नेपालको वायुको गुणस्तरमा सुधार हुँदै
२२ चैत्र २०८०
•
४ मिनेट पाठ
नेपालको वायुको गुणस्तरमा सुधार हुँदै
विगतका वर्षमा हिउँदे याममा काठमाडौँ लगायत मुलुकका प्रमुख सहरमा वायु प्रदूषण बढेको देखिन्थ्यो। विसं २०७७ पुस २० गते काठमाडौँ लगायत सहरको वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि वातावरण विभागले घर बाहिर निस्कँदा नागरिकलाई सजगता अपनाउन प्रेस विज्ञप्ति जारी गर्दै अपिल नै गर्नुपरेको थियो।




तर पछिल्लो केही वर्षयता भने वायुको गुणस्तरमा तुलनात्मक सुधार देखिन थालेको छ। वायुमा मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पुर्याउने वस्तुहरू तोकिएको सीमाभन्दा बढी मात्रामा मिसिनु नै वायु प्रदूषण हो। वायु प्रदूषण मानवीय र प्राकृतिक दुवै कारणले हुन सक्दछ।

विभागका अनुसार सन् २०२१ पछि नेपालमा वायुको गुणस्तरमा सुधार देखिएको छ। वायु प्रदूषणका प्रमुख कारक कम हुँदै गएपछि वायुको गुणस्तरमा सुधार देखिएको विभागका सूचना अधिकारी दीपक ज्ञवालीको भनाइ छ। ‘सन् २०२१ मा वायु प्रदूषण ह्वात्तै बढेको थियो । त्यसपछि वायु प्रदूषण कम हुँदै गएको तथ्याङ्क छ’,उनले भने।

वायु प्रदूषणका प्रमुख कारणमा सवारीसाधनबाट हुने उत्सर्जन, बाटो र निर्माण गतिविधिबाट निस्कने धुलोका कण,उद्योग तथा इँटाभट्टाबाट हुने उत्सर्जन,जथाभावी फोहर व्यवस्थापन र वन डढेलोलगायत हुन्। ग्रामीण क्षेत्रमा खाना पकाउन बालिने दाउराका कारण घरभित्र वायु प्रदूषण एक समस्याका रूपमा देखापरेको छ। कतिपय अवस्थामा भारतमा बढ्दो विकास निर्माणका गतिविधि र कृषिजन्य सामग्री जलाउँदा उत्सर्जन हुने वायु प्रदूषण नेपालका सिमानामा रहेका सहरसम्म पुग्ने गरेको छ।

‘वायु प्रदूषण उच्च हुने समयमा वर्षा हुँदा, हावा चल्दा, डढेलो लाग्ने बेला वर्षा हुँदा यसले वायु प्रदूषण रोक्न ठूलो योगदान पुग्ने गरेको छ’,सूचना अधिकारी ज्ञवलीले भने,‘मुलुकको आर्थिक मन्दीका कारण पूर्वाधार विकासका गतिविधिमा आएको कमीले पनि वायुको गुणस्तरमा योगदान पुगेको आकलन गर्न सकिन्छ।’तर यसबारेमा यकिन गर्न आवश्यक अध्ययन जरुरी रहेको उनको भनाइ छ।

त्यस्तै विद्युतीय सवारीसाधन र विद्युतीय चुलोको प्रयोग पनि बढेको छ। वायु प्रदूषणका स्रोतमध्येको एक इँटाभट्टा उद्योगहरूले पनि हाल नयाँ प्रविधि जडान गरेका छन्। अर्कातिर आर्थिक मन्दीका कारण हाल ५० प्रतिशतको हाराहारीमा मात्र यस्ता इँटा उद्योग सञ्चालनमा छन्।

नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष शङ्करबहादुर चन्दका अनुसार हाल इँटाको बजार ८० प्रतिशतले घटेको छ। ‘हाल ४० देखि ५० प्रतिशत इँटा उद्योगमात्र सञ्चालनमा छन्, त्यो पनि पूर्ण क्षमतामा चलेका छैनन्’,अध्यक्ष चन्दले भने,‘देशभरिमा एक हजार एक सय जति इँटा उद्योग रहेकामा हाल करिब पाँच सय उद्योगमात्र सञ्चालनमा छन्।’ एकपटक बन्द भएपछि इँटा उद्योग पुनः सञ्चालन गर्न गाह्रो रहेको उनको भनाइ छ।

काठमाडौँको वायुको गुणस्तर मापदण्डभन्दा न्यून

यद्यपि अझै पनि काठमाडौँ लगायत केही ठूला सहरको वायु गुणस्तर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा न्यून नै छ। वायु प्रदूषणको मापन ‘एअर क्वालिटी इन्डेक्स’ (एक्युआई) शून्यदेखि ५० सम्मलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ। एक्युआई ५० देखि एक सयसम्मलाई औसत र त्यसभन्दा माथिको स्तरले अस्वस्थकर वातावरणलाई जनाउँछ। आज बिहीबारको दिन काठमाडौँको एक्युआई औसतमा एक सय ६० रहेको छ।

तसर्थ वायुको गुणस्तर सुधारमा गर्नुपर्ने काम अझै धेरै बाँकी रहेको यस क्षेत्रका जानकारको भनाइ छ। साथै नेपालमा वन डढेलोबाट हुने वायु प्रदूषणको सम्भावना पनि सधैँ कायम रहिरहेको हुन्छ।

प्रदूषण बढ्नाले वायुमा माटोका कण,उद्योग तथा आगोजन्य गतिविधिबाट निस्कने धुवाँ,कार्बन, रसायन, विभिन्न ग्याँस मिसिन्छन्। साथै जीवाष्म इन्धनको प्रयोगले निस्कने सल्फरडाइअक्साइड,नाइट्रोजनअक्साइड, कार्बनमानोअक्साइडजस्ता ग्यासले मानव स्वास्थ्यमा असर गर्नुका साथै तापमानमा समेत वृद्धि हुने गरेको छ।

नेपाल सरकारले वायुको गुणस्तर मापनका लागि देशभर २७ स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरेको छ। साथै चालु आर्थिक वर्षसम्म थप तीन स्थानमा मापन केन्द्र जडान गर्ने तयारी भइरहेको छ। वायु प्रदूषण सबैभन्दा बढी विहान सात–आठ बजेको समयमा हुने गरेको छ। वायुमा रहेका धुलोका कण दिउँसो घामले तातेर हलुका भएपछि आकाशमा उड्ने र राति चिसो बढेसँगै पुनः जमिनमा झर्ने गर्दछन्।

वातावरण तथा सार्वजनिक स्वास्थ्य सङ्गठन ९इन्फो० नेपालका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठले वायुको गुणस्तर सुधार भएको बारेमा आएका तर्कको तथ्याङ्क यकिन गरेर हेर्नुपर्ने बताए। वायु प्रदूषणका स्रोतमा कमी आएको र जनता जागरुक भएको स्वीकार गर्दै उनले भने,‘कलकारखाना वृद्धिमा कमी, विद्युतीय गाडी र चुलोको प्रयोगमा वृद्धि, विकास निर्माण र इँटाभट्टा सञ्चालनमा कमी, सडकको स्तोन्नतिलगायतका कारणले वायु प्रदूषणमा कमी देखिएको हुनसक्छ।’

पछिल्लो समय वायु प्रदूषणबारे जनचेतना बढेको, दाउरा र फोहर बाल्नेको सङ्ख्यामा कमी आएको तथा प्रविधिको प्रयोग बढ्दा प्रदूषणका स्रोतमा कमी आएको उनको भनाइ छ। नेपालमा मानिसको मृत्यु हुने प्रमुख तीन कारणमध्ये मुटु र फोक्सोसम्बन्धी रोग र मष्तिस्कघात हुन्। यी तीनै रोगको सम्बन्ध वायु प्रदूषणसँग पनि छ।

वायु प्रदूषणका कारण विशेषत श्वासप्रश्वाससम्बन्धी रोगहरूमा बढोत्तरी भएको पाइन्छ। विश्व स्वासथ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष विश्वव्यापीरूपमा करिब ७० लाख मानिसको वायु प्रदूषणका कारण अकालमा ज्यान जाने गरेको छ। नेपालमा वायु प्रदूषणका कारण बर्सेनि करिब ४० हजार मानिसले ज्यान गुमाउने गरेको बताइन्छ।

वायु प्रदूषणका कारण कृषि उत्पादनमा ह्रास आउने, पर्यटन क्षेत्रमा ह्रास आउनेजस्ता कारण अर्थतन्त्रमा समेत असर पुर्याइरहेको हुन्छ। वायु प्रदूषणले मानिसलाई मात्र नभई जङ्गली जनावर, बोटबिरूवालगायत समग्र पर्यावरणमा नै नकारात्मक असर पुर्याइरहेको हुन्छ। तसर्थ वायु प्रदूषण नियन्त्रण गर्न सबै सरोकारवालाबीच साझेदारी आवश्यक छ।-भीष्मराज ओझा/रासस
अर्को समाचार
राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनको प्रभाव खोज्दै सेना
१२ चैत्र २०८०
•
७ मिनेट पाठ
राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनको प्रभाव खोज्दै सेना
जलवायु परिवर्तन २१ औँ शताब्दीको जल्दोबल्दो समस्या हो भन्ने कुरामा कसैको दुई मत नहोला। विश्वको जुनसुकै भूगोलमा पनि जलवायु परिवर्तनले प्रभाव पारिरहेको छ।




यसका प्रभावका क्षेत्रहरू विस्तार हुँदै गएको आभास पछिल्लो समय नेपाली सेनालाई पनि भएको छ। नेपाली सेनाले आफ्नो कार्य क्षेत्रमा (राष्ट्रिय सुरक्षा) मा यसले प्रभाव पार्छ की पार्दैन ? भनेर विज्ञहरूसँग छलफल नै चलाएको छ।

सेनाले ‘जलवायु परिवर्तन र नेपालको राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनको प्रभाव’ विषयमा आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा एक दिने गोष्ठी गरेको सम्भवतः पहिलो पटक होला।

नेपाली सेनाले गत शुक्रवार आयोजना गरेको गोष्ठीका सहभागी विज्ञहरूले राष्ट्रिय सुरक्षामा मात्र नभई अन्तरदेशिय (दुई छिमेकी मुलुकबिच) को सुरक्षामा समेत जलवायु परिवर्तनले विभिन्न प्रभाव पारिरहेको र प्रभाव क्षेत्र भविष्यमा अझ विस्तार हुनसक्ने चेतावनी दिएका छन्।

गोष्ठीका मुख्य वक्ता पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले जलविद्युत र पानीका लागि भारतले देखाएको ‘रुचि’लाई नेपालको राष्ट्रिय र अन्तरदेशिय सुरक्षाको प्रमुख चुनौतीका रूपमा व्याख्या गरे। उनले जलवायु परिवर्तनले गर्दा पानीको मात्रा एकातिर घट्दै जाने र अर्कोतिर छिमेकी मुलुकले त्यही पानीमा रुचि बढाउँदै जाँदा राष्ट्रिय सुरक्षामा चुनौती थपिएको उनले बताए।

‘यही नै नेपालको प्रमुख सुरक्षा चुनौती हो’, ज्ञवालीले भने। उनले दक्षिणी छिमेक भारतलाई नेपालको बिजुलीसँग कुनै मतलब नभएको उल्लेख गर्दै भने, ‘हामीले ४२ हजार मेगावाटै बिजुली उत्पादन गरेपनि उसलाई यो हात्तीको मुखमा जिरा हो। भारतकै चार लाख मेगावाट बिजुली उत्पादन क्षमता छ। त्यसैले भारतको सम्पूर्ण रुचि पानीमा छ। भारतलाई आफ्नो त्यत्रो जनसङ्ख्यालाई खाद्यान्न पुर्‍याउनु छ।’

पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवाली
भारतले हाम्रा नदी माथि नियन्त्रण गरेर जसरी हुन्छ बिहार र उत्तर प्रदेशलाई पानी पुर्‍याउन नेपालका खोँचहरूमा पानी भण्डारण गर्ने रणनीति अङ्गीकार गरेको उनको दाबी छ। ‘त्यसैले नेपालकै खोँचहरूमा बाँध बनाएर हाम्रै गाउँ, जङ्गल र खेत डुबाएर पानी जम्मा गर्न खोजेको छ। त्यही नै नेपालका लागि प्रमुख सुरक्षा चुनौती हो’, जलस्रोतविद् ज्ञवालीले भने।
संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि  पक्ष राष्ट्रहरूको सम्मेलन कोप–२७ ले पनि ‘जल सङ्कट नै जलवायु सङ्कट हो’ भन्ने निष्कर्ष निकालेको थियो। यो सम्मेलनले पहिलो पटक ‘पानी’लाई यति धेरै महत्त्व दिएको हो।

जलस्रोत विज्ञ ज्ञवालीले जलवायु परिवर्तनका कारण सिर्जित बाढी, पहिरो, सुख्खा, कु–विकासले निम्त्याएको चट्याङ, विषादीको अत्यधिक प्रयोग पनि राष्ट्रिय सुरक्षाका चुनौती हुनसक्ने बताए। उनले यी विषयले राष्ट्रिय स्तरमा खाद्यान्न उत्पादनमा असर पार्ने र त्यसले गरिबी बढाउने हुँदा आन्तरिक द्वन्द्वको अवस्था आउने उनको तर्क थियो।

यसैगरी प्राध्यापक डा.विष्णुप्रसाद पाण्डेले ‘जलवायु परिवर्तनको जोखिम र नेपालको राष्ट्रिय सुरक्षामा पर्ने असरहरू’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। भारतले आफ्नो देशको सिँचाई र खाद्यान्न सुरक्षामा ठुलो चिन्ता व्यक्ति गरिरहेको र त्यो नेपाल हुँदै बग्ने नदीहरूको पानीसँग जोडिएको बताए।

‘भारतले ती नदीहरू आफ्नो नियन्त्रणमा राख्ने र चाहेको बेला पानी उपलब्ध गराउन सक्ने प्रणालीको खोजी गरिरहेको छ’, उनले भने, ‘तर बगेर खेर जाने पानी कसैले प्रयोग नगरोस् भन्ने चाहना हाम्रो पनि हुनु हुँदैन। तर पहिला हामीले हाम्रो पानीको आवश्यकता र चिन्तालाई सम्बोधन गर्नुपर्छ।’

डा.पाण्डेले जलवायु परिवर्तनका कारण हिमालमा हिउँ र हिमनदीहरू पग्लिने क्रम जारी रहेको र यसले पानीको परिमाणमा कमी आउने ठोकुवा गरे। ‘पानी घट्ने बित्तिकै ऊर्जा सुरक्षाको चुनौती थपिन्छ। त्यसले भारतले हाम्रो ट्रान्समिसन प्रणाली नियन्त्रण गर्न चाहन्छ’, उनले भने। डा। पाण्डेले यसले पनि अन्तर्देशीय सुरक्षा चुनौती आउन सक्ने बताए।

उनका अनुसार पानी माथिको नियन्त्रण बढ्न थाल्यो भने नेपालको खाद्यान्न उत्पादन घट्न थाल्छ जसले गर्दा राष्ट्रिय सुरक्षामा थुप्रै चुनौतीहरू आउन सक्छ। ‘यसले उत्पादन घट्छ र व्यापार घाटा बढ्छ’, डा.पाण्डे भन्छन्।

उनले भारतले बिहार र उत्तर प्रदेशमा सडक बनाउने नाममा ठुले –ठुला बाँध बनाएको र त्यसले तराईका क्षेत्रलाई असर पारेको भन्दै यसलाई पनि नेपालको राष्ट्रिय सुरक्षासँग जोडे। डा.पाण्डेले जलवायु परिवर्तनले पानी, ऊर्जा, खाद्यान्नलगायत क्षेत्रमा प्रभाव पार्ने र त्यसको प्रभावसँगै राष्ट्रिय सुरक्षामा चुनौती थपिने बताए।
यही सेसनका प्यानलिष्ट डा.वसन्तराज अधिकारीले मानव समुदाय जोडिएका चरम प्रकोपहरू राष्ट्रिय सुरक्षाका चुनौती हुनसक्ने बताए। ‘पानी अभावले व्यक्ति–व्यक्तिबिच, समुदाय–समुदायबिच, स्थानीय तहहरूबिच, प्रदेशहरूबिच र केन्द्रमा द्वन्द्व बढन सक्छ। बाढी पहिरोका कारण सर्वसाधारणहरू आफ्नो ठाउँबाट विस्थापन हुन बाध्य हुन्छन्। उनीहरू जलवायु शरणार्थी बन्छन्। एक आपसमा द्वन्द्व सिर्जना हुन्छ’, उनले भने, ‘यी सबै द्वन्द्वले राष्ट्रिय सुरक्षामा चुनौती थप्न सक्छ।’

कोसी ब्यारेज
डा.अधिकारीले अधिकांश स्थानीय तहको सिमाना नदी खोलाले छुट्टाएको उल्लेख गर्दै भने, ‘पानीको बाँडफाँड राष्ट्रिय सुरक्षाको प्रमुख चुनौती हो।’ उनले पानीका लागि राष्ट्रिय रूपमा मात्र नभई नेपाल, भारत र चीनबिच अन्तर्देशीय द्वन्द्व हुन सक्ने तर्फ सचेत गराए।

यसैगरी वन मन्त्रालयका सहसचिव डा.महेश्वर ढकालले ‘राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूलाई न्यूनीकरण गर्न आवश्यक रणनीतिहरू’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

उनका अनुसार खाद्यान्न, पानी, स्वास्थ्य, अर्थतन्त्र र वित्त, सूचना र साइबर, ऊर्जा, वातावरण र राष्ट्रिय सुरक्षामा चुनौतीहरू थपिएका छन्। ‘जलवायु परिवर्तनका क्षेत्रमा नीति र संस्थागत व्यवस्था राम्रो छ । तर कार्यान्वयनको पाटो हेर्नुपर्ने छ’, डा.ढकालले भने। उनले नीति, नियम र कार्यान्वयनबिच तालमेल नभएको उल्लेख गरे।

‘जलवायु परिवर्तनलाई आन्तरिकीकरण गर्ने सवालमा मन्त्रालयहरूको बिजोग छ। बजेट तयार गर्ने क्रममा जलवायु परिवर्तनलाई वास्तै गरिँदैन र यस विषयमा छलफलै हुँदैन’, डा.ढकालले भने। उनले वित्तीय स्रोत जुटाउन, क्षमता विकास गर्न र प्रविधि हस्तान्तरणमा विदेशीलाई दबाब दिनुपर्ने बताए।

डा.ढकालका अनुसार नेपालले कृषि र खाद्यान्न, वन र भू–जलाधार, पानीको स्रोत र स्वच्छ ऊर्जा, प्रकृति र संस्कृतिमा आधारित पर्यटन, सुगम र दुर्गम बसोबास, भौतिक पूर्वाधार, खानेपानी, स्वास्थ्य र सरसफाइ, जलवायुजन्य प्रकोप,जीविकोपार्जन, सुशासन र लैङ्गिक समानता र सामाजिक समावेशीकरण, अनुसन्धान र प्रविधिसम्बन्धी राष्ट्रिय रणनीति तर्जुमा गर्नुपर्ने छ।
दोस्रो कार्यपत्रका प्यानलिष्ट रहेका जलवायु परिवर्तन, सुशासन तथा सुरक्षावीज्ञ मधुकर उपाध्यायले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण भन्दा पनि अनुकूलनका उपायहरू अवलम्बन गर्न सुझाव दिए। ‘हामी न्यूनीरकणतीर लागेका छौँ। तर हामीले जोड गर्नुपर्ने अनुकूलनमा हो’, उनले भने।

उपाध्यायले थपे, ‘हामी नीतिमा उम्दा छौँ। तर हाम्रो प्रणालीले त्यसलाई क्यारी गर्दैन। बजेटमा पनि क्यारी हुँदैन।’ उनले जलवायु परिवर्तनका क्षेत्रको अवस्था चित्रण गर्दै थपे, ‘नीति पनि भयो। राजनीतिक  प्रतिवद्वता पनि आयो तर प्रणाली भएन।’

पहिलो सेसनका मध्यस्थकर्ता डा.धर्मराज उप्रेतीले ‘जलवायु परिवर्तन हुन्छ र यसका असरहरू बढ्दै छन्’ भन्ने कुराका कुनै पनि शङ्का नगर्न प्रश्नकर्ताहरू आश्वत पारेका थिए। ‘यो वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेको विषय हो’, उनले भने, ‘अहिले आएर जलवायु परिवर्तन नै हुँदैन र यसका असर केही पनि छैनन् भन्ने जस्ता तर्क एकदमै गलत हुन।’

रथी अशोकराज सिग्देल
कार्यक्रममा प्रमुख अतिथि रक्षा सचिव किरणराज शर्माले जलवायु परिवर्तनले गर्दा प्राकृतिक प्रकोप बढेको र त्यसले राष्ट्रिय सुरक्षामा प्रभाव पारेको उल्लेख गरे। ‘यसले राष्ट्रिय सुरक्षामा क्षयीकरण मात्र होइन हाम्रो आफ्नो पहिचानमा हरेक दृष्टिकोणले असर पारेको छ’, उनले भने।

यसैगरी नेपाली सेनाका रथी अशोकराज सिग्देलले नेपाली सेनाले जलवायु परिवर्तनलाई निकै संवेदनशील विषयका रूपमा हेरेको उल्लेख गरे। ‘हामी यस विषयमा सरोकारवालाहरूसँग काम गर्न इच्छुक पनि छौँ’, उनले भने।
रथी सिग्देलले पानीजन्य प्रकोपका कारण पटक–पटक देखा परेका घटनाहरूले राष्ट्रिय सुरक्षामा चुनौती थपेको उल्लेख गरे। ‘जुरेको पहिरो, बारा पर्सामा आएको आँधी, पहाडी तथा हिमाली क्षेत्रमा देखिएको डेंगी जलवायु परिवर्तनका असर हुन’, उनले भने।

नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले स्वागत मन्तव्य दिँदै राष्ट्रिय सुरक्षा नीति र रणनीति तर्जुमाका लागि गोष्ठी सहयोगी हुने अपेक्षा व्यक्त गरेका थिए। ‘जलवायु परिवर्तन र राष्ट्रिय सुरक्षाबिचको जटिल र अन्तर निहित सम्बन्धबारे यस गोष्ठीले स्पष्ट पार्नेछ’, उनले भने।  नेपाली सेनाका कर्णेल उत्तम सापकोटाले कार्यक्रम सञ्चालन र मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस