उपचारका क्रममा अलग-अलग समयमा दुई जना बिरामीको मृत्यु भएपछि वीरगन्जस्थित नारायणी अस्पतालमा शनिबार दिनभर तोडफोड र प्रदर्शन भएको छ।
चिकित्सकहरूको लापरबाहीले बिरामीको ज्यान गएको आरोप लगाउँदै मृतकका आफन्तहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको थियो।
अस्पतालमा उत्पन्न तनावपूर्ण स्थितिलाई साम्य पार्न र दोषीमाथि कारबाही गर्न पाँच बुँदे सहमति भएको छ।
वीरगन्ज महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीका अनुसार उपचारको समयमा ड्युटीमा रहेका २ जना डाक्टर र ३ जना कर्मचारी गरी ५ जनालाई जिम्मेवारीबाट हटाउने सहमति भएको छ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह, वडा अध्यक्ष चतुर्वेदी, सुरक्षा निकायका प्रतिनिधि र मृतकका आफन्तहरूबीच घटनाको छानबिन गर्ने र दोषीलाई कारबाही गर्नेलगायतका सहमति भएको हो।
प्रहरीका अनुसार छाती दुख्ने समस्या देखिएपछि वीरगन्ज महानगरपालिका–२५ का राजकुमार पटेल शनिबार बिहान नारायणी अस्पताल भर्ना भएका थिए।
सामान्य अवस्थामा भर्ना भएका पटेललाई बिहान ११:३० बजेतिर डाक्टरहरूले मृत घोषणा गरेपछि आफन्तहरू आक्रोशित बनेका थिए।
डाक्टरहरूले उपचारमा लापरबाही गरेको भन्दै आफन्तहरूले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सकहरूमाथि हातपातको प्रयास गरेका थिए। स्थिति नियन्त्रणमा लिन वडा प्रहरी कार्यालय बिर्ताले सामान्य बल प्रयोग गरेको थियो।
यस्तै, पर्साको जगरनाथपुर गाउँपालिका–६ सिसही बहुवरी निवासी राजेश यादवको पनि उपचारका क्रममा शनिबार दिउँसो २ बजेतिर मृत्यु भएको छ।
यादवलाई मेडिकल वार्डबाट आईसीयू वार्डमा सार्ने क्रममा अक्सिजन नलगाएर डाक्टरहरूले लापरबाही गरेको भन्दै आफन्तहरू प्रदर्शनमा उत्रिएका थिए। स्थिति थप उग्र बनेपछि पर्सा प्रहरीले लाठीचार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो।
अन्ततः स्थानीय प्रशासन, अस्पताल प्रशासन, जनप्रतिनिधि र पीडित पक्षबीच पाँच बुँदे सहमति भएपछि अस्पतालको अवस्था सामान्य बनेको छ।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...