आर्थिक वर्ष सकिनै लाग्दा पोखरा महानगरपालिकाले खेलकुद पूर्वाधार निर्माणमा भने तिब्रता दिएको छ । कोरोनाको दोस्रो लहरले बजार क्षेत्र लपेटिएको अवस्थामा गाउँमा भने काम धमाधम भईरहेको छ ।
पोखरा–२० आँटीघर मौजामा पोखरा महानगरपालिकाले महानगरको सबैभन्दा उच्च क्षेत्रमा खेल मैदान निर्माण शुरु गरेको छ । फुटबल मैदान सहितको अन्य पूर्वाधार त्यहाँ बनाईने छ । त्यसको आवश्यक विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरिसकिएको छ । डिपिआर अन्तर्गत नै महानगरपालिकाले बजेट विनियोजन गरेर काम अघि बढाएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा खेल मैदानको लागि ५० लाख रुपैयाँ उपलब्ध गराइएको हो । ‘आर्थिक वर्ष सकिनै लाग्दा काम भने धमाधम छ,’ पोखरा–२० का वडाध्यक्ष सीम गुरुङले भने–‘१५÷२० जनाले नियमित रुपमा काम गरिरहेका छन् । बाहिरी व्यक्तिको प्रवेश गाँउमा छैन् ।’
उनका अनुसार गत आर्थिक वर्ष महानगरपालिकाले ७ लाख ५० हजार र वडाले १ लाख गरी ८ लाख ५० हजार रुपैयाँ बजेट बाट जमिन सम्याउने काम गरिएको थियो । महानगरकै उचाई (१७ सय मिटर उचाई)मा निर्माणाधिन अवस्थामा रहेको मैदानलाई दीर्घकालिन योजना अन्तर्गत बजेट विनियोजन हुने उनले बताए । डिपिआर पछि छुट्टाइएको बजेटबाट जमिन सम्याउने र रिटेनिङवाल लगाउने काम गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन अनुसार पुर्वाधारले झण्डै ५६ रोपनी क्षेत्रफल ओगट्ने देखिन्छ । पार्किङको समेत व्यवस्था हुने छ ।
कास्कीकै अग्लो स्थानको फुटबल मैदान पोखरा महानगरपालिका वडा नं २० मौजाका वडाध्यक्ष गुरुङले बताए । उनका अनुसार दशकअघि मेला र महोत्सव गर्ने स्थललाई अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदान बनाउन महानगरपालिकासँगै स्थानीयबासी कस्सिएका हुन् । आँटीघर मौजाको थाप्लोमा रहेको सार्वजनिक जग्गामा निर्माण शुरु गरिएको छ । मैदान भन्दा उत्तर तर्फ भने मानवबस्ती छैन् । घनाजंगल छ ।
वडाध्यक्ष गुरुङ भन्छन–‘मैदान निर्माणपछि स्पोर्टस टुरिज्म प्रोमोसनमा हुने आशा र विश्वास छ । त्यसैले दीर्घकालिन योजनालाई पुरा गर्ने तर्फ सबै जुट्नुपर्छ ।’ मैदानसँगै अतिथिहरुको लागि होमस्टे गर्न सकिने उनको भनाई थियो । फुटबल मैदान निर्माण भएपछि होमस्टेलाई प्रभावकारी बनाउन सकिए आँटीघर मौजा खेल मैदानमा राष्ट्रियस्तरकै प्रतियोगिता सञ्चालन गर्न सकिने उनको विश्वास थियो । मैदान फुटबलको मापदण्ड अनुसारकै निर्माण हुने छ । डाडाँ खारेर ११० मिटर लम्बाई ६५ मिटर चौडाईको फुटबल मैदान सम्भावनालाई डिपिआर तयार हुनु अघि नै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियरले औल्याईसकेका थिए । सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक खेल मैदान बनाउने निर्णय गरेको छ ।
पोखरा महानगरपालिका र कोरियाको युङजिन विश्वविद्यालयबीच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी सम्झौता भएको छ।
पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयको तर्फबाट प्राध्यापक चोइ जेइयोङले हस्ताक्षर गरेका छन।
समझदारी अनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबिच अन्तर्राष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइने महानगरले बताएको छ। शिक्षा, पर्यटन र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई समर्थन गर्न मानव संशाधन तथा सूचना आदानप्रदान, महानगरपालिका र युङजिनबीच अनुकूल शैक्षिक कार्यक्रम, भ्रमण र भर्चुअल शिक्षामा साझेदारी गरिने पनि महानगरको भनाई छ।
सहरी विकास, पर्यटन र दिगो अभ्यास लगायत पारस्परिक हितका क्षेत्रमा संयुक्त अनुसन्धान र नवप्रवर्तन परियोजनामा सहकार्य गरिने सम्झौतामा उल्लेख छ। नगर प्रमुख आचार्यले दुईपक्षीय समझदारीले पोखराबाट वैदेशिक अध्ययनका लागि कोरिया जाने विद्यार्थीलाई उनीहरूको अध्ययन, सामाजिक सुरक्षा र न्यूनतम रोजगारीमा विश्वविद्यालयले आवश्यक सहजीकरण गर्ने बताए।
प्राविधिक शिक्षाको सन्दर्भमा विश्वविद्यालयसँगको समझदारीले विद्यार्थीको अन्तर्राष्ट्रिय छात्रवृत्तिमा पहुँच स्थापित गर्ने भएकाले यसका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने पनि उनले बताए। ‘उच्चशिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थी तथा अध्ययताहरुलाई समेत यसले महत्वपूर्ण सहयोग पुग्नेछ,’ आचार्यले भने।
पोखरा महानगरपालिकासँगको सहकार्यमा शैक्षिक विकासका लागि हातेमालो गर्न तत्पर रहेको विश्वविद्यालयका प्राध्यापक चोइ जेइयोङले बताए । विशेष गरी प्राविधिक शिक्षा, मानव संशाधन र पारस्परिक लाभका विषयमा पोखरा महानगरसँग सम्बन्ध नजिकिएको पनि उनको भनाई छ । यसअघि पनि कोरियन सरकार र एजेन्सीजको सहयोगमा पोखरामा थुप्रै परियोजना सञ्चालनमा रहेका छन्।