अविरल वर्षापछि पहिरो झरेर दुई दिनयता पूर्ण रूपमा बन्द रहेको मेची राजमार्ग मर्मतको काम स्थगित गरिएको छ। राजदुवाली–गोलाखर्क खण्ड मर्मत गर्दा माथिबाट पहिरो आएर झनै जोखिम बढ्ने भएपछि काम रोकिएको हो।
शुक्रबार मर्मत गर्ने क्रममा नै यो राजमार्ग करिब ३० मिटर भाग पहिरो गएपछि सवारीका साधन पूर्ण बन्द थिए। मेचीको ‘लाइफ लाइन’ मानिने सडक अवरुद्ध हुँदा झापासँग इलाम, पाँचथर र ताप्लेजुङको यातायात सम्पर्क टुटेको छ।
दसैंको मुखमा राजमार्ग क्षतिग्रस्त भएपछि सयौं यात्रुले दुःख पाएका छन्। यी तीन जिल्लामा खाद्यान्न, पेट्रोलियम लगायत दैनिक उपभोग्य सामग्री ल्याउनसमेत समस्या भएको इलाम उद्योग वाणिज्य संघले जनाएको छ।
शुक्रबार र शनिबार दिनभर मर्मत गर्दा अझ माथिल्लो भाग जोखिमपूर्ण भएपछि काम रोकिएको सडक डिभिजन कार्यालय प्रमुख पवन भट्टराईले जानकारी दिए। ‘यो खण्डको एक किलोमिटरभित्र दर्जनौं ठाउँमा पहिरोको जोखिम छ, गोलाई धेरै वटा भएकाले एक ठाउँ बनाउँदा अर्को ठाउँमा खतरा पुगिहाल्छ,’ उनले भने, ‘पानी आयो भने ठुलो पहिरोको खतरा छ।’
अब यो राजमार्ग मर्मतको काम के हुने भन्ने अन्योल छ। अहिले यात्रुहरू मेची राजमार्ग नै भएर माइखोला सम्म आउने, इलाम बजारबाट पनि गाडीमा पहिरो झरेको ठाउँसम्म जाने र करिब दुई सय मिटर पैदल हिँडेर यात्रा गरिरहेका छन्।
यसबाहेक वैकल्पिक सडकका रूपमा इलामबाट तिल्केनी–माइखोला–हात्तीसार–शुक्रबारे–गुप्ती–फिक्कल हुँदै यात्रुहरू यात्रा गर्दैछन्। तर, वैकल्पिक सडकमा साना सवारीका साधन चले पनि मालवाहक साधन चल्ने अवस्था छैन।
अविरल वर्षापछि आएको बाढीका कारण मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, तमोर करिडोरसहित पाँचथरका अधिकांश सडक अवरुद्ध भएका छन्।
गए रातिदेखि परेको वर्षाका कारण आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा निर्माण गरिएको डाइभर्सनमा क्षति पुर्याएपछि राजमार्ग अवरुद्ध बनेको छ। हेंवा खोला पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा पर्छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार बाढी डाइभर्सनभन्दा माथिबाट बगेको छ। गत वर्षको असोज १२ गते आएको बाढीले यहाँ रहेको बेलिब्रिज बगाएपछि डाइभर्सनबाट सवारी साधन वारपार गर्दै आएका थिए। बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सम्पर्क विच्छेद भएको छ।
बाढीले द्रुतमार्गका रूपमा रहेको तमोर करिडोर सडकलाई अवरुद्ध बनाएको छ। पाँचथरको तुम्बेवा गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिकाको सीमामा रहेको उक्त खोलामा बाढी आएपछि सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था रहेको स्थानीय बासिन्दाले बताएका छन्। निर्माणाधीन यस सडकका अधिकांश खोला पुल निर्माण हुन बाँकी छ।
बाढीकै कारण पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम खण्ड अवरुद्ध भएको छ। याङ्वरक गाउँपालिका–२ दोभानेमा रहेको डाइभर्सन मेवा खोलामा आएको बाढीले बगाउँदा सडक अवरुद्ध बनेको छ भने याङ्वरक–३ स्थित रिजाल भिरमा पहिरो झरेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए।
यस्तै, पहिरोका कारण भेडेटार रवि राँके सडक पनि अवरुद्ध बनेको छ। फाल्गुनन्द गाउँपालिका–५ मगरभिर र मिक्लाजुङ गाउँपालिका–४ रवि बजारमा पहिरो झरेर सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ।
फिदिम-फालोट सडकअन्तर्गत फिदिम नगरपालिका–१ र ११ को सीमामा रहेको फेमे खोलामा रहेको डाइभर्सनमा पुग्ने पहुँचमार्ग बाढीले बगाएपछि उक्त सडक अवरुद्ध भएको छ। यहाँ निर्माण गरिएको डाइभर्सनमा भने क्षति नपुगेकाले बाढी घट्नासाथ सडक निर्माण गरी यातायात सञ्चालन गर्ने प्रयास थालिएको छ।
यस्तै, पहिरोले मेची राजमार्गको पौवा भञ्ज्याङबाट रानीटार जोड्ने सडक अवरुद्ध भएको छ। फालेलुङ गाउँपालिका–३ र ७ को सीमास्थित घुमाउनेटारमा रहेको डाइभर्सनमा पनि बाढीले क्षति पुर्याउँदा सिदिन-मेमेङ सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यस्तै पहिरोले मिक्लाजुङ गाउँपालिका–२ रविस्थित इलाका प्रहरी कार्यालयको ‘डिउटी पोष्ट’ भत्काएको पाँचथर प्रहरीले जनाएको छ। रासस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...