उदयपुरको कटारी नगरपालिकामा बढ्दो दुर्व्यसनी न्यूनीकरण र नियन्त्रण अभियानमा आमाहरू अग्रसर छन्। समाजमा झाँगिदै गएको दुर्व्यसन र लागू औषधविरुद्ध हरेक परिवारमा आमाको भूमिका मुख्य हुने भन्दै उनीहरू अभियानमा जुटेका हुन्।
प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय कटारीको संयुक्त पहलमा सुरु ‘दुर्व्यसनविरुद्ध आमाहरू कार्यक्रम’ अन्तर्गत कटारीमा अभियान सुरु भएको हो। प्रदेश प्रहरी कार्यालयले आमाहरूमार्फत समाजमा लागुऔषध दुव्र्यसनी न्यूनीकरण गर्न सम्भव रहेको भन्दै अभियानको थालनी गरेको इप्रका कटारीका प्रमुख डिएसपी मानबहादुर राईले बताए।
आमाहरू हरेक बालबालिकाका लागि सबभन्दा नजिकका नाता भएकाले उनीहरूलाई हरेक जोखिमबाट बचाउन र सुन्दर भविष्य निर्माणमा उनीहरूकै मुख्य भूमिका हुने गर्छ। त्यसैले दुर्व्यसनमा फसेका छोराछोरीलाई त्यसको कुलतबाट छुटाउन र कुलतमा फस्नबाट बचाउन आमाहरूको भूमिका विशेष महत्वपूर्ण हुने ठहर गर्दै यो कार्यक्रम थालिएको डिएसपी राईले बताए।
‘कुनै पनि छोराछोरीका लागि सबभन्दा नजिकको साइनो आमासँगै हुन्छ’, कार्यक्रमबारे डिएसपी राईले भने, ‘आफ्ना बालबालिकाको आनिबानीबारे सबभन्दा पहिला आमारुलाई नै थाहा हुन्छ। बानी सुधार्न पनि आमाहरूकै भूमिका बढी जिम्मेवार हुन्छ।’ उनका अनुसार आमाहरू सचेत भएमा सन्तानलाई कुलतमा फस्नबाट बचाउने र फसिसकेका छन् भने पनि सुधार्ने उद्देश्य अभियानको हो।
आमाहरूबाट लागूऔषध दुव्र्यसनी न्यूनीकरण गर्न कार्यक्रम सफल हुने अनुमान प्रहरीले गरेको डिएसपी राईले बताए। सुरु चरणमा प्रहरीले कटारी बजार क्षेत्रका आमाहरू, स्थानीय अस्पताल र मेडिकलमा कार्यरत स्वास्थ्यकर्मी, शिक्षकशिक्षिकालाई सहभागी गराउँदै अभियानबारे अभिमुखीकरण गरेको छ। विस्तारै नगरपालिकाका विभिन्न वडाका बस्ती र बजारहरूमा अभियान सञ्चालन गर्दै लैजाने योजना छ।
कटारी बजार लागुऔषध दुर्व्यसनीले च्याप्दै लगेको हुनाले अभिभावक धेरै चिन्तित छन्। सिराहा, सप्तरी, धनुषा, महोत्तरी र सलाहीजस्ता तराई जिल्लासँग सीमा जोडिएको नगरपालिका भएकाले कटारीमा लागूऔषध भित्र्याउन धेरै सहज रहेको प्रहरी निष्कर्ष छ। मिर्चया–कटारी–घुर्मी हुँदै ओखलढुङ्गा जोड्ने सिद्धिचरण लोकमार्ग पर्ने भएकाले पनि कटारीमा लागुऔषध ओसारपसार र प्रयोगकर्ता बढ्नु अनौठो होइन।
पछिल्लो समय लागुऔषध दुर्व्यसनमा फस्ने युवा तथा बालबालिकाको संख्या पनि बढ्दै गएको प्रहरी भनाइ छ। कटारी–मिर्चया खण्डमा प्रहरी चौकी बेलसोत र इप्रकाबाट टोली खटाएर दैनिक चेकजाँच गर्दासमेत चोरी बाटो भएर लागुऔषध बजार भित्रिने गरेको छ। बढ्दो लागुऔषध ओसारपसार र नियन्त्रणका लागि नै प्रहरीले समुदाय र स्थानीय सरकारसँग मिलेर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ।
इलाका प्रशासन कार्यालय कटारीका प्रमुख भीम भट्टराई लागूऔषध दुर्व्यसन एक खालको सामाजिक रोग नै भइसकेको बताउँछन्। यसलाई नियन्त्रण र न्यूनीकरण गर्न समाजले नै पहल थाल्नुपर्ने भन्दै उनले लागूऔषध दुर्व्यसनले व्यक्ति मात्र नभएर परिवार, समाज र राष्ट्र नै जोखिममा पर्ने बताए। प्रहरी, अभिभावक, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, युवा, स्वास्थ्यकर्मी सबै मिले मात्र लागूऔषध नियन्त्रण र न्यूनिकरण हुने उनको बुझाई छ।
कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले प्रहरीसँगको सहकार्यमा नगरपालिकाले लागूऔषध नियन्त्रण र न्यूनीकरणका कार्यक्रम गर्दै आएको बताए। लागूऔषधविरुद्ध सबै पक्ष मिल्नुको विकल्प नभएको भन्दै मेयर श्रेष्ठले त्यसका लागि नगरपालिका सँधै तत्पर रहेको बताए।
नगर उपप्रमुख गीता खड्का पनि नगरपालिकाले लागूऔषध नियन्त्रण र न्यूनीकरणमा आमाहरू महत्वपूर्ण हुने बताउँछिन्। यो सामुहिक कार्य भएकाले सबै पक्ष मिलेर जान सके केही हदसम्म सफल हुने उनको बुझाइ छ। कटारीलाई दुर्व्यसनमुक्त नगर बनाउन आफुहरू लागिरहेको बताउँदै उपमेयर खड्का भन्छिन्, ‘नगरको मुख्य र साझा समस्याका रुपमा रहेको लागूऔषध दुर्व्यसन सबै पक्ष लागिपरे मात्र नियन्त्रण हुन्छ, अन्यथा सम्भव छैन।’
कटारी ३ का वडाध्यक्ष पुष्कर खड्काका अनुसार कटारी बजारसँगै आसपासका बजार र गाउँटोलसम्म लागूऔषध प्रयोगकर्ताहरू बढ्दै गएका छन्। यसको न्यूनीकरण गर्न आमाहरू मुख्य जिम्मेवार हुने भन्दै सँगसँगै समाजका सबै अंग एकजुट भएर परिचालन हुनुपर्ने खड्का बताउँछन्।
क्याप्सन
लागुपदार्थविरुद्ध आमाहरू कार्यक्रमको उद्घाटन गर्दै उपमेयर खड्का। तस्बिर : नागरिक
क्याप्सनः कटारी नगरपालिका। तस्विरः महेश्वर
२४ वैशाख २०८१
•
३ मिनेट पाठ