 

त्रिभुवन विमानस्थलका अनुसार दैनिक अधिकतम ३ सयसम्म उडान–अवतरण क्षमता विमानस्थलको छ । तर, केही दिनअघि ५ सयभन्दा बढी उडान–अवतरण हुन पुगेको थियो जसलाई व्यवस्थापन गर्न विमानस्थललाई हम्मे भएको थियो । ६ वर्षअघि एकै दिन ४ सय ३६ उडान–अवतरण भएको रेकर्ड विमानस्थलसँग छ। 

‘केही दिनयता आन्तरिक उडान डेढ घन्टासम्म डिले भइरहेका छन्,’ त्रिभुवन विमानस्थलका प्रवक्ता तथा विमानस्थल सञ्चालन निर्देशक प्रेमनाथ ठाकुरले आइतबार नागरिकसँग भने, ‘त्यसमाथि मौसम खराबीले पनि समस्या पारेको छ । फेरि यही बेला ट्याक्सी वे मर्मत गर्नुपरेका कारण थप गाह्रो भएको हो । जहाज पार्किङ क्षेत्र अभाव त पहिलेदेखिकै समस्या हो ।’

आइतबार बिहानैदेखि काठमाडौं उपत्यका वरिपरि हुस्सु लागेपछि त्रिभुवन विमानस्थलको उडान–अवतरण प्रभावित हुन पुगेको ठाकुरले जानकारी दिए । मौसम खराब हुन जाँदा ‘भिजुअल फ्लाइट रुल’ (भिएफआर) उडान बन्द गरी ‘इन्स्ट्रुमेन्टल फ्लाइट रुल’ (आइएफआर) उडान गर्नुपरेपछि बिहानैदेखि अधिकांश उडान डिले भएको उनले बताए । 

‘उडान डिले हुनुमा विमानस्थल व्यवस्थापनको मात्र दोष छैन,’ ठाकुरले भने, ‘वायुसेवा कम्पनीले जहाज थपेको थप्यै छन् र सँगसँगै उडान संख्या पनि त्यही अनुपातमा बढिरहेको छ । त्यसमाथि विगतमा पाँच उडान गर्ने वायुसेवा अहिले १५ उडान गरिरहेका छन् । अनि डिले हुनु स्वाभाविक हो । सीमित स्रोत साधनभित्र रहेर काम गर्नुपर्ने वाध्यता हामीसँग छ ।’

यता वायुसेवा कम्पनीहरू भने समयक्रम अनुसार विमानस्थल सुधार र विस्तार नगर्ने व्यवस्थापनकै कारण वायुसेवा र यात्रुले दुःख पाएको दाबी गर्छन् । ‘विमानस्थल अत्यन्तै साँघुरो भइसकेको छ । अधिकतम दुई सय उडान–अवतरण क्षमता भएको विमानस्थलमा दिनहुँ पाँच सय उडान–अवतरण हुन थालेको छ,’ एक वायुसेवाका उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा नागरिकसँग भने, ‘जब यात्रु र जहाजको चाप बढ्छ, तब विमानस्थल व्यवस्थापन ट्याक्सी वे मर्मत गर्न थाल्छ । यसैलाई अव्यवस्थित व्यवस्थापन भनिन्छ।’

उनका अनुसार पछिल्लो पटक यती एयरलाइन्सले ७२ सिट क्षमतायुक्त दुईथान ‘एटिआर७२–५००’, बुद्ध एयरले ७२ सिटे एकथान एटिआर७२–५००, श्री एयरलाइन्सले ५० सिटे ‘सिआरजे–२००’ दुईथान र ७० सिटे एकथान सिआरजे–७०० तथा समिट एयरले १९ सिटे एकथान ‘एलइटी४१०’ सिरिजको जहाज थपेका छन्। 

अब यतीसँग सात, बुद्धसँग नौ, श्रीसँग तीन, तारासँग सात, सिम्रिक एयरसँग दुई, समिटसँग तीन गरी करिब तीन दर्जन जहाज छन् जसले नियमित तालिकाअनुसार काठमाडौंबाट व्यावसायिक उडान गरिरहेका छन् । अहिले प्रमुख पर्यटक मौसम भएका कारण काठमाडौंबाट लुक्ला, पोखरा र भरतपुर जाने पर्यटक बढेका छन् । दसैं र तिहारको स्वदेशी यात्रु चाप झन् बढिरहेको छ। 

मुलुकभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित उडान केही कम गर्न सम्बद्ध वायुसेवालाई आग्रह गरे पनि कसैले घटाइसकेका भने छैनन् ।

‘सबै वायुसेवा कम्पनीका एक–एक ठूला जहाजलाई पोखरा, भैरहवा, नेपालगन्ज वा विराटनगर विमानस्थलमा आधार गर्न आग्रह गरेका छौं,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘यति गर्न सके त्रिभुवन विमानस्थलमा चाप कम गर्न सकिन्थ्यो।’

वायुसेवा कम्पनीका अनुसार मौसम खराब भएपछि जबर्जस्ती जहाज उडाउन मिल्दैन । बाध्य भएर मौसम खुल्ने पर्खाइमा बस्नुपर्छ । जब मौसम खुल्छ, त्यसपछि बल्ल उडान गर्नुपर्छ । यसका कारण बिहानदेखिको उडानचाप विस्तारै धकेलिँदै दिउँसो र रातिसम्म पुग्ने गर्छ । खराब मौसमका कारण जहाज डिले हुँदा यात्रुलाई मात्र नभई वायुसेवालाई पनि समस्या परिरहेको छ।  

विमानस्थलका अनुसार भिएफआर र आइएफआर दुई किसिमबाट उडान–अवतरण हुने नियम छ । मौसम खराब भएका बेला भिएफआर उडान–अवतरण गर्न नसके आइएफआर उडान गर्न सकिन्छ तर यसका लागि काठमाडौं विमानस्थलमा २ हजार ८ सय मिटर दृश्यांश (भिजिबिलिटी) हुनुपर्छ भने अन्य विमानस्थलमा न्यूनतम २ हजारदेखि २ हजार ५ सय मिटर भिजिबिलिटी हुनुपर्छ । भिएफआर उडानका लागि न्यूनतम ५ हजार मिटर भिजिबिलिटी चाहिन्छ । काठमाडौंबाहेक विराटनगर, सिमरा, भैरहवा र नेपालगन्ज विमानस्थलमा आइएफआर उडान गर्न मिल्ने सुविधा छ ।

त्रिभुवन विमानस्थलमा हाल १४ देशबाट २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन् । तिनले अहिले दैनिक ९० भन्दा बढी उडान–अवतरण गरिरहेका छन् । आन्तरिकतर्फ भने दैनिक ३ सय ५० उडान–अवतरण हुने गरेका छन् । विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने गर्छ भने राति साढे १२ बजे बन्द हुने गर्छ ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस