भोटेकोशीमा बाढी आएको एक साता बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन कष्टकर नै छ।
बुधबार नुवाकोटको विदुरस्थित उर्लँदो त्रिशूली नदीको भेलमाथि बाढीपीडितहरू अस्थायी केवलमा झुन्डिएर ज्यान जोगाउँदै सुरक्षित स्थानतर्फ सरिरहेका थिए। नेपाली सेना र स्थानीय बासिन्दाले उनीहरूलाई तारबाट तानेर वारपार गराइरहेका थिए।
विनाशकारी बाढीले सडक र पक्की पुलहरू बगाएपछि नेपाली सेनाले विदुरमा करिब २५० मिटर लामो अस्थायी ‘जिपलाइन’ निर्माण गरेको छ। यही जिपलाइन अहिले सञ्चार र यातायातविहीन बनेका बाढीपीडितका लागि जीवनरेखा बनेको छ।
नदीको किनारमा भेला भएका सर्वसाधारणहरू आफ्नो पालो पर्खिँदै निराश र हतास मुद्रामा उभिएका थिए। तत्काल उपचार, औषधि, खाद्यान्न र अत्यावश्यक सामग्री चाहिनेहरूलाई प्राथमिकताका साथ नदी पार गराइएको थियो।
‘मेरो घर बाढीले लग्यो, परिवार आश्रयस्थलमा छ,’ गत भदौ १० मा बाढी आएलगत्तै एम्स्टर्डमबाट नेपाल फर्किएका ४४ वर्षीय सेफ सुजनले सुनाए। हेलिकप्टरको व्यवस्था गर्न नसकेपछि उनी आफ्नी श्रीमती, दुई सन्तान र वृद्ध आमालाई भेट्ने आशमा यही जिपलाइन तर्न खोला किनार आइपुगेका थिए।
भोटेकोशी र त्रिशूली नदीमा आएको यस विनाशकारी बाढीले नेपाल र चीनको तिब्बत क्षेत्रमा गरी १ हजार २०० भन्दा बढी मानिसको ज्यान लिइसकेको छ भने ४ हजार ८०० भन्दा बढी अझै बेपत्ता छन्।
उद्धारकर्ताहरूले अझै पनि जीवित र मृतकको खोजी गरिरहेका छन् भने हेलिकप्टरमार्फत खाद्यान्न, अस्थायी पाल र औषधि वितरण भइरहेको छ।
त्रिशूलीमा अलपत्र परेकी ३१ वर्षीया ज्यालादारी मजदुर देवी माझी आफ्नो तीन वर्षीय छोरालाई च्यापेर जिपलाइन तर्न आइपुगेकी थिइन्। ‘म मेरो गाउँ फर्केर श्रीमान् र अरू दुई छोराछोरीलाई भेट्न चाहन्छु,’ उनले भनिन्।
४० वर्षीय भीष्म भट्टका लागि भने पालो पर्खिने समय पनि थिएन। उनकी आमा तुलकुमारीलाई रातिदेखि श्वासप्रश्वासको समस्या देखिएको थियो र घरमा अक्सिजन पनि सकिएको थियो। ‘हामीले जसोतसो उहाँलाई जिपलाइनमा राखेर वारि ल्यायौं र अस्पताल पुर्यायौं,’ उनले राहतको सास फेर्दै भने।
नेपाली सेनाका अनुसार बाढी प्रभावित त्रिशूली नदी क्षेत्रमा निर्माण गरिने योजना रहेका पाँचवटा अस्थायी केवल (जिपलाइन) मध्ये यो पहिलो हो। सडक सञ्जाल नजोडिँदासम्म यही जिपलाइनमार्फत अत्यावश्यक सामग्री ढुवानी र मानिसको उद्धार गरिने सेनाले जनाएको छ।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...