देखिएको हैदराबाद, भोगिएको नेपाल
२२ असार २०८२
•
९ मिनेट पाठ
देखिएको हैदराबाद, भोगिएको नेपाल
भारतको दक्षिण–मध्यभागमा रहेको तेलङ्गना राज्य सन् २०१४ जुन २ मा बनेको हो। त्यहाँका २९ मध्ये कान्छो यो प्रदेशले छोटो समयमै गरेको विकास र त्यसको गतिले धेरैलाई प्रेरणा दिएको छ। यो राज्य पाँच दशक लामो सङ्घर्षपछि बनेको थियो, तर एक दशकमै त्यो सङ्घर्षको उद्देश्य पूरा गर्न देखाएको तत्परता हाल भारतभित्रै उदाहरणीय बनेको छ।




यहाँको समावेशी विकास, प्रविधि र नवप्रवर्तन, सांस्कृतिक सहिष्णुता र राजनीतिक स्थायित्वबारे धेरै नेपालीले सुनेका छन्। नेपालका केही सञ्चारकर्मीले हालै (१५–२८ जुन) दुई साता लामो पत्रकारिता र जनसम्पर्कसम्बन्धी तालिममा त्यसलाई नजिकबाट देखेर फर्किएका छन्। त्यसमा यो लेखक पनि सहभागी थियो। दक्षिण अमेरिकी, अफ्रिकी र एसियन गरी विभिन्न १५ देशका प्रतिनिधिले त्यहाँको सङ्घीयता यात्रा बुझ्ने अवसर पाए।

देखिएको हैदराबाद: सङ्घर्ष र सफलता
जानकारका अनुसार तेलगु भाषी बाहुल्य यो क्षेत्र तत्कालीन निजाम शासक (मुस्लिम शासन) ले बनाएको हैदराबाद राज्यको हिस्सा थियो। भारत स्वतन्त्र भएपछि यो क्षेत्र सन् १९४८ देखि हैदराबाद राज्यकै रूपमा रह्यो। पछि सन् १९५६ मा आन्ध्र प्रदेशमा गाभियो, तर यहाँका जनताले आफ्नो आत्मसम्मान, विकास र पहिचान संरक्षणको अनुभव गरेनन्। त्यसैले सामाजिक न्याय, क्षेत्रीय समानता र स्थानीय अधिकारका लागि छुट्टै प्रदेशको माग गर्दै सन् १९६९ देखि ‘जय तेलङ्गना आन्दोलन’ सुरु भयो। विभिन्न चरणका आन्दोलन, सम्झौता र आन्दोलन हुँदै अन्तत: छुट्टै राज्य बन्यो। यही प्रदेशको राजधानी हो, हैदराबाद।

सन् १५९१ मा मुहम्मद कुली कुतुब शाहले बनाएको यो सहर इतिहास र भविष्यको सङ्गमजस्तै लाग्छ–जहाँ एकातिर चारमिनार, गोलकोँडा किल्ला, उर्दू संस्कृति र सभ्यताले परम्पराको झल्को दिन्छ। अर्कातिर, हाइ–टेक सिटी, साइबराबाद, नलेज सिटी र स्टार्टअप हबले आधुनिक समयको गति बोक्छ।

यो लेखकलाई पनि लाग्छ– त्यहाँ इतिहासको संरक्षण र भविष्यको निर्माण सँगसँगै भइरहेको छ। त्यहाँका जनता र राजनीतिक दलले अधिकारपछि दायित्व र जिम्मेवारी पनि बुझ्नुपर्छ भन्ने सन्देश दिएका छन्।

राजधानी सहर हैदराबादले १० वर्षसम्म (सन् २०२४ सम्म) आन्ध्र प्रदेशसँग साझा राजधानी बाँड्यो। यसले त्यहाँको सहिष्णुता र समन्वयको व्यावहारिक सन्देश दिएको छ। यही समन्वयले यो क्षेत्रलाई देशकै बलियो आर्थिक मेरुदण्डका रूपमा स्थापित गरेको छ। जसले भारतको दक्षिण–मध्यभागबाट सूचना प्रविधि, अनुसन्धान, शिक्षा, स्वास्थ्य र स्टार्टअप क्षेत्रमा महत्त्वपूर्ण सन्देश दिइरहेको छ। गुगल, माइक्रोसफ्ट, फेसबुक र अमेजोनजस्ता विश्वका ठूला कम्पनीले यही क्षेत्र रोजेका छन्, जसले हैदराबादलाई भारतको अग्रणी प्रविधि सहर बनाउन सघाएको छ।

तालिमको समापनमा तेलङ्गना राज्य प्रमुख जिस्नुदेव वर्मा विकासमा गतिमात्रै होइन, यो सहरले उत्तर र दक्षिण भारतलाई सांस्कृतिक रूपमा पनि जोड्ने उदाहरण दिँदै थिए। उनले भने, ‘यहाँको सांस्कृतिक सहिष्णुता, भाषा र खानपानको विविधता भारतीय एकताको उदाहरण हो। तेलङ्गना आन्दोलनको ऐतिहासिक भूमि भए पनि यसले सहिष्णुता, समावेशी विकास, स्थायित्व र दूरदर्शिता देखाएको छ। विविध भाषा, धर्म, संस्कृति र पहिचानका हिसाबले यो क्षेत्र “मिनी भारत” हो, तर यहाँ सबै स्वतन्त्र, खुसी र सहिष्णु छन्।’

यो लेखकसँगको कुराकानीमा त्यहाँको ‘सेन्टर फर हुमन सेकुरिटी स्टडिज’का संस्थापक डा रमेश कन्नेगान्टीले भने, ‘हैदराबाद केवल तेलङ्गनाको राजधानी मात्र होइन, भारतको आत्मविश्वास, सम्भावना र समावेशी सोचको प्रतीक हो।’

तालिमको अध्ययन भ्रमणमा गोलकान्डा, चारमिनार, मक्का मस्जिद, सलारगञ्ज म्युजियम, वाराङ्गल, हुसेन सागर, लुम्बिनी पार्क, पचम्पल्लीजस्ता सांस्कृतिक क्षेत्र र टि–हब, बिर्ला प्लानेटोरियम, विज्ञान सङ्ग्रहालय, तेलङ्गना एकीकृत प्रहरी कमाण्ड एण्ड कन्ट्रोल सेन्टर, ट्राइबल वेलफेयर म्युजियम, इण्डियन विजनेस स्कूल हेर्दा लाग्यो–हैदराबादमा दुई समय छन्। एउटा समय, जहाँ गोलकान्डा, चारमिनार र ऐतिहासिक सभ्यताले इतिहास बोल्छ। अर्को समय, जहाँ स्टार्टअप, साइबर सिटी र साइबर हबले विश्वग्राममा नयाँ भविष्य बोकेका छन्।

यो सहर सूचना प्रविधिमा भारतको दोस्रो ठूलो आइटी निर्यातकर्ता हो। ‘दी टाइम्स अफ इन्डिया’को अनलाइन संस्करणमा सन् २०२४ जुन १२ मा प्रकाशित समाचारअनुसार हैदराबाद एसियाका शीर्ष २० स्टार्टअप हबमध्ये एक हो। सन् २०१४ मा यहाँ करिब २०० स्टार्टअप थिए, सन् २०२४ मा यो सङ्ख्या सात हजार ५०० भन्दा बढी पुग्यो। यसले स्टार्टअप विकास, लगानी आकर्षण, प्रतिभा सञ्चय, बजार पहुँच र ज्ञानमा सन्तुलित र तीव्र वृद्धि देखाएको छ।

सोही अनलाइनमा ८ जुन २०२५ मा प्रकाशित सामग्रीअनुसार यहाँ भारत सरकारअन्तर्गतको निकाय एसटिपीआइमा दर्ता भएका आइटी कम्पनीले सन् २०२४–२५ मा एक खर्ब ४२ अर्ब भारतीय रूपैयाँ बराबरको सफ्टवेयर बिक्री गरे।

यहाँका हाइटेक सिटी र जिनोमी भ्यालीजस्ता प्रविधि केन्द्रमा पाँच लाखभन्दा बढीले काम गर्छन्। यो सहर विश्वका शीर्ष १० आउटसोर्सिङ गन्तव्यमध्ये एक हो। भारतीय समाचार समिति पिटिआइअनुसार विश्वका दश गन्तव्यमा हैदराबाद दोस्रो स्थानमा छ।

‘दी न्यू इण्डियन एक्सप्रेस’ (१८ फेब्रुअरी २०२५) को समाचारअनुसार गएको १० वर्षमा यो राज्यको कूल गार्हस्थ उत्पादन (जिडिपी) १९६.९ प्रतिशतले बढ्यो, जबकि समग्र भारतको जिडिपी १३६.८९ प्रतिशतले बढ्यो। तेलङ्गनाको अर्थतन्त्र सन् २०२३–२४ मा करिब १८० अर्ब अमेरिकी डलर छ, जुन पछिल्लो पाँच वर्षमा वार्षिक औसत ११.४ प्रतिशतको वृद्धिदर हो। कतिपयले हैदराबादले यसमा करिब ५० प्रतिशत योगदान गरेको बताउँछन्।

एमसीआर मानवस्रोत विकास संस्थाका डा माधवी राभुलापतिले विगतको सभ्यताको जगमा वर्तमान हैदराबाद निर्माणमा यहाँका विविध धर्मावलम्बी, नागरिक, राजनीतिकर्मीलगायत सबैको इमानदार योगदान रहेको बताए। उनले भने, ‘भारत सङ्घीय गणराज्य हो। विविध भाषा, संस्कार, संस्कृति, भौगोलिक विविधता भए पनि देशप्रतिको साझा समर्पणले “ग्रेट इण्डिया” बन्न सफल भइरहेको छ। यस्तै विविधता हैदराबादमा पनि छ, तर विविधतामा एकता, नवनिर्माणको जोश, नवीन सोचले भारतभित्र हैदराबादले छुट्टै पहिचान बनाइरहेको छ।’

भोगिएको नेपाल
नेपाल पनि लामो सङ्घर्षपछि सङ्घीय प्रणालीमा गएको हो। संविधानसभाबाट संविधान बनेको १० वर्ष र सङ्घीय व्यवस्था कार्यान्वयनको आठ वर्ष भयो, तर देशले स्थायित्व र विकासको स्पष्ट ‘लय’ समात्न नसकेको गुनासो छ। तालिममा सहभागी ‘जेनजी’ पुस्ताका किरण पौडेललाई पनि यस्तै लाग्छ। हत्केलाको मोबाइलबाट संसार हेरेपछि उनले भने, ‘हाम्रो विकासको गति किन यति सुस्त ?’

यो प्रश्न पौडेलको मात्र होइन, आम नेपालीको हो। दुई हप्ता हैदराबाद बसेर फर्किएपछि उनले आंशिक उत्तर पाए। उनले भने, ‘भारतको कान्छो प्रदेश हेर्दा हामी विकासको मोडल र नीतिमा अस्पष्ट छौँ कि ! हाम्रो विकास मोडल आधुनिक सङ्घीय नेपाल सुहाउँदो छैन कि ? त्यसैले आधुनिकीकरणलाई समावेशी, दिगो विकासलाई सन्तुलित बनाउने विषय हैदराबादबाट सिक्न सकिन्छ।’

हैदराबाद र नेपालका धेरै कुरा मिल्छन्। यहाँ सङ्घीयताका लागि सङ्घर्ष र बलिदानी गर्नुपरेको छ। त्यहाँ पनि पाँच दशक लामो आन्दोलनपछि छुट्टै प्रदेश बन्यो। हैदराबादमा विगतमा निश्चित वंशपरम्पराको शासन थियो, नेपालजस्तै।

त्यहाँ छुट्टै प्रदेशको अभ्यास र अपनत्व महसुस भएको १० वर्षमात्र भयो, यहाँ पनि त्यसकै हाराहारी। फरक यति हो, हैदराबादमा राजनीतिक स्थायित्व छ। त्यहाँ १० वर्षमा दुई मुख्यमन्त्री (तीन कार्यकाल) मात्र भए। नेपालमा भने पटकपटक सत्ता परिवर्तन भए। त्यसले नीतिगत र योजनाले निरन्तरता पाउन सकेन। त्यहाँ नयाँ प्रदेश खोज्नुको जवाफ कामबाट दिइयो, यहाँ नयाँ व्यवस्थाअनुसार व्यवहार देखाउन नसकेको आरोप छ। पौडेलले भने, ‘त्यहाँ प्रदेश नयाँ थियो, सोच पनि नयाँ। त्यसैले छोटो समयमै विकासको गति समात्यो। हामीकहाँ व्यवस्था नयाँ, तर सोच पुरानो। हामी गन्तव्य ठीक भएर पनि बाटोमै अल्मलिरहेका छौँ।’

सञ्चारकर्मी राज ढुङ्गानाले भने, ‘उनीहरूको लक्ष्य भूगोल मात्र थिएन, विकासको लक्ष्य पछ्याउने र विशाल भारतमा छुट्टै पहिचान बनाउने थियो। केन्द्र सरकारले प्रदेश सरकारको कदममा साथ दिएको छ, तर हामीकहाँ ? सङ्घीयता माग्ने प्रदेशले आफू छुट्टै हुनुको अर्थ प्रमाणित गर्ने प्रयाससमेत गरेका छैनन्। त्यसैले असन्तुष्टि, गुनासा र फरक स्वार्थको द्वन्द्व देखिन्छ।’

उनको बुझाइमा हामीसँग बलियो अर्थतन्त्र नभए पनि भएकै स्रोत कहाँ, कसरी र किन खर्च गर्ने भन्ने स्पष्ट सोच छैन। ‘विकास त फल हो, त्यसको जग त सोच हो ! हामीकहाँ सङ्घीयतालाई सत्ता बाँडफाँटको खेलजस्तो बनाइयो,’ ढुङ्गानाले भने, ‘विकास भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ, तर सोचेअनुसार भएको छैन।’

हैदराबाद देखेर आएका सञ्चारकर्मी सुरोजङ्ग पाण्डेले सही सोच र योजना भएमात्र गन्तव्यमा पुगिने बताए। ‘छुट्टै प्रदेश माग्नुको कारण प्रमाणित गर्ने दबाबमा थियो हैदराबाद, त्यस्तै दबाब नेपालमा पनि छ। त्यहाँ एउटा प्रदेशको कुरा थियो, यहाँ देशकै। त्यहाँ अधिकार मागेपछि सफल उदाहरण दिन सके, तर हामीले किन नसक्ने ?’ उनले भने, ‘हैदराबाद हेरेर धेरैका आँखा खुल्छन्। राजनीतिक स्थिरता, दूरदर्शी नेतृत्व, स्पष्ट लक्ष्य, साझा जिम्मेवारी मुख्य कुरा रहेछ।’

सङ्घीयता लागू भएपछि नेपालमा सरकारले १० नमुना आधुनिक सहर बनाउने घोषणा गरेको छ। काठमाडौंलगायत पुराना सहरले ट्राफिक र खानेपानीको चुनौती सामना गरिरहेका छन्। पाण्डे यिनै क्षेत्रलाई हैदराबादजस्तै योजनाबद्ध विकास गर्न सक्नुपर्नेमा त्यसो हुननसकेको बताउँछन्।

सञ्चारकर्मी सविका श्रेष्ठले भनिन्, ‘नेपालमा विकास भएको छैन भन्ने होइन, भइरहेकै छ। बस्ती विकास र सहरी योजना कार्यान्वयन भइरहेकै छन्, तर परिणाम हामीले देखिरहेका छौँ। सडक, सार्वजनिक यातायात, विकास पूर्वाधार, खानेपानी व्यवस्थापन अझै समस्या छन्। त्यसका लागि हैदराबादको “स्मार्ट सिटी” योजना, प्रविधि हब र सार्वजनिक यातायात प्रणालीबाट नेपालले धेरै सिक्न सक्छ।’ उनले थपिन्, ‘त्यहाँ सडक किनारको हरियाली, घरघरको बगैँचा र विद्युतीय शासनले सहरलाई व्यवस्थित र बस्नलायक बनाएको छ।’

यसबारे जिपी बिर्ला पुरातात्विक, खगोलशास्त्रीय तथा वैज्ञानिक अनुसन्धान संस्थाका निर्देशक डा के मृत्युञ्जय रेड्डीको भनाइ सान्दर्भिक छ। उनले आफ्नो संस्थाको भित्तामा भारत स्वतन्त्र भएलगत्तै नवनिर्माण सुरु हुँदै गर्दाका तस्बिर देखाउँदै भने, ‘एउटा मान्छेले साइकलको पछाडि नमुना मिसाइल बोकिरहेको छ। अर्को तस्बिरमा एप्पल उपग्रह गोरुगाडामा परीक्षणस्थल लगिँदै छ। त्यसबेला न्युजविक पत्रिकाले यसलाई “शताब्दीकै टक्कर” भनेर छापेको थियो। त्यतिबेला भारतसँग धेरै पैसा थिएन, तर नवीन सोच थियो, जसले अन्तरिक्षमा भू–उपग्रह प्रक्षेपणको बाटो खोल्यो। भारत आज कहाँ छ, तपाईंहरू देखिरहनुभएको छ।’

यिनै कुरा सङ्घीय नेपालले पनि खोजिरहेको छ। सञ्चारकर्मी ममता थापाले भनिन्, ‘सङ्घीयता सत्ता र शक्ति वितरणको उपाय मात्र होइन, यो विकासको अवसर पनि हो। हामीले यसलाई समयमै बुझेर व्यवहारमा लागू गर्नुपर्छ।’

सङ्घीयता शक्ति विकेन्द्रीकरण मात्र नभई नागरिक हित प्रवर्द्धन, उपलब्ध स्रोत र साधनको समुचित परिचालनको आधार हो। पौडेल, ढुङ्गाना, श्रेष्ठ र थापा मात्र होइन, त्यहाँ गएका नेपालका २२ प्रतिनिधिको साझा चिन्ता थियो, ‘नेपालले कागजमा सङ्घीयता अपनाए पनि सरकार, पार्टीका संस्कार, आचरण र अभ्यास त्यसअनुकूल छैनन्। यस्तो अवस्थामा व्यवस्था जतिसुकै राम्रो भए पनि त्यसको सफल कार्यान्वयन हुन सक्दैन।’ टिकाराम सुनार/रासस
अर्को समाचार
कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’
११ साउन २०८२
•
४ मिनेट पाठ
कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’
पोखरा महानगरपालिका-२५ झिझिर्कामा सञ्चालित माया इको भिलेज एकीकृत फार्म पछिल्लो समय व्यावसायिक कृषि गर्न चाहने जो कोहीका लागि प्रभावकारी पाठशाला बनिरहेको छ ।




एकै ठाउँमा कृषिका विविध गतिविधिबारे जान्न बुझ्न पाइने भएकाले देशका विभिन्न स्थानबाट समूहसमूहमा उक्त फार्ममा मानिस आउने गरेका छन् । फार्ममा आएका व्यक्तिलाई यहाँ भएका खेती तथा प्रयोग गरिएका विधि र प्रविधिका बारेमा प्रयोगात्मक तरिकाले जानकारी दिने गरिएको फार्म सञ्चालक मीनाकुमारी गुरुङले जानकारी दिइन्। 

विदेश बसाइँको करिब १६ वर्षको अनुभव सँगालेकी ५९ वर्षीया गुरुङ स्वदेशमा केही गर्नुपर्छ भन्ने सोंचका साथ व्यावसायिक कृषिमा लागेकी हुन्। उनीसँग जापानसहित हङ्कङ, ब्रुनाई, अमेरिका तथा बेलायतका विभिन्न अनुभव छन्। पछिल्ला आठ वर्षयता माया इको भिलेज एकीकृत फार्म सञ्चालन गर्दै आएकी उनको फर्ममा विभिन्न कृषक समूहका तालिहहरू सञ्चालन हुन्छन् । तालिमका सहभागीलाई उनी स्वयंले आफ्नो सिकाइका ज्ञान र अनुभव प्रदान गरिहेकी छिन्।

विभिन्न ठाउँमा कृषिसम्बन्धी औपचारिक तालिममा समेत सहभागी हुनुभएकी गुरुङलाई विभिन्न कृषि सम्बद्ध सङ्घसंस्थाले तालिमका लागि बोलाउने गरेका छन् । गुरुङको ३० रोपनी क्षेत्रफलमा फैलिएको एकीकृत कृषि फार्ममा सीताके च्याउ, काउली, बन्दा, लहरे तरकारी, भेडे खुर्सानी लगायत खेती भइरहेको छ ।

गुरुङले गड्यौला मलको उत्पादन गरेर बिक्री पनि गर्दै आएको बताइन्। घरका पाँच जनासहित अन्य सात जना गरी फार्ममा १२ जनाले नियमित रोजगारी पाएका जनाउँदै उनले समयसमयमा आवश्यकताअनुसार अरुलाई पनि रोजगारी दिँदै आएको बताइन्। फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट हालै तालिम सञ्चालन गर्ने भवन निर्माण प्रयोजनका लागि रु सात लाख ५० हजार अनुदान सहयोग प्राप्त भएको उनले जानकारी दिए।

केही गर्छु भन्ने सोंचका साथ आउने फार्म तथा कृषकलाई परियोजनाका तर्फबाट विभिन्न शीर्षकमा अनुदान सहयोग प्रदान गरिँदै आइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख माधव लम्सालले जानकारी दिए। परियोजनाबाट माया इको भिलेज एकीकृत फार्मलाई समयसमयमा विभिन्न शीर्षकमा अनुदान सहयोग प्रदान गरिएको बताउँदै उनले उक्त फार्म कृषिको सिकाइका लागि महत्त्वपूर्ण पाठशालाका रूपमा स्थापित हुँदै गएको बताए।

सञ्चालक गुरुङका अनुसार फार्ममा हेर्न र बुझ्न आउने व्यक्तिलाई प्रवेश शुल्क रु १०० निर्धारण गरिएको छ । फार्ममा राति सुत्न सक्नेगरी आवासीय व्यवस्था नरहे पनि दिउँसो भने आवश्यकताअनुसारको खाजा तथा खाना खुवाउने व्यवस्था मिलाइएको उनले जनाकारी दिए।

पछिल्ला समयमा पोखरा बजारबाट दिउँसो आएर फार्म अवलोकन गरी खाजा तथा खाना खाएर जानेक्रम बढिरहेको बताउँदै गुरुङले फार्मले खाजा खानासहित अवलोकन गराउने गरी रु दुई हजारको ‘प्याकेज’ निर्धारण गरेको जानकारी दिए।

फार्मभित्र विभिन्न प्रजातिका फलफूल तथा तरकारीसँगै भैँसीपालन, बाख्रापालन, लोकल कुखुरापालनलगायत कृषिसम्बन्धी गतिविधि अवलोकन गर्न सकिन्छ । “त्यस्तै विभिन्न ११ वटा टनेल निर्माण भएका छन् । जसमध्ये तीन वटा टनेल च्याउखेतीका लागि छन् भने बाँकीमा तरकारीखेती गरिएको छ”, गुरुङले भने। फार्ममा आइसकेपछि कृषिका विविध पक्षलाई बुझेर सहभागी हरेकले यसलाई आफू स्वयंले व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन भन्ने उद्देश्य राखिएको उनले बताए।

एक जना कृषकले अर्को कृषकसँगको अनुभव साटासाट गर्नाले धेरै ज्ञान तथा सीप प्राप्त हुने बताउँदै गुरुङले त्यो संस्कार वृद्धि गर्नुपर्नेमा जोड दिए। प्राङ्गारिक खेतीले माटोको उर्वराशक्ति पनि राम्रो बनाउने र त्यसबाट उत्पादित वस्तु पनि स्वस्थकर हुने भएकाले यसतर्फ सबै लाग्नु अपरिहार्य भएको उनको भनाइ छ । व्यावसायिक तरकारीखेतीसँगै पशुपालनलाई पनि समेटिएर एकीकृत कृषि गर्न सकिएमा उत्पादन पनि राम्रो लिन सकिने र त्यसरी उत्पादित वस्तु खाँदा मानवीय स्वास्थ्यमा पनि नबिग्रने उनको अनुभव छ ।

प्रशस्त उत्पादनसँगै यसबाट भरपुर उपयोग लिनका लागि एकीकृत कृषि आवश्यक रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत माधव लम्सालले बताए।

“पशुपालन र तरकारीखेती सँगसँगै गर्न सकिएमा शुद्ध प्राङ्गारिक उत्पादन गर्न सकिन्छ”, उनले भने, “प्राङ्गारिक मलको प्रयोगगरी गरिएका उत्पादनले मानवीय स्वास्थ्यमा पनि नकारात्मक असर गर्दैन ।” एकीकृत कृषितर्फ आकर्षण बढाउँदै जानुपर्नेमा जोड दिँदै उहाँले माया इको भिलेज फार्म यसको उदाहरण बनेको धारणा राखे।  
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस