कोप-३१ मा पर्वतीय र शीघ्र जलवायु वित्तको मुद्दा उठाइने
१३ कार्तिक २०८३
•
५ मिनेट पाठ
कोप-३१ मा पर्वतीय र शीघ्र जलवायु वित्तको मुद्दा उठाइने
नेपालले जलवायुजन्य विपद्पछि तत्काल आर्थिक सहायता उपलब्ध गराउन र पर्वतीय क्षेत्रका समस्या अन्तर्राष्ट्रिय जलवायु वार्ताको स्थायी एजेन्डा बनाउन आगामी कोप–३१ सम्मेलनमा पहल गर्ने भएको छ।




सरकारले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय अवधारणापत्रमा अनुदानमा आधारित जलवायु वित्त, पर्वतीय पारिस्थितिक प्रणालीको संरक्षण र जलवायुजन्य हानि तथा नोक्सानी सम्बोधनलाई प्रमुख प्राथमिकतामा राखेको हो।

नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा नेपालले हिमाली क्षेत्रका विशिष्ट जोखिमलाई अन्तर्राष्ट्रिय नीति तथा वित्तीय व्यवस्थामा समेट्न जोड दिनेछ। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनका कारण असमानुपातिक क्षति बेहोर्नुपरेको अवधारणापत्रमा उल्लेख छ।

गत भदौ १० गते रसुवा–भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा आएको बाढी तथा असोज २५ गते बूढीगण्डकीमा आएको बाढीले हिमाली क्षेत्रको जोखिम उजागर गरेका छन्। अवधारणापत्रले भोटेकोसीको विपद्लाई ‘हिमाली सुनामी’ को संज्ञा दिँदै जलवायुजन्य क्षति सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको औंल्याएको छ।

नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिअन्तर्गत पर्वतीय पारिस्थितिक प्रणालीका लागि औपचारिक कार्ययोजना बनाउन प्रस्ताव गर्नेछ। हिमनदी पग्लने क्रम, हिमतालको अस्थिरता, नदीको बहावमा परिवर्तन तथा पर्वतीय पूर्वाधार र समुदायमा पर्ने असरलाई विश्वव्यापी जलवायु नीतिमा पर्याप्त स्थान दिनुपर्ने नेपालको माग छ।

पर्वतीय क्षेत्र र जलवायु परिवर्तनबारे वार्षिक उच्चस्तरीय राजनीतिक संवाद तथा विश्वव्यापी तापक्रम वृद्धि अस्थायी रूपमा १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्दाको असरबारे वैज्ञानिक मूल्यांकन गर्न पनि नेपालले पहल गर्नेछ। हिमनदी तथा हिउँको अनुगमन, जलवायु सूचना, भूउपग्रहबाट प्राप्त तथ्यांक र बहुप्रकोप पूर्वसूचना प्रणाली विकासमा अन्तर्राष्ट्रिय सहकार्य बढाउनसमेत जोड दिइनेछ।

जलवायुजन्य हानि तथा नोक्सानी सम्बोधनका लागि स्थापित कोष (एफआरएलडी) मा विकसित देशको योगदान बढाउन र घोषणा गरिएका तर भुक्तानी नभएका रकम उपलब्ध गराउन नेपालले माग गर्नेछ। विपद्पछि प्रभावित देशले लामो प्रशासनिक प्रक्रिया पूरा नगरी शीघ्र आर्थिक सहायता पाउने प्रतिकार्य संयन्त्रलाई औपचारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने अवधारणापत्रमा उल्लेख छ।

भोटेकोसी विपद्पछिको पुनर्स्थापना, पुनर्बास र पुनर्निर्माणका लागि कोषको सञ्चालक समितिले दुई करोड १६ लाख अमेरिकी डलर छुट्याउने प्रारम्भिक निर्णय गरेको पृष्ठभूमिमा नेपालले यस्तो माग अघि सारेको हो।

७३ अर्ब डलरभन्दा बढी जलवायु वित्त आवश्यक

नेपालको तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी ३.०) कार्यान्वयन गर्न करिब ७३ अर्ब ७४ करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान छ। यसको करिब ८५ प्रतिशत रकम अन्तर्राष्ट्रिय जलवायु वित्तबाट जुटाउनुपर्नेछ। त्यसैले नेपालले ऋणभन्दा अनुदानमा आधारित, पर्याप्त र पूर्वानुमानयोग्य वित्त उपलब्ध गराउन तथा अन्तर्राष्ट्रिय जलवायु कोषमा पहुँच सहज बनाउन जोड दिनेछ।

सन् २०३५ सम्म अनुकूलन वित्त तीन गुणा पु¥याउने निर्णय कार्यान्वयन गर्न र अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिपछि पनि जलवायु अनुकूलन तथा प्राविधिक सहयोगमा पहुँच कायम राख्न संक्रमणकालीन व्यवस्था गर्न नेपालले प्रस्ताव गर्नेछ।

नेपालले तापक्रम वृद्धि १.५ डिग्रीभित्र सीमित राख्न उत्सर्जन कटौती तीव्र बनाउन, नवीकरणीय ऊर्जामा लगानी संरक्षण गर्न र स्वच्छ प्रविधि हस्तान्तरण गर्न पनि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नेछ। जलवायु परिवर्तनबाट प्रभावित किसानलाई अनुकूल बिउ, सिँचाइ र मौसम पूर्वानुमान सेवा उपलब्ध गराउने तथा स्वास्थ्य, खानेपानी र विपद् पूर्वतयारीका कार्यक्रमलाई वित्तीय सहयोग बढाउनुपर्ने नेपालको माग छ।

महिला, बालबालिका, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको जलवायुसम्बन्धी निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि नेपालले जोड दिनेछ।

यसैबिच परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउने बताएका छन्।

टर्कीमा हुन लागेको कोप–३१ को पूर्वतयारीका लागि आयोजित राष्ट्रिय जलवायु शिखर सम्मेलन २०२६ लाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको पारिस्थितिक प्रणाली थप जोखिमपूर्ण बन्दै गएको बताए। ‘हिमाली क्षेत्रको पारिस्थितिक स्थिरता हाम्रो सीमाभन्दा धेरै परसम्म रहेका लाखौं मानिसको जल, खाद्य, ऊर्जा र आर्थिक सुरक्षासँग अभिन्न रूपमा जोडिएको छ। त्यसैले हाम्रा हिमालको संरक्षण गर्नु साझा विश्वव्यापी जिम्मेवारी हो’, उनको भनाइ थियो।

कृषि, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित सम्मेलनमा परराष्ट्रमन्त्री खनालले कोप–३१ मा नेपालले अन्तर्राष्ट्रिय जलवायु सहकार्यलाई परिणाममुखी बनाउन पहल गर्ने बताए।

मन्त्री खनालले पेरिस सम्झौताले निर्धारण गरेको विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य हिमाली मुलुकका लागि विशेष महत्वपूर्ण रहेको स्पष्ट पारे। ‘विश्वव्यापी तापक्रम अस्थायी रूपमा समेत निर्धारित सीमाभन्दा बढी वृद्धि हुँदा हिमनदी पग्लिने क्रम तीव्र हुन सक्छ, संवेदनशील पारिस्थितिक प्रणाली अस्थिर बन्न सक्छन् र वातावरणीय परिवर्तन अपरिवर्तनीय बन्न सक्छन्’, उनले भने।

त्यस्तै, बिहीबार काठमाडौंको याक एन्ड यती होटलमा आयोजित राष्ट्रिय जलवायु शिखर सम्मेलनमा बोल्दै कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु न्यायलाई संयुक्त राष्ट्रसंघका दस्तावेजमा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताएकी छन्। ‘जलवायु न्याय संयुक्त राष्ट्रसंघका दस्तावेजको सुन्दर शब्द मात्र बनेर रहनु हुँदैन, व्यवहारमा लागु हुनुपर्छ’, उनले भनिन्।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५५ सेकेन्ड अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस