ओलम्पिक डे २०२४ को अवसरमा शनिबारदेखि नेपालमा यसको औपचारिक शुभारम्भ गरिएको छ।नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधानमा एनओसी अन्तर्गत रहेको स्पोर्ट्स फर अल कमिसनको आयोजनामा नेपालमा ओलम्पिक डे २०२४ को कार्यक्रम सुरु गरिएको हो।
पाटन मंगलबजारमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक डे २०२४ को थालनी गरिएको हो । कार्यक्रममा स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को झण्डोत्तोलन गरे।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका कार्यवाहक अध्यक्ष ज्योती राणाले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिन् । यस्तै कार्यक्रममा नेपाल प्रहरी ब्याण्ड टोलीबाट राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।यस्तै दधिकोट स्कुलका छात्राबाट बाँसरीमा मंगल धुन प्रस्तुत गरिएको थियो।
मंगलबजारबाट विभिन्न स्कुलका विद्यार्थीहरुले मार्चपास गर्दै सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा पुगेका थिए ।ओलम्पिक डे हरेक वर्ष जुन २३ मा मनाइँदै आएको छ । तर नेपालमा भने स्पोर्ट्स फर अल कमिसनले जुनको सुरुवातदेखि नै विभिन्न कार्यक्रमहरु आयोजना गरेर ओलम्पिक डे मनाउने गर्छ ।आजदेखि हामीले नेपालमा ओलम्पिक डे २०२४ को औपचारिक सुरुआत गरेका छौँ । यसअघि नै केही कार्क्रमहरु सुरु भईसकेका छन् ।’ श्रेष्ठले भने ।
श्रेष्ठले स्कुलमा पढ्ने बालवालिकालाई सानै देखि सही मार्गमा डोहोर्याउन र खेलकुलको बारेमा जानकारी गराउन यस किसिमको कार्यक्रम गरिएको बताए । यस्तै ड्रग र विसंगति जस्ता खराब क्रियाकलापबाट रोक्न पनि यस कार्यक्रमले सहयोग गर्ने उनले बताए ।
श्रेष्ठका अनुसार नेपालको सात वटै प्रदेश, राष्ट्रिय खेल संघ संस्थाहरु विभागीय टोली प्रि स्कुलहरुसँग सहकार्य गरेर ओलम्पिक डेको अवसरमा विभिन्न कार्यक्रम गरिनेछ । यस्तै ओलम्पिक डे को दिन जुन २३ मा मुख्य कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए । गत वर्ष ३ हजार २ सय ७३ कार्यक्रम आयोजना गरिएको र यस वर्ष ४ हजार एक कार्यक्रम गर्ने लक्ष्य रहेको कमिसनका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
शिक्षा र खेलकुद क्षत्रेको सही तालमेल मिलाउन र स्कुलदेखि नै साना भाइबहिनीहरुलाई खेलकुदको विविध पक्षमा बुझाउनका लागि यस खालको कार्यक्रम आयोजना गरिएको कमिसनले जनाएको छ ।नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्थापना भएको दिन २३ जुनको अवसर पारेर नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरेर ओलम्पिक डे मनाइन्छ ।
जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक– २०२४ मा खेल्ने भएकी छन्। यही साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जनाएका छन्। मनीताले महिला ५७ केजीमुनि तौल समूहमा खेल्नेछिन्।
दक्षिण एसियाली खेलकुद (साग)को १२ औँ र १३ औँ संस्करणकी रजत विजेता २५ वर्षीया मनीताले ९ वर्षको उमेरदेखि जुडो खेल्न थालेकी हुन। उनको पहिलो प्रतियोगिता सन् २०११ मा काठमाडौँको धापासीमा भएको त्रियोग जुडो च्याम्पियनसिप हो । त्यसमा मनीताले स्वर्ण जितेकी थिइन्। मनीता ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी पनि हुन् ।
मनिताले किर्गिस्तानमा भएको जुनियर एसियाली जुडोमा कांस्य, थाइल्यान्ड विश्वविद्यालय जुडोमा स्वर्ण, दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रजत लगायत अन्तर्राष्ट्रिय पदक जितेकी छन्। मनितासँग एसियाली खेलकुदको १८ औँ र १९ औँ संस्करण खेलेको पनि अनुभव छ। पेरिस ओलम्पिककै लागि मनीताले जापान, चाइनिज ताइपेइ, हङकङ र किर्गिस्तानमा छनोट प्रतियोगिता खेलेकी थिइन्। मनीता राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा रहेकी छन्।
काठमाडौँको एकलटारस्थित रानीवनमा रहेको बन्दी सहायता नियोग (पाम)बाट जुडो खेल्न सुरु गरेकी मनीता विगत पाँच वर्षदेखि नेपाल प्रहरीमा आबद्ध छिन्। मनीताका सुरुवाती गुरु टोकियो ओलम्पिक–२०२० मा प्रशिक्षकको भूमिका निर्वाह गरेका सूर्यनारायण श्रेष्ठ हुन् । पाममा हाल २८ जना आश्रित छन् र सबै जुडो खेल्छन्।
ओलम्पिकमा सहभागी हुने मनीता छैटौँ नेपाली जुडो खेलाडी हुन्। यसअघि १९८८ को सिओल ओलम्पिकमा गङ्गाबहादुर डंगोल र ऋषिराम प्रधान, २००८ को बेइजिङ ओलम्पिकमा देबु थापा, २०१६ को रियो ओलम्पिकमा फुपु ल्हामु खत्री, २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले नेपालको प्रतिनिधित्व गरेका थिए।
मनीताले छनोट भएकोमा आश्चर्य र खुसी लागेको प्रतिक्रिया दिदै पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने बताइन्।
सुरुमा मलाई ओलम्पिक कमिटीबाट पेरिस ओलम्पिकका लागि छनोट भएको खबर आएको थियो। मलाई पत्याउनै गाह्रो भयो। त्यसपछि सूर्य गुरुको फोन आयो। नि मात्र विश्वस्त भए। ओलम्पिक जस्तो ठुलो खेलकुदमा छनोट भएकोमा आश्चर्य र खुसी लागेको छ ,मनीताले भनिन्– पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट दिने प्रयास गर्नेछु।
पेरिस ओलम्पिकमा हालसम्म नेपालबाट सहभागी हुने खेलाडीको संख्या ७ पुगेको छ। पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपालले पेरिस यात्रा पक्का गरिसकेका छन्।
स्यान्टु भने छनोट चरण पार गर्दै ओलम्पिकका लागि छनोट भएका हुन् भने बाँकी वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेका हुन्।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...