इन्जुरी समयमा नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लबले ‘लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । यो सँगै एपिएफ क्लब इलाम, चितवनपछि लगातार तेस्रो पटक उपाधि जित्ने विभागीय टिम बनेको छ ।
नेपालगन्ज रंगशालामा शुक्रबार भएको दुई विभागीय टिम बीच भएको फाइनल खेलमा एपिएफकी गीता रानाले गोल गरेर टिमलाई जित दिलाइन् । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि ९ मिनेट इन्जुरी समय थपिएको थियो ।
इन्जुरी समयको ९ औं मिनेटमा एपिएफले लगातार तीन पटक कर्नर पाएको थियो । तेस्रो पटकको कर्नरमा एपिएफकी गीताले गोल गरिन् । उपाधि जितेसँगै एपिएफले नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले विजेता टिमलाई पुरस्कृत गरे । यस्तै उपविजेतामा चित्त बुझाएको पुलिस क्लबले नगद २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित एपिएफका अनिता बस्नेतले नगद २५ हजार सहित ट्रफी हात पारिन् । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक एफिएफकी भगवती थापा, उत्कृष्ट स्ट्राइकर एपिएफका अनिता केसी, उत्कृष्ट मिडफिल्डर एपिएफका सरु लिम्बु, उत्कृष्ट डिफेन्डर एपिएफका गीता राना र उत्कृष्ट गोल किपर घोषित पुलिस क्लबका उषा नाथले नगद १० हजारसहित ट्रफी प्राप्त गरे ।
फाइनल खेलमा ‘प्लेयर अफ द म्याच’ गीता रानाले नगद ५ हजारसहित ट्रफी पाइन् । प्रतियोगितामा यसअघि एपिएफले कर्णाली प्रदेश फुटबल संघलाई हराएर सेमिफाइनल र रौतहट जिल्ला फुटबल संघलाई पराजित गरेर फाइनलमा पुगेको थियो ।
पुलिस क्लबले भारतको सिलगुडी एफसीलाई हराएर सेमिफाइनल र त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा यही बैशाख ५ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।
पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ। बुधबार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले पराजित गर्दै एपिएफले उपाधि चुमेको हो।
फाइनल खेलमा एपिएफले पहिलो र दोस्रो सेट १८–२५, १७–२५ अङ्कका साथ गुमाएको थियो। तेस्रो, चौथो र पाँचौँ सेटमा २५–१९, २५–१७ र १८–१६ अङ्कसहित जित निकाल्दै एपिएफले उपाधि हात पार्न सफल भएको हो।
एपिएफसँग फाइनल खेलमा प्रतिस्पर्धा गरेको बागमती उपविजेता बनेको छ। प्रतियोगितामा लुम्बिनी प्रदेशले तृतीय स्थान ओगटेको छ। कोशीलाई ३–० को सोझो सेटमा हराउँदै लुम्बिनीले तृतीय स्थान ओगट्न सफल भएको हो। लुम्बिनीले २५–१०, २५–१६ र २५–२२ अङ्कका साथ जित हात पारेको छ भने यससँगै कोशी प्रदेशले सान्त्वना स्थान हासिल गरेको छ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजारसहित साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा एपिएफका सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भएकी छन्।
एपिएफका निरुता थगुन्ना उत्कृष्ट सर्भर, महेश चौधरी उत्कृष्ट कोच, बागमतीका प्रगतिनाथ उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर, सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर र लुम्बिनीका मीना सुनार उत्कृष्ट स्पाइकर भएका छन्।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले पुरस्कार वितरण गर्दै रामपुरमा राष्ट्रियस्तरको खेल हुनु महत्त्वपूर्ण रहेको बताए। उनले खेलाडीलाई बौद्धिक सम्पत्तिको रूपमा लिनु आवश्यक रहेको बताए। लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले पूर्वाधारको अभावमा राष्ट्रियस्तरका अन्य खेल सञ्चालनमा समस्या भएको जनाउँदै पूर्वाधार निर्माणमा जोड दिने प्रतिबद्धता जनाए।
प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरेलगायतले सदरमुकामबाट टाढा रहेको रामपुरमा राष्ट्रियस्तरको खेलकुदले यस क्षेत्रको पहिचानका साथै पर्यटन तथा आर्थिक क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने बताएका छन्।
जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना, प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन तथा प्रायोजन, नेपाल भलिबल सङ्घको संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल सङ्घ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य सङ्घको प्रवर्द्धनमा प्रतियोगिता भएको हो।
गत फागुन १८ गतेदेखि ६ दिनसम्म भएको खेलमा आठ समूहको सहभागिता रहेको थियो। रामपुरमा पहिलोपटक राष्ट्रियस्तरको खेल आयोजना भएकाले पनि यस क्षेत्रका स्थानीयमा खेल क्षेत्रमा उत्साह थपिएको छ। –रासस
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...