डुबानरहीत माइतीघर बनाउन दीर्घकालीन समाधान खोजिँदै
१८ साउन २०८३
•
८ मिनेट पाठ
डुबानरहीत माइतीघर बनाउन दीर्घकालीन समाधान खोजिँदै
राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ। सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय तथा कूटनीतिक नियोग जाने मुख्य सडक नै जलमग्न भएपछि सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्म प्रभावित हुँदै आएका छन्।




त्यस क्षेत्रमा समान्य वर्षामा पनि सडक जलमग्न हुँदा पैदल यात्री र सवारीसाधन आवतजावत तथा ट्राफिक जामको समस्या, सडक दुर्घटनाको जोखिम हुने गरेको छ। दीर्घकालीन रुपमा समस्या समाधानका लागि ठोस पहल र नीति नबनाइँदा बर्सेनि डुबानको समस्या बल्झिरहेको छ।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशेपानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गरिने बताएकी छन्।

उनले अहिले अधिकांश स्थानमा ढल र वर्षाको पानी एउटै प्रणालीबाट बगाइने भएकाले सामान्यभन्दा बढी वर्षा हुनासाथ निकास प्रणालीले भार धान्न नसक्ने अवस्था सिर्जना भएको बताइन्।

त्यस्ता समस्या हटाउन तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि महानगरले पहल गरिरहेको बताउँदै उहाँले गुरुयोजना बनाएर काम गर्नुपर्ने आवश्यकता औँल्याइन्।

माइतीघर डुबानको मुख्य कारण पुरानो र साँघुरो ढल प्रणाली, वर्षाको पानी र ढल एउटै प्रणालीबाट निकास गर्ने संरचना, अनियन्त्रित सहरीकरण तथा ढलमाथिको अतिक्रमण रहेको अध्ययनले देखाएको छ। जलवायु परिवर्तनका कारण छोटो समयमा अत्यधिक वर्षा हुने क्रम बढ्दै जाँदा विद्यमान पूर्वाधारले पानीको चाप धान्न नसक्दा डुबानको समस्या झन् जटिल बन्दै गएको विज्ञरूले बताएका छन्।

उक्त समस्यालाई लिएर सङ्घीय संसद्मा पनि पटक–पटक आवाज उठ्दै आएको छ। प्रतिनिधिसभाको बैठकमा सांसद रञ्जु न्यौपाने (दर्शना) ले माइतीघरको डुबान समस्या तत्कालीन व्यवस्थापनले मात्र नरोकिने भन्दै स्थायी समाधानका लागि प्रभावकारी योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले केही दिनमै माइतीघर डुबानको समस्या समाधान हुने भन्दै जमल लगायतका उपत्यकामा अन्य डुबान हुने क्षेत्रको पनि अध्ययन गरी आवश्यक तयारी थाल्ने बताए। 'हरेक वर्ष मनसुन सुरु हुनासाथ माइतीघर डुबान हुन्छ। त्यसबाट व्यवसायी, सवारी चालक र सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपरेको छ। अब अस्थायी मात्रै होइन, दीर्घकालीन समाधान खोज्नुपर्छ,' उनले भने।

यसैबीच माइतीघरलगायत काठमाडौं उपत्यकाको ढल निकास व्यवस्थापन सुधारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा काठमाडौं महानगरपालिका, सडक डिभिजन काठमाडौं र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीच समन्वय सुरु भएको छ।

सरोकारवाला निकायले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना स्वीकृत गरी कार्यान्वयन प्रक्रिया अघि बढाएका छन्। तत्कालीन योजनाअन्तर्गत माइतीघरलगायत डुबान प्रभावित क्षेत्रमा ढल निकासमा भएका अवरोध, अतिक्रमण तथा अन्य समस्या पहिचान गरी प्रतिवेदन पेस भइसकेको छ।

के छ अध्ययन प्रतिवेदनमा ?

माइतीघर लगायतका क्षेत्रमा देखिएको डुबान समस्या र काठमाडौं उपत्यकामा ढल निकाससम्बन्धी समस्या पहिचान गर्न गठित प्राविधिक समितिको प्रतिवेदनले माइतीघर चोक आसपासका क्षेत्रमा प्रत्येक वर्ष वर्षायाममा दोहोरिने डुबानको मुख्य कारण प्राकृतिक रूपमा पानी जम्ने क्षेत्रको विनाशलाई औँल्याएको छ। साथै अव्यवस्थित सहरीकरण, ढल प्रणालीको सीमित क्षमता र निकास व्यवस्थापनमा देखिएको कमजोरी रहेको प्राविधिक अध्ययनले देखाएको छ।

प्रतिवेदनले दीर्घकालदेखि सहरी योजना विपरीत भएका निर्माण, प्राकृतिक जल बहावमा आएको अवरोध तथा निकास प्रणालीको कमजोर व्यवस्थापन रहेको निष्कर्ष निकालेको छ। 'विगत केही वर्षयता सिंहदरबार परिसर तथा आसपास वर्षा हुनेबित्तिकै पानी जम्ने र सरकारी कार्यालयको नियमित कामकाजसमेत प्रभावित हुने अवस्था दोहोरिँदै आएको छ,' प्रतिवेदनमा भनिएको छ, 'सबैभन्दा ठूलो समस्या प्राकृतिक रूपमा पानी जम्ने क्षेत्र हराउँदै जानु रहेको छ।'

प्राधिकरणका उपसचिव रामबहादुर केसीले पहिले वर्षाको पानी केही समय स्वाभाविक रूपमा जमेर बिस्तारै बग्ने भूभाग अहिले भवन, सडक, पार्किङ तथा अन्य भौतिक संरचनाले ढाकिँदा पानी सोस्ने क्षमता घटेको जानकारी दिए। 'वर्षा हुनेबित्तिकै ठूलो मात्रामा पानी एकैपटक सडक तथा ढल प्रणालीमा पुग्ने गरेको छ,' उनले भने, 'प्राकृतिक पानी सञ्चय गर्ने क्षेत्रको कमीका कारण सतहबाट बग्ने पानीको मात्रा बढ्न गई डुबानको जोखिम अझ बढाएको छ।'

पानी जम्न र बिस्तारै निकास हुनुपर्ने प्रणाली कमजोर बन्दा वर्षाको समयमा अत्यधिक पानी एकैचोटि ढल प्रणालीमा प्रवेश गर्ने अवस्था सिर्जना भएको प्रतिवेदनको निष्कर्ष छ।

प्रतिवेदनले अव्यवस्थित भूमिको उपयोग तथा अतिक्रमणलाई पनि डुबानको अर्को प्रमुख कारण मानेको छ। प्राकृतिक जल बहाव हुने क्षेत्र तथा खाली जमिनमा संरचना निर्माण हुँदा पानीको स्वाभाविक मार्ग अवरुद्ध भएको उल्लेख गरिएको छ। त्यसैगरी, कङ्क्रिट, कालोपत्रे सडक तथा अन्य अभेद्य सतहको विस्तारले जमिनमा पानी सोसिने क्षमता घटाएको र सतहबाट बहने पानीको मात्रा बढाएको प्रतिवेदनमा उल्लेख छ। निकास प्रणालीको संरचनागत कमजोरी पनि डुबानको प्रमुख कारणका रूपमा औँल्याइएको छ।

प्रतिवेदनका अनुसार कतिपय स्थानमा वर्षाको पानी निकास गर्ने प्रणाली र घरेलु फोहोरपानी बग्ने ढल एउटै मुख्य पाइपमार्फत सञ्चालन भइरहेको छ। वर्षाको समयमा दुवै प्रकारको पानी एउटै पाइपमा मिसिँदा पाइपको क्षमताभन्दा धेरै पानी बग्नुपर्ने अवस्था सिर्जना हुन्छ। परिणामस्वरूप पाइपभित्र चाप बढ्ने, पानीको बहाव सुस्त हुने तथा म्यानहोलबाट पानी बाहिर निस्कने समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ।

अध्ययनले ढल प्रणालीमा ‘बोटलनेक’ समस्या पनि पहिचान गरेको छ। केही स्थानमा ठूलो व्यासका पाइप सानो व्यासका पाइपसँग जोडिएका कारण पानीको बहाव अवरुद्ध हुने गरेको प्रतिवेदनमा उल्लेख छ। यस्तो संरचनागत कमजोरीले वर्षाको समयमा ढल प्रणालीमा अतिरिक्त चाप सिर्जना गरी डुबान बढाउने अध्ययनको निष्कर्ष छ।

टुकुचा खोलासँग जोडिएको निकास प्रणालीमा देखिने ‘ब्याकवाटर इफेक्ट’ पनि डुबानको अर्को कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। खोला वा मुख्य निकासमा पानीको सतह बढ्दा त्यसको चाप उल्टै ढल प्रणालीमा फर्किने र म्यानहोलबाट पानी बाहिर निस्कने अवस्था सिर्जना हुने अध्ययनले देखाएको छ। त्यसले विशेषगरी भारी वर्षाका बेला सिंहदरबार क्षेत्रको डुबान झन् गम्भीर बनाउने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले संस्थागत समन्वयको अभावलाई पनि समस्याको एउटा महत्त्वपूर्ण पक्ष मानेको छ। ढल, सडक, भवन तथा अन्य पूर्वाधार निर्माण गर्ने विभिन्न निकायबीच पर्याप्त समन्वय नहुँदा एउटै क्षेत्रमा फरक–फरक निकायले छुट्टाछुट्टै काम गर्ने र त्यसले दीर्घकालीन समाधानभन्दा समस्या झन् जटिल बनाउने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ।

डुबान नियन्त्रणका लागि प्रतिवेदनले अल्पकालीन र दीर्घकालीन दुवै उपाय सिफारिस गरेको छ। वर्षाको पानी केही समय सङ्कलन गरी विस्तारै निकास गर्ने ‘डिलेड डिस्चार्ज’ प्रणाली विकास गर्नुपर्ने, भूमिगत पानी सञ्चय ट्याङ्की निर्माण गर्नुपर्ने तथा पानी जम्ने प्राकृतिक क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइएको छ। यसले एकैपटक ढल प्रणालीमा पानीको चाप नपर्ने र डुबानको जोखिम घट्ने प्रतिवेदनको निष्कर्ष छ।

त्यस्तै, वर्षाको पानी र घरेलु फोहोरपानीका लागि छुट्टाछुट्टै निकास प्रणाली विकास गर्नुपर्ने, आवश्यक स्थानमा नयाँ स्टर्म ड्रेन निर्माण गर्नुपर्ने तथा पुराना ढलको क्षमता पुनः मूल्याङ्कन गरी सुधार गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समावेश गरिएको छ।

प्रतिवेदनले निकास प्रणालीको नियमित मर्मत, ढल र कल्भर्टको सफाइ, आवश्यक स्थानमा पाइपको आकार वृद्धि तथा आउटफल क्षेत्रमा पानी उल्टो फर्किन नदिन ‘नन–रिटर्न चेक भल्भ’ वा ‘फ्ल्याप गेट’ जडान गर्न पनि सिफारिस गरेको छ। साथै जलाधार क्षेत्रको आकार, वर्षाको पुनरावृत्ति अवधि तथा सम्भावित अधिकतम बहावलाई आधार बनाएर निकास संरचनाको पुनः ‘डिजाइन’ गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिवेदनले सिंहदरबार क्षेत्रको डुबान समस्या तत्कालीन मर्मत वा सरसफाइबाट मात्र समाधान नहुने निष्कर्ष निकालेको छ। प्राकृतिक जल प्रणालीको संरक्षण, वैज्ञानिक सहरी योजना, पर्याप्त क्षमताको निकास पूर्वाधार तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गरिए मात्र दीर्घकालीन समाधान सम्भव हुने प्रतिवेदनले औँल्याएको छ।

यस्ता छन् दीर्घकालीन र मध्यकालीन योजना

उपसचिव केसीले मध्यमकालीन योजनाअन्तर्गत पुराना तथा साँघुरा ढलका पाइपको अध्ययन गरी आवश्यक स्थानमा ठूला आकारका पाइप जडान गर्ने वा वैकल्पिक निकास निर्माण गरिने जानकारी दिए। उनका अनुसार दीर्घकालीन योजनाअन्तर्गत वर्षाको पानी (स्टर्म वाटर) र ढलको पानी (स्यानिटरी सिउर) छुट्टाछुट्टै व्यवस्थापन गर्न विस्तृत गुरुयोजना (मास्टर प्लान) तयार गरी कार्यान्वयन गरिने योजना रहेको छ।

'साथै नयाँ ठूला सरकारी तथा व्यावसायिक भवनमा वर्षाको पानी सङ्कलन (रेन वाटर हार्भेस्टिङ) र ढल प्रशोधन प्रणाली अनिवार्य गर्ने कानुनी व्यवस्था लागू गरिने भएको छ,' उपसचिव केसीले भने, 'काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वर्षा मापन केन्द्र स्थापना गर्ने निर्णय भएको छ।'

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का सूचना अधिकारी प्रभात श्रेष्ठले माइतीघर, न्यू प्लाजा र सिंहदरबार आसपासको ढल व्यवस्थापनलाई एकीकृत रूपमा सुधार गर्न आवश्यक रहेको बताए।
अर्को समाचार
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
१ मिनेट अघि
•
१ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।




महानगरको सुशासनदेखि विकास निर्माणसम्मका धेरैजसो वाचा अधुरै रहेका हुन्। नगरप्रमुख कोइराला आफूले चुनावमा नगरवासीसँग गरेको संकल्प चुनाव जितेपछि व्यवहारमा लागु गर्न सफल नभएको पाइएको छ।

विराटनगरका नगरप्रमुख र उपप्रमुखले निर्वाचित हुनेबित्तिकै महानगरको यातायातलगायत कुनै पनि सेवासुविधा नलिने भन्दै गरेको घोषणा एक वर्ष पनि पुग्न नपाउँदै तुहिएको थियो। केही महिना महानगरपालिकाको गाडीको सुविधा नलिई आफ्नै गाडी प्रयोग गरेका प्रमुख र उपप्रमुखले पुनः महानगरपालिकाकै सवारीसाधन प्रयोग गरेका थिए। महानगरको गाडी सुविधा नलिने घोषणा सार्थक नभएजस्तै चुनावका बेला महानगरवासीसँग गरेका ६६ बुँदे संकल्पपत्रका अधिकांश बुँदाले सार्थकता पाउन सकेनन्। विराटनगरमा सुशासन कायम गर्ने, विकास निर्माणका कामलाई द्रुत गतिमा अघि बढाउनेलगायत संकल्पहरू व्यवहारतः कार्यान्वयनमा नआउँदै कार्यकाल अन्तिम चरणमा पुगिसकेको छ।

संकल्पपत्रको पहिलो बुँदा नै महानगरमा कार्यान्वयनमा आउन नसकेको पाइएको छ। उक्त बुँदामा उल्लेख थियो, ‘भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अवलम्बन गर्दै यसको नियन्त्रणका लागि विशेष संयन्त्र बनाउने। सूचनाको हक प्रत्याभूत गर्दै पारदर्शी एवम् जवाफदेही महानगरपालिका निर्माण गर्ने।’

यस्तै दोस्रो बुँदामा महानगरले गर्ने विकास निर्माणका कामलाई प्राथमिकता दिन र व्यवस्थित गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा विभाजन गर्ने भनिएको थियो। तेस्रो बुँदामा उल्लेख ‘महानगरपालिका कार्यालयमा गरिँदै आएका अनावश्यक र अनुत्पादक खर्च नियन्त्रण गर्ने’ र ‘महानगरका खर्चलाई रचनात्मक क्षेत्रमा प्रयोग गर्न कठोर आर्थिक नीति र अनुशासनको तर्जुमा गर्ने’ विषय पनि कार्यान्वयनमा आउन नसकेको पाइएको छ। चौथो बुँदामा रहेको ‘महानगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सेवा र सुविधा सामाजिक कार्यमा प्रदान गर्ने’ विषयत पूर्ण रूपमै कार्यान्वयनमा आउन नसकेको देखिन्छ।

महानगरपालिकाका कार्यसम्पादनलाई व्यवस्थित, सुचारु र प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको विज्ञ समूह गठन गर्ने, विराट राजाको दरबार रहेको विराटनगरको भेडियारी क्षेत्रलाई समुचित विकास गर्दै पर्यटन केन्द्रका रूपमा विकास गर्ने संकल्प संकल्पपत्रमै सीमित देखिएको छ।

सामुदायिक विद्यालयमा समयानुकूल शैक्षिक गुणस्तर सुधार गर्न नवप्रवर्तन केन्द्र (इनोभेसन सेन्टर) तथा अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) निर्माण गर्ने, अनाथ, असहाय तथा विपन्नका पहुँचमा शिक्षाको समान अवसर पुर्‍याउन नमुना आवासीय विद्यालयको स्थापना गर्ने, सामुदायिक विद्यालयलाई छात्रामैत्री बनाउन भेन्डिङ मेसिनसहितको प्याड बैंक स्थापना गर्ने संकल्पपत्रका बुँदाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन्। जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहित महानगर अस्पताल (मेट्रोसिटी हस्पिटल) स्थापना गर्ने, विराटनगर महानगरपालिका क्षेत्रमा भूमिगत पार्किङसहितको दुई हजार पाँच सय क्षमताको सुविधासम्पन्न सभागृहको निर्माण गर्ने विषयमा हालसम्म खासै प्रगति हुन सकेको छैन।

चुनाव जितेपछि सभागृह निर्माणको विषयलाई प्रमुख कोइरालाले औपचारिक कार्यक्रममा समेत उच्चारण गरेका छैनन्। विराटनगर–१९ मा सभागृह निर्माण गर्न डिपीआरसमेत बनाई भौतिक निर्माणको चरणमा पुगेको उक्त सभागृहका लागि अधिग्रहण गर्ने तयारी गरिएको जग्गामा महानगरपालिकाले काम अघि बढाउने संकेत नदेखाएपछि स्थानीयले आ–आफ्नो जग्गामा पुनः खेतीपाती गरिरहेका छन्।

विराटनगरमा एक औद्योगिक र राजनीतिक संग्र्रहालयको निर्माण गर्ने, रानीदेखि विराटनगर–१९ स्थित रंगशालासम्म सटल बस सञ्चालन गर्ने, बिजुली, टेलिफोन, इन्टरनेटलगायत तारका सञ्जाललाई भूमिगत गर्न संघीय र प्रदेश सरकारसँग समन्वय गरी ताररहित विराटनगर निर्माणको पहल गर्ने विषयमा पनि महानगरले कुनै प्रगति गरेको देखिएको छैन।

बिग्रन थालेका सडक, पेटी, ढल तथा अन्य संरचनालाई द्रुत गतिमा प्रारम्भिक चरणमै मर्मत गर्ने, ट्राफिकसम्बन्धी चापलाई घटाउन महानगरभित्र आवश्यक स्थानमा एस्केलेटर (विद्युतीय सिँढी) सहितको आकासे पुल निर्माण गर्ने काम पनि साढे चार वर्षको अवधिमा अघि बढ्न सकेका छैनन्। महानगरको सौन्दर्यीकरण अभियानअन्तर्गत सडक, बाल उद्यान, मनोरञ्जन केन्द्र निर्माण, संरक्षण र सरसफाइका काम अघि बढाउने विषयमा भने आंशिक रूपमा कामहरू भएका छन्।

सहरभित्र स्मार्ट पार्किङ स्थल निर्माण गर्ने र त्यसको व्यवस्थापनमा काम गर्ने, पिछडिएका समुदाय तथा सुकुम्बासीको पहिचान गरी लालपुर्जासहितको एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गर्ने कार्यलाई गति दिने संकल्पपत्रका बुँदाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन्। मनोरञ्जन तथा पारिवारिक वातावरणयुक्त पार्कहरू निर्माण गर्ने, केसलिया र सिंघिया खोलाका किनारमा वृक्षरोपण गरी ग्रिनबेल्ट करिडोरका रूपमा विकास गर्ने, प्रदेश राजधानीका लागि आवश्यक स्थायी संरचना निर्माण गर्न प्रदेश सरकारसँग समन्वय गर्ने विषयमा पनि काम अघि बढ्न नसकेको देखिएको छ। प्रतिमहिना ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरवासीलाई निःशुल्क विद्युत् उपलब्ध गराउनेलगायत थुप्रै लोकप्रिय कार्यक्रम संकल्पपत्रमै सीमित भएको छ।

समग्रमा हेर्दा महानगरपालिकाले नियमित गर्ने कामबाहेक उल्लेख्य रूपमा उदाहरणीय काम पछिल्लो कार्यकालमा हुन नसके पनि केही क्षेत्रमा भने विगतको तुलानामा राम्रो काम भएको छ। पछिल्लो कार्यकालमा विराटनगरको फोहोर व्यवस्थापन, सरसफाइ, सडक बत्तीको व्यवस्थापन, ट्राफिक लाइटको व्यवस्थापन, नाला सरसफाइलगायत काममा भने महानगरपालिकाले राम्रो गरेको देखिन्छ। यो कार्यकालमा विकास निर्माणतर्फ एउटा मात्रै ठुलो आयोजना कार्यान्वयन भएको पाइएको छ। विराटनगरमा स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यले जापान सरकारको सहयोगमा सञ्चालित खानेपानी परियोजना भने सम्पन्न भएको छ।

करिब अढाइ अर्बको यो आयोजनाले विराटनगरको खानेपानीको गुणस्तर सुधार गर्दै मुख्य सहरी क्षेत्रको ५९ किलोमिटर क्षेत्रमा पाइपलाइनसमेत विस्तार भएको छ। तर यो आयोजना पूर्ण रूपमा सफल बनाउन सहायक सडकको करिब एक सय किलोमिटर क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्न आवश्यक रहेको नेपाल खानेपानी संस्थान विराटनगर कार्यालयले जनाएको छ।

यता विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संकल्पपत्रका धेरै काम पूरा हुन नसके पनि आफ्नो कार्यकालमा उल्लेख्य काम भएको दाबी गरेका छन्। कोइरालाले संकल्पपत्रमार्फत चुनावामा गरेको वाचाअनुसार विराटनगर महानगरपालिका १५ स्थित नगर अस्पतालमा डाक्टर नियुक्ति, ल्याबलगायत पूर्वाधार निर्माणको काम भइरहेको जानकारी दिए।

यस्तै शिक्षा क्षेत्रमा पनि आफ्नो कार्यकालमा उल्लेख्य सुधार भएको प्रमुख कोइरालाले बताए। विगतमा तीन वटा मात्रै विद्यालयमा विद्यार्थीको आकर्षण रहेकोमा अहिले १५–२० वटा विद्यालयमा गुणस्तर सुधार गरिएको कोइरालाको दाबी छ। तर विद्यार्थीहरूलाई सेनेटरी प्याडको व्यवस्था गर्न विभिन्न कानुनी अड्चनहरूले सम्भव नभएको कोइरालाले बताए। सार्वजनिक शौचालयको व्यवस्था गर्न सहरी क्षेत्रमा जग्गा अभावका कारण नसिकिएको कोइरालाले बताए।

उनले सार्वजनिाक शौचालय महानगरपालिकाले निर्माण गर्न नसके पनि त्यसको विकल्पमा विराटनगरका पेट्रोल पम्पहरूमा शौचालय निर्माण गर्न लगाई सर्वसाधारणका लागि पनि प्रयोग खुला गरिएको बताए। विराटनगरमा नगरबस सञ्चालनका लागि प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने महानगरपालिकाको योजना भए पनि सटल बस सञ्चालनका लागि निजी क्षेत्र इच्छुक नदेखिँदा योजना सफल नभएको स्पष्ट पारे।

प्रदेशको स्थायी संरचनाका लागि जग्गा उपलब्ध गराउने विषय पनि एक महिनाभित्रै टुंगिने चरणमा रहेको कोइरालाले दाबी गरे। ‘प्रदेशको स्थायी संरचनाका लागि १० बिघा जग्गा आवश्यक रहेकोमा आठ बिघा प्राप्त भइसकेको र थप दुई बिघा पनि प्राप्त हुने क्रममा छ,’ कोइरालाले भने।

कोइरालाले बजेट अभाव र विभिन्न अवरोधका बिचमा पनि आफ्नो कार्यकालमा विकास निर्माण, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापनलगायत धेरै क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे। कोइराला आफूले गरेका वाचा पूरा गर्न पाँच वर्षको कार्यकाल कम रहेको बताए। अझै एक कार्यकाल महानगरको जिम्मेवारी पाए आफूले परिकल्पना गरेका कामहरूले पूर्णता पाउने उनको भनाइ छ।

सुधारको प्रयास, न्यून उपलब्धि
विराटनगर महानगरपालिकाले स्थानीय कानुन निर्माण, विकास निर्माण र प्रशासनिक सुधारमा केही प्रगति गरे पनि वित्तीय अनुशासन, कर्मचारी व्यवस्थापन र बजेट कार्यान्वयनमा अपेक्षित सुधार गर्न सकेको छैन। नगर प्रमुख नागेश कोइरालाको कार्यकालमा बेरुजु घटाउने, प्रशासनिक खर्च नियन्त्रण गर्ने र विकास योजनालाई व्यवस्थित बनाउने प्रयास भए पनि अपेक्षित सुधार भने हुन नसकेको देखिएको छ।

महानगरको वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ सम्म महानगरको अद्यावधिक बेरुजु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार रुपैयाँ थियो।

त्यसपछि निरन्तर सम्परीक्षण हुँदा बेरुजु घट्दै आर्थिक वर्ष २०७८/७९ मा ६७ करोड एक लाख, २०७९/८० मा ५० करोड ३८ लाख ३८ हजार र २०८०/८१ मा ३९ करोड ५२ लाखमा झरेको थियो। यद्यपि आर्थिक वर्ष २०८१/८२ मा नयाँ बेरुजु आठ करोड दुई लाख थपिँदा कुल अद्यावधिक बेरुजु पुनः ३७ करोड ६८ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

महानगरको प्रशासनिक खर्चमा पनि उल्लेख्य रकम विनियोजन हुँदै आएको छ। विविध खर्च, इन्धन, सवारी मर्मत, बैठक भत्ता, पत्रपत्रिका, भ्रमण र मसलन्द गरी सात वटा चालु शीर्षकको कुल खर्च आर्थिक वर्ष २०७९/८० मा ६ करोड ५ लाख १४ हजार रुपैयाँ थियो। आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ४७ लाख ४९ हजार र २०८१/८२ मा चार करोड १४ लाख नौ हजार रुपैयाँ खर्च भएको छ। यस अवधिमा बैठक भत्ता एक करोड पाँच लाखबाट घटाएर ३४ लाख ५० हजार रुपैयाँमा सीमित गरिएको छ। स्थानीय कानुन निर्माणलाई भने महानगरले तीव्रता दिएको छ।

आर्थिक वर्ष २०८१/८२ सम्म महानगरले पाँच वटा ऐन, ७५ वटा नियमावली र १९८ वटा कार्यविधि निर्माण गरेको छ। नगर विकास कोषबाट बस टर्मिनल, फोहोरमैला प्रशोधन केन्द्र र वीरेन्द्र सभागृहका लागि लिएको ऋणको साँवा–ब्याज नियमित भुक्तानी गरी बाँकी ऋण ३४ करोड १४ लाखबाट घटाएर ३२ करोड ६ लाखमा झारिएको विवरणमा उल्लेख छ।

नगर प्रमुख कोइरालाले पुरानो बेरुजु घटाउने, बजेटको आकार सानो बनाउने र प्रशासनिक शीर्षकमा खर्च कम गर्ने प्रयास गरे पनि महानगरको मूल आर्थिक संरचनामा परिवर्तन आउन सकेको देखिँदैन। आन्तरिक राजस्व ६० देखि ६१ करोड रुपैयाँकै वरिपरि अड्किनु, करार कर्मचारी र भत्ताको भार बढ्दै जानु तथा पुँजीगत खर्च घटेर कुल खर्चको एक तिहाइमा सीमित हुनु महानगरको वित्तीय व्यवस्थापनका प्रमुख चुनौती हुन्। महानगरको कर्मचारी व्यवस्थापन पनि खर्च बढ्नुको अर्को कारण बनेको छ।

श्वेतपत्रको पहिलो बुँदामा ६०९ कर्मचारी (३३१ करार र आठ अस्थायी) को जम्बो संरचनाले आर्थिक बोझ बढाएको उल्लेख थियो। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महानगरमा कार्यरत कुल कर्मचारी संख्या घटेर ५४३ (२३८ स्थायी, ५ अस्थायी र ३०० करार) मा झरेको छ। तर कर्मचारी संख्या घटे पनि करार र दैनिक हाजिरीको खर्च भने बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा करारतर्फ १० करोड ४३ लाख र दैनिक हाजिरीमा ६८ लाख ७६ हजार रुपैयाँ खर्च भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा करार सेवा शुल्कमा १४ करोड ४४ लाख १३ हजार र दैनिक हाजिरीमा एक करोड ३५ लाख ११ हजार गरी करिब १५ करोड ८० लाख रुपैयाँ खर्च भएको छ।

त्यस्तै कोसी प्रदेशको कानुनविपरीत प्रतिस्पर्धाबिनै दैनिक हाजिरीका २४ जनालाई सोझै करारमा नियुक्त गरिएको, जिल्ला प्रशासन कार्यालय मोरङका ६ कर्मचारीलाई महानगरको कोषबाट २२ लाख ७५ हजार रुपैयाँ तलब खुवाइएको तथा विभिन्न शीर्षकमा प्रोत्साहन, अतिरिक्त समय र खाजा भत्ता वितरण गरिएको विवरणले कर्मचारी व्यवस्थापनमा प्रश्न उठाएको छ। महानगरले आवधिक योजना निर्माणमा पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन।

विगतमा हचुवाका भरमा बजेट विनियोजन हुने र आवधिक योजना नबनाउने गरेको आलोचनापछि कोइरालाको कार्यकालमा आर्थिक वर्ष २०८०/८१ मा १९ लाख ६३ हजार रुपैयाँ खर्च गरेर आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मको आवधिक योजना तयार पारिएको थियो। तर उक्त योजना पूर्ण कार्यान्वयनमा आउन सकेको छैन।

त्यस्तै बजेट रकमान्तर गर्ने प्रवृत्तिमा पनि सुधार देखिएको छैन। आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ३५ लाख रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ मा २७ करोड ८३ लाख ६१ हजार रुपैयाँ रकमान्तर गरिएको छ। विराटनगर महानगरपालिकाले कानुन निर्माण, ऋण भुक्तानी र केही प्रशासनिक खर्च कटौतीमा सुधार गरे पनि आन्तरिक राजस्व वृद्धि, कर्मचारी खर्च नियन्त्रण, बेरुजु व्यवस्थापन, योजना कार्यान्वयन र पुँजीगत खर्च बढाउने विषयमा अपेक्षित उपलब्धि हासिल गर्न सकेको देखिँदैन।

प्रमुख–उपप्रमुखबिच सुमधुर सम्बन्ध
विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट नागेश कोइराला र नेकपा एमालेबाट शिल्पा निराला कार्की निर्वाचित भए पनि सम्बन्ध सुमधुर देखिएको छ। निर्वाचित भएदेखि हालसम्म प्रमुख–उपप्रमुखबिच कुनै दरार आएन। फरक पार्टीका प्रमुख–उपप्रमुख मात्रै होइन, एउटै पार्टीका प्रमुख–उपप्रमुख निर्वाचित भएका स्थानीय तहहरूमा प्रमुख–उपप्रमुखबिच समेत असमझदारी हुने गरेकोमा विराटनगर महानगरपालिकाको साढे चार वर्षे कालमा प्रमुख–उपप्रमुखबिचको सुमधुर सम्बन्ध उदाहरणीय नै देखिएको छ।

विगतमा नेपाली कांग्रेसबाटै प्रमुख र उपप्रमुख निर्वाचित हुँदा पनि बेलाबेला खटपट हुने गरेको थियो। यस्तै वडा अध्यक्षलगायत अन्य जनप्रतिनिधिहरूका बिचमा पनि यो कार्यकालमा खासै खटपट देखिएन। सबै पक्षबाट सहयोग पाउँदा पनि उल्लेख्य काम हुन नसक्दा भने नगरवासी निराश बनेका छन्।

विराटनगरका सामाजिक अभियन्ता पारुल क्षेत्री महानगरपालिकाका पदाधिकारीहरूले पाँच वर्षको अवधिमा गौरव गर्न लायक कुनै पनि काम गर्न नसकेको बताए। उनले चुनावमा आफैले गरेको संकल्पका अधिकांश बुँदा कार्यान्वयनमा ल्याउन नसक्नु विडम्बना भएको बताए। ‘केही पनि काम भएन भन्ने कुरा त होइन तर महानगरपालिकाको स्रोत र सामर्थले गर्न सक्ने जति काम पनि नभएकाले पाँच वर्षे कार्यकालको कामप्रति सन्तुष्ट हुने अवस्था छैन,’ क्षेत्रीले भने, ‘धाराको पानी ढुक्कसँगले पिउने बनाउने मुख्य वाचा गरेका नगरप्रमुखको कार्यकाल सकिनै लाग्दासम्म महानगरपालिकाका विद्यार्थीहरूले विद्यालय जाँदा घरबाटै खोनेपानीको बोतल बोकेर जानुपर्ने अवस्था अन्त्य नहुनुले के भनियो र के गरियो भन्ने स्पष्ट हुन्छ।’

रोजगारी सिर्जना र नगरवासीको आर्थिक अवस्था सुधारका विषयमा त कुनै पनि काम नभएको क्षेत्रीले बताए। महानगरपालिकाको विकासका लागि गुरुयोजना नबनाउनु महानगरपालिकाका जनप्रतिनिधिहरू चुक्नुको प्रमुख कारण भएको प्राध्यापक डा. भेषप्रसाद धमला बताउँछन्। उनका अनुसार आफूले पटकपटक गुरुयोजना बनाएर विकासका गतिविधिहरू सञ्चालन गर्न आग्रह गरेको भए पनि जनप्रतिनिधिहरूले ध्यान नदिएको गुनासो गरे। ‘के बनाउने, कसरी बनाउने, कस्तो बनाउने भन्ने नै स्पष्ट नभएपछि विकासका काम व्यवस्थित नभएको हो,’ धमलाले भने।

महानगरपालिकाको न्यून स्रोत सधान रहेको, साधारण खर्च धेरै रहेको र उपलब्ध स्रोतसाधनलाई पनि परिचालन गर्ने असमर्थ हुँदा नगरवासीको अपेक्षा र महानगरपालिकाको काम गराईबिच तालमेल नमिलेको उनी बताउँछन्। महानगरपालिकाका जनप्रतिनिधिले पछिल्लो कार्यकालमा आम्दानी बढाउने सम्भावना हुँदाहुँदै पनि आम्दानी बढाउन नसकेको र खर्च पनि घटाउन नसकेको धमला बताउँछन्।

महानगरपालिकाले गुरुयोजना बनाएर गुरुयोजनाअनुसार विकास निर्माण गर्ने, राजस्व संकलन बढाउने र साधारण खर्च घटाउनेतर्फ ध्यान दिन आवश्यक रहेको उनको सुझाव छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस