नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।
शनिबार घोषणा गरिएको १५ सदस्यीय टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने दीपेन्द्रसिंह ऐरी उपकप्तान रहेका छन्।
क्यानले घोषणा गरेको टोलीमा लेग स्पिनर सन्दीप लामिछाने, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र शाहब आलम रहेका छन्।
नेपाली टोली आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज खेल्न यूएई प्रस्थान गर्नेछ।
यो सिरिज अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म आयोजना हुनेछ। यस सिरिजमा नेपालले घरेलु टोली यूएई र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपालगन्ज। धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्। नेपालगन्जमा शनिबार भएको म्याराथनको १२ औं संस्कर २ घण्टा २० मिनेट २५ सेकेण्डमा ४२ किलो मिटर दुरी पार गर्दै उनले उपाधि हात पारेका हुन्।
उपाधि जितेसँगै केन्याली धावक मुरियुकीले दुई लाख रुपैयाँ प्राप्त गरे। म्याराथनमा २ घण्टा २२ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेका कुलबहादुर बस्नेत दोस्रो स्थानमा आएका छन्। उनले एक लाख रुपैयाँ प्राप्त गरे। यसैगरी २ घण्टा २४ मिनेट २९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका कृष्णबहादुर परियारले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
हाफ म्याराथनको महिलातर्फ राज्यलक्ष्मी रावतले उपाधि जितिन्। उनले नगद ५५ हजार प्राप्त गरिन्। उनले २१ किलोमिटर दुरिलाई १ घण्टा २७ मिनेट ३६ सेकेण्टमा पार गरेकी थिइन्। हाफ म्याराथनमै दोस्रो भएकी सम्झना लिम्बु र तेस्रो स्थानमा आएकी सरस्वती भट्टराईले क्रमशः नगद ३० र १५ हजार प्राप्त गरेका छन्।
निर्धारित दुरिलाई दुबै जनाले क्रमशः १ घण्टा २८ मिनेट ३० सेकेन्ट र १ घण्टा ३० मिनेट ३७ सेकेन्टमा पार गरेका थिए। विजेतालाई नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरी, मिस नेपाल दिपमाला ढकाल, के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाजेड लगायतले पुरस्कृत गरे।
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि जितेका केन्याली धावक जुलियस मुरियुकी। तस्बिरः नागरिक