चितवनमा पर्यटक आगमन बढ्यो
२० घण्टा अघि
•
५ मिनेट पाठ
चितवनमा पर्यटक आगमन बढ्यो
फाइल फाेटाे
सौराहाका पर्यटन व्यवसायी महेश खनाललाई भदौ १० गतेको भोटेकोसी बाढीपछि पर्यटक घट्ने चिन्ता थियो। बाढीको खबरपछि पर्यटकले धमाधम होटल बुकिङ रद्द गर्न थाले। त्यतिखेर होटेल बुकिङ पनि ७५ प्रतिशतसम्म रद्द भए। यसले उनलाई झन् चिन्ता थपेको थियो तर दसैंपछि भने सौराहाको पर्यटनले अपेक्षाभन्दा फरक लय समातेको खनाल बताउँछन्।  




‘भोटेकोसी बाढीपछि व्यवसाय धरापमा पर्ने निकै चिन्ता थियो। त्यतिखेर बाटोको कारण पनि होला केही दिन बुकिङसमेत रद्द भए’ क्षेत्रीय होटल संघ सौराहाका महासचिवसमेत रहेका खनालले भने, ‘अहिले अहिले पर्यटकको उत्साहजनक आगमनले आशावादी बनाएको छ।’

उनका अनुसार नेपालीसँगै चिनियाँ र युरोपेली पर्यटकको आगमन बढेपछि अहिले सौराहाका होटलमा पर्यटकको चहलपहल देखिएको छ।  

चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकले पनि निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको देखाउँछ। चालु आव २०८३/८४ को साउनदेखि कात्तिक मसान्तसम्म ८४ हजार ५४ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।

निकुञ्ज कार्यालयको तथ्यांकअनुसार भ्रमण गर्नेमा सबैभन्दा धेरै नेपाली पर्यटक छन्। चार महिनाको अवधिमा ४५ हजार ३६८ नेपाली, तीन हजार ७८७ सार्क मुलुकका र ३४ हजार ८९९ अन्य विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन्।

‘यस वर्ष दसैं, तिहारलगायत पर्वमा लामो बिदा भयो। बिदामा निकुञ्ज घुम्न धेरै आए,’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भने, ‘विशेषगरी कात्तिक महिनामा पर्यटकको चहलपहल उल्लेख्य देखिएको छ।’

यस वर्ष कात्तिकमा मात्रै ४९ हजार ५२८ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। तीमध्ये ३२ हजार ५५४ नेपाली, १५ हजार १०४ विदेशी र एक हजार ८७० सार्क मुलुकका पर्यटक छन्।

पछिल्ला वर्षहरूमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन क्रमशः बढ्दै गएको तथ्यांकले देखाउँछ। निकुञ्जको ३० वर्षको तथ्यांक हेर्दा आव २०८०/८१ मा सबैभन्दा धेरै तीन लाख ६ हजार ८३७ पर्यटकले भ्रमण गरेका थिए। त्यसपछि आव २०७९/८० मा दुई लाख ९९ हजार ४१२ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए।

निकुञ्जको तथ्यांक अनुसार अघिल्लो आव २०८२/८३ मा दुई लाख ७२ हजार ९२३ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। तीमध्ये एक लाख ६१ हजार ३७५ नेपाली पर्यटक थिए। यसअघि आव २०८१/८२ मा दुई लाख ३१ हजार ३२९ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए।

कोभिड महामारीपछि आर्थिक मन्दीका कारण भने कुनै समय पर्यटक आगमनमा ठुलो गिरावट आएको थियो। आव २०७८/७९ मा एक लाख ८९ हजार ५०३ पर्यटक निकुञ्ज पुगेका थिए भने आव २०७७/७८ मा यो संख्या घटेर ९८ हजार ९२८ मा सीमित भएको थियो। त्यस्तै आव २०७५/७६ मा एक लाख ८७ हजार १०९ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए।

निकुञ्जले आव २०५३/५४ देखि पर्यटक आगमनको तथ्यांक राख्न थालेको देखिन्छ। तथ्यांकअनुसार माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला पर्यटक आगमन निकै कम भएको थियो। आव २०५८/५९ देखि २०६३/६४ सम्म वार्षिक करिब ५० हजारको हाराहारीमा मात्रै पर्यटक निकुञ्ज आएको देखिन्छ। ३० वर्षको अवधिमा सबैभन्दा कम आव २०६१/६२ मा ४२ हजार ६५४ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। त्यसपछि भूकम्प गएको आव २०७२/७३ मा ८७ हजार ९११ पर्यटक मात्रै निकुञ्ज पुगेका थिए। यो अवधिमा नौ वटा आवमा एक लाखभन्दा कम पर्यटक आएको देखिन्छ। पछिल्लो चार वर्षको प्रत्येक वर्षको आवमा दुई लाखभन्दा बढी पर्यटकले निकुञ्ज भ्रमण गरेको तथ्यांक छ।

विश्वमै दुर्लभ एकसिङे गैंडा, पाटेबाघ, भालु, हात्तीलगायत वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुंगी अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक चितवन राष्ट्रिय निकुञ्ज आउने गर्छन्। यहाँ वन्यजन्तु अवलोकन, जंगल सफारी र प्राकृतिक सौन्दर्यका कारण चितवन राष्ट्रिय निकुञ्ज नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित रहेको छ। निकुञ्जले चार महिनामा १० करोड ७१ लाख रुपैयाँ राजस्वसमेत संकलन गरेको छ।

वन्यजन्तुका लागि पोखरी निर्माण हुँदै

चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु तथा चराचुरुङ्गीका लागि पानीको उपलब्धता सहज बनाउँदै जैविक विविधता संरक्षण गर्ने उद्देश्यले सिमसार क्षेत्र व्यवस्थापन तथा विस्तार कार्य अघि बढाएको छ। निकुञ्जले सुक्खा भएको स्थानमा चालु आर्थिक वर्षमा चारवटा नयाँ पोखरी निर्माण र १२ वटा सिमसार ताल मर्मत गर्न लागेको हो।

निकुञ्जका अनुसार एउटा पोखरी निर्माणका लागि ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। पानीको अभाव भएका क्षेत्रमा नयाँ सिमताल निर्माण गर्ने तथा पुराना सिमसार क्षेत्रको पुनःस्थापना र विस्तार कार्य भइरहेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए। ‘बाघमचानदेखि देउरालीबिचको खण्डमा नयाँ सिमसार ताल निर्माण कार्य भइरहेको छ। यो करिब पाँच सय वर्ग मिटरमा फैलिएको छ’, उनले भने, ‘अझै यस्ता तीन ठाउँमा पोखरी निर्माण हुँदैछन्।’

भूमिगत पानी प्रयोग गरी पानीको व्यवस्था सहज रूपमा गर्न सकिने गरी निर्माण कार्य अघि बढाइएको तिवारीले जानकारी दिए। प्राकृतिक रूपमा पुरिँदै गएका पुराना सिमसार क्षेत्रलाई पुनःस्थापना गरी वन्यजन्तुका लागि पानीको स्रोत सुनिश्चित गर्ने लक्ष्य राखिएको उनले बताए।

निकुञ्जभित्र हाल ५८ वटाभन्दा बढी ताल रहेका छन्। निकुञ्जले चालु वर्ष १२ वटा सिमसार क्षेत्रको मर्मतसम्भार गर्ने लक्ष्य राखेको छ। तीमध्ये ६ वटा सिमसार क्षेत्रको मर्मतसम्भार भइसकेको सूचना अधिकारी तिवारीले बताए। नन्दभाउजु ताललगायत केही पुराना ताल सुक्दै गएकाले तिनको पुनःस्थापना र संरक्षणमा समेत निकुञ्जले ध्यान दिएको छ।

नारायणी, राप्ती र रिउ गरी तीनवटा नदीसमेत निकुञ्जभित्र बग्ने भएकाले यहाँका वन्यजन्तु तथा चराचुरुङ्गीका लागि पानीको उपलब्धतामा सहयोग पुगेको छ। सिमसार क्षेत्रले वन्यजन्तुको वासस्थान संरक्षण र जैविक विविधता कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिज पुर्जा पुन मगरले जानकारी दिए। ‘चितवन निकुञ्ज वन्यजन्तु वासस्थानका लागि उपयुक्त स्थान छ। चुरेदेखि तराईसम्म फैलिएको ठाउँ भएकाले पनि लोपउन्मुख वन्यजन्तु तथा जीवजन्तु यहाँ छन्’, उनले भने, ‘उनीहरूको संरक्षरणका लागि पानी व्यवस्थापनदेखि घाँसे मैदानको काम गरेका छौं।’

चितवन राष्ट्रिय निकुञ्जमा स्तनधारी प्रजाति ७०, पंक्षी ५४६, सरीसृप ४७, उभयचर ५५ र माछा १२० प्रजातिका रहेका छन्। त्यसमध्ये विश्वमै दुर्लभ एकसिंगे गैंडा ६९४, बाघ १४५, हात्ती ४० देखि ४५, गौरीगाई ३८८, सोस ३ वटा रहेका छन्। निकुञ्जले घडियाल गोहीको समेत संरक्षण गरेको छ। हालसम्म २ हजार ३१५ वटा घडियाल गोहीलाई प्राकृतिक वातावरणमा छाडिएको उनले बताए।
अर्को समाचार
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
३७ मिनेट अघि
•
१ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
म्याग्दी। कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्। परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेका सुर्केमेलाका खेतबारीको अवस्थासँगै किसानको जीवनशैली पनि फेरिएको हो।




सुर्केमेलाकी ६५ वर्षीया बालकुमारी रोकाले १४ वर्षअघि सात मुरी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपेकी थिइन्। जनशक्ति अभाव भएपछि उनले विसं २०६९ मा खाद्यबालीको विकल्पमा सुन्तलाखेती सुरु गरेकी हुन् हो।

अहिले उनको बगैँचामा रहेका दुई सय ५० बोटले वार्षिक रु सात लाख आम्दानी दिन थालेका छन्। खाद्यबालीको तुलनामा सुन्तलाखेतीबाट कम मेहनतमा राम्रो आम्दानी हुने उनको अनुभव छ।

'सात मुरी धान फल्ने खेतमा लगाएको सुन्तलाले अहिले वर्षमा रु। सात लाख आम्दानी दिन थालेको छ,' उनले भनिन्, 'छोराछोरी विदेश गए पनि मलाई सुन्तलाखेतीमै रमाइलो लागेको छ।'

सुर्केमेलाकै द्रोपती थापाले पनि सुन्तलाखेतीबाट आम्दानी बढाउँदै गएका छन्। गत वर्ष रु. एक लाख ५० हजारको सुन्तला बिक्री गरेकी उनले यस वर्ष रु. तीन लाख बराबरको बिक्री हुने अनुमान गरेकी छन्।

'यसपालि फल दिने बोट थपिएका छन्। उत्पादन पनि राम्रो भएकाले आम्दानी बढ्ने अनुमान छ,' उनले भनिन्, 'घरव्यवहार चलाउन सुन्तलाखेतीले धेरै सजिलो बनाएको छ।'

सुर्केमेलामा व्यावसायिक सुन्तलाखेती विस्तार गर्ने पहिलो किसान हुन्, ४६ वर्षीय डिलबहादुर केसी। उनले १५ वर्षअघि अंशमा पाएको धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपका थिए। त्यसबेला आफन्त र छिमेकीले उनको निर्णयको विरोध गरेका थिए।

'धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भयौ भनेर गाली गरेका थिए,' उनले विगत सम्झँदै भने, 'अहिले सुन्तला बेचेर आम्दानी गरेको देख्दा त्यतिबेला गाली गर्नेहरू नै दङ्ग परेका छन्।'

२० रोपनी खेतबारीमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यस वर्ष रु. १५ लाख भन्दा बढीको सुन्तला बिक्री गरेका छन्। पाँच वर्ष संयुक्त अरब इमिरेट्स (युएई) र मलेसियामा काम गरेर फर्किएका उनले सुन्तलाखेतीसँगै केसी मौरीपालन स्रोत केन्द्र पनि सञ्चालन गरेका छन्।

केसीका अनुसार सुर्केमेलामा १६ जना किसानले व्यावसायिक सुन्तलाखेती गरेका छन्। चार सय बोट सुन्तला लगाएका धनराज पुनले पनि परम्परागत अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै गुणा बढी आम्दानी हुने बताए।

वर्षमा आठदेखि १० मुरी धान फल्ने खेतमा सुन्तलाखेती गर्दा वार्षिक रु। १० लाख भन्दा बढी आम्दानी हुने उनको भनाइ छ। कतिपय किसानले पोखरा, बेनी र बागलुङमा घरघडेरी जोडेका छन्। छोराछोरीलाई राम्रा विद्यालय, कलेजमा पढाएका छन्।

सिँचाइ सुविधा, उपयुक्त भूगोल र हावापानीका कारण सुर्केमेला सुन्तलाखेतीका लागि अनुकूल क्षेत्र मानिन्छ। यहाँ उत्पादन भएको रसिलो र स्वादिलो सुन्तला काठमाडौँ, पोखरा र बेनीका व्यापारीले बगैँचाबाटै खरिद गरेर लैजाने गरेका छन्। सुर्केमेलामा म्याग्दीमा सबैभन्दा

पहिले सुन्तला टिप्ने गरिन्छ। छिटो पाक्ने, रंग र स्वाद आउने भएकाले सुर्केमेलाका बगैचा मंसिरको दोस्रो साताभित्रै रित्तिने गरेका छन्।

सडक यातायातको सुविधासँगै बजारको समस्या नभएपछि किसान थप क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्न उत्साहित भएका छन्। सुन्तलाखेती विस्तारमा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाले पनि सहयोग गरेका छन्।

बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान)का अनुसार किसानलाई अनुदानमा बिरुवा वितरण, प्राविधिक तालिम र कृषि औजार उपलब्ध गराइएको छ। बालमखोला सिँचाइ योजना निर्माण भएपछि सहज भएको छ।

'सुर्केमेलासहित बास्कुना र थामडाँडामा पनि व्यावसायिक सुन्तलाखेती विस्तार भएको छ,' उनले भने, 'उत्पादन भएको सुन्तला बजारमा पुर्‍याउन र स्थानीयको आवतजावत सहज बनाउन सडक स्तरोन्नति गर्न लागिएको हो।'

दुःखेखोलादेखि सुर्केमेला, बास्कुना र थामडाँडा हुँदै मरेक जोड्ने सडक स्तरोन्नति योजना यसै वर्षदेखि सुरु हुँदैछ। गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको लागत साझेदारीमा तीन वर्षसम्म सञ्चालन हुने योजनाका लागि चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख विनियोजन भएको छ।

तीन वर्षमा रु. पाँच करोड खर्च हुने गरी स्रोत सुनिश्चित भएको उक्त योजना कार्यान्वयनका लागि ठेक्का सम्झौताको प्रक्रिया अघि बढेको वडाध्यक्ष खड्काले बताए। उनले सुर्केमेला र सिंगा जोड्ने सडक पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर संघीय सरकारमा प्रस्ताव पेस गरेको बताए।

परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुँदा विकल्प खोजेका सुर्केमेलाका किसानका लागि सुन्तलाखेती अहिले आयआर्जनको भरपर्दो माध्यम बनेको छ। बाझिने अवस्थामा पुगेका खेतबारीमा सुन्तलाका बोट हुर्किएका छन्।

किसानको मेहनत र स्थानीय सरकारको सहयोगले सुर्केमेलाको कृषि पहिचानसमेत बदलिँदै गएको हो। युवाहरूको वैदेशिक रोजगारीप्रति आकर्षण बढ्दा सिर्जना भएको कृषि मजदुरहरुको अभाव सुन्तला खेती गरेका सुर्केमेलाका किसानका लागि चुनौती बनेको छ। रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस