साउनको आधा बितिसक्दा पनि धान रोप्न अझैँ बाँकी
१८ साउन २०८३
•
३ मिनेट पाठ
साउनको आधा बितिसक्दा पनि धान रोप्न अझैँ बाँकी
किसानलाई चाहिँदो वर्षा नहुँदा यस वर्ष साउनको आधा बितिसक्दा सम्म उदयपुरमा धान रोपाइँ पुरा हुन सकेको छैन। असारभित्रै रोपाइँ सकिसक्नु पर्ने धान खेत आवश्यकता अनुसार वर्षा नभएका कारण रोपाइँ हुन नसकेको हो।




असार सुरुमै केही दिन वर्षा हुँदा किसानलाई रोपाइँमा भ्याई नभ्याई भएको थियो। तर,एक्कासि वर्षा रोकिएसँगै रोपाइँ पनि रोकिन पुगेको हो। साउन दोस्रो सातासम्म जिल्लामा ८० प्रतिशत हाराहारी मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ। 

ज्ञानकेन्द्र प्रमुख योगेन्द्रप्रसाद यादवले साउन १३ गतेसम्म प्राप्त तथ्यांक अनुसार ८० प्रतिशत हाराहारी हिस्सामा रोपाइँ सम्पन्न भएको बताए।

उनका अनुसार पहाडी भूभागको खेतमा रोपाइँ लगभग सकिइसकेको छ तर, भित्री मधेस र तराई भेगको १ तिहाइ बढी खेतमा रोपाइँ गर्न बाँकी छ। पहाडी भेगमा सिँचाई सुविधा पुगेकाले धान रोप्ने काम सकिएको हो।

सिँचाई कुलो सुविधा पुगेको खेतमा रोपाइँ गरिसकिएको भए पनि तराई र भित्री मधेसको खेतमा आकाशे पानीको सिँचाई गर्नुपर्ने भएकाले वर्षा नहुँदा रोपाइँ गर्न रोकिने यादवले बताए।

वर्षा सामान्य रूपमा भइरहेकाे भए पनि खेतबारी भिज्ने र रोपाइँ गर्नेगरि पर्याप्त नभएकाले किसान चिन्तित हुनु परेको छ। समयमा वर्षा नभएकाले रोपाइँ गर्न नपाउँदा ब्याड हुर्केर काम नलाग्ने अवस्था भइसक्न लागेको किसानहरू बताउँछन्। साउनेको पहिलो साताभित्रै रोपाइँ सक्ने इरादा राखेका गाईघाटका किसान गोपाल चौधरीलाई यस्तै कुराले चिन्तित बनाएको छ।

‘साउन लाग्दै रोपाइँ गर्नेगरि ब्याड राखेको थिएँ, सबै हुर्किसकेको छ, अब त कामै नलाग्ला जस्तो भइसक्यो,’ चौधरीको चिन्ता छ,‘ब्याड हुर्केर घुँडा नाघिसक्यो, अहिलेसम्म पानी परेन, के गरी रोपाइँ गर्नु ?’

एक विगाह जमिनमा धान खेती गर्दै आएका चौधरीलाई अहिलेसम्म रोपाइँ सुरु गर्नै नपाएपछि भोकमरी लाग्ने चिन्ताले सताउन थालेको छ। ‘पोहोर परार यति खेरसम्म धान गोड्ने बेला भइसक्थ्यो, यस वर्ष रोपाइँनै गर्न पाको छैन, आउँदो बर्खा भोकै परिने डर छ,’ चौधरी भन्छन्।

कतिपय किसानले भने अघिल्लो वर्षाकै मौका छोपेर रोपाइँ गरिसकेका छन्। पहिलो छिमलको रोपाइँ सकेका किसानको रोपो सरेर गोड्ने बेला हुन लागिसकेको छ भने त्यो मौका गुमाउने किसानलाई रोपाइँ गर्नै पाउने कि नपाउने चिन्ताले सताउन थालेको छ।

समयमा पानी परेको भए यत्तिखेरसम्म रोपाइँ भइसक्नेमा पर्याप्त वर्षा नभएकै कारण रोप्न बाँकी रहेको किसान बताउँछन्।

मौसम पूर्वानुमान महाशाखाले मनसुन भित्रिइसकेको जानकारी दिएकाले पानी पर्छ भन्ने आसमा रहेका किसानहरू वर्षा नहुँदा झुक्किनु परेको छ। ‘१ डेढ घण्टा मात्र लगातार पानी परिदियो भने सबै रोपाइँ सकिन्थ्यो तर, पानी नै परेन,’ बेलका ९ का किसान कृष्ण दुलालको चिन्ता छ, ‘ब्याड हुर्किसक्यो, मौसमले छाडिसक्यो, पानी नपर्दा रोपाइँ गर्न पाइएन।’ ३ बिगाहा खेतमा धान फलाउँदै आएका दुलालले आधा जसो रोपाइँ गर्नै बाँकी रहेको सुनाए।

पहाडी भेगतर्फ रौतामाई, लिमचुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिकाको टार, बेँसीका खेतबारी रोपो सरेर हरियै भइसकेको छ। तर, सदरमुकाम गाईघाटसमेत समेटिएको त्रियुगा नगरपालिका, चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका समथर भूभागका खेतमा झण्डै आधा जसो रोपाइँ गर्न बाँकी छ। रोपाइँ गर्न बाँकी जमिन सबै आकाशे पानीको भरमा धान फलाउने खेत हो। 

वर्षा नभएपछि केही किसानले डिपबोरिङ गरेर पनि रोपाइँ गर्दैछन् भने त्यो क्षमता नभएका किसानहरू आकाशे पानीकै आसमा बसिरहेका छन्। तर, डिपबोरिङ गर्नेहरूका लागि पनि विद्युत् बेलाबेला अवरुद्ध हुँदा खेत हिल्याउन घण्टौँ लाग्ने समस्यामा छन्। 

एक बिगाहा खेत रोपाइँ गर्नका लागि हिल्याउन कम्तीमा ६ देखि १० घण्टासम्म मोटर चलाउनुपर्ने उनीहरुको भनाई छ। त्यसमा पनि बिचबिचमा बत्ती जाने समस्याले पानी जम्दाजम्दै सुक्ने समस्याले दिक्क लगाउने गरेको किसानको गुनासो छ।

उदयपुरमा १३ हजार ३ सय ८० हेक्टर जमिनमा धान बाली लगाउने गरिएको तथ्यांक कृषि ज्ञान केन्द्रसँग छ। जसमध्ये साउन १३ गतेसम्म १० हजार ७ सय ४ हेक्टर जमिनमा रोपाइँ भइसकेको छ। चाहिँदो वर्षा भएमा ५ देखि ७ दिनभित्र सबै खेतमा रोपाइँ भइसक्ने ज्ञान केन्द्र प्रमुख यादव बताउँछन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस