सोमबार मध्यराति विराटनगर–९ स्थित अस्पताल चोकमा रहेको होटल र पसलमा आगलागी भएको छ। राति सवा १२ बजेतिर २ वटा होटल, एउटा कपडा पसलका साथै अर्को एउटा किरान एवं भाँडा पसलमा आगलागी हुँदा ठूलो क्षति भएको मोरङ प्रहरीले जनाएको छ। आगलागीबाट १ करोड बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ।
शोभादेवी घिमिरेको जग्गामा टिनको छानो लगाएर बनाइएको घरमा सञ्चालन गरिएका होटल तथा पसलमा जलेर पूर्ण रूपले क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। घर आगलाली हुँदा ४० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
शोभादेवीका छोरा कुमारप्रसाद घिमिरेले सञ्चालन गरेको किराना पसल, विराटनगर–८ का छविलाल उप्रेतीको कपडा तथा भाँडा पसल, विराटनगर–७ का विनोद राजवंशीको न्यू राजवंशी होटल र विराटनगर–८ का दीपनारायण राजवंशीको दीपेश होटल आगोले पूर्ण क्षति भएको छ।
घिमिरेको पसलभित्र रहेको नगद ५ लाख जलेको छ भने पसल जल्दा २० लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीका कारण उप्रेतीको पसलमा २५ लाख २७ हजार, विनोदको होटलमा १२ लाख र दीपनारायणको होटलमा ११ लाख बराबरको क्षति भएको अनुमान गरेको डिएसपी श्रेष्ठले बताए।
घर र पसलमा लागेको आगो नियन्त्रणमा लिने क्रममा दमकलका ३ जना कर्मचारी घाइते भए। विराटनगर–४ का ३७ वर्षीय भीम विष्ट, विराटनगर–२ का ३७ वर्षीय अशेष दाहाल र सुनसरी दुहबी–१२ का १९ वर्षीय प्रेमकुमार राजवंशी घाइते भएका र उनीहरुको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ। घाइते ३ जना सामान्य अवस्था रहेको जनाएको छ।
आगलागीको कारण खुल्न नसके पनि पसल र होटल बन्द रहेको अवस्थामा राति विद्युत् सर्ट हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। ग्याँस सिलिण्डर विस्फोट हुन थालेपछि आगो झन् फैलिँदा नियन्त्रणमा लिन समस्या भएको थियो। दमकल, स्थानीय र प्रहरीको सक्रियतामा करिब डेढ घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...