अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको खुलासा भएको छ।
यो कुरा थाहा पाएपछि स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क रिसाएका छन्।
अमेरिकी सञ्चारमाध्यम द वासिङ्टन पोस्टले शनिबार प्रकाशित गरेको रिपोर्टमा स्रोतहरूलाई उद्धृत गर्दै इरानले स्टारलिंकमार्फत अमेरिकी सेनाविरुद्धका गतिविधि सञ्चालन गरेको जनाएको थियो।
कम्पनीको आन्तरिक छलफलसँग परिचित दुई व्यक्तिका अनुसार स्टारलिंकको दुई वटा अनधिकृत प्रयोगबारे जानकारी पाएपछि मस्क असन्तुष्ट भएका हुन्। तीमध्ये एउटा प्रयोग इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्टारलिंक प्रयोग गरेको विषयसँग सम्बन्धित थियो।
मस्कलाई अमेरिकी सेनाले पनि स्टारलिंककै सैन्य संस्करण स्टारशिल्ड प्रयोग गरेर एकतर्फी ड्रोन उडाइरहेको जानकारी दिइएको थियो। तर, अमेरिकी सेनाले हवाई सञ्चालनका लागि महँगो योजना लिनुको सट्टा जमिनमा आधारित सस्तो योजनाबाट ड्रोन उडाएको रिपोर्टमा उल्लेख छ।
स्टारशिल्ड स्पेसएक्सले सैन्य तथा सरकारी प्रयोजनका लागि विकास गरेको स्याटेलाइट सञ्चार प्रणाली हो। रिपोर्टअनुसार हवाई प्रयोजनका लागि आवश्यक योजनाको शुल्क जमिनमा आधारित योजनाभन्दा पाँच गुणासम्म महँगो थियो।
वासिङ्टन पोस्टका अनुसार इरानले स्टारलिंक प्रयोग गरेको विषय अमेरिकी रक्षामन्त्री पिट हेगसेथसमक्ष प्रस्तुत गरिएको गोप्य प्रतिवेदनमा समेत उल्लेख गरिएको थियो। उक्त प्रतिवेदनमा इरानी सेनाले सैन्य गतिविधिको समन्वय गर्न र एकतर्फी आक्रमणकारी ड्रोन सञ्चालनको निगरानी गर्न स्टारलिंक प्रयोग गरेको विवरण समेटिएको बताइएको छ।
तर, अमेरिकी रक्षा विभागले भने रक्षा सचिवको कार्यालयमा यस विषयसँग सम्बन्धित प्रतिवेदन पुगेको जानकारी नभएको जनाएको छ। रोयटर्सलाई दिएको प्रतिक्रियामा विभागले त्यस्तो प्रतिवेदनबारे आफूहरूलाई जानकारी नभएको बताएको हो।
स्पेसएक्स र इरानको विदेश मन्त्रालयले पनि यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएका थिएनन्।
स्टारलिंकलाई इरानमा सञ्चालनका लागि आधिकारिक अनुमति दिइएको छैन। तर, मस्कले यसअघि नै इरानमा स्टारलिंक सेवा सक्रिय रहेको बताएका थिए।
इरान सरकारले विभिन्न समयमा इन्टरनेट पहुँच बन्द गर्दै आएको छ। विशेषगरी जनवरीमा भएको देशव्यापी प्रदर्शनका क्रममा इन्टरनेट सेवा बन्द गरिएको थियो। त्यसपछि अमेरिकी सरकारले हजारौं स्टारलिंक टर्मिनल गोप्य रूपमा इरान पुर्याएको वाल स्ट्रिट जर्नलले जनाएको थियो।
इरानमा सर्वसाधारणले सरकारी इन्टरनेट नियन्त्रण छल्दै सञ्चार गर्न स्टारलिंक प्रयोग गर्दै आएका छन्। तर, यही प्रविधि इरानी सेनाले समेत सैन्य प्रयोजनमा प्रयोग गरेको खुलासाले यसको अनधिकृत प्रयोगबारे नयाँ प्रश्न उठाएको छ।
स्टारलिंक सञ्चालन गर्ने स्पेसएक्सले अनधिकृत प्रयोग रोक्न पछिल्लो समय निगरानी र सुरक्षा व्यवस्था कडा बनाएको छ। कम्पनीले आफ्ना आधिकारिक पुनर्विक्रेतालाई ग्राहकको पहिचान र प्रयोगबारे थप निगरानी गर्न निर्देशन दिएको छ।
यसअघि युक्रेनले रुसी सेनाले स्टारलिंक प्रयोग गरेर आक्रमणकारी ड्रोन सञ्चालन गरेको जानकारी दिएपछि मस्कले त्यसलाई रोक्न कदम चालेका थिए। युक्रेनको अनुरोधपछि स्पेसएक्सले रुसी सेनाले प्रयोग गरेका टर्मिनलको सेवा सीमित गर्न कदम चालेको थियो।
तर, इरानमा स्टारलिंक सेवा पूर्ण रूपमा रोक्दा सरकारी इन्टरनेट नियन्त्रण छल्न यसको प्रयोग गरिरहेका सर्वसाधारण र सरकारका आलोचकको सञ्चारमा समेत असर पर्न सक्ने विज्ञहरूले बताएका छन्।
स्टारलिंकले पृथ्वीको तल्लो कक्षमा रहेका हजारौं स्याटेलाइटमार्फत इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ। पछिल्लो खुलासाले निजी कम्पनीको नियन्त्रणमा रहेको यस्तो प्रविधि युद्ध र अन्तर्राष्ट्रिय द्वन्द्वमा कति महत्त्वपूर्ण बन्न सक्छ भन्ने विषयलाई फेरि चर्चामा ल्याएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
५२ मिनेट अघि
•
१ मिनेट पाठ