असोज १८ र १९ गते ३९ जनाको मृत्यु हुनेगरी भएको विपद्बाट इलामलाई उठाउन संघीय सरकारले सहयोग नगरेको भन्दै इलामबासी आन्दोलित भएका छन् । उनीहरूले सरकारी कार्यालयमा तालबन्दीदेखि ज्ञापनपत्र बुझाउने र राजमार्ग बन्दसमेतको आन्दोलनका कार्यक्रम थालेका छन् ।
स्थानीयले बुधबार मेची राजमार्गको जिरो किलोमिटरमा १ घन्टा सवारी साधन बन्द गराए । बन्दका कारण इलाम, पाँचथर, ताप्लेजुङ र झापा जोड्ने मुख्य राजमार्गका उपभोक्ता प्रभावित बने । मेची राजमार्ग बन्दमा इलाम नगरपालिकाकी उपप्रमुख विष्णु लिम्बू दाहाल, इलाम ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, ८ का वडाध्यक्ष दलमान तामाङसमेत सहभागी भए ।
स्थानीयले मेची राजमार्गसहित सडक मर्मतमा बजेट नआएको भन्दै सडक डिभिजन कार्यालयमा तालबन्दीसमेत गरेका छन् । उनीहरूले तुरुन्त सडक मर्मत माग गर्दै डिभिजनलाई ध्यानाकर्षणपत्रसमेत बुझाएका छन् ।
आन्दोलनरत स्थानीयले जिल्ला प्रशासन कार्यालसमेत पुगेर प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । विपद् संकटग्रस्त क्षेत्र घोषणाको औचित्य पुष्टि नभएको र इलामबासीलाई झुलाउनेमात्र काम भएको आन्दोलनका संयोजक ईश्वर चिपालुले बताए । ‘अब हामी चुप लागेर बस्न सकिँदैन,’ उनले भने, ‘निर्वाचन र विभिन्न कारण देखाएर इलामलाई विपद्बाट बचाउनमा सरकारले उपेक्षा गरिरहेको छ ।’
आन्दोलनरत प्रकाश चापागाईंले मेची राजमार्ग र विभिन्न संरचना पुनर्निर्माणमा सरकारले चासो नदिएको बताए । ‘अब पनि इलामबासी चुप बस्ने हो भने विगत बर्खाकै नियति दोहोरिहने निश्चित छ, इलाममात्र होइन, पाँचथर र ताप्लेजुङबासीसमेत सडकबाट वञ्चित हुनेछन् ।’
सडक डिभिजनलाई ध्यानाकर्षणपत्र बुझाउँदै स्थानीय ।इलाम उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण पौडेलले विपद्बाट इलामका सयौं संरचना क्षति भएपनि अहिलेसम्म बजेट र कार्यक्रम नआउनुको संकेत राम्रो नभएको बताए । ‘सरकारले इलामलाई विपद् संकटग्रस्त घोषणा गरेपछि तुरुन्तै पुनर्निर्माणका काम हुने, इलामबासीको जीवनयापन सहज हुने आशा थियो,’ उनले भने, ‘तर, त्यसो भएन, ३ महिनाको अवधि बित्न लाग्यो, अहिलेसम्म इलाम सरकारको उपेक्षामै छ । यस्तै हुने हो भने आउँदो बर्खा इलामबासीका लागि अझ भयानक हुनेछ ।’
आन्दोलनरत स्थानीयले मंगलबार विज्ञप्ति जारी गरी चरणबद्ध रूपमा विरोधका कार्यक्रम घोषणा गरिसकेका छन् । उनीहरूले पहिलो चरणमा माग पूरा नभए जिल्ला निर्वाचन कार्यालयमा समेत तालबन्दी गरी आउँदो फागुन २१ का लागि तोकिएको निर्वाचन नै बहिस्कार गर्नेसमेत घोषणा गरिसकेका छन् ।
गत असोज १८ र १९ को बाढी–पहिरोले इलाममा ठूलो धनजनको क्षति गरेको छ । संघीय सरकारले असोज २३ मा इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणासमेत गरेको छ । तर, यो घोषणाअनुसारको अवधि सकिन अब ३ साताभन्दा कम समय बाँकी रहँदा पनि इलामलाई कुनै बजेट र कार्यक्रम आएको छैन ।
देशका ७७ जिल्लामध्येको एक्लो ‘संकटग्रस्त’ इलामलाई उपेक्षा गरिएको भन्दै स्थानीय आक्रोशित छन् । विपद् घटनामा जिल्लामा करिब १२ अर्बको पुनर्निर्माण आवश्यक रहेको जिल्लास्थित सरकारी कार्यालयहरूको तथ्यांक छ । सरकारले महिनादिनअघि ५ करोड रुपैयाँ इलामका स्थानीय तहलाई तत्कालको पुनर्निर्माण (सडक सोहोर्ने, पहिरो हटाउनेजस्ता काम)का लागि पठाएको थियो ।
तर, त्यसयता विषयगत कार्यालयहरूले आफ्ना तालुकदार मन्त्रालयमा पठाएको फाइल सरकारले ‘खोलेकै’ छैन । एकातिर आर्थिक वर्ष सकिने अवधि धेरै छैन, जसले ठेक्काप्रक्रियामा ढिलाइ हुन लागिसकेको छ, अर्कातिर, आउँदो फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचन घोषित छ । यो अवस्थामा इलामका लागि घोषणा गरिएको ‘विपद् संकटग्रस्त’को अर्थ अनर्थ हुने त होइन भन्नेमा स्थानीय चिन्तित छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार असोज १८ रातिको बाढी–पहिरोले इलाममा ३९ जनाको मृत्यु भएको थियो । १ जना बेपत्ता छन् । ३ सय ३८ घर पूर्ण क्षति भएका छन् । ८ सय २८ घरमा आंशिक क्षति भएको छ । ४ सय ४९ परिवार विस्थापित भएका छन् भने ११ परिवार सामुदायिक भवनमा बसिरहेका छन् । बाँकी आफन्त र छिमेकीकहाँ बसेका छन् । सडक, पुल, सिँचाइ, खानेपानी, बिजुलीलगायत सयौं भौतिक संरचना क्षति भएको छ भने कृषिबालीमा ठूलो नोक्सानी भएको छ ।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...