भ्रेमाथाङ पहिरोले मेलम्चीमा बाढी
०७ असार २०७८
•
५ मिनेट पाठ
भ्रेमाथाङ पहिरोले मेलम्चीमा बाढी
भ्रेमाथाङ पहिरो अध्ययनपछि वातावरणविज्ञ डा. रविनराज निरौलाले तयार पारेको स्याटेलाइट तस्बिर।
मेलम्ची खोला सधैं शान्त रहन्थ्यो। बरु सँगैको इन्द्रावती नदी बर्खामा कहिलेकाहीं उर्लिएर मात्तिन्थ्यो। स्थानीयलाई कहिल्यै दुःख नदिईकन शान्तसँग बग्ने छवि बनाएको मेलम्ची खोला यो वर्षको मनसुन प्रारम्भ हुनासाथ बहुलायो। हेलम्बु–मेलम्ची उपत्यका तहसनहस बनाउनेगरी असार १ गते मेलम्चीमा आएको बाढीबारे नयाँ तथ्य पत्ता लागेको छ।




लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित हेलम्बुको भ्रेमाथाङमा गएको पहिरोले हेलम्बु हुँदै मेलम्चीसम्म विनास निम्त्याएको विज्ञ बताउँछन्। विज्ञका अनुसार दायाँ–बायाँ अग्ला पहाडी टाकुराको काखमा उपत्यका जसरी बसेको भ्रेमाथाङ भूकम्पले चिराचिरा परेको थियो। ‘भूकम्पले चिराचिरा भ्रेमाथाङको जमिन वर्षाको पानी छिरेर स्वात्तै बग्यो,’ १० वर्षदेखि मेलम्ची जलाधार क्षेत्रको अध्ययन गरिरहेका वातावरणविज्ञ डा. रविनराज निरौलाले भने।

तल्लो तटीय क्षेत्र जोखिममा रहेकाले हेलम्बुको नाकोतेदेखि मेलम्ची हुँदै काभ्रेको दोलालघाटसम्म मनसुन अवधिभर बसोबास नगर्न विज्ञ सुझाव
मेलम्चीमा बाढी आउनुभन्दा अघिदेखि हिमाली क्षेत्र भ्रेमाथाङ उपत्यका र आसपासमा वर्षा भइरहेको निरौलाले बताए। ‘वर्षाले त्यस क्षेत्रमा भलबाढी आइरहेको थियो। जमिनका चिरा र धाँजामा भलबाढी छिरेपछि पहिरो गयो,’ उनले भने। उनका अनुसार भ्रेमाथाङको चौडाइतिरबाट भीमकाय पहिरो गएको छ।

हेलम्बु गाउँपालिका–१ मा पर्ने भ्रेमाथाङ समुद्र सतहबाट तीन हजार पाँच सय मिटर उचाइमा छ। हेलम्बुको अन्तिम बस्ती मेलम्चीघ्याङबाट सात किलोमिटर उत्तरमा रहेको भ्रेमाथाङ दुई किलोमिटर लम्बाइ र डेढ किलोमिटरसम्म चौडाइमा फैलिएको छ। दायाँ–बायाँ अग्ला पहाडबीच उपत्यका जस्तै समथर रहेको भ्रेमाथाङको चौडाइतिरबाट २५ प्रतिशत भूभाग पहिरो बनेर खसेको विज्ञ निरौला बताउँछन् ।

भ्रेमाथाङ चरन क्षेत्र थियो। त्यहाँ मेला पनि लाग्थ्यो। हिउँदमै पुग्न मुस्किल हुने भ्रेमाथाङमा अहिले चरन खोज्दै गाईबस्तु लैजाने र तिर्थ जाने चलन हराएको छ। मेलम्ची खोलाको पानीको स्रोत हिउँ हो। हिमाली क्षेत्रबाट पग्लेर आउने हिँउ र वर्षाको भलबाढी भ्रेमाथाङ भएर झरना जसरी ठाडै बग्छ। निरौलाका अनुसार भ्रेमाथाङ क्षेत्रमा निकै साना हिमताल छन् तर हिमपहिरो छैन।

‘साना हिमताल फुटेर यत्रो विध्वंश हुँदैन,’ उनले भने, ‘भ्रेमाथाङको पहिरो नै मेलम्ची बाढीको कारण हो।’  

हेलम्बुदेखि मेलम्ची बजारसम्म झण्डै २५ किलोमिटर दूरीको तल्लो तटीय क्षेत्रमा विनास मच्याउने गरी कसरी बाढी आयो भनेर कसैले यकिन गर्न सकेका थिएनन्। कसैले मेलम्ची खानेपानीको बाँध फुटेको ठाने त कतिपयले मेलम्चीघ्याङमा पहिरो गएर बाढी आएको विश्लेषण गरे।  

बाढीमा कालो लेदो माटो (पाँगो) बगेर आएपछि यसबारे निरौलाको अध्ययन केन्द्रित भयो। भ्रेमाथाङ क्षेत्रमा पहिरो गएको अरु कसैले खिचेको तस्बिर भेटेपछि त्यसैतर्फ अध्ययन केन्द्रित गरेको उनी बताउँछन्। ‘जसरी मेलम्ची बजारमा २५/३० फिट उचाइमा लेदो माटो थुप्रिएको छ, त्यो सानो पहिरोको कारण थिएन,’ उनले भने।

मेलम्ची जलाधार क्षेत्रको विषयमा पिएचडी गरेका उनले सन् २०१० देखि २०२० सम्म यहींको हिमाली क्षेत्रमा बसेर अध्ययन गरेका थिए। २०७२ वैशाख १२ को भूकम्पअघि र पछिसमेत अध्ययनको क्रममा भ्रेमाथाङ पुगेका निरौलाले भने, ‘भूकम्पपछि त्यहाँ पुग्दा जमिन चिराचिरा परेको थियो। बाढीको खतरा त्यतिबेलै देखेका थियौं। फर्केर सबैभन्दा नजिकको नाकोते बस्ती सार्न छलफलसमेत चलाएका थियौं। तर सुन्ने काम कतैबाट भएन। अहिले बाढीले नाकोते बस्तीमै क्षति पुर्‍यायो।’

भूकम्पको असर निकै पछिसम्म पनि देखिने भूगर्भविद् बताउँछन्। भूकम्पले कमजोर बनिसकेको जमिनको धाँजा र चिराबाट वर्षाको भेल छिरेपछि जतिबेला पनि विपद् निम्तिन सक्ने उनीहरूको भनाइ छ। भ्रेमाथाङबाट खसेको पहिरो ठुल्ठूला ढुंगा, रुख बगाउँदै मेलम्चीघ्याङ आएपछि अर्को पहिरो खसालेर मेलम्ची थुनेको पाइएको विज्ञ निरौलाले बताए। ‘गत मंगलबार साँझ ६ बजेदेखि ७ बजेसम्म ४५ मिनेट नदी थुनिएको देखिन्छ,’ उनले भने, ‘थुनिएर बनेको ताल फुटेपछि तल्लो तटीय क्षेत्रमा बाढीले विनास निम्तायो।’

असार २ गते स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ बाढीको स्रोत खोज्दै हेलिकोप्टरबाट हेलम्बु क्षेत्र पुगेका थिए। मौसम खराबीका कारण हेलम्बुबाट अघि बढ्न नसकेपछि मेलम्चीघ्याङको पहिरो नै बाढीको कारण हुन सक्ने भन्दै उनी फर्र्किएका थिए। उनको गृहजिल्ला सिन्धुपाल्चोक हो। विज्ञ निरौलाका अनुसार भ्रेमाथाङबाट चार मिटर उचाइमा आएको बाढी मेलम्चीघ्याङमा खोला थुनिएर फुटेपछि ६ मिटर अल्लो बनेर अघि बढेको थियो। ‘थुनिएको खोला फुटेपछि थप शक्तिशाली भएको बाढीले क्रमशः नाकोते, अम्बाथान, तिम्बु, किउल, तालामाराङका बस्ती, पुलपुलेसा सोहोर्दै मेलम्ची बजारसम्म व्यापक क्षति पुर्‍यायो,’ उनले भने। उनका अनुसार लेदो, ढुंगा, काठपातसहितका गेग्रेन लिएर आएको मेलम्ची बाढी इन्द्रावतीमा मिसिएर मेलम्ची बजारतिर सोझिँदा धैरै भौतिक क्षति भएको हो। लार्के र यांग्री खोला मिसिएर आउने इन्द्रावती र मेलम्ची खेला मेलम्चीको पुरानो बजारबाट एकआपसमा मिसिन्छन्। त्यसपछि खोला इन्द्रावती नामले चिनिन्छ। ‘मेलम्ची र इन्द्रावती आपसमा मिलेपछि एकले अर्कोको बाटो छेक्दा बाढी बजार छिर्‍यो,’ विज्ञ निरौलाले भने, ‘यो सामान्य पहिरोबाट आएको बाढी होइन।’

अझै ठूलो बाढी आउन सक्ने चेतावनी

मेलम्ची–हेलम्बु उपत्यकामा विनास ल्याउने भ्रेमाथाङको पहिरोले थप बाढी ल्याउन सक्ने चेतावनी विज्ञले दिएका छिन्। तल्लो तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन र नदी किनारका बस्ती खाली गर्न उनीहरूले सुझाएका छन्।

भ्रेमाथाङ उपत्यका खोतलिएकाले जतिबेला पनि पहिरो निम्तिन सक्ने विज्ञ निरौलाले औंल्याए। ‘मनसुन भर्खर सुरु भएको छ। अझै तीन महिना मनसुन हुन्छ,’ उनी भन्छन्, ‘जुनसुकै बेला बाढीपहिरो आउन सक्छ।’  

हेलम्बुको नाकोतेदेखि मेलम्ची हुँदै काभ्रेको दोलालघाटसम्म मनसुन अवधिभर बसोबास नगर्न उनले सुझाव दिए। यो क्षेत्र मनसुनमा उच्च जोखिममा रहेको उनले औंल्याए। विनासकारी भूकम्पपछि युएनडिपीले मेलम्ची जलाधार क्षेत्र र यसका जोखिम उल्लेख गरेर मेलम्ची नगरपालिकालाई प्रतिवेदन बुझाए पनि बेवास्ता गर्दा व्यापक क्षेति बेहोर्नुपरेको उनले सुनाए। ‘अहिलेको अवस्था आउने त्यतिबेलै देखेर नदी तटमा बस्ती नबसाल्न, बसेका बस्ती सुरक्षित स्थलमा सार्न प्रतिवेदनसहित सुझाव दिएका थियौं। नटेर्दा यो विनासको सामना गर्नुपर्‍यो,’ उनले भने। नदी तटीय क्षेत्रमा मनसुन अवधिभर बस्न नदिने र त्यहाँका बस्ती सुरक्षित स्थलमा सानुपर्ने निरौला बताउँछन्। उनले भ्रेमाथाङ र त्यसभन्दा माथिको स्थानको थप अध्ययन हुनुपर्नेमा जोड दिए।
अर्को समाचार
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
१ मिनेट अघि
•
१ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
रोल्पा । घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ। तर, कतिपय घरका बन्द ढोकाभित्र यस्ता पीडा लुकेका हुन्छन्, जसको आवाज भित्रबाट बाहिर निस्कन सक्दैन।
चुलोचौकाको धुवाँसँगै निसासिएका सुस्केरा, छोरा र छोरीमाझको खैदेखि गरिने विभेद र ‘इज्जत’को नाममा थुपारिएका मौनताहरूले हजारौँ दिदीबहिनी र बालिकाको जीवनलाई अँध्यारो सुरुङतिर धकेलिरहेका छन्।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान केवल नाराले भरिएको क्यालेन्डरको पाना मात्र होइन, यो त मौनताको पर्खाल भत्काएर न्याय र समानताको उज्यालो खोज्ने सामूहिक सङ्कल्प हो।
घरभित्रको अदृश्य पीडा र विभेदको जरा घरेलु हिंसा सधैँ शरीरमा देखिने नीलडाम वा रगतको दागमा मात्र सीमित हुँदैन। कहिलेकाहीँ अपमानजनक शब्द, आर्थिक नियन्त्रण, निर्णय प्रक्रियाबाट वञ्चितीकरण र मानसिक यातनाले मानिसको आत्मसम्मानलाई भित्रभित्रै गलाइदिन्छ।
जन्मदेखिको विभेद: छोरा जन्मिँदा बज्ने खुसीका धुन र छोरी जन्मिँदा छाउने मौनता विभेदको पहिलो पाठ यहीँबाट सुरु हुन्छ। शिक्षा, पोषण र अवसरमा छोरीलाई दोस्रो दर्जामा राख्ने प्रवृत्तिले असमानताको जग बलियो बनाउँछ।
घरेलु हिंसाको मौनता: ‘घरको कुरा घरमै मिलाउनुपर्छ’ भन्ने सामाजिक मान्यताले पीडितलाई न्याय माग्नबाट रोक्छ र पीडकलाई थप हौसला दिन्छ। पीडा सहनुलाई नै ‘सहनशीलता’ र ‘आदर्श नारी’को उपमा दिँदा अन्यायलाई संस्थागत रूपमै स्वीकार गरिन्छ।
प्रथा र कुसंस्कारको भार: कहिलेकाहीँ जोगीको लोभमा त कहिले छाउपडीजस्ता अन्धविश्वासका नाममा महिलामाथि हुने दुर्व्यवहारले मानवीय संवेदनशीलतालाई नै चुनौती दिइरहेको छ।
१६ दिने अभियान: केवल औपचारिकता कि वास्तविक रूपान्तरण?
हरेक वर्ष मङ्सिर महिनाको अन्त्यतिर गाउँ–सहरमा र्‍याली, गोष्ठी र पोस्टर टाँस्ने क्रम चल्छ। तर, १६ दिन सकिएपछि फेरि त्यही पुरानो दैनिकी दोहोरिने हो भने अभियानको मर्म अधुरो रहन्छ।
वास्तविक परिवर्तन तब सम्भव हुन्छ, जब यो अभियान सदन र सभाहलबाट निस्केर हरेक परिवारको भान्सा र आँगनसम्म पुग्छ। हिंसा सहनु अपराध होइन, तर हिंसा देखेर पनि चुप लाग्नु र अन्यायलाई सामान्य मान्नु समाजको सबैभन्दा ठूलो कमजोरी हो।
हामीले अब सोचाइको दिशा बदल्न आवश्यक छ। छोराहरूलाई सानैदेखि सम्मान, समानता र भावनात्मक संवेदनशीलता सिकाउनुपर्छ भने छोरीहरूलाई डर होइन, आत्मविश्वास र अधिकारको पाठ पढाउनुपर्छ। कानुनका किताबमा लेखिएका धाराहरू व्यवहारमा उतार्न परिवार, समाज र राज्य सबैको हातेमालो अपरिहार्य छ।
अबको बाटो: सम्मान र समानताको समाज
लैङ्गिक हिंसा अन्त्य गर्न कुनै एक व्यक्ति वा संस्थाको प्रयास मात्र पर्याप्त हुँदैन। घरभित्रको सानो व्यवहारदेखि समाजको ठूलो संरचनासम्म समानताको अभ्यास हुनुपर्छ।
जब हरेक घर छोराछोरीका लागि समान रूपमा सुरक्षित र स्नेहमय बन्नेछ, जब पीडितले बिना डर न्याय र साथ पाउनेछन् र जब विभेदको ठाउँ सम्मानले लिनेछ—तब मात्र १६ दिने अभियानले सार्थक रूप लिनेछ। पीडाका सुस्केराहरू अब आशाका गीतमा बदलिनुपर्छ।
आवाजको शक्ति र नेतृत्वको यात्रा: १६ दिने अभियानको अर्थ
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पीडा, आँसु र विरोधका नाराहरूमा मात्र सीमित रहनु हुँदैन। यो अभियानले महिलाहरूलाई पीडितको भूमिकाबाट माथि उठाएर नीति बनाउने, निर्णय गर्ने र समाजको दिशा तय गर्ने निर्णायक स्थान अर्थात् राजनीतिक प्रतिनिधित्वसम्म पुर्‍याउने सेतुको काम गर्न सक्नुपर्छ।
लैङ्गिक हिंसाको जरा अक्सर शक्ति असमानता, मौनता र अवसरको वञ्चितीकरणमा जोडिएको हुन्छ। जबसम्म महिलाहरू संसद्, स्थानीय तह र नीति निर्माणका टेबलहरूमा अर्थपूर्ण रूपमा पुग्दैनन्, तबसम्म हिंसा रोक्ने कानुन र बजेट कागजमै सीमित रहने जोखिम रहन्छ। घरको चुलोचौकादेखि टोलको सानो घेरादेखि राज्यको सर्वोच्च निकायसम्म महिलाको उपस्थिति केवल सत्ताका लागि होइन, अनुभव, संवेदनशीलता र न्यायपूर्ण दृष्टिकोणका लागि अपरिहार्य छ।
कतिपय महिलाले आज पनि राजनीतिक यात्रामा पाइला चाल्दा चरित्रहत्या, धम्की, दोहोरो कार्यबोझ र अदृश्य बाधाहरूको सामना गर्नुपर्छ। १६ दिने अभियानले समाजलाई यही प्रश्न सोध्नुपर्छ: हामी हिंसाको विरोध त गर्छौँ, तर के हामी महिलालाई शक्ति र नेतृत्व सुम्पिन तयार छौँ? हिंसामुक्त समाजको जग त्यतिबेला बलियो हुन्छ, जब पीडितले न्याय मात्र होइन, नेतृत्व गर्ने अधिकार पनि पाउँछन्।
आज आवश्यक छ, यो १६ दिने अभियानले हरेक युवती र महिलालाई भनौँ—तिम्रो पीडा मात्र होइन, तिम्रो विचार र नेतृत्व पनि यो देशलाई चाहिन्छ। जब महिलाको हातमा कलम र निर्णयको अधिकार पुग्छ, तब हिंसाको संस्कृति आफैँ कमजोर हुँदै जान्छ र साँचो अर्थमा लोकतन्त्र समावेशी बन्छ।
न्याय, शक्ति र मर्यादाको साझा यात्रा: ‘अनुपम अभियान’
नेपालको महिला अधिकार र लैङ्गिक न्यायको सङ्घर्षमा पुस्तान्तरणको अनुभव र नवीन ऊर्जा जोड्दै अन्तरपुस्ता महिलावादी मञ्चले देशैभरि आफ्नो सञ्जाल विस्तार गरेको छ। यही मञ्चको अगुवाइमा सञ्चालित ‘अनुपम अभियान’ र हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान एउटै गन्तव्य—समानता, मर्यादा र हिंसामुक्त समाज—तर्फ उन्मुख दुई महत्त्वपूर्ण आयाम हुन्।
‘अनुपम अभियान’: शक्ति र मर्यादाको संरचनात्मक रूपान्तरण
वि.सं. २०७९ को निर्वाचनपछि सुरु गरिएको पाँचवर्षे ‘अनुपम अभियान’ केवल परम्परागत पैरवी र दातामुखी सहायताको ढाँचाभन्दा माथि उठेर संरचनात्मक रूपान्तरणमा केन्द्रित छ। ‘घर चलाउन सक्ने महिलाले देश चलाउन सक्छन्’, ‘६४ मा महिला हुनुपर्छ पहिला’, ‘कुन पार्टी हो चिन्तै छैनौँ, महिला भएर जाँदैछौँ’ जस्ता नारा बोकेर अभियानमा निरन्तर अनुपम अभियानले १६ दिने अभियानको सार्थकता बोकेको छ।
यस अभियानले नेपालको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा महिलाको निर्णायक पहुँच र स्वायत्ततालाई मुख्य एजेन्डा बनाएको छ। शक्ति संरचनाको विश्लेषण: अभियानले महिला तथा सीमान्तकृत समुदायले भोग्ने दृश्य (राजनीतिक दल र नेतृत्वको तह), अदृश्य (निर्णय प्रक्रिया र पहुँचका अवरोध) तथा गहिरो संरचनात्मक (सामाजिक मान्यताका रूपमा रहेको शक्ति सम्बन्ध) पक्षलाई उजागर गर्छ। दान वा अनुकम्पाभन्दा माथि उठेर न्याय, आत्मनिर्भरता र मर्यादालाई केन्द्रमा राख्दै समुदाय–नेतृत्वको पहल र सुरक्षित संवादस्थल निर्माण गर्नु यसको विशेषता हो।
अन्तरपुस्ता ऐक्यबद्धता: अग्रज पुस्ताको ऐतिहासिक सङ्घर्षको स्मृति र युवा पुस्ताको नवीन चेतनालाई जोड्दा नीति निर्माणदेखि स्थानीय तहसम्म महिलाको आवाज बलियो बन्छ।
मौनता तोड्ने समय: घर, समाज, कार्यस्थल र डिजिटल माध्यममा हुने हिंसाविरुद्ध बोल्ने, पीडितलाई न्याय र सेवामा जोड्ने तथा दोषीलाई जवाफदेही बनाउने साझा मञ्चका रूपमा यो अवधिलाई स्थापित गर्नुपर्छ।
दुई अभियानको अन्तरसम्बन्ध: महिलामाथि हुने हिंसा कुनै अलग घटना होइन, यो असमान शक्ति सम्बन्ध, निर्णय तहमा महिलाको न्यून उपस्थिति र पितृसत्तात्मक संरचनाको परिणाम हो। त्यसैले ‘अनुपम अभियान’ र १६ दिने अभियान एक–अर्काका परिपूरक देखिन्छन्।
तुलनाको आधार: ‘अनुपम अभियान’ र १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानको मुख्य जोड निर्णय तहमा पहुँच, शक्ति संरचनाको रूपान्तरण, आत्मनिर्भरता, लैङ्गिक हिंसा रोकथाम, पीडित संरक्षण र कानुनी उपचारमा छ। १६ दिने अभियानले उठाउने हिंसाका सवाल र ‘अनुपम अभियान’को राजनीतिक तथा सामाजिक बहसलाई अझ यथार्थपरक बनाउँछ।
निष्कर्ष: नेपालमा लैङ्गिक न्यायको यात्रा केवल नारामा सीमित नराखी व्यवहार र संरचनामा उतार्न अन्तरपुस्ता संवाद अपरिहार्य छ। ‘अनुपम अभियान’को दीर्घकालीन शक्ति रूपान्तरणको दृष्टिकोण र १६ दिने अभियानको सघन सामाजिक ऐक्यबद्धतालाई जोड्न सके मात्र हरेक महिलाले डर, विभेद र हिंसामुक्त वातावरणमा मर्यादित जीवन जिउन सक्ने आधार तयार हुन्छ।


महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस