वीरगन्जका मेयर राजेशमान सिंहसहित तीन जनाविरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले फौजदारी अभियोगमा जाहेरी दर्ता गरेको छ।
झुटा विवरण पेश गरी एक किशोरीलाई वंशजको नागरिकता दिलाएको आरोपमा उनीविरुद्ध परेको जाहेरी प्रहरीले बिहीबार दर्ता गरेको हो।
गृह मन्त्रालयको नेतृत्व परिवर्तन हुने बित्तिकै पर्सा प्रहरीले महानगर प्रमुखविरुद्धको जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमारविक्रम थापाले प्रमुख सिंहविरुद्ध लियाकत अलीले किर्ते सम्बन्धमा जाहेरी दिएको सुनाए।
वीरगन्ज महानगरपालिका वडा नम्बर-३ बाट २०७१ कात्तिक २० गते जन्म दर्ता बनाई रूविना श्रेष्ठको नागरिकता बनाएको भन्दै सिंहमाथि उजुरी परेको थियो।
जिल्ला प्रशासनको अभिलेखमा २०७५ साउन १३ गते नागरिकता लिएको र २०७६ फागुन ८ मा प्रतिलिपि लिएको देखिन्छ। प्रहरीले यस सम्बन्धमा अब अनुसन्धान गर्ने जनाएको छ।
मुलुकी अपराध संहिता २०७४ ले सकैले किर्ते गर्न नहुने भन्दै लिखत किर्ते सम्बन्धमा परिभाषा गरेको छ। कसुर प्रमाणित भएमा संहिताको दफा २७६ को उपदफा (३) को (ग) ले सात वर्ष कैद र सत्तरी हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...