स्तनपान मातृत्वको चम्किलो सान
१७ साउन २०८२
•
१० मिनेट पाठ
स्तनपान मातृत्वको चम्किलो सान
शिशुका लागि आमाको काख स्वर्ग हो र स्तनपान त्यो स्वर्गको पहिलो उपहार। आमाको एक थोपा दुध सयौं औषधिभन्दा शक्तिशाली हुन्छ। स्तनपानले शरीर मात्र नभएर आत्मालाई पनि बलियो बनाउँछ। संसारको सबैभन्दा सुरक्षित खाद्य पदार्थ आमाको दुध नै हो। जुन देशमा आमाको दुधलाई सम्मान दिइन्छ, त्यो देशको भविष्य उज्यालो हुन्छ।




आमाको दुधको महिमा वर्णन गरेर यस्ता दर्जनौं भनाइ सार्वजनिक भएका छन्। आमाको दुध पिएका बच्चा शारीरिक रूपले मात्र नभई मानसिक रूपले समेत स्वस्थ र बलियो हुने भाव यो भनाइमा झल्कन्छ। आधुनिक जीवनशैली, समयको अभाव, दुधको कमी र वैकल्पिक विकल्पको प्रचारप्रसारले स्तनपानको चलनलाई बिस्तारै विस्थापित गर्दै संकट ल्याउने देखिन्छ।

यस्तै डरलाग्दो संकेतले होला, विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अंग्र्रेजी महिनाको अगस्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाउने घोषणा गरेको छ। शुक्रबारबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ। नेपालमा पनि स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यसले मातृत्व र शिशु स्वास्थ्यका क्षेत्रमा गम्भीर असर पार्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।

विश्व स्वास्थ्य संगठन र युनिसेफका अनुसार बच्चा जन्मेको पहिलो घण्टाभित्रै स्तनपान सुरु गर्नु र कम्तीमा ६ महिनासम्म केवल आमाको दुध खुवाउनु अत्यावश्यक हुन्छ। स्तनपानले शिशुलाई आवश्यक सम्पूर्ण पोषण प्रदान गर्नुका साथै संक्रामक रोगहरूको जोखिम कम गर्छ।

नेपालको सहरी क्षेत्रमा स्तनपान सार्वजनिक रूपमा गरिनु अप्ठ्यारो मानिन्छ। अफिस, सपिङ मल वा सार्वजनिक स्थानहरूमा स्तनपानको उचित व्यवस्था नहुँदा महिलाले बोतलको दुध रोज्न थालेका छन्। सौन्दर्य तथा अन्य कारण देखाउँदै पछिल्लो समय स्तनपान गराउनेको संख्यामा कमी हुन थालेको छ। नेपाल सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अन्तर्गत सबै सरकारी, स्थानीय तह, निजी र सार्वजनिक संस्थाहरूमा स्तनपान स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले मातृत्वमैत्री वातावरण निर्माण गर्ने स्पष्ट संकेत गरेको छ। केन्द्रको सिंहदरबारदेखि गाउँघरका सिंहदरबारसम्म स्तनपान कक्ष निर्माण भएका छन्। तर यो पर्याप्त भने होइन।

आमाको दुध खाने बच्चा शारीरिक रूपले मात्र नभई मानसिक रूपले समेत स्वस्थ र बलियो हुने नवजात शिशु विशेषज्ञ डा. सुनिलराजा मानन्धर बताउँछन्। उनी स्तनपानले महिलाको सुन्दरता बिग्रने भन्ने कुरा भ्रम भएको बताउँछन्। ‘स्तनपानले बच्चालाई त राम्रो गर्छ नै आमालाई पनि धेरै फाइदा पुग्छ,’ उनी भन्छन्, ‘बच्चालाई स्तनपान गराउँदा महिलामा स्तन क्यान्सरको जोखिम कम हन्छ। शरीरमा भएको बोसो र चिल्लो पदार्थ हटाई शारीरिक सुन्दरतासमेत बढाउँछ।’

यस्तै भनाइ राख्छिन् जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती पनि। ‘आमाको दुध बच्चाका लागि अमृतसमान हो। आमाको पहिलो दुध अर्थात् बिगौती त झनै महत्त्वपूर्ण छ। यसले बच्चालाई विभिन्न रोगसँग लड्न मद्दत गर्छ र आर्थिक रूपले पनि सहज हुन्छ,’ उनी भन्छिन्, ‘स्तनपानले आमा र बच्चाको आत्मीयता पनि बढाउँछ।’

स्तनपानले आमालाई कुनै हानि गर्दैन उल्टै यसले आमाको सुन्दरता बढाउने उनले बताइन्। साथै स्तनपानले आमालाई पाठेघरको समस्याबाट पनि जोगाउँछ।‘बच्चालाई स्तनपान गराउँदा आमाको शरीर बिग्रिन्छ भन्नु मुर्खता हो,’ उनले भनिन्, ‘यस्ता खालका कुतर्क र भ्रमबाट सबै सजग रहनुपर्छ। स्तनपानले आमालाई शारीरिक तथा मानसिक रूपमा ताकत दिन्छ।’

प्रकृतिले बच्चालाई शारीरिक र मानसिक रूपले विकास हुन नै महिलाको शारीरिक बनावटमा स्तनको स्वरूप दिएको हो। यसकारण आमाले बच्चा जति स्तनपान गराउँछिन् उति नै बलियो र राम्री हुन्छिन्। एक समयमा स्तनपानलाई मातृत्वको अनिवार्य र अभिन्न अंगका रूपमा लिइन्थ्यो। गाउँघरमा बच्चा जन्मेको केही घण्टाभित्रै आमाले दुध खुवाउने परम्परा थियो। यो मात्र सांस्कृतिक अभ्यास होइन, स्वास्थ्य दृष्टिले पनि उपयुक्त मानिन्थ्यो। तर अहिले विशेष गरी शिक्षित वर्गमा, बोतलको दुध, फार्मुला मिल्क र अन्य कृत्रिम विकल्पहरूको प्रयोग बढ्दो छ। धेरै महिला पेसागत व्यस्तताका कारण समयमै स्तनपान गराउन सक्दिनन्। कतिपय अवस्थामा त बच्चा जन्मिएपछि आमालाई चाँडै काममा फर्कनुपर्ने बाध्यता आउँछ, जसले स्तनपान रोकिएको वा छोटिएको देखिन्छ।

तर यस्तो हुनु नराम्रो पक्ष भएको चिकित्सिको बुझाइ छ। ‘सुत्केरी हुनेबित्तिकै आउने आमाको पहेंलो बिगौती दुध निकै पोसिलो र स्वस्थकर हुन्छ।, ‘तर यो बिगौती दुधलाई फोहोर दुध भनेर धेरैले फाल्ने पनि गरेका छन्,’ स्त्रीरोग विशेषज्ञ डा. संगीता मिश्र भन्छिन्, ‘६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्त्व आमाको दुधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान सुरु गरिसक्नुपर्ने र छोटो–छोटो अवधिमा आमाको दुध खुवाउनु बच्चाका लागि अति उत्तम हुन्छ।’

आमाको दुधमा पाइने एन्टिबडी र प्रतिरक्षा तत्त्वहरूले शिशुलाई झाडापखाला, निमोनिया, दाद र श्वासप्रश्वासजन्य रोगहरूबाट बचाउने उनले सुनाइन्। त्यस्तै स्तनपानले बच्चाको बौद्धिक विकासमा समेत प्रभाव पार्नुका साथै आमाको स्वास्थ्यमा पनि यसको सकारात्मक असर पर्ने र स्तन क्यान्सर, डिप्रेसन, मोटोपनजस्ता समस्यामा कमी आउने मिश्रको बुझाइ छ।

बच्चालाई कम्तीमा पनि दुई वर्षसम्म स्तनपान गराउनुपर्दछ। ६ महिना पुगिसकेपछि बच्चालाई आमाको दुधसँगै घरेलु आहार पनि खुवाउनुपर्ने हुन्छ। तनावमा, दुःखी मनले, दिक्क मान्दै, रिसाउँदै, गाली गर्दै स्तनपान गराउन नहुने डा. मिश्रले बताइन्। दुध कम आउने र स्तनपान गराउँदा बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरे बालबालिकामा सकारात्मक संवेगको विकास हुने उनले सुनाइन्।

तर नेपालमा ६ महिनासम्म बालबालिकालाई पूर्ण स्तनपान गराउने आमाहरूको संख्या घट्दो क्रममा रहेकाले चिन्ता बढाएको छ। विशेष गरी शिक्षित आमाहरूमा नै पूर्ण स्तनपान नगराउने दर बढी रहेको देखिन्छ।

६ महिना बिदा जरुरी

आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गर्दा आमाले कम्तीमा पनि ६ महिना अनिवार्य रूपमा बच्चालाई स्तनपान गराउनुपर्छ। तर नेपालमा कामकाजी आमाका लागि सुत्केरी बिदा ९८ दिन मात्र दिने गरिएको छ। यसले गर्दा कामकाजी आमाबाट जन्मिएका बच्चाहरू अस्वस्थ पो हुने हुन् कि भन्नेमा डा. उप्रेती चिन्तित देखिन्छिन्। उनी भन्छिन्, ‘निजी तथा सरकारी कार्यालयमा काम गर्ने आमाहरूलाई तीन महिनाको सुत्केरी बिदाले अलि पुग्दैन होला। अब बिदाको प्रावधानलाई पनि करेक्सन गर्ने बेला भयो कि !’

यस्तै कामकाजी आमा हुन् उमा शर्मा। उनी पनि आफू सुत्केरी भएपछि बच्चालाई भरपुर स्तनपान गराएको बताउँछिन्। बिदा तीन महिना मात्र भएकाले त्यसपछिका दिनहरूमा उनले कार्यालयमै लगेर भए पनि बच्चालाई स्तनपान गराएको अनुभव सुनाइन्। ‘मेरो बच्चा भएपछि मैले तीन महिना बिदा बसेरै स्तनपान गराएँ। तर त्यसपछि मैले मेरो बच्चालाई कार्यालयमै लगेर दुध खुवाउन थालें।’

उमाजस्तै सुनिता खत्री पनि एउटी कामकाजी आमा हुन्। उनी विगत सम्झँदै भन्छिन्, ‘मेरो बच्चा गर्भमा हुँदा मेरो श्रीमान् विदेश जानुभयो। बच्चा भएपछि अफिस जान सक्ने अवस्था रहेन। यस कारण मैले बच्चाका लागि काम छाडेर बसेकी छु।’

महिलाहरूलाई कम्तीमा पनि ६ महिनाको तलबी बिदा हुनुपर्ने उनको भनाइ छ। नेपाल सरकारको बिदाको प्रावधानअनुसार महिलाले सुत्केरी बिदा शीर्षकमा ९८ दिन पाउँछन्। यदि सोभन्दा बढी बिदा बस्नुपरेको खण्डमा बेतलबी बस्नुपर्ने स्वास्थ्य विभागका उपसचिव मोहनप्राद कोइरालाले जानकारी दिए। उनले भने, ‘हाल सुत्केरी बिदा ९८ दिनको छ। यदि बिदा बढाउन चाहे महिलाहरू बेतलबी बिदा बस्नुपर्ने हुन्छ।’

यसरी बेतलबी बिदा बस्दा पनि कार्यालयको कामकाजमा बाधा पुग्ने तथा समस्या उत्पन्न हुने उनले बताए। उनका अनुसार यदि महिलाले सरकारले दिएको दिनभन्दा बढी बिदा बसे कार्यालयमा आउने सेवाग्राहीलाई दिने सेवासुविधामा समस्या हुने गर्छ। साथै बजेटमा पनि समस्या उत्पन्न हुने उपसचिव कोइरालाले सुनाए।

बच्चासँगै आमालाई पनि पौष्टिक आहार

शिशुको पोषण र स्वास्थ्यका लागि आमा स्वयंको आहार र स्वास्थ्य अत्यन्त महत्त्वपूर्ण हुन्छ। प्रायः नवजात शिशुहरू आमाको दुधमा निर्भर हुने भएकाले आमाको पोषण प्रत्यक्ष रूपमा बच्चाको पोषणसँग जोडिन्छ। विशेष गरी स्तनपान गराउने आमाले पर्याप्त सन्तुलित र पोषिलो आहार लिनु अनिवार्य हुन्छ। त्यसैले एउटी महिला गर्भवती भएदेखि नै उनलाई पौष्टिक आहारको खाँचो हुन्छ। उनले जे खान्छिन्, त्यही नै गर्भमा भएको शिशुले पाउँछ। भर्खरै जन्मिएको शिशुले जति पौष्टिक आहारको जरुरी हुन्छ, त्यसरी नै सुत्केरी आमालाई पनि आवश्यकता हुन्छ। आमा हृस्टपुष्ट र स्वस्थ भए मात्र बच्चाबच्ची स्वस्थ हुने डा. उप्रेतीको भनाइ छ। यसकारण पनि आमालाई पौष्टिक आहार दिनु अत्यन्तै जरुरी रहेको उनले बताइन्।

पछिल्लो समय आमाले बच्चालाई खुवाउन दुध पुगेन भन्ने सुनिन्छ। यो समस्या पनि आमालाई पौष्टिक आहार नदिएरै आएको उनको भनाइ छ। ‘यसका लागि सर्वप्रथम आमालाई नै पोसिलो आहार खुवाउनुपर्छ। हाम्रा बाजेबज्यैले सुत्केरी आमालाई खुवाउँदै आएको ज्वानोको झोल, सुत्केरी मसलालगायत पौष्टिक आहार नै उपयुक्त छ।’

स्तनपान गर्दा आमाको शरीरले धेरै ऊर्जा खर्च गर्छ। दैनिक लगभग पाँच सय किलो क्यालोरी बढी चाहिन्छ। यस्तो अवस्थामा ऊर्जा दिने चिज, जस्तै गेडागुडी, सागसब्जी, फलफूल, दुधजन्य पदार्थहरू आवश्यक हुन्छन्। सुत्केरीपछिको अवस्थामा आमाको शरीर निकै कमजोर हुन्छ। रगतको मात्रा घटेको, मांसपेसी थकित भएको वा भिटामिनको कमी हुन सक्छ। यस्तोमा शरीर पुनः सबल बनाउन आइरन, प्रोटिन, भिटामिन बी, फोलिक एसिडलगायत तत्त्वहरूको मात्रा पर्याप्त हुनुपर्छ।

आमाले खाने आहारको गुणस्तरले दुधको गुणस्तरमा असर गर्छ। यदि आमा कुपोषित छिन् भने शिशुमा समेत सूक्ष्म पोषणतत्त्वहरूको अभाव हुन सक्छ। यसकारण आमालाई चाहिने जति सबै पौष्टिक आहारहरू दिनुपर्ने जनस्वास्थ्य विज्ञ डा. उप्रेतिले जानकारी दिइन्। उनका अनुसार दाल, मासु, अण्डा, दुध, घ्यू, पनिर तथा सागसब्जी भिटामिन र खनिजको स्रोत मानिएको प्रोटिनयुक्त खाना खुवाउनु उपयुक्त हुन्छ।

स्तनपान: मातृत्वको सम्मान

नेपाली समाजमा आमाहरू लजालु स्वभावका हुने भएकाले सार्वजनिक स्थानमा स्तनपान गराउन उनीहरू हिच्किचाउने गरेका छन्। तर अहिले संसारभर स्तनपान लुकेर होइन, खुलेरै गराउने गरेको पनि देखिन थालेको छ। स्तनपान केवल आमाको कर्तव्य होइन, शिशुको अधिकार पनि हो। पछिल्ला वर्षहरूमा विश्वका विभिन्न देशमा स्तनपानको महत्त्वप्रति बढ्दो जागरुकता देखिएको छ। कतिपय देशका संसद् भवनदेखि सपिङ मल, पार्क, हवाई अड्डा र कार्यालयसम्म महिलाहरू ढुक्क भएर आफ्नो बच्चालाई दुध खुवाइरहेका उदाहरणहरू सार्वजनिक भएका छन्।

अस्ट्रेलियाली सांसद लारिसा वाटर्सले पहिलो पटक संसद्भित्र आफ्नी नवजात छोरीलाई स्तनपान गराउँदा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा निकै चर्चा भएको थियो। त्यस्तै अमेरिकन कांग्रेसकी सदस्यले पनि संसद्को बैठकका क्रममा बच्चालाई दुध खुवाएर मातृत्व र पेसागत जिम्मेवारी एकसाथ सम्हाल्न सकिने सन्देश दिएकी थिइन्। ‘हाम्रो समाजमा महिलालाई स्तनपान गराउँदा लाज मान्ने वातावरण छ,’ डा. नम्रता पाण्डे भन्छिन्, ‘तर यो त प्रकृतिको सबैभन्दा पवित्र काम हो। राज्य र समाजले यस्तो सोच बदल्नु आवश्यक छ।’

स्तनपान आहार मात्र नभएर आमा र शिशुका बिचको आत्मीय सम्बन्धको सुन्दर अभिव्यक्ति पनि भएको बताउँदै समाजले यस्ता प्राकृतिक प्रक्रियालाई खुलेर स्विकार्न जरुरी रहेको उनले सुनाइन्।

स्तनपान सप्ताह मनाउँदै गर्दा यो सफल बनाउन जनस्वास्थ्य विज्ञहरू, सामाजिक कार्यकर्ता र सरकारबिच सहकार्य आवश्यक देखिन्छ। यो अभियानमा आमाबाबु दुवैको भूमिका महत्त्वपूर्ण हुन्छ। पुरुषहरूले पनि स्तनपानलाई समर्थन गर्ने, घरको काममा साथ दिने र आमालाई मनोवैज्ञानिक सहयोग पुर्‍याउने भूमिका खेल्नुपर्छ। स्तनपान केवल आमाको जिम्मेवारी होइन। यो परिवार र समाजको साझा उत्तरदायित्व हो। हामीले स्तनपान अनुकूल वातावरण सिर्जना गर्नुपर्छ।

नेपालमा स्तनपान सप्ताह केवल एक साता मनाएर पूरा हुँदैन। यो निरन्तर प्रयासको विषय हो। स्तनपान घट्दै गएको चलनले मातृत्व, बालस्वास्थ्य र समग्र समाजमा दीर्घकालीन असर पार्न सक्छ। त्यसैले अहिलेको आवश्यकता भनेको चेतना, समर्थन र प्रणालीगत सुधारमा पनि हो। आमाकोे दुध शिशुको पहिलो खोप हो भन्ने सन्देश समाजको हरेक तहमा पुग्न जरुरी छ।

स्तपानले आमालाई हुने फाइदा

स्तनपान गराउँदा आमाको शरीरको तौल घट्छ र शारीरिक रूपमा सुन्दर हुन्छ। यसले आमाको पाठेघरको खुलेको मुखलाई खुम्च्याउँछ र सुत्केरी पश्चात् हुने रक्तश्रावलाई पनि कम गर्न मदत पुग्छ। स्तनपान गराउँदा आमा र बच्चाबिच आत्मीयता बढछ। यी बाहेक, स्तनपान आर्थिक दृष्टिले पनि लाभदायक हुन्छ। कृत्रिम दुध किन्नुपर्ने हुँदैन, अहिलेको बजारमा फार्मुला मिल्क महँगो छ, जसले आर्थिक भार थप्छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
२ सेकेन्ड अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २ सेकेन्ड अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस