सुकुम्बासीको अस्थायी व्यवस्थापनका लागि भक्तपुरको खरिपाटीमा दुई वटा भव्य भवन छुट्याइएका छन्। ती दुवै भवनको मुख्य प्रवेशद्वारअगाडि पाँच–सात वटा मेच बस्नका लागि राखिएका छन्। प्रवेशद्वारबाट भित्र पस्नेबित्तिकै एउटा फोटोकपी पेपरमा लेखेर टाँसिएका छन्, विभिन्न कोठा तथा तल्लामा प्रयोग हुने इन्टरनेटका पासवर्ड।
भवनहरू जति भव्य छन्, भित्रका कोठाहरू पनि उति नै सफा, सुन्दर र व्यवस्थित छन्। मानौं ती होल्डिङ सेन्टरका नभई तारे होटलका कोठा हुन्। खाना–खाजाका लागि छुट्टै भवनमा टेबलमै बसेर खाने व्यवस्था गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र रहेको कारण यो स्थान ठूलो क्षेत्रफलमा फैलिएको छ। फराकिलो खुला क्षेत्र (ओपन स्पेस) र चारैतिर फैलिएको हरियाली यस ठाउँको विशेष आकर्षण हो। ठूलो क्षेत्रफल, हरियो घाँसे मैदान र शान्त वातावरणका कारण यहाँ बसिरहेका सुकुम्बासीलाई दिन बिताउन खासै कठिनाइ देखिँदैन।
होल्डिङ सेन्टरमा खानेपानी, विद्युत्, शौचालय, स्नानघरदेखि इन्टरनेट सेवासमेत उपलब्ध गराइएको छ। बालबालिकाको पठनपाठनमा सहजता होस् र नागरिकले सरकारी तथा अन्य आवश्यक अनलाइन सेवा उपयोग गर्न सकून् भन्ने उद्देश्यले इन्टरनेटको व्यवस्था गरिएको स्थानीय व्यवस्थापन पक्षले जनाएको छ।
होल्डिङ सेन्टरमा उपलब्ध गराइएका आधारभूत सेवाप्रति सकारात्मक प्रतिक्रिया जनाए पनि त्यहाँ रहेका सुकुम्बासीहरूले आफ्नो मुख्य अपेक्षा स्थायी आवास र सम्मानजनक जीवनयापनको सुनिश्चितता रहेको बताएका छन्। सरोकारवाला निकायले होल्डिङ सेन्टरलाई अस्थायी व्यवस्थापनका रूपमा सञ्चालन गर्दै प्रभावित परिवारलाई क्रमिक रूपमा स्थायी आवास व्यवस्थापनतर्फ लैजाने योजना रहेको जनाएको छ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोदकुमार खड्काका अनुसार यसअघि त्यहाँ २०८ जना सुकुम्बासी थिए। तर पछिल्लो पटक नेपाल सरकारले प्रति परिवार २५ हजार रुपैयाँ दिएर व्यवस्थापन गरेपछि त्यहाँ २५ जना मात्रै बाँकी रहेका थिए। तर काठमाडौंको कीर्तिपुरस्थित अस्थायी सुकुम्बासी शिविर डुबानमा परेपछि त्यहाँका सुकुम्बासीलाई पनि खरिपाटी ल्याउने कार्य अहिले जारी छ। त्यसकारण यहाँ बस्ने सुकुम्बासीको संख्या अझ बढ्ने उनले बताए।
होल्डिङ सेन्टरमा बसोबास गर्ने अधिकांश परिवार दैनिक ज्यालादारी तथा अनौपचारिक क्षेत्रमा निर्भर छन्। खरिपाटीबाट रोजगारीका केन्द्रसम्म पुग्न समय र यातायात खर्च बढ्दा दैनिक जीवन झन् कठिन बन्दै गएको उनीहरूको भनाइ छ। यही कारण कतिपयले कोठामा ताला लगाएर काममा जाने गरेका छन्। बालबालिकाको शिक्षामा पनि यहाँ चुनौती देखिएको छ। विद्यालय टाढा हुँदा नियमित आवतजावतमा समस्या हुने गरेको अभिभावकहरूले बताएका छन्। आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्री जुटाउनसमेत कठिनाइ भइरहेको उनीहरूको गुनासो छ।
गृहमन्त्री दुई घण्टा सेन्टरमा
गृहमन्त्री सुदन गुरुङसहित उच्च सरकारी टोलीले आइतबार होल्डिङ सेन्टरको निरीक्षण गरेको छ। गृहमन्त्रीसहितको टोली त्यहाँ झण्डै दुई घण्टा बसेको थियो। बिहान ११ बजेर ५ मिनेटमा गेटभित्र प्रवेश गरेको टोली १२ बजेर ५० मिनेटमा बाहिरिएको थियो।
गृहमन्त्रीको नेतृत्वमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय भक्तपुर तथा जिल्लाका सुरक्षा निकायका उच्च अधिकारीहरू खरिपाटी होल्डिङ सेन्टर पुगेका थिए। टोलीले सेन्टरको व्यवस्थापन, पूर्वाधार, सेवा–सुविधा तथा त्यहाँ आश्रित परिवारहरूको अवस्थाबारे जानकारी लिएको जनाइएको छ। तर समाचार संकलनका लागि पुगेका पत्रकारलाई मुख्य प्रवेशद्वारबाटै रोकिएको थियो।
गृहमन्त्री सुधन गुरुङ सँगै भूमि व्यवस्था मन्त्री प्रतिभा रावल, महिला बालबालिका मन्त्री सिता बादी, स्वास्थ्य मन्त्री निशा मेहता, सरकरका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोख्रेल र श्रम मन्त्री रामजी यादव भक्तपुरमा रहेको खरिपाटि र बोडेमा रहेको सुकुम्बासि राखिएको होल्डिङ सेन्टर पुगेका थिए।
गृहमन्त्री होल्डिङ सेन्टर आएको खबरपछि भक्तपुर क्षेत्र नं. १ का सांसद् रुकेश रञ्जितसहित उनको तीन सदस्यीय सचिवालयको टोली एउटै गाडीमा सेन्टरभित्र प्रवेश गरेको थियो। गृहमन्त्री पुगेको झण्डै ४५ मिनेटपछि सांसद रञ्जित सेन्टर पुगेका थिए। यसअघि प्रमुख जिल्ला अधिकारी, एसपीलगायत उच्च सुरक्षा अधिकारीहरूको टोली भने सेन्टरमै उपस्थित थियो।
बिहान ११ बजेर ५ मिनेटमा होल्डिङ सेन्टर पुगेको टोली १२ बजेर ५० मिनेटमा बाहिरिएको थियो। बाहिरिने क्रममा पनि गृहमन्त्रीसहित टोलीका कुनै सदस्यले पत्रकारसँग कुराकानी गरेनन्। उनीहरू मुख्य गेटबाट सिधै बाहिरिएका थिए।
भक्तपुरको खरिपाटी स्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्र अस्थायी होल्डिङ सेन्टरमा परिणत भएको एक साता पुग्न लागेको छ । बल्खु, शंखमूललगायत क्षेत्रका सुकुमवासी बस्ती हटाइएपछि यहाँ आश्रय लिइरहेका ८९ परिवारका १९२ जनाको दैनिकी विस्तारै नयाँ लयमा अभ्यस्त बन्दै गएको छ ।
विसं २०४४ देखि बल्खुको सुकुमवासी बस्तीमा छिमेकी भएर बस्दै आएका ८४ वर्षीय मानबहादुर राई र ७२ वर्षीय गोपाल तामाङ अहिले आफूहरू एउटै परिवारजस्तै बनेको अनुभव सुनाउँछन् । राई श्रीमतीसहित सेन्टरमा बसिरहेका छन् भने तामाङ एक्लै छन् ।
होल्डिङ सेन्टरमा बिहानको चिया–नास्तापछि परिसरको चौरमा हिँडडुल, क्यान्टिनमा बसाइ र दिनभरका गफले उनीहरूको दैनिकी चलिरहेको छ । अस्थायी बसोबासका लागि व्यवस्था राम्रो भए पनि सुरक्षित र सम्मानजनक पुनर्स्थापनाको पर्खाइमा रहेको उनीहरू बताउँछन् ।
“बिहान ५ बजे उठ्छौँ, हिँड्छौँ, चिया खान्छौँ । अहिलेको अस्थायी व्यवस्था ठीक छ,” राईले भने, “तर सरकारले स्थायी व्यवस्थातर्फ पनि चाँडै काम गरिदिए राम्रो हुन्थ्यो ।”
तामाङको अपेक्षा पनि उस्तै छ । “खाना र बस्न अहिले सुविधा छ । अब स्थायी बासस्थानको व्यवस्था छिटो होस् भन्ने आशा छ,” उनले भने ।
सेन्टरको खुला प्राङ्गणमा २८ वर्षीया खुस्बु खातुनका चार सन्तान खेलिरहेका भेटिन्छन् । खातुनका अनुसार सामूहिक बसाइले अपरिचितहरूबीच पनि आत्मीयता बढाएको छ ।
“धेरै जना भएर रमाइलो लाग्छ । खानपान र बसोबास ठीक छ । साथीहरूसँग गफ गरेर दिन बित्छ,” खातुनले भनिन् ।
तर उनको चिन्ता बालबालिकाको भविष्य र पुनर्स्थापनालाई लिएर छ । “बच्चाको पढाइ नरोकिने व्यवस्था सरकारले मिलाइदियो भने राम्रो हुन्छ,” उनले भनिन् ।
उही सेन्टरमा बसिरहेका ५६ वर्षीय प्रेमबहादुर हुमागाईं पेसाले सवारी चालक हुन् । दुर्घटनापछि काम गर्न नसकिरहेको अवस्थामा उनी यहाँ आएका हुन् । उनले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको वास्तविक विवरण संकलन गरी व्यवस्थापन गर्नुपर्ने बताए ।
“बस्ती हटाएपछि सरकारले खाना र बस्ने व्यवस्था गरेकामा धन्यवाद,” उनले भने, “तर वास्तविक सुकुमवासीको पहिचान गरेर रोजगारी र स्थायी व्यवस्थातर्फ लैजानुपर्छ । यहाँ बस्दा आफ्नै काम छोड्नुपरेको छ ।”
होल्डिङ सेन्टरको व्यवस्थापनबारे सांसदहरूले पनि स्थलगत अवलोकन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय को सहजीकरणमा पुगेका सांसदहरूले आश्रितहरूसँग कुराकानी गर्दै उनीहरूको अवस्था र आवश्यकताबारे जानकारी लिएका छन् ।
कानुन, न्याय तथा मानवअधिकार समिति की सभापति समीक्षा बाँस्कोटाले खरिपाटीको व्यवस्थापन अपेक्षाभन्दा राम्रो रहेको प्रतिक्रिया दिइन् ।
“ट्वाइलेट, खुला ठाउँ, सरसफाइ, स्वास्थ्य सेवा र एम्बुलेन्स सबै व्यवस्थित देखियो,” उनले भनिन्, “बालबालिकाको शिक्षामा थप समन्वय आवश्यक रहेछ ।”
सांसद यज्ञमणि न्यौपानेले भक्तपुरको व्यवस्थापन तुलनात्मक रूपमा व्यवस्थित देखिएको बताए । “अब राज्यले पुनर्बास, शिक्षा, स्वास्थ्य र रोजगारीतर्फ ध्यान दिनुपर्छ,” उनले भने ।
सांसद मनमाया विश्वकर्माले पनि खाने–बस्ने व्यवस्थामा गुनासो नदेखिएको उल्लेख गर्दै गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र बालबालिकाको आवश्यकतामा थप ध्यान दिनुपर्ने बताइन् ।
होल्डिङ सेन्टर व्यवस्थापनको मुख्य जिम्मेवारी सहरी विकास मन्त्रालय ले सम्हालिरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र खानेपानी मन्त्रालय ले आवश्यक सामग्री उपलब्ध गराइरहेका छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले समन्वय गरिरहेको जनाएको छ ।
प्रधानमन्त्री कार्यालयकी स्वकीय उपसचिव प्रकृति ढकालका अनुसार सेन्टरमा मानसिक स्वास्थ्य परामर्श, स्वास्थ्योपचार र औषधि उपलब्ध गराइएको छ । सुकुमवासी तथा अव्यवस्थित बसोबासीको वास्तविक समस्या पहिचान र न्यायोचित व्यवस्थापनका लागि जनप्रतिनिधिलाई समेत अवलोकनमा सहभागी गराइएको उनले बताइन् ।
“यस संवेदनशील विषयमा वस्तुस्थिति बुझ्न र जनप्रतिनिधिको अनुभव समेट्न सांसदहरूको सहभागिता गराइएको हो,” उनले भनिन् ।
सेन्टरका प्रशासन प्रमुख भरत केसीका अनुसार हाल ३० जना बालबालिकाका लागि ‘मल्टिग्रेड टिचिङ’ सुरु गरिएको छ । “आइतबारदेखि नजिकैका विद्यालयमा भर्ना गर्ने तयारी भइरहेको छ,” उनले भने ।
जागृति माध्यमिक विद्यालय का शिक्षक रमेश मैनालीका अनुसार सामाजिक सञ्जालमा बालबालिकाको अवस्था देखेपछि विद्यालय सहकार्यका लागि तयार भएको हो ।
“हाम्रो विद्यालयमा थप ४० जना विद्यार्थी पढाउने क्षमता छ । स्कुल बसको व्यवस्थासहित यहाँका बालबालिकालाई पढाउन तयार छौँ,” उनले भने ।
अस्थायी होल्डिङ सेन्टरमा बसिरहेका परिवारका बालबालिकाको शिक्षा प्रभावित हुन नदिन पायक पर्ने विद्यालयमा पढाउने व्यवस्था मिलाउने तयारी तत्कालै थालिने प्रशासन प्रमुख केसीले जानकारी दिए । रासस
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...