चन्दननाथ नगरपालिका-७ मिचा गाउँकी ८० वर्षीया मागी सार्की पुनः आँखाको ज्योति पाउँदा खुसी छन्। शल्यक्रियापछि उनी आँखा देख्न सक्ने भएकी छन्। उनले मोतीविन्दुका कारण आँखा देख्न छाडेको २ वर्ष भइसकेको थियो।
उनी छोरी टिउकीको सहारामा सदरमुकाम खलंगा पुगेकी थिइन्। उनले खुसी हुँदै भनिन्, ‘फेरि देख्न सक्ने भएँ। नयाँ जीवन पाएजस्तो लागेको छ।’
आँखा देख्न सक्ने भएपछि उनी लौरो टेक्दै घर फर्किन्। उनले भनिन्, ‘हामीसँग पर्याप्त पैसा पनि थिएन। आँखाको शल्यक्रिया गर्न धेरै खर्च लाग्ला भनेर यत्तिकै बसेकी थिएँ।’
उनले गाउँमै आँखाको शल्यक्रिया गर्न पाउँदा अझ धेरै खुसी लागेको बताइन्। उनले भनिन्, ‘हामीजस्तालाई त शिविरले धेरै सहज बनाइदिएको छ।’
यता तिला गाउँपालिका–८ पुरु गाउँका ८९ वर्षीय सुर्ती बस्नेत आँखाको ज्योति फर्किएकोमा दंग छन्। उनका दुवै आँखा बन्द भएको चार वर्ष भइसकेको थियो। ‘आँखाभन्दा ठूलो केही रहेनछ’, उनले भने, ‘ज्योति फर्काउने डाक्टरलाई भगवान्ले रक्षा गरून्।’
चन्दननाथ नगरपालिका–७ मिचा गाउँका ७२ वर्षीया हर्क सार्की पनि खलंगा आँखा शिविरले दृष्टि फर्काइदिएकोमा खुसी छन्। उनी तीन वर्षअघिसम्म धमिलो देख्दै थिइन्। आँखामा समस्या आएपछि उनले दुवै आँखा देख्न छाडेकी थिइन्। ‘अब देख्न पाइँदैन जस्तो लागेको थियो’, उनले भनिन्, ‘जति बाँच्छु त्यतिञ्जेल देख्न पाउँछु भन्ने लागेको छ।’
यस्तै पातारासी ६ उर्थु गाउँकी ५९ वर्षीया धनकला थापा शल्यक्रियापछि आँखाको ज्योति पाएपछि प्रसन्न भइन्। उनले खुसी हुँदै शल्यक्रिया गर्ने डाक्टरलाई स्थानीय लबजमा आशिष दिइन्, ‘तुम्मो सधैं भलो होस्।’
खेतपाखो बेचेर खर्च गर्दा पनि नपाइने आँखाको ज्योति पाएकोमा आफूलाई औधि खुसी लागेको उनले बताइन्।
खलंगामा सञ्चालित आँखा शिविर ४१औं भएको नेपाल नेत्र ज्योति संघ जुम्लाका सभापति जगदीश चौंलागाईले बताए। शिविरमा जुम्लाका आठवटै स्थानीय तहका सात सय बढी वासिन्दाले आँखा जाँच गराएका थिए, जसमध्ये १ सय २७ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको चन्दननाथ आँखा अस्पताल उपचार केन्द्र जुम्लाका प्रमुख कालिबहादुर रावतले बताए।
नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पताल जुम्लाको आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक तथा रिडको आई फाउन्डेसन नेपालको आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो। शिविर चैत १६ देखि १८ सम्म सञ्चालन गरिएको थियो।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...