काठमाडौं- लामो अनिश्चिततापछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन लागेको अर्को नयाँ जहाज सोमबार काठमाडौं आउने भएको छ।
चीनले यसअघि दिएको मितिअनुसार नयाँ जहाज गत असार ३० मै आइसक्नुपर्थ्यो। निगम व्यवस्थापनले यताबाट ताकेता गरेको गर्यै गरेपछि चीनले त्यसपछि फेरि अर्को मिति दिएको थियो। त्यसअनुसार गएको साउन ९ मा उक्त जहाज काठमाडौं अवतरण गर्ने तालिका थियो।
'ढिलै भए पनि जहाज आउने भयो,' वायुसेवा निगमका एक उच्च अधिकारीले आइतबार नागरिकसँग भने, 'नयाँ जहाज सोमबार साँझ ५:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।'
चीनबाट सोमबार ल्याइने जहाज १८ सिटयुक्त 'वाई१२–ई' मोडेलको हो। यो अनुदानमा पाइने दोस्रो जहाज हो। यसअघि अनुदानको पहिलो जहाज ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) मोडेल यहाँ आएर नियमित व्यापारिक उडान सुरु गरिसकेको छ। निगमले सकेसम्म दसैंअघि नै वाई१२–ई जहाज ल्याएर उडाउने योजना बनाए पनि पूरा हुन सकेको थिएन।
नयाँ जहाज चिनियाँ प्रशिक्षक पाइलटसहितको टोलीले लिएर आउने ती अधिकारीले बताए। जहाज आएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) लिने प्रक्रिया सुरु गरिने उनले जानकारी दिए।
'त्यसपछि परीक्षण उडान गर्छौं,' उनले भने, 'बिनाव्यवधान काम अगाडि बढ्यो भने नयाँ जहाज आएको डेढ साताभित्र नियमित व्यावसायिक उडान सुरु हुन्छ। यसलाई पश्चिम क्षेत्रका दुर्गम भेगका विमानस्थलमा उडाउने योजना छ।'
निगमको यो जहाजलाई प्राधिकरणले यसअघि नै '९एन–एकेएस' कलसाइन दिइसकेको छ। निगमले यो जहाजको नाम 'कोइली' राखेको छ।
निगमले यसअघि चिनियाँसँग कागजातको समस्या भोग्दै आएको छ। यो जहाजका लागि पनि चीनले अंग्रेजी भाषा बोल्ने प्रशिक्षक पाइलट उपलब्ध गराउन नसकेका कारण आपूर्ति मिति पर सार्दै आएको थियो। तोकिएको समयमै जहाज ल्याउन सकेको भए बजार हिस्सा ओगट्दै जाने निगमको योजना सफल हुनसक्थ्यो।
बारम्बार ताकेता गरेपछि चीनले गत भदौ २० मा एक प्रशिक्षक पाइलट नेपाल पठाइदिएको थियो। ती पाइलटलाई नागरिक उड्डयन प्राधिकरणले प्रमाणित गर्ने प्रक्रिया सुरु गरे पनि उनीसँग अंग्रेजी भाषा बोल्न र बुझ्न सक्ने क्षमता नभएको पुष्टि भएको थियो।
'हाम्रो उड्डयन नियमअनुसार अंग्रेजी भाषा बुझ्ने र बोल्ने पाइलट नै अनिवार्य छ। यसपालि भने चीनबाट धोका हुने छैन भन्ने विश्वासमा छौं,' सम्बद्ध अर्का एक अधिकारीले भने, 'कागजातको समस्या पनि नहुनेमा ढुक्क छौं।'
'अनिश्चितता हुँदाहुँदै पनि हामीले धैर्य गुमाएनौं,' उनले भने, 'काम गर्दा बाधा–अडचन आइरहे पनि हाम्रो तर्फबाट सबै तयारी पूरा भइसकेका थिए। प्रशिक्षक पाइलट नभएसम्म जहाज नल्याउने पक्षमा हामी थियौं।' चीनले प्रशिक्षक पाइलट व्यवस्था गर्दै गरौंला जहाज लैजान भनिरहे पनि ल्याएर त्रिभुवन विमानस्थलमा थन्क्याउनुको अर्थ नहुने भन्दै निगम व्यवस्थापन पन्छिरहेको थियो।
चीनले गत असार पहिलो साता दोस्रो जहाज (वाई१२–ई) लिन निगमलाई पत्राचार गरेको थियो। त्यसपछि निगमका महाप्रबन्धक मदन खरेलको टोली असार १८ मा जहाज लिन त्यसतर्फ गएको थियो। खरेललाई असार २२ मा जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट म्यानुफ्याक्चरिङ कर्पोरेसनले उक्त जहाज हस्तान्तरण गरेको थियो।
नेपाल र चीनबीच भएको जहाज खरिद–बिक्री सम्झौताअनुसार एमए–६० दुई र वाई१२–ई चारवटा उपलब्ध हुनेछन्। तीमध्ये एउटा एमए–६० र एउटा वाई१२–ई अनुदान तथा एउटा एमए–६० र तीनवटा वाई१२–ई सहुलियत ऋणमा चीनले दिनेछ।
सहुलियत ऋणमा पाइने चारमध्ये एउटा एमए–६० असोज १४ तथा बाँकी तीनवटा वाई–१२ई कात्तिक १३ मा आइपुग्ने आपूर्ति तालिका चीनले यसअघि नै निगमलाई दिएको थियो। 'अब फेरि चीनले जहाज आपूर्तिका लागि नयाँ समय तालिका दिने जानकारी दिएको छ,' सम्बद्ध अधिकारीले भने, 'त्यसअनुसार पहिले एमए–६० आउँछ वा वाई–१२ई अथवा सबै एकैचोटि आउँछन् अहिले भन्न सकिँदैन।' चीनले उत्पादन गरेको वाई१२–ई जहाजले सन् १९८२ मा पहिलो उडान गरेको थियो। १९८५ देखि उसले यस्ता जहाज उत्पादन गरिरहेको छ।
निगमका पाइलटहरूले चिनियाँ जहाज उडाउने तालिम नलिएका कारण ती जहाज उडाउन पनि चीनबाटै पाइलट ल्याउनुपर्ने बाध्यता छ। एमए–६० हालसम्म चिनियाँ पाइलटले नै उडाइरहेका छन्। तर, सँगै ककपिटमा निगमका पाइलट पनि तालिम लिइरहेका छन्।
नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार जहाज उडाउने पाइलटले विमानस्थल टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) सँग अंग्रेजी भाषामै कुराकानी गर्नुपर्छ। यो नियम संसारभरका उड्डयन प्राधिकरणको छाता संगठन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले बनाएको हो।
प्राधिकरण पनि आइकाओको सदस्य राष्ट्र हो। चीनबाट अंग्रेजी भाषा बोल्ने पाइलट आए भने सुरुमा तिनको योग्यता प्राधिकरणले प्रमाणित गर्नुपर्छ। त्यसपछि मात्र तिनले चिनियाँ जहाज उडाउन पाउँछन्।
यसअघि आएको एमए–६० उडानमा पनि यस्तै समस्या आएको थियो। अंग्रेजी भाषा बोल्न सक्ने पाइलट तुरुन्त उपलब्ध नगराइदिनु तथा चीनमा दर्ता खारेज भएको पत्र नपठाइदिँदा उक्त जहाज झन्डै दुई महिना त्रिभुवन विमानस्थलमा थन्किएको थियो।
सम्बद्ध अर्का एक अधिकारीका अनुसार चीनसँग जहाज खरिद–बिक्री सम्झौता हुँदा यसबारे सबै स्पष्ट हुनुपर्थ्यो। चिनियाँले जहाजमात्र बेच्ने तर सहयोगी संयन्त्र उपलब्ध नगराउने गरेको यसबाट पुष्टि भएको छ। निगमले अमेरिकी जहाज निर्माता कम्पनी बोइङको जहाज उडाउन थालेको झन्डै तीस वर्ष भएको छ। अझैसम्म पनि ती जहाजमा कुनै प्राविधिक समस्या आएर बोइङसँग परामर्श लिइने गरिन्छ। जगेडा सामान भएसम्म उनीहरूले उपलब्ध पनि गराइरहेका छन्। तर, चीनसँग यसखाले संयन्त्र विकास गर्न सकिएको छैन।