निरन्तरको वर्षाका कारण सप्तरीको जिता नदीको बाढी गाउँ पस्दा तिलाठीकोइलाडी गाउँपालिकामा करिब तीन सय घर डुबानमा परेका छन्।
तिलाठीकोइलाडीको लबटोलीया, गोरियारी, तेलियाही,जटीटोल, तोपालगायत बस्तीका तीन सय घर डुबानमा परेका हुन्। निरन्तरको वर्षाका कारण जिता र खाँडो नदीमा आएको बाढी बस्तीमा पसेर घर डुबाएको छ।
नदीको पानी बस्तीमा पस्दा बहादुर मुखियाको घर डुबेको छ। चुल्हो, खाद्यान्न, लत्ताकपडा भिजेका छन्। ओढ्ने ओछ्याउने सबै भिजेर मुखिया परिवार घरमै थुनिएका छन्। जरना गोइठा सब भिजगेलै(दाउरा गुइठा सबै भिजिसक्यो) मुखियाले भने,‘ने चुल्ही रहलै ने जलाबन आ ने चाउर दाईल आब कि खा क रहबै(न चुल्हो जोगियो न दाउरागुइठा, चामल दाल पनि भिजेपछि अब के खाएर बस्नु)।’
यस बस्तीका बहादुर मुखिया, बाबुलाल मुखिया, लक्ष्मण मुखिया, रघु मण्डलको जीवन कष्टकर बनेको छ। घर पानीले भरिएको छ। बस्तीबाट बाहिर निस्किने अवस्था छैन। घर भित्र भएको अन्नपात भिजेपछि उनीहरुलाई हातमुख जोड्न समस्या छ।
१६ जनाको परिवार रहेको रघु मुखिया भन्छन्,‘सियान त केहनो क रात काइट लेबै मुदा बौवा बुची कोना क भुके रहतै(घरका अभिभावकहरु त भोकभाकै रात काटिहाल्छौ तर बच्चाहरु भोकभोकै कसरी निदाउन सक्छन्)। अहिलेसम्म कोही पनि खानेकुरा वितरण गर्न नआएकाले यहाँका डुबान पीडितहरु चिन्तित छन्।
यस गाउँका सर्वसाधारण वर्षेनी डुबानको नियति भोग्न बाध्य भएपनि स्थानीय सरकार राहतमा उदासिन बनेको स्थानीय बुद्धिजिबी गिडु सिंहले बताए। स्थानीय सरकार यहाँका डुबान पीडित सर्वसाधारणको पीडामा मलम लगाउन विफल बनेको उनको भनाई छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार खाँडो र जिता नदीमा पानीको सतह बढेर बाढी गाउँ पस्दा हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठीकोइलाडी गाउँपालिका र सप्तकोशी नगरपाकिलाका बस्तीहरु डुबानमा परेका छन्। अहिले बिस्तारै बस्तीमा पानीको सतह घट्दै गएको छ।
तिलाठीकोइलाडी गाउँपालिकाका डुबान पीडितहरुलाई आवश्यक राहत(खानेकुरा) व्यवस्थापन गर्न पालिकालाई निर्देशन दिइसकेको छु प्रजिअ आचार्यले भने,‘बस्तीका मानिसलाई अन्यत्रै सार्नुपर्ने अवस्था छैन। बिस्तारै जनजिवन समान्य बन्दैछ।’
यता, कमला नदीको बाढीले बाँध कटान थालेपछि धनुषाको पूर्वी क्षेत्रका स्थानीय त्रसिद बनेका छन्। सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान गरेको हो। बाढीका कारण ६ सय मिटर बाँध जोखिममा परेको छ।
बाँध कटान गर्न थालेपछि बाढीले डुबान हुन सक्ने क्षेत्रमा प्रहरी परिचालन गरी स्थानीयलाई सतर्क गराइएको र बाँध मर्मतका लागि नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरीएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले बताए। बाढीले सहिदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र सबैला नगरपालिकाको गाउँहरु डुबानमा पर्ने खतरा बढेको छ। बाँध बचाउन नेपाली सेना र सशस्त्र प्रहरी मंगलबार बिहानैदेखि परिचालन गरिएको प्रजिअ बास्तोलाले बताए।
धनुषातर्फ किरतपुर र ढोलबज्जमा कमलाको बाढी बाँध कटान गरेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले बताए। कटानबारे माथिल्लो निकायमा जानकारी गराएको उनले बताए। कटान क्षेत्रमा बाँध बचाउन र मर्मत गर्न बजेट नभएको उनले बताए। गत आर्थिक वर्षमा हामीले माग गरी पठाएको विपद् नियन्त्रण गर्ने अपातकालिन बजेट अर्थ मन्त्रालयले कटौती गरेका कारण बाँध बचाउन समस्या भएको उनले बताए।
झरीमा छाता ओढेर कमला नदीको बाढीले कटान गरिरहेको तटबन्ध निरीक्षण गर्दै पूर्वमन्त्री मात्रिकाप्रसाद यादव ।पूर्वमन्त्री एवं यस क्षेत्रका सांसद मात्रिकाप्रसाद यादवका अनुसार अर्थ मन्त्रालयले तत्काल ५० लाख रुपैयाँ निकासा गरी प्रभावित क्षेत्रमा काम सुरु भैसकेको छ। यादवले भने,‘हामीले कमला नदीको बहावमाथि निरन्तर निगरानी गरिरहेका छौं।’ तटबन्ध मर्मत तथा निर्माणका विषयमा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग कुरा गरिसकेको समेत उनले बताए। 'मन्त्रीबाट तटबन्ध समस्याको दिर्घकालिन सामाधानका लागि आस्वान पाएको छुँ,' यादवले भने।
अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित देशकै पुरानो चन्द्रनहरको बाँध भत्काएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए। नहर भत्किएपछि बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका १, २, ४ र ११ वडाका घरहरु डुबानमा परेका छन्। ती घरमा ३ फिटसम्म पानी जमेको छ। सोमबार साँझबाट बस्तीको पानी घट्दै गएपछि मासिनहरु समान्य जिवनमा फर्किएको प्रजिअ आचार्यले बताएका छन्।
गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्याएको छ।
मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए।
उनले भने, 'राती १२ बजे बागमती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले सुकुम्वासी बस्ती डुबानमा परेको जानकारी दिएपछि उनीसहित हाम्रो टोली रातिदेखि नै बस्तीमा पसेर उद्धारमा खटियौँ, दुईवटा डोजर ल्याएर पर्खाल भत्काएर पानी बाहिर पठाउने र बस्तीको बासिन्दाको बिहानसम्म हामी उद्धारमै खटिएका छौँ।'
चाँगुनारायण उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका कासिछ्वाले मध्यराति बस्तीमा ज्यान जोगाउन भागाभाग मच्चिएको बताउँदै कोही अरनिको राजमार्गको सडकमा आइपुगेका र कोही घरको छतमा बसिरहेको पाइएको बताए। राति नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएको उनले जानकारी दिए।
सुकुम्वासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, यहाँका कुखुरा र बङ्गुर बगाएको तथा अहिले बिहान खानेकुरासमेत नभएकाले राहतको व्यवस्था गर्नु जरुरी रहेको उनले बताए। बस्तीभित्रका बालबालिका र ज्येष्ठ नागरिक बढी मारमा परेको बताउँदै उनले भने, 'यहाँको अवस्था बिजोग छ, पानी पर्नेबित्तिकै बस्तीको बासिन्दा त्रासमा बस्नुपर्ने, सुकुम्वासी बस्तीको समस्या समाधानमा सरकारले चासो दिनुपर्ने आवश्यकता देखियो।'
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले मध्यपुरथिमि नगरपालिका–१ र २ का मनहरा नदीको सुकुम्वासी बस्तीमा भएको डुबानमा क्षतिको विवरण संकलन कार्य भइरहेको बताए। उनले बस्तीमा लत्ताकपडा, खाद्यान्न र अन्य सामानमा क्षति पुगेको, पशु चौपाया बगाएको तर मानवीय क्षति भने नभएको बताए।
उनले मनोहरा नदी किनारामा दिव्यश्वरी प्लानिङमा बस्ने अम्मर लामाको बङ्गुरफार्मबाट प्रहरीले पाँस सय हाँस, दुई सय बङ्गुर र दुईवटा गाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए। त्यस्तै मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खस्दा खोलाको धार परिवर्तन भई ८० घरटहरामा पानी पसेको जानकारी दिए।
सानोथिमितर्फको मनोहरा नदी किनारमा सिन्धुली कमलामाई नगरपालिका–७ घर भई हाल सानोथिमि दिव्यश्वरी प्लानिङस्थित टहरामा बस्ने पेमा तामाङको टहरामा रहेको २६ बोरा चामलमा क्षति भएको गिरीराज कुखुराका ४५ चल्ला बगाएको जानकारी दिए। सुकुम्वासी बस्तीको क्षतिको विवरण संकलन कार्य प्रहरीले गरिरहेको उनले बताए।
यता चाँगुनारायण नगरपालिका–४ मा मनोहरा खोला निलोपुल नजिक सुनसरी घर भई सोही स्थानमा बङ्गुरफार्म सञ्चालन गरेका हरि राईको बङ्गुरफार्मबाट चार बङ्गुर बगाएको प्रनाउ पाण्डेले जानकारी दिए। चाँगुनारायण–१ दुवाकोट बेँसी मनोहरा खोला किनारका २० घरटहरामा पानी पसेको र एक टहरामा बस्ने चार जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको उनले बताए। बाढी र पहिरोको जोखिम बढेकाले सचेत रहन उनले आग्रह गरे। रासस
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...