इलाम- 'गोर्खाल्याण्ड' आन्दोलनलाई उचाइँमा पुर्यािएर पछिल्ला वर्ष मौन रहँदारहँदै निधन भएका सुवास घिसिङको शव शुक्रवार नयाँ दिल्लीबाट दार्जिलिङ ल्याइँदैछ। दिल्लीस्थित गंगराम अस्पतालमा बिहीबार निधन भएका ८० वर्षीय घिसिङको शव बागडुग्रा विमानस्थल ल्याएर शनिवार गरिने अन्त्येष्टिका लागि दार्जिलिङ पुर्यामइने भएको हो।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका सुप्रिमो घिसिङको निधनपछि मोर्चाले गहिरो शोक प्रकट गर्दै दार्जिलिङ क्षेत्रमा एक दिन बजार, पसल, यातायात, शैक्षिक प्रतिष्ठान, चिया कमान आदि बन्द गर्न आह्वान गरेको छ। घिसिङको शव दिउँसो १२ बजे बागडुग्रा ल्याइने जनाउँदै मोर्चाले श्रद्धाञ्जली दिन शुभचिन्तकलाई त्यहीँ आउन आग्रह गरेको छ।
मोर्चाका दार्जिलिङ संयोजक मनजित सुब्बाले छोरा मोहनसँग सल्लाह गरेर घिसिङको शव अन्त्येष्टि गरिने जनाएका छन्। थाइराइड समस्याबाट ग्रसित घिसिङको निधनपछि मोर्चाका विभिन्न शाखा, दार्जिलिङ क्षेत्रका क्षेत्रीय पार्टी, संघ संस्थाहरुले शोक प्रकट गरिरहेका छन्। बागडुग्रादेखि ठाउँ ठाउँ राख्दै घिसिङको शव दार्जिलिङ लगिनेछ।
'सर्वसाधारणलाई श्रद्धाञ्जली दिन सजिलो होस् भनेर खरसाङ, सोनादा, घूममा बिसाउँदै शव दार्जिलिङ पुर्याघइनेछ,' मोर्चाको खरसाङ शाखा सचिव दया देवानले भनेका छन्, 'मरेर पनि बाँच्ने खालका नेता भएकाले अन्त्येष्टि र श्रद्धाञ्जलीमा विशेष तयारी गरिनेछ।' घिसिङ पत्नी धनमायाको सात वर्षअघि नै निधन भइसकेको छ।
भारतीय सेनाको जागिर छोडेर सन् १९८० देखि मोर्चा गठन गरी 'गोर्खाल्याण्ड' आन्दोलन चर्काएका घिसिङ दार्जिलिङ क्षेत्रका चर्चित नेता हुन्। छुट्टै राज्यको माग पूरा गराउन उनले चलाएको आन्दोलनक्रममा एक हजार दुई सय मानिसको ज्यान गएको थियो। पश्चिम बंगालबाट दार्जिलिङलाई अलग्याउन नसके पनि उनी चर्चामै थिए।
बंगाल र केन्द्र सरकारसँग सम्झौता गरेर आन्दोलन बीचमै रोकेका घिसिङ दार्जिलिङ गोर्खा पार्वत्य परिषद् नामको स्वायत्त निकायमा २० बर्षसम्म प्रमुख थिए। सन् २००७ अक्टोवरमा विमल गुरुङले गोर्खा जनमुक्ति मोर्चा पार्टी स्थापना गरेपछि घिसिङले परिषदबाट राजीनामा दिए र सिलिगुडी विस्थापित हुन बाध्य भए।
गुरुङको शक्तिमा आउनु अघिबाटै 'गोर्खाल्याण्ड' राज्यको मागप्रति तटस्थ रहँदै आएका घिसिङले पछिल्लो लोकसभा चुनावमा पश्चिम बंगालको सत्तारुढ तृणमूल कंग्रेसलाई सघाएका थिए। आफूले समर्थन गरेका कंग्रेस उम्मेद्वार भाइचुङ भुटिया पराजित भएसँगै शारीरिक र मानसिकरुपमा थकित भएर घिसिङ पुन सिलिगुडी फर्किएका थिए।
गत अक्टोवरमा थाइराइड समस्याले ग्रसित भइ नर्सिङ होम भर्ना भएका उनी त्यसयता खासै स्वस्थ थिएनन्। जीवनको आखिरी दिनसम्म व्यक्ति विशेषको सहयोग नलिएका उनलाई निडर, स्वाभिमानी र नेतृत्व गर्नसक्ने नेताका रुपमा सम्भि्कने धेरै छन्। दार्जिलिङमा क्षेत्रीय पार्टी धेरै भए पनि सबैले उनकै बाटो र विचार मात्र पछ्याइरहेको मानिन्छ।
निधनपछि घिसिङको राजनीतिक जीवन सम्झिँदै बंगालकी मुख्यमन्त्री ममता व्यानर्जीदेखि दार्जिलिङ टेरिटोरिअल एडमिनिष्ट्रेशन प्रमुख विमल गुरुङसम्मले शोक प्रकट गरेका छन्। उत्तर बंगाल विकास मन्त्री गौतम देव बागडुग्रा विमानस्थलमै श्रद्धाञ्जली अर्पण गर्न जाँदैछन् भने पूर्वमन्त्री अशोक भट्टाचार्य घिसिङलाई सम्झिरहेका छन्।