जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।
यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।
कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।
टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।
म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।
राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
२५ मिनेट अघि
•
१ मिनेट पाठ