अविरल वर्षापछिको पहिरोले पोखरा जोड्ने सबैतिरका राजमार्ग अवरुद्ध भएका छन्। वर्षाका कारण राजमार्गका ठाउँठाउँमा पहिरो खसेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बताएको छ। मुख्य राजमार्ग सहित भित्री सडक पनि पहिरो खसेर अवरुद्ध भएको प्रहरीले बताएको छ।
स्थलमार्गसँगै पोखरासँगको हवाई यातायात पनि पूर्णरुपमा अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ। वर्षाका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार बिहानैदेखि बन्द रहेको छ। विमानस्थलमा भिजिविलिटी अपुग भएको विमानस्थलले बताएको छ। अरुबेला बिहान ६ बजे नै खुल्ने विमानस्थलबाट शनिबार कुनैपनि उडान हुन नसकेको विमानस्थलले बताएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रवीन्द्र रेग्मीका अनुसार गण्डकी प्रदेशको मुकाम पोखरा सबैतिरको यातायात सञ्जालबाट बिच्छेद भएको छ। हवाई यातायात पनि हुन नसकेको उनले बताए। सिद्धार्थ र पृथ्वी राजमार्गमा बढी समस्या भएको उनले बताए।
उनका अनुसार बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको तनहुँस्थित आँबुखैरेनी गाउँपालिका–२ मा पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। स्थानीय प्रशासनले राजमार्गका विभिन्न ठाउँमा पहिरो झरेकोले वैकल्पिक मार्ग अपनाउन अनुरोध गरेको छ। त्यस्तै तनहुँकै म्याग्दे गाउँपालिका–६ मौरीमा पनि पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। मौरीमै सडकको हिलोमा फँसेका सवारीका कारण राजमार्गमा यातायात अवरुद्ध भएको थियो।
‘पहिरोले आवागमन रोक्ने नै भयो, बिस्तारको क्रममा रहेको राजमार्गमा माथिबाट लेदो बगेर आउँदा झनै समस्या थपिएको छ,’ रेग्मीले भने, ‘पहिरो गएको ठाउँमा खुलाउने प्रयास जारी छ। तर, एकैपटक धेरैतिर पहिरो खसेकोले राजमार्ग सुचारु गर्न सहज छैन। बगेर आउने लेदो रोक्ने उपाय छैन।’ लेदोमा फँसेका गाडीका कारण राजमार्ग सुचारु गर्न अझै समस्या भएको उनले बताए।
‘ठाउँठाउँमा पहिरो खसेको छ। जिल्लामा भएभरको सुरक्षा जनशक्ति परिचालन भएको छ,’ उनले भने। उनका अनुसार पृथ्वी राजमार्गको तनहुँको सदरमुकाम दमौलीबाट भित्री बाटो हुँदै साना सवारी पोखरातर्फ गएपनि राजमार्गमा रोकिएका ठुला सवारीका यात्रु भने अलपत्र परेका छन।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीमा रोकिएका नागरिक संवाददाता बसन्त ढुंगानाका अनुसार पहिरो र लेदोले गर्दा गाडी गुड्न सक्ने अवस्था छैन। ‘बिहान ९ बजेदेखि नै राजमार्ग अवरुद्ध भएको छ। साना सवारी तनहुँ सदरमुकाम दमौलीबाट भित्री बाटो हुँदै पोखरातर्फ लागेपनि ठुला सवारी भने मुख्य राजमार्गमा रोकिएका छन,’ ढुंगानाले भने, ‘लामो समय राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी र यात्रु अलपत्र परेका छन ।’ राजमार्ग बन्द हुँदा ठूलो संख्यामा यात्रुले सकस खेपेको उनले सुनाए।
प्रदेश प्रहरी कार्यालयका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको वालिङ नगरपालिका–१० मोदीखोला पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ त्यस्तै पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुंगा–बेनी सडकमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ। त्यस्तै बेनी–जोमसोम सडक खण्डको म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ।
वर्षाका कारण भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि खुल्न सकेको छैन। विमानस्थलका सूचना अधिकारी प्रमोद नेपालका अनुसार अरुबेला बिहान ६ बजे खुल्ने विमानस्थल शनिबार बिहानैदेखि बन्द रहेको छ। ‘अविरल वर्षाले गर्दा भिजिविलिटी पुगेन। त्यही भएर विमानस्थल बन्द भएको होे। शनिबार कुनैपनि उडान हुन सकेनन,’ उनले भने।
उनका अनुसार यो बेला बुद्धले पोखरा–काठमाडौं दिनमा १७ वटा उडान गर्दै आएको छ। बुद्धको पोखरा–भैरहवा र पोखरा–भरतपुर उडान पनि हुन सकेका छैनन। त्यस्तै यती एयरलाइन्सका काठमाडौंं–पोखरा १० वटा उडान थिए। त्यस्तै श्री एयरलाइन्सका उडान पनि रोकिएका छन। सबै हवाई उडान नहुँदा पोखरा विमानस्थलमा यात्रुको भीडभाड रहेको उनले बताए । ‘विमानस्थल खुल्ने समय यकिन गर्न सकिन्न। किनकी वर्षा भईरहेकोले कतिबेला खुल्छ भन्न सकिन्न,’ उनले भने।
म्याग्दी। कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्। परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेका सुर्केमेलाका खेतबारीको अवस्थासँगै किसानको जीवनशैली पनि फेरिएको हो।
सुर्केमेलाकी ६५ वर्षीया बालकुमारी रोकाले १४ वर्षअघि सात मुरी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपेकी थिइन्। जनशक्ति अभाव भएपछि उनले विसं २०६९ मा खाद्यबालीको विकल्पमा सुन्तलाखेती सुरु गरेकी हुन् हो।
अहिले उनको बगैँचामा रहेका दुई सय ५० बोटले वार्षिक रु। सात लाख आम्दानी दिन थालेका छन्। खाद्यबालीको तुलनामा सुन्तलाखेतीबाट कम मेहनतमा राम्रो आम्दानी हुने उनको अनुभव छ।
'सात मुरी धान फल्ने खेतमा लगाएको सुन्तलाले अहिले वर्षमा रु। सात लाख आम्दानी दिन थालेको छ,' उनले भनिन्, 'छोराछोरी विदेश गए पनि मलाई सुन्तलाखेतीमै रमाइलो लागेको छ।'
सुर्केमेलाकै द्रोपती थापाले पनि सुन्तलाखेतीबाट आम्दानी बढाउँदै गएका छन्। गत वर्ष रु. एक लाख ५० हजारको सुन्तला बिक्री गरेकी उनले यस वर्ष रु. तीन लाख बराबरको बिक्री हुने अनुमान गरेकी छन्।
'यसपालि फल दिने बोट थपिएका छन्। उत्पादन पनि राम्रो भएकाले आम्दानी बढ्ने अनुमान छ,' उनले भनिन्, 'घरव्यवहार चलाउन सुन्तलाखेतीले धेरै सजिलो बनाएको छ।'
सुर्केमेलामा व्यावसायिक सुन्तलाखेती विस्तार गर्ने पहिलो किसान हुन्, ४६ वर्षीय डिलबहादुर केसी। उनले १५ वर्षअघि अंशमा पाएको धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपका थिए। त्यसबेला आफन्त र छिमेकीले उनको निर्णयको विरोध गरेका थिए।
'धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भयौ भनेर गाली गरेका थिए,' उनले विगत सम्झँदै भने, 'अहिले सुन्तला बेचेर आम्दानी गरेको देख्दा त्यतिबेला गाली गर्नेहरू नै दङ्ग परेका छन्।'
२० रोपनी खेतबारीमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यस वर्ष रु. १५ लाख भन्दा बढीको सुन्तला बिक्री गरेका छन्। पाँच वर्ष संयुक्त अरब इमिरेट्स (युएई) र मलेसियामा काम गरेर फर्किएका उनले सुन्तलाखेतीसँगै केसी मौरीपालन स्रोत केन्द्र पनि सञ्चालन गरेका छन्।
केसीका अनुसार सुर्केमेलामा १६ जना किसानले व्यावसायिक सुन्तलाखेती गरेका छन्। चार सय बोट सुन्तला लगाएका धनराज पुनले पनि परम्परागत अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै गुणा बढी आम्दानी हुने बताए।
वर्षमा आठदेखि १० मुरी धान फल्ने खेतमा सुन्तलाखेती गर्दा वार्षिक रु। १० लाख भन्दा बढी आम्दानी हुने उनको भनाइ छ। कतिपय किसानले पोखरा, बेनी र बागलुङमा घरघडेरी जोडेका छन्। छोराछोरीलाई राम्रा विद्यालय, कलेजमा पढाएका छन्।
सिँचाइ सुविधा, उपयुक्त भूगोल र हावापानीका कारण सुर्केमेला सुन्तलाखेतीका लागि अनुकूल क्षेत्र मानिन्छ। यहाँ उत्पादन भएको रसिलो र स्वादिलो सुन्तला काठमाडौँ, पोखरा र बेनीका व्यापारीले बगैँचाबाटै खरिद गरेर लैजाने गरेका छन्। सुर्केमेलामा म्याग्दीमा सबैभन्दा
पहिले सुन्तला टिप्ने गरिन्छ। छिटो पाक्ने, रंग र स्वाद आउने भएकाले सुर्केमेलाका बगैचा मंसिरको दोस्रो साताभित्रै रित्तिने गरेका छन्। सडक यातायातको सुविधासँगै बजारको समस्या नभएपछि किसान थप क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्न उत्साहित भएका छन्। सुन्तलाखेती विस्तारमा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाले पनि सहयोग गरेका छन्।
बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान)का अनुसार किसानलाई अनुदानमा बिरुवा वितरण, प्राविधिक तालिम र कृषि औजार उपलब्ध गराइएको छ। बालमखोला सिँचाइ योजना निर्माण भएपछि सहज भएको छ।
'सुर्केमेलासहित बास्कुना र थामडाँडामा पनि व्यावसायिक सुन्तलाखेती विस्तार भएको छ,' उनले भने, 'उत्पादन भएको सुन्तला बजारमा पुर्याउन र स्थानीयको आवतजावत सहज बनाउन सडक स्तरोन्नति गर्न लागिएको हो।'
दुःखेखोलादेखि सुर्केमेला, बास्कुना र थामडाँडा हुँदै मरेक जोड्ने सडक स्तरोन्नति योजना यसै वर्षदेखि सुरु हुँदैछ। गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको लागत साझेदारीमा तीन वर्षसम्म सञ्चालन हुने योजनाका लागि चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख विनियोजन भएको छ।
तीन वर्षमा रु. पाँच करोड खर्च हुने गरी स्रोत सुनिश्चित भएको उक्त योजना कार्यान्वयनका लागि ठेक्का सम्झौताको प्रक्रिया अघि बढेको वडाध्यक्ष खड्काले बताए। उनले सुर्केमेला र सिंगा जोड्ने सडक पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर संघीय सरकारमा प्रस्ताव पेस गरेको बताए।
परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुँदा विकल्प खोजेका सुर्केमेलाका किसानका लागि सुन्तलाखेती अहिले आयआर्जनको भरपर्दो माध्यम बनेको छ। बाझिने अवस्थामा पुगेका खेतबारीमा सुन्तलाका बोट हुर्किएका छन्।
किसानको मेहनत र स्थानीय सरकारको सहयोगले सुर्केमेलाको कृषि पहिचानसमेत बदलिँदै गएको हो। युवाहरूको वैदेशिक रोजगारीप्रति आकर्षण बढ्दा सिर्जना भएको कृषि मजदुरहरुको अभाव सुन्तला खेती गरेका सुर्केमेलाका किसानका लागि चुनौती बनेको छ। रासस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...