तमू ल्होछार : फाँसो फाल्ने, स्यो कैँ खान
११ पौष २०७७
•
९ मिनेट पाठ
तमू ल्होछार : फाँसो फाल्ने, स्यो कैँ खान
किंवदन्तीअनुसार गुरुङ जाति नौ महागुरु (पुरुष) र सात माङी (महिला अर्थात् आमा)का सन्तान हुन्। त्यसैले ल्होछारमा फाँसो फाल्ने काम सम्पन्न भएपछि तमू खेगीहरूले पुरुषलाई नौ र महिलालाई सातवटा गाँठो (सरा) भएको रखे डोरी (रिपा) लगाइदिन्छन्। रिपा बनाउन काँचो धागो प्रयोग गरिन्छ। तेल–बेसार दलेर रिपा बनाइन्छ। रिपा लगाइसकेपछि बल्ल ल्होछारको रमाइलो गर्ने परम्परा अर्थात् रमझम सुरु हुन्छ।




गुरुङ समुदायको मान्यतामा १४ पुसको रात सबैभन्दा लामो र चिसो हो। यस रात भँगेरो पनि तीनपटक मुर्छा पर्छ भनिन्छ। १५ पुससँगै दिन लामो हुँदै जान्छ। धर्तीमा नयाँ बोट–बिरुवा उम्रन थाल्छन्। वर्षको सबैभन्दा छोटो दिनको अन्त्य र लामो तथा न्यानो दिन आगमनको खुसियालीमा नयाँ वर्ष मनाउने परम्परा बस्यो। अन्ततः यही परम्परा नै ल्होछार अर्थात् नयाँ वर्ष हो। र, यो नै ल्होछारबारे अहिलेसम्मको सर्वस्वीकार्य मान्यता र परिभाषा हो।

काठमाडौंमा दुई दशकभन्दा लामो समयदेखि सार्वजनिक स्थानमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर ‘तमू ल्होछार’ मनाउने गरिएको छ। डेढ दशकदेखि त राजधानीको केन्द्रमा रहेको टुँडिखेलमै भव्य रूपमा तमू ल्होछार मनाइन्छ। प्रायः तमू ल्होछारमा प्रधानमन्त्रीलाई नै प्रमुख अतिथिका रूपमा निम्ता गरिएको छ। गत वर्ष भने काठमाडौंका तमू समुदायले ल्होछार पर्वको प्रमुख अतिथिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गरेका थिए।

अहिले विश्वव्यापी महामारीका रूपमा रहेको कोभिड–१९ को संक्रमण फैलन नदिन संसारभर ठूला भेला, सभा, सम्मेलन बन्द गरिएका छन्। नेपालमा पनि ठूलो संख्यामा भेला भएर गरिँदै, मनाइँदै आएका त्यस्ता चाडपर्व तथा कार्यक्रम प्रभावित बनेका छन्। त्यसैले यसपटक तमू ल्होछार औपचारिक तर सानो जमघटमा मनाइँदै छ। गुरुङ समुदायको केन्द्रीय तथा छाता संगठन ‘तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्’ले तीन दिनसम्म आ–आफ्नो घरमै दीपावली गरेर ठूलो जमघट नगरी ल्होछार मनाउन सर्कुलर जारी गरेको छ।

नेपालमा ल्होछार मान्ने फरक–फरक जातिले तीन फरक–फरक समय फरक नाममा ल्होछार मनाउँछन्। कतिले यसलाई ‘ल्होसार’ पनि भन्छन्। गुरुङ जातिले १५ पुसमा ल्होछार मनाउँछन्। यसलाई शास्त्रीय भाषामा ‘तोला ल्होछार’ भनिन्छ। ‘तमू’ पनि भनेर चिनिने गुरुङ जातिले मात्र मनाउने हुँदा १५ पुसको ल्होछारलाई केही वर्षयता तोला ल्होछारभन्दा पनि तमू ल्होछारकै नामले पुकारिन्छ र चिनिन्छ। तामाङ जातिले माघ शुक्लपक्ष प्रतिपदाका दिन ल्होछार मनाउँछन्। त्यसलाई सोनाम ल्होछार भनिन्छ भने फागुन शुक्लपक्ष प्रतिपदाका दिन शेर्पा जातिले मनाउने ल्होछारलाई ग्याल्बो ल्होछार भनिन्छ। यद्यपि नेपालमा ल्होछार मनाउने सबैले यसलाई नयाँ वर्षकै रूपमा मनाउँछन्।

ल्होछारसम्बन्धी किंवदन्ती

नेपालमा ल्होछार मान्ने वा मनाउने समुदाय प्रायः बौद्ध धर्मावलम्बी वा बौद्ध धर्मप्रति आस्था राख्छन्। त्यसैले ल्होछारबारे बौद्ध धर्मसँग सम्बन्धित किंवदन्ती पनि जोडिएको छ। जसअनुसार भगवान् गौतम बुद्धले आफू महापरिनिर्वाण हुने बेला विभिन्न पशुपन्छीलाई बोलाए। बुद्धलाई भेट्न १२ वटा विभिन्न पशु तथा पन्छी पुगे। त्यसरी बुद्धलाई भेट्न गएका सबै पशुपन्छीलाई एक–एक वर्ष सम्मान गर्ने परम्पराको थालनी भयो। ल्होछारको वर्गचक्रमा रहेका १२ विभिन्न पशुपन्छी नै महापरिनिर्वाणको समयमा बुद्धलाई भेट्न पुगेका पशुपन्छी हुन्।

बौद्ध धर्मसँग जोडिएको यो किंवदन्ती तामाङ समुदायमा बढी प्रचलित छ। १४ पुसको रात सबैभन्दा लामो हो भन्ने मान्यता गुरुङ समुदायको हो। जुन वैज्ञानिक तथ्य (वर्षकै सबैभन्दा लामो रात २२ डिसेम्बर)सँग धेरै नजिक छ। त्यस्तै, तामाङ जातिले मनाउने ‘सोनाम ल्होछार’लाई कृषकको ल्होछार र शेर्पाले मनाउने ‘ग्याल्बो ल्होछार’लाई राजाको ल्होछार पनि भनिन्छ। सोनाम ल्होछार र ग्याल्बो ल्होछार चाहिँ अधिक वर्षको समयमा सँगै पर्छ। ग्याल्बो ल्होछार पनि सोनाम ल्होछारकै दिन मनाइन्छ।

ल्होछार र खगोलशास्त्र

ल्होछारमा विभिन्न १२ वटा ल्हो (वर्ग) हुन्छन्– मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग। यी पशुपन्छी तमू ल्होको वर्गचक्रमा हुन्छ। तामाङ र शेर्पाको वर्गचक्रमा गाईको सट्टा गोरु, गरुडको सट्टा गिद्ध वा ड्रागन तथा मृगको सट्टा सुँगुर हुन्छ। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा. जगमान गुरुङको भनाइअनुसार वर्ग चक्रमा रहेका पशुपन्छीमा थोरै भिन्नता देखिनु गुरुङ जातिमा हिन्दुकरणको प्रभाव हो। हिन्दुले गाईलाई माता मानेका छन् भने गुरुङ जातिमा सँुगुर छुन वा सुँगुरको मासु खान वर्जित छ।

पूर्वीय दर्शन तथा हिन्दु परम्परामा राशिफल हुन्छ भने पश्चिमा परम्परामा पनि ‘जोडियक साइन’ (राशिफल) हुन्छ। हिन्दु परम्परामा नामको पहिलो अक्षरका आधारमा राशिफल निर्धारण हुन्छ भने पश्चिमा परम्परामा जन्मेको महिनाका आधारमा ‘जोडियक साइन’ निर्धारण हुन्छ। हिन्दु परम्पराको राशिफल र पश्चिमा परम्पराको ‘जोडियक साइन’ दुवै १२ वटै हुन्छन्। त्यसमा उल्लेख हुने चित्र पनि करिब मिल्दोजुल्दो छ। यता ल्होछारको वर्गचक्रका चित्र पनि करिब–करिब मिल्दोजुल्दो नै हुन्छ। संस्कृतिविद् गुरुङको भनाइअनुसार राशिफल, ‘जोडियक साइन’ वा ल्होछारको वर्गचक्रका चित्र आकाशमा देखिने ताराहरूको विशेष समूह (नक्षत्र) हुन्। जसको पृथ्वीमा कुनै न कुनै प्रकारको प्रभाव परेको हुन्छ।

वर्ष गणना र वर्ग चरित्र

ल्होछार मनाउने सबै समुदायले यस वर्ष मुसा ल्होलाई बिदाइ गरेर गाई/गोरु ल्होलाई स्वागत गर्दै छन्। ल्हो मान्ने समुदायको वर्ष गणना पनि ल्होअनुसार नै हुन्छ। हरेक १२ वर्षमा ल्होको एक चक्र पूरा हुन्छ र दोहोरिन्छ। आगामी १४ पुससम्म जन्मिएकाहरूको ल्हो मुसा हुन्छ भने त्यसपछि अर्को एक वर्षभर जन्मिएकाको ल्हो गाई हुन्छ। हिन्दु परम्परामा मेष राशिलाई पहिलो राशि मानिएजस्तै ल्होछारको वर्गचक्रमा सुरुवाती वर्ग मुसालाई मानिएको छ। त्यसैले सामान्यतः ल्हो गणना गर्दा सुरुमा मुसा ल्होबाट गन्ने चलन छ।  

हिन्दु परम्परा र आस्थाअनुसार राशिको प्रभाव मानिसको स्वभावमा पर्ने बताइन्छ। ल्होको वर्ग र वर्ग चरित्रको पनि यसरी नै विश्लेषण गरिएको हुन्छ। कुनै पनि व्यक्तिको स्वभाव तथा आनीबानीमा वर्गको प्रभाव हुने बताइन्छ। त्यसैले बाघ र बिरालो, कुकुर र बिरालो, गरुड र सर्प वर्ग भएकाहरूका बीचमा सकेसम्म वैवाहिक सम्बन्ध कायम गरिँदैन।

ल्होछार भोटेको चाड

ल्होछार नेपालमा गुरुङ, तामाङ, शेर्पा, ह्याल्मो, थकाली लगायत जातिले मनाउँछन्। ल्होछार चीनको स्वशासित क्षेत्र तिब्बतमा अझ बढी धुमधामका साथ मनाइन्छ। त्यस्तै, चीन र चिनियाँहरू पुगेको संसारका विभिन्न मुलुकमा पनि चिनियाँ नयाँ वर्षका रूपमा ल्होछार भव्य रूपमा मनाइन्छ।  

त्यसैगरी मंगोलिया, भियतनाम, कोरिया, भुटान, थाइल्यान्ड, बर्मालगायत देशमा पनि ल्होछार पर्व मनाइन्छ। ल्होछारलाई पुकार्ने नाममा भने विविधता भेटिन्छ।

गुरुङ जातिको पुख्र्यौली इतिहास तथा बसाइँ–सराइमा विद्यावारिधि गरेका डा. टेक गुरुङका अनुसार, गुरुङ जातिको पुर्खा हजारौँ वर्षअघि चीनको नासि–यि करिडोर हुँदै तिब्बतबाट नेपालको भूमिमा प्रवेश गरेका हुन्। गुरुङ जातिको वेद अर्थात् शास्त्र ‘प्ये’मा पनि गुरुङ जाति उत्तरबाट आएको उल्लेख छ। नेपालमा ल्होछार मान्ने सबै जातिको बसाइँ–सराइ नेपालको भूमिमा उत्तरबाटै भएको करिब–करिब स्पष्ट छ। हाम्रो सामान्य बुझाइमा तिब्बत अर्थात् उत्तर हिमालपारि भनेको भोट हो। त्यसैले ल्होछारलाई कहीँ–कहीँ भोटेको चाड भनेर पनि उल्लेख गरेको पाइन्छ।

फाँसो फाल्ने विधि

१५ पुस नयाँ वर्षको पहिलो दिन हो। त्यसैले १५ पुसको दिन आपसमा शुभकामना साटासाट गर्ने, आफन्तजनसँग भेटघाट गर्ने, मीठो–मसिनो खाने गरिन्छ। यो सामान्य परम्परा र प्रक्रिया हो। १४ पुसको रातलाई अघिल्लो र पछिल्लो कुनै पनि दिनमा गणना गरिँदैन। त्यसैले १४ पुसको राति जन्मिएका बच्चाको ल्हो चमेरो राख्ने पनि चलन छ। चमेरो अर्थात् न पशु, न पन्छी। आजकल भने मध्यरातअघि र पछिको समयअनुसार ल्हो राख्ने चलन छ।

ल्होछारको मौलिक परम्पराको कुरा गर्दा शास्त्रीय कार्य अर्थात् गुरुङ पुरोहित (तमू खेगी)हरूले गर्ने मुख्य कार्य १४ पुुसको राति हुन्छ। १४ पुसको मध्यरातमा फाँसो फाल्ने (दोष मन्साउने वा पन्छाउने) काम हुन्छ। यो कार्य तमू खेगीले गर्छन्। यसका लागि कोदोको पिठो ठिक्क तातो पानी हालेर मुछिन्छ। कहीँ कहीँ ढिँडो पकाएकै रूपमा पकाउने चलन छ। त्यो ढिँडोको डल्लोबाट १२ वटै ल्होको प्रतिमूर्ति अर्थात् कैँदु बनाइन्छ। ती कैँदुलाई मान्द्रो वा भकारीको टुक्रामा राखिन्छ। यसलाई फा अर्थात् दोष भनिन्छ। नजिकै एउटा पाथीमा कोदो भरेर त्यसमाथि पनि अर्को कैँदु राखिन्छ, जसलाई रक्षक कैँदु भनिन्छ।

मध्यरात हुनै लाग्दा तमू खेगीहरू पच्यु, क्लेब्री लगायतले फाँसो फाल्ने मन्त्र भन्न थाल्छन्, यो मन्त्र मुखाग्र हुन्छ। त्यसैले गुरुङ जातिको वेद (प्ये)लाई थुतरी अर्थात् थुतुना (मुखमै कण्ठ भएको) वेद पनि भन्ने गरिन्छ। यद्यपि आजकल लेख्य रूपमा पाइन थालेको छ। फाँसो मन्त्र पढिसकेपछि कैँदु राखिएको मान्द्रो वा भकारीको टुक्रालाई धकेलिन्छ। त्यस क्रममा कैँदुहरू दायाँ–बाँया ढल्छन्। कैँदु त्यसरी ढल्दा कुन दिशातिर वा कुन कैँदु भएकोतिर ढलेको छ, सोही आधारमा आउने वर्ष कुन वर्गलाई शुभ वा अशुभ छ हेर्ने गरिन्छ।

गुरुङ जातिको उत्पत्तिको किंवदन्तीअनुसार गुरुङ जाति नौ महागुरु (पुरुष) र सात माङी (महिला अर्थात् आमा)का सन्तान हुन्। त्यसैले ल्होछारमा फाँसो फाल्ने काम सम्पन्न भएपछि तमू खेगीहरूले पुरुषलाई नौ र महिलालाई सातवटा गाँठो (सरा) भएको रखे डोरी (रिपा) लगाइदिन्छन्। रिपा बनाउन काँचो धागो प्रयोग गरिन्छ। तेल–बेसार दलेर रिपा बनाइन्छ। रिपा लगाइसकेपछि बल्ल ल्होछारको रमाइलो गर्ने परम्परा अर्थात् रमझम सुरु हुन्छ।

ल्होछारको अर्को महत्वपूर्ण परम्परा स्यो कैँ (उठाएको भात) खानु हो। ल्होछारको दिन घर–घरबाट चामल, दाल संकलन गरेर युवायुवतीले घरबाहिर वननजिकै गएर वनभोज खान्छन्। सामान्यतः स्यो कैँ खाँदा घरबाट संकलन सामग्री केटीहरूले र बजारबाट किन्नुपर्ने सामान केटाहरूले ल्याउने चलन छ। यस्तो खालको वनभोज अन्य समयमा पनि खाने चलन छ। तर ल्होछारमा खानेलाई मात्र स्यो कैँ भनिन्छ, जुन मौलिक परम्परा हो। आजकल स्यो कैँ खाने चलन यदाकदा मात्र पाइन्छ।

ल्होछार र अधिकार प्राप्तिको आन्दोलन  

पछिल्लो समय विश्वभर नै चाडपर्व वा यस्ता विशेष समारोहलाई अधिकार प्राप्तिको आन्दोलन वा सचेतनासँग जोड्ने गरेको पाइन्छ। नेपालमा पनि खासगरी ०४६ सालमा आएको राजनीतिक परिवर्तनपछि ल्होछारलाई गुरुङ समुदायले कहीँ न कहीँ अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको पाइन्छ। प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका नेतालाई निम्ता गरेर सामूहिक ल्होछार मनाउनुको पछाडि पनि यही उद्देश्य लुकेको छ। अधिकार प्राप्तिका लागि दबाब दिँदै सामूहिक ल्होछार मनाउँदै जाँदा ०५८ सालमा तत्कालीन सरकारले १५ पुसमा गुरुङ जातिलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

०६२/६३ को जनआन्दोलनपछि नेपालका सबैजसो प्रमुख जातिको चाडपर्वमा सरकारले सार्वजनिक बिदा दिन थाल्यो। तर, देश संघीयतामा गएर प्रदेश सरकार गठन भएसँगै सरकारले अधिकांश जातिको पर्वमा दिँदै आएको त्यस्तो सार्वजनिक बिदा कटौती गरेको छ। जसका कारण ती जाति आन्दोलित छन्। गुरुङ जाति पनि आन्दोलित छ। गत वर्ष विभिन्न जिल्लाका प्रशासन कार्यालय घेराऊदेखि राजधानीमा माइतीघर मण्डलामा धर्नासमेत गरिएको थियो, यस वर्ष भने कोभिड–१९ का कारण औपचारिक रूपमा आन्दोलनका कुनै पनि कार्यक्रम घोषणा गरिएको छैन। स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएसँगै गत वर्षदेखि केही स्थानीय तहले सम्बन्धित पालिका क्षेत्रमा स्थानीय पर्वको सार्वजनिक बिदा दिन थालेका छन्। यसरी ल्होछारमा पनि तीन दिनसम्म सार्वजनिक बिदा दिइएको पाइएको थियो।
अर्को समाचार
जनकपुरधाममा झूलन परम्परा
०५ भदौ २०७८
•
५ मिनेट पाठ
जनकपुरधाममा झूलन परम्परा
दृश्य एक




सयौंको संख्यामा दर्शनार्थी जानकी मन्दिरमा झूला (मिथिलाञ्चलमा झूलन भन्ने गरिन्छ) हेर्न झुम्मिरहेका छन्। मुख्य मन्दिरको प्रकोष्ठ परिसरमा सजाइएको झूलन कार्यक्रमलाई एक झलक हेर्न धकमधुक्की गरिरहेका दर्शनार्थी व्यवस्थित गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ। दर्शकहरू बीचबीचमा ‘श्रीराम चन्द्र की जय’, ‘सियासुकुमारी की जय’ भन्दै तलको पौदानबाट आफूलाई उचाल्दै अगाडिको पौदानमाथि कब्जा जमाउँदै अगाडि बढ्दैछन्। जसरी पनि राम लला र माता सीताको झुल्दै गरेको स्वरूप हेर्ने रहर मेटाउनुपर्ने।

भित्र कुनै नचनियाँ पार्टी झूला, मलार बाह्रमासा आदि गाउँदै दर्शकहरूलाई मनोरञ्जन गराउँदैछन्। शास्त्रीय विधाका सामान्य ठुमरी गीतको नाचमा रमेका नचनियाँको गायन बाहिर आउन संघर्षरत भीडलाई झनै उत्तेजित पार्दैछः  

बरिसन चाह बदरबा हे उधो !  

खन बरिसय, खन दामिनी दमसय  

खन–खन बहय बयरबा हे उधो !  

पुरा मन्दिर परिसर भक्तिमय भइसकेको छ। चारैतिर एउटा श्रद्धा, आनन्द र शान्तिको माहोल छ। (यो दृश्य केही दशकअघिको हो)

दृश्य दुई

जानकी मन्दिरमा झुलनोत्सव हुँदैछ। प्रकाश कमजोर छ। महन्थजीको अनुहारमा त्यो चमक छैन। आयको सम्पूर्ण स्रोत अरगजा र तेलहा मोरहाको डिलमा बनेका दर्जनौं पक्की घरका डिल सफाइका नाउँमा भत्काइएको छ। मात्र चढौनाको आस, त्यो पनि कति ? कसैलाई थाहा हुन्न। महन्थजीको अनुहारमा उदासी भए पनि मानिसमा उत्साहको कमी छैन। तर, त्यस्ता उत्साही मानिसको संख्या निकै थोरै छ। पहिलेको नाचगान छँदैछैन। न त ती देवी न त्यो कराही। तब झूलाको विधि पूरा गर्ने काम मात्र भइरहेको छ।  

यी दुवै दृश्यबाट जनकपुरधामको झुलनोत्सवको तीन दशकभित्रको कथा स्पष्ट हुन्छ। पहिले जनकपुरका दर्जनौं कुटीमा झूलाको कार्यक्रम हुने गर्थ्यो। जानकी मन्दिरमा शास्त्रीय नाचगान। रामन्दिरको झूलाघरमा फिल्मी नाचगान। त्यस्तै सरन्चिया, बहुअर्वा कुटीमा छोकरबाजी नर्तकहरूको कमाल। रत्नसागर, विहारकुण्ड, रामानन्द आश्रम आदि महत्त्वपूर्ण कुटीहरू हुन्। उता मानिसहरू उत्साहित भएर झूला देख्न जाने गर्थे र नाचगानको आनन्द उठाउँथे। अब त त्यो बितेका दिनको कथा हुन गएको छ। झूलाको आयोजन प्रत्येक वर्ष साउन द्वितीयादेखि पूर्णिमासम्म हुने गर्दछ। सिंहासनमा रामजानकीको मूर्ति राखिन्छन्। रेशमको डोरीले तानेर निरन्तर हल्लाउने गरिन्छ । नाचगानसहित भक्ति अध्यात्मको माहोल हुन्छ।

झूला कसरी व्यवस्थित गर्ने ?

अब भिडभाडको जमाना रहेन। त्यसैले आधुनिक प्रविधिको उपयोग गर्दै दर्शक, श्रोताको अध्यात्मिक तुष्टिका लागि पनि झूला महोत्सवको भव्य व्यवस्थापन गर्न सकिन्छ। यसमा जानकी मन्दिरअगाडि मणिमण्डप अर्थात् मणिजडित पहाडको दृश्य निर्माण गरी त्यहाँ झूलामा रामसीताको आकर्षक मूर्ति राखेर झुलाउँदै गर्दाको मनोरम दृश्य निर्माण गर्न सके यसले आकर्षण बढ्ने पक्का छ। साथसाथै स्वास्थ्यसम्बन्धी निर्देशन पनि पालना हुन्थ्यो। तर, यो गर्ने कसले ?

यसैबीच जानकी मन्दिरको विद्युतीकरणका नाउँमा करोडौं रकमको योजना कार्यान्वयनमा अनियमितताको आरोप लागिरहेको छ भने विश्व सम्पदा सूचीमा सूचीकृत हुने बाटोमा रहेको मन्दिरको स्वरूपसमेतमा आघात पुग्ने काम हुन लागेको नागरिक समाजको ध्यानाकर्षण सम्बन्धित निकायमा गराइएकाले त्यसको छानबिनका लागि प्रदेश सरकारले समिति बनाएर आवश्यक कारबाही अगाडि बढाएको छ।

यहाँका मूर्त–अमूर्त सांस्कृतिक सम्पदाहरूलाई संरक्षण  सम्वर्द्धन गरेपछि यसको विशिष्टता बाहिर जान्छ। अनि सबैखाले पर्यटक यसबाट लाभान्वित हुन यहाँ आउँछन्। राम मन्दिरको झूला पनि नामी हुने गथ्र्याे। यसका लागि छुट्टै भवनको व्यवस्था गरिएको थियो। नाम थियो झूलाघर। अब यो पनि बितेको दिनकै कथा भइसकेको छ। अब आफ्नै घेराभित्र झूलाको विधिविधान सम्पन्न गर्ने गरिन्छ।

झूलाको प्रारम्भ

वास्तवमा झूलाको प्रारम्भ सन्त परम्पराको सुरुवातसँगै भयो। सन्तहरू खुला चौरमा अथवा कुनै रूखको छायामुनि बास बसिरहँदा आफ्नो झोलामा श्रद्धापूर्वक  राखिएको शालिग्रामलाई सानो आसनमा  राखी हल्लाउँथे। यो क्रम आजसम्म जारी छ। सन्त सम्प्रदायको गढ मानिएको अयोध्या  र कृष्ण सम्प्रदायको गढ मानिएको वृन्दावनबाट यो झूला मिथिलाको यस प्राचीन नगरी जनकपुरधाममा आएको हुनुपर्ने अनुमान स्थानीय सन्तहरूको छ।

भनिन्छ, जब सीताजीको बिहे भएपछि माइतीबाट ससुराली बिदाइ हुँदा मैथिल परम्परा अनुसार दाइजोमा जेजति सोना, मणि, आभूषण दिइएको थियो, त्यसलाई उता अयोध्याको महलमा  राख्न ठाउँ पुगेन, त्यसैले ती सबै बहुमूल्य सामग्री बाहिर  राख्नुपरेको थियो। ती  राखिएका सामग्री पहाडजस्तो आकार लिन पुग्यो  रे ! मणि–माणिक्यको त्यस पहाडमा  रामसीता साउनमा झूलामा  रमाउने गर्थे। त्यसैकोे अनुश रणमा जनकपुरधामको बाह्रबिघामा झूलाको प्रारम्भ भएको दिन सबै मठमन्दिरका मूर्तिसहित आएका सन्तमहन्थ झूलाको आयोजन प्रथम दिनमा उल्लासपूर्वक गर्छन्, जसलाई मणिमण्डप भनिन्छ।

पहिले त ५२ वटा कुटीबाट युगल मूर्तिको आसन आउने गथ्र्याे। भव्य मेला लाग्थ्यो। अब त जनकपुरवासी मणिमण्डप पनि बिर्सन थालेका छन्। तर पनि सन्तमहन्थले यो परम्परा कायम राखेकै छन्।

अयोध्या  र वृन्दावनतिर हुने झूला जनकपुरधाममा जानकी मन्दिरको निर्माणपछि मात्र व्यवस्थित भएको पुराना सन्तहरू भन्थे, जसको आदि स्रोत जानकी मन्दिरका प्रथम महन्थ महात्मा शूरकिशोर दास थिए। महात्मा शूरकिशोरको जनकपुर आगमनको समय सन् १७६० मानिएको छ। अर्थात्, २ सय ६१ वर्षपूर्व यहाँ झूलाको प्रारम्भ भइसकेको थियो। तर यसलाई व्यवस्थित गरे मौनी बाबाले। उनी जनकपुरधामको आध्यात्मिक विकासका पुरोधा व्यक्तित्व हुन्।

झूलाप्रतिको आकर्षणमा कमी हुँदै गएको छ। जानकी मन्दिरबाहेकका मन्दिर अब त्यति व्यवस्थित रहन सकेनन्। सन्तमहन्थका नाउँका जग्गा बिक्रीको खेलले मन्दिरहरूको आकर्षणमा व्यापक कमी ल्याएको छ। त्यसमा झन् विगत दुई वर्षदेखि कोरोनाको प्रकोपले गर्दा झूला आयोजनामा कटौती हुँदै गएको छ।

तर पनि सन्त सम्प्रदायको एउटा धार्मिक अनुष्ठानका रूपमा झूलाको निरन्तरता जारी छ, अति सामान्य रूपमा । 
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २६ सेकेन्ड अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
यो पनि पढौँ
सालीनदीमा भक्तजन
निमेष पौडेल निमेष पौडेल • · ०८ फागुन २०७७ · ५ मिनेट पाठ
गुरुङको रोधीं
मनिराज गुरुङ मनिराज गुरुङ • · २४ माघ २०७७ · ९ मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस