रोजगारीका नाममा मानव तस्करी
१२ असोज २०८०
•
१० मिनेट पाठ
रोजगारीका नाममा मानव तस्करी
वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाइरहेको छ। यौन व्यापार, मानव अंग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यका लागि मानव तस्करी हुने गरेको छ। विदेशको सपना देखाएर, विभिन्न प्रलोभनमा पारेर दूरदराजका सोझासिधा युवकयुवतीलाई तस्करहरूले विभिन्न देशमा पुर्‍याएका छन्।




छुट्टै कानुन नहुँदा मानव तस्करी खुलेआम भएको छ। मानव तस्करी हुन अन्तर्राष्ट्रिय सीमा नाघेसँगै आर्थिक लाभ लिएको हुनुपर्छ। यसमा जाने र लैजाने मान्छेबीच सुरुवातमा आपसी सहमति भएर प्रक्रिया अगाडि बढ्छ। यो कार्य वैधानिक हुँदैन। तैपनि जाने मान्छेको पनि केही मात्रामा सहमति हुन्छ। गाउँगाउँमा स्थानीय एजेन्टहरू परिवारका सदस्य, आफन्त र छिमेकीलाई विदेश पठाउन मानव तस्करका रूपमा सक्रिय हुन्छन्। ‘विदेशमा पैसा धेरै कमाइन्छ, दुःख धेरै गर्नुपर्दैन, विदेश जान नागरिकता भए अन्य कागजात बनाउन एक दिन पनि लाग्दैन, पहिला विदेश जाने मन हुनुपर्छ’ भन्दै गाउँगाउँमा तस्कर तथा एजेन्टहरू पुग्छन्।

वैदेशिक रोजगारीमा जाँदा अनिवार्य श्रम स्वीकृति लिनुपर्छ। तर श्रम स्वीकृतिबिना धेरै महिला अहिले पनि दलालको फन्दामा परेर खाडीलगायत मुलुकमा घरेलु कामदारका रूपमा बेचिइरहेका छन्। अहिले विश्वका सामाजिक अपराधमध्ये मानव बेचबिखन तथा तस्करी जल्दोबल्दो रूपमा मौलाएका छन्।
यस्ता घटनाहरूलाई देश वा गन्तव्य देशमा गैरकानुनी मानिन्छ भने त्यो मानव तस्करी हो। नेपालभित्रै पनि मानव तस्कर भएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ बताउँछन्।

उनका अनुसार नेपाल–भारतबीच खुला सिमाना छ। नेपालबाट भारतमा पुर्‍याई रोजगारी दिलाइदिने विश्वासमा पारेर बेचबिखन गर्ने, यौनधन्दामा लगाउने गरेको पाइन्छ। ‘बेचबिखन तथा मानव तस्करीमा पारेर लगिने गन्तव्य देश अहिलेसम्म आएका उजुरी तथा अनुसन्धानले भारतलगायत खाडी मुलुक हुन्,’ उनले भने, ‘आप्रवासी श्रमिकका रूपमा कोही अमेरिका कोही युरोपेली देशमा जाने नाममा पनि मानव ओसारपसार भएको स्थिति छ तर तथ्यका आधारमा भारत तथा खाडीका देशमा बढी देखिएको छ।’ उनले थपे, ‘विदेश जान खोज्नेलाई सुरुमा दललाले विभिन्न भ्रम र प्रलोभनमा पार्छन् । उनीहरूलाई आफूहरू पीडित भइन्छ भन्ने आभास हुँदैन। धेरै युवा घुम्न तथा काम गर्न, रमाइलो गर्ने भन्ने हिसाबमा विदेश गइरहेका हुन्छन्। उनीहरूलाई आफू बेचबिखन तथा तस्करीमा परेको महसुस नै हुँदैन।’

पछिल्लो समय वैदेशिक रोजगारीका नाममा रूकुम र दाङका धेरै  घरपरिवारका सदस्य ठगीमा परेका छन्। ती जिल्लामा ‘एक घर एक अमेरिका’ भन्ने होडबाजी नै चलेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अधिकारीहरू बताउँछन्। उनीहरूका अनुसार अवैधानिक रूपमा भए पनि अमेरिका जान चाहने धेरै  छन्। यसका लागि उनीहरूले ऋण लिन्छन्। अवैध रूपमा विदेश जाँदा समस्यामा परिन्छ भन्ने हेक्का उनीहरूले राख्दैनन्। ‘मध्यपश्चिम अर्थात् रूकुम, दाङ, म्याग्दी र पर्वतमा झन् धेरै मानव तस्करी र बेचबिखन हुने गरेको छ। २०७२ सालमा आएको भूकम्पपछि मानव तस्करी बढेको अनुभव भएको छ,’ एसएसपी श्रेष्ठले भने, ‘मानव तस्करीको सञ्जाल गाउँदेखि विभिन्न देशसम्म फैलिएको छ। ठुला तस्करले विदेशमा बसेर नेपालमा एजेन्ट राखेर काम गर्दै आएका छन्।’

भारत हुँदै खाडीका देश, मलेसिया, युरोपेली मुलुक, अफ्रिकाका साथै अमेरिका, अस्ट्रेलिया, क्यानडासम्म ठुलो मात्रामा नेपाली नागरिकको बिक्री भइरहेको उनले बताए।
उनले रोजगारी र अध्ययनका नाममा नीतिगत रूपमा नै मानव बेचबिखन भइरहेको दाबी गरे। जसमा सबैभन्दा धेरै महिला खाडीका देश, मलेसिया र अफ्रिकी देशमा र शिक्षित युवायुवती विकसित देशमा अध्ययन र रोजगारीका नाममा तस्करीको सिकार भइरहेका छन्। उनका अनुसार जतिबेला उनीहरूलाई आपत्विपत्मा पर्छन्, त्यतिबेला मात्र बेचिएको थाहा हुन्छ। त्यस्ता धेरै व्यक्ति खाडी देशबाट उद्धार गरिएका छन्। यसरी पीडितहरूको उद्धारका लागि सम्बन्धित निकायमा उजुरी पर्नुपर्ने उनले बताए। कतिले त गाउँसमाजमा थाहा पाउने डरले उजुरी दिँदैनन्। त्यस्तै कष्टकर जिन्दगी बिताइरहेका हुन्छन्।

‘बेचबिखन र तस्करीमा परेको कुरा सार्वजनिक हुँदा परिवारजन र समाजले हेर्ने दृष्टिकोण फरक हुने हुँदा प्रायः पीडितहरूले उजुरी नै दिँदैनन्,’ एसएसपी श्रेष्ठले भने, ‘यो कानुनविपरीतको काम हो, बदमासीलाई छोड्नुहुँदैन, उजुरी दिनुपर्छ, तपाईंहरू पीडित हुनुभएको छ, बरु नाम गोप्य राखौँला, डराउनुपर्दैन भन्दै पीडितलाई विभिन्न सरसल्लाह दिने गरिएको छ।’

त्यस्ता पीडितहरूले सम्बन्धित निकायमा उजुरी लिइहाले पनि भनेको समयमा प्रहरीले खोजेको बेला, अदालतले खोजेको बेला उपस्थित हुँदैनन्। त्यो अवस्थामा उनीहरूलाई उद्धार गर्न झन् धेरै गाह्रो हुने गरेको ब्युरोले जानकारी गराएको छ। तर ब्युरोले गन्तव्य देशमा रहेको नेपाली नियोग र गैरआवासीय नेपाली संघसँग समन्वय गरेर उद्धार र अनुसन्धानको काम गरेको केही पीडितहरूले बताएका छन्।

विभिन्न प्रलोभन र लालचमा देशभित्रै पनि मानव तस्करी र बेचबिखन भइरहेको छ। पछिल्लो समय त बलि दिन पनि स्वदेश तथा विदेशमा मानव ओसारपसार भएको देखिन्छ। ब्युरोले केही समयपहिले मात्रै बलि दिन भारत पुर्‍याएका बालबालिकाको उद्धारसमेत गरेको एसएसपी श्रेष्ठले बताए।

नेपालमा वैदेशिक रोजगारी, शिक्षालगायत बहानामा बेचबिखन भइरहेको छ। सो कार्यका लागि मानव तस्करको बिगबिगी छ। गरिबी र बेरोजगारीको चपेटामा परेका महिला, गरिब परिवारका बालबालिका र कतिपय पुरुष पनि बेचबिखनमा पर्छन्।
रोजगारीका नाममा महिला मात्र होइन, पुरुषसमेत मानव बेचबिखन र तस्करीमा परिरहेका छन्। पुरुषले मानव बेचबिखनमा परेको अवस्थामा समाजमा इज्जत जाने डरले आफ्नो पहिचान लुकाउने गरेका छन्।  

ब्युरोका अनुसार अमेरिका युरोपमा परिवारलगायत आफ्नो जीवन एकदमै सुखमय हुन्छ भनेर गएका व्यक्तिहरू पनि बेचबिखनमा परेको देखिन्छ। पहिलेदेखि नै मानव तस्करी र बेचबिखनमा महिला तथा बालबालिका पीडित हुँदै आएको थियो। हाल आएर अवैधानिक रूपमा अमेरिका र युरोप पठाउने भन्दै दैनिक रूपमा पुरुष पनि मानव तस्करीमा पर्ने गरेका छन्।

‘ब्युरोको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको हुन्छ। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएको छ, छैन, कामदार जान लागेको देशबारे जानकार छ, छैन, उनीहरू विदेश घुम्न मात्र जान लागेको हो कि काम गर्न जान लागेको हो भनीे चाल र पोसाकबाटै सहजै थाहा हुने,’ एसइसपी श्रेष्ठले भने।

अवैधानिक रूपमा विदेश पुगेका नेपालीहरू विभिन्न माध्यमद्वारा अप्ठेरोमा परेको खबरसहित उद्धारको अपिल गर्दै सूचना आउने गरेको छ,’ उनले भने, ‘हाम्रो हेडक्वार्टर हुँदै, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै उद्धारका गर्ने गरेको छौं। साथै प्रत्यक्ष रूपमा गन्तव्य देशमा रहेको नेपाली दूतावास, एनआरएनएसँग पनि उद्धारका लागि सहकार्य गर्छौं।’

त्यस्तै कतिपय अवस्थामा उद्धार गरेर ल्याइएका व्यक्तिहरूलाई परामर्श दिँदै संघसस्था तथा परिवारसँगको समन्वयमा रोगअनुसारको उपचार गराउने गरेको ब्युरोले बताएको छ।

मानव बेचबिखन तथा तस्करीबाट जोगिन आफू जाने देशबारे विश्वस्त हुनुपर्ने अन्य आधिकारीहरूले जानकारी गराए। भिजिट भिसामा विदेश जाने हो भने घुम्ने अनि फर्कने। पैसा कमाउन विदेश जाने हो भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर वैधानिक रूपमा खोलिएका म्यानपावरसँग सम्पर्क गरी विदेश जान सकिने विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए। विभागका सूचना अधिकारी उप्रेतीका अनुसार सरकारले तोकेका प्रक्रिया पूरा गरी विदेश गए त्यस्तो अवस्थामा समस्या पर्‍यो भने सरकारसँग अभिलेख हुन्छ। सोही कारण उद्धार कार्यमा सहजता पनि हुन्छ।

तर मानव तस्करीमा फसेर बिदेसिने क्रम बढ्दै गएको उनको भनाइ छ। प्रायः तस्करहरूले गाउँसमाजमा छिरेर विदेशका ठुल्ठुला भवनहरू, गाडीबंगला देखाउँदै बालबालिका, महिला र पुरुषहरूलाई तस्करी गर्दै विदेश पुर्‍याउने गरेका पीडितहरूको भनाइ छ। तस्करको जालोमा परी बिदेसिने सपना देखेकाहरूले लाखौंलाख रकम एजेन्टलाई बुझाउने गरेका हुन्छन्। पीडितहरूलाई विदेश जाने सपना देखाउने गाउँकै नातागोता पर्ने काका, मामा, दाइ तथा साथीभाइबाट परिचालित भएका हुन्छन्। त्यस्तै विदेशमा घरेलु कामदारका लागि भन्दै महिलाहरूलाई उत्कृष्ट तलब बताउँदै विभिन्न देश पुर्‍याउने गरिएको छ। यही कारण उनीहरू यौन शोषण र हिंसामा परेका हुन्छन्।

मानव बेचबिखन र तस्करीले गर्दा महिनौंदेखि वर्षौंवर्ष विदेशमा बन्धक भएर बस्नुपरेका घटना धेरै छन्। विदेशमा नेपाली महिलाको शारीरिक बनावट हेरेर लाखौंलाखमा मोलमोलाइ हुने धेरै केस भएको प्रहरी एसएसपी श्रेष्ठले बताए। कति त घरमालिकबाट यौन दुर्व्यवहार, कुटपिट, कानुनविपरीत मानव अंग झिक्ने घटना सयौं छन् भने पारिवारिक अवस्था नाजुक भएपछि अवैधानिक रूपमा बिदेसिएका महिलाहरू आफू बाध्य भएर उक्त कार्यमा संलग्न पनि हुने गरेको पीडितहरू बताउँछन्।

मानव तस्करीमा परेका नेपाली विदेशमा समस्या भोगेर अलपत्र परी स्वदेश फर्किने गरेका छन्। उनीहरू दलालमार्फत रोजगारी र अध्ययनका लागि बिदेसिन खोज्दा ठुलो आर्थिक ठगीमा समेत पर्छन्।
युरोप अमेरिका पठाउने भन्दै हुने गरेको मानव तस्करीमा पनि धेरै मानिस सहभागी छन्, धेरैको पैसा फसेको छ, कतिपय व्यक्तिहरू हराएका छन् भने कतिको ज्यानै गएको छ। घरेलु काममा लागि जानै प्रतिबन्ध लगाइएका खाडीलगायत मुलुकमा पनि भिजिट भिसामा लगेर त्यहाँ घरेलु कामदारमा लगाउने मात्र नभएर यौनशोषण, श्रमशोषणमा पारिएका घटना प्रशस्त देखिएको बताइन्छ।

वैदेशिक रोजगार उद्धार केन्द्र नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार व्यक्तिलाई बेच्नु, यौन शोषणमा पार्नु, कानुन विपरीत मानव अंग झिक्नु तथा प्रत्यारोपण गराउनुलाई मानव बेचबिखन भनिएको छ। तर मानव तस्कर हुन केही मात्रामा पीडितको पनि संलग्नता रहेको हुन्छ। ‘मानव बेचबिखन तथा ओसारपसारको सम्बन्धमा कुनै पनि व्यक्ति, चाहे महिला, पुरुष तथा बालबालिका कसैलाई बेच्न, दास बनाउन अथवा यौन शोषणमा पार्न लगिएको अवस्थामा मानव बेचबिखन हुन्छ,’ उनले भने, ‘यो कसैलाई विश्वासमा पारेर, कसैलाई भ्रममा पारेर, कसैलाई लोभमा पारेर पनि बेच्न लगिने अवस्था हुन्छ। कसैलाई चाहिँ जबर्जस्तीमा पारेर लगेको पनि देखिन्छ।’

गोलेले मानव बेचबिखन र तस्करी जुनसुकै आवरणमा भए पनि रोक्न जरुरी रहेको बताए। विभिन्न कारणले हुने मानव बेचबिखन तथा ओसारपसार एक सामाजिक अपराध भएकाले यसलाई नियन्त्रण गर्न मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ द्वारा नियन्त्रणको प्रयास भएको छ।

नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले असोज १२ गतेसम्म भिजिट भिसा अन्य कारणले विदेश हिँडेका ६ हजार ४६६ जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काएको छ। सोधपुछ गर्दा मानव बेचबिखन तथा तस्करीमा पर्ने जोखिम देखिएपछि उनीहरूलाई विमानस्थलबाटै फर्काइएको ब्युरोले जनाएको छ।

उक्त तथ्यांक ब्युरोले पीडितलाई फर्काइएको तथा उजुरी पर्न आएको मात्र हो। तर विभिन्न बहानामा एजेन्टहरूले घरेलु कामका लागि नेपाली महिलालाई धेरै देशमा पुर्‍याइरहेका छन्। यो प्रत्यक्ष देखिएको तथ्यांक हो। अप्रत्यक्ष तथ्यांक योभन्दा माथि हुन सक्छ। त्यसको केही लेखाजोखा छैन।

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धित नेपालभरिबाट १ हजार ८२ जनाको र ब्युरोमा मात्र १७० जनाको मुद्दा दर्ता भएको ब्युरो तथ्यांकले देखाएको छ।
मानव बेचबिखन तथा ओसारपसार सम्बन्धित नेपालभरिबाट १ हजार ८२ जनाको र ब्युरोमा मात्र १७० जनाको मुद्दा दर्ता भएको ब्युरो तथ्यांकले देखाएको छ। नेपालभरिको प्रहरीले हालसम्म देश तथा विदेशबाट उद्धार संख्या १ हजार २६२ जनाको रहेको छ भने ब्युरोद्वारा मात्र ५८७ जनाको उद्धार गरिएको ब्युरोको तथ्यांकले देखाएको छ। ‘यसरी मुद्दा दर्ता मात्र गर्दैनौं। अनुसन्धान पनि गर्छौं। बाहिर जिल्लाहरूलाई अनुसन्धानमा सहयोग पनि गर्छौं। यस्तै विभिन्न संघसंस्थासँग समन्वय गरेर व्यक्तिलाई उद्धार गरेर सम्बन्धित व्यक्तिको परिवारको जिम्मा पनि लगाउने गरेका,’ ब्युरोका केही अधिकारीको भने।

सरकारसँग मानव तस्करीसम्बन्धी प्रस्ट नीति नहुँदा तस्करले कानुनी उन्मुक्ति पाइरहेको मानवअधिकारका लागि जनमञ्च अर्थात् पिपुल फोरमका अध्यक्ष सोम लुइँटेलको भनाइ छ। उनका अनुसार वैदेशिक रोजगारीदेखि विदेशमा अध्ययनलगायत विभिन्न बहानामा मानव तस्कर र बेचबिखन भइरहेको छ। सरकारले मानव बेचबिखनमा परेका नेपालीको उद्धार गर्ने प्रस्ट नीति बनाउनुपर्ने उनको सुझाव छ।

‘खाडीका देशमा घरेलु काममा महिलालाई जोखिम भयो भन्दै नेपाल सरकारले प्रतिबन्ध लगाएको छ। तर खाडीका देशमा मात्र होइन, आकर्षक रोजगारीको प्रलोभन देखाएर छिमेकी देश भारत र नेपालभित्रै पनि मानव बेचबिखन तथा ओसारपसार भइरहेको छ,’ अध्यक्ष तथा अधिवक्ता लुइँटेलले भने।
मानव बेचबिखन र तस्करीविरुद्ध मुख्यमुख्य बोर्डर नाकामा डिजिटल बोर्ड, मानव बेचबिखन र तस्करीविरुद्ध प्रचार पम्पलेट, बोर्ड र जनचेतनामूलक वृतचित्र बनाइएको ब्युरोले बताएको छ। त्यस्तै उद्धार तथा पुनःस्थापनाको काम, सचेतना अभियान, मानव बेचबिखनका लागि सम्भावित क्षेत्रहरूका बारेमा सरकारलाई सुझाव समेत दिने काम गैरसरकारी संस्थाहरूले गरिरहेका छन्। मानव बेचबिखनमा परेका व्यक्तिलाई सीपमूलक तालिम, समाजमा पुनःस्थापनाका लागि सहकार्य गर्ने विभिन्न जिल्लाहरूमा तालिम प्रदान पनि गर्दै आएको ब्युरोको अनुभव छ।
अर्को समाचार
भिजिट भिसामा महिलालाई ‘कडा सर्त’
२७ फागुन २०७८
•
४ मिनेट पाठ
भिजिट भिसामा महिलालाई ‘कडा सर्त’
सरकारले महिलाको हकमा भिजिट भिसामा अलि कडा सर्त राख्ने तयारी गरेको छ। भिजिट भिसाका नाममा महिलालाई विदेश पुर्‍याएर गैरकानुनी धन्दामा लगाउने प्रवृत्ति बढेपछि त्यसको नियन्त्रण गर्न कडा सर्त राख्ने तयारी भएको हो। सरकारी कार्यदलले महिलाको हकमा भिजिट भिसामा संवेदनशील बन्न सुझाव दिएको छ। महिला नेत्रीहरूले भिजिट भिसामा महिलाका लागि मात्र कडा सर्त राखिए त्यो संविधानविपरीत हुने भन्दै आपत्ति जनाएका छन्। 




वैदेशिक रोजगारीका नाममा मानव तस्करी हुने गरेको गुनासो बढेपछि गृहमन्त्री बालकृष्ण खाँणले माघ ११ गते मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेका थिए।

कार्यदलमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरीश्चन्द्र पौडेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीमप्रसाद ढकाल, अध्यागमन विभागका निर्देशक प्रकाशचन्द्र अधिकारी सदस्य र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका उपसचिव दीनबन्धु सुवेदी सदस्य सचिव थिए। कार्यदलले महिलाले विदेश जाँदा विभिन्न सर्त पूरा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको छ। कार्यदलले भिजिट भिसामा विदेश जाने महिलाका लागि कार्यविधि बनाउनसमेत सुझाएको छ।

कार्यदलले महिलाले विदेश भ्रमण गर्दा उद्देश्य र कार्यक्रम, आधारभूत मापदण्ड, प्रक्रिया र कागजात पूरा भए/नभएको, वैध भिसा, हवाई टिकट, गन्तव्यसम्मको बोर्डिङ पास, होटल/आवास व्यवस्था, भ्रमण अवधिको खर्चको स्रोत देखाउनुपर्ने व्यवस्था गर्न सुझाएको छ।

भिजिट भिसामा विदेश जान महिलाले वार्षिक न्यूनतम पाँच लाख रूपैयाँ करयोग्य आय भई कम्तीमा सोको आधा रकम बैंक खातामा बचत गरेको हुनुपर्ने व्यवस्था गर्न पनि सुझाव दिइएको छ। त्यस्तै अध्यागमन विभागको पूर्वस्वीकृति पनि लिनुपर्नेछ। ‘बैक ब्यालेन्स हुनुपर्छ, भाषा अनिवार्य जान्नुपर्छ’, सुझावमा लेखिएको छ, ‘कति समय बस्ने त्यसबारे अध्यागमन विभागको पूर्वस्वीकृति आवश्यक पर्नेछ।’  

केही सुझाव अव्यावहारिक भएको गुनासो आएपछि गृह मन्त्रालयले परिमार्जन गर्न लागेको छ। ‘सुझाव केही अव्यावहारिक पनि छन्। त्यस्ता सुझाव परिमार्जन गर्न जरुरी देखियो’, मन्त्रालय स्रोतले भन्यो। कुनकुन सुझाव परिमार्जन गर्ने विषयमा स्रोतले खुलाएन। कार्यदलले फागुन १८ गते गृहमन्त्री खाँणलाई सुझाव प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा दिइएका विभिन्न सुझावमा सञ्चार र अन्य माध्यमबाट आएका प्रतिक्रियाका आधारमा केही संशोधन गर्न लागिएको स्रोतले जनाएको छ।

भिजिट भिसामा विदेश जाँदा कुन प्रयोजनको लागि हो त्यसबारे स्पष्ट खुल्ने कागजात देखाउनुपर्ने व्यवस्था गर्न सुझाव दिइएको छ। ‘आमन्त्रण वा प्रायोजन खुल्ने कागजात, विदेश यात्राको अनुभव तथा भ्रमण गरेका मुलुक, भ्रमण गर्नेको नेपालमा पेसा/व्यवसाय, रोजगारी, वार्षिक औसत आय तथा करसम्बन्धी विवरण, शैक्षिक योग्यता तथा भाषिक दक्षता अंग्रेजी, अन्य र खाडी मुलुकको हकमा अरेबिक भाषा, गन्तव्य मुलुकमा रहेका नाता, सम्बन्ध र परिवार, भ्रमणको प्रकृति, व्यक्तिगत, संस्थागत र सरकारी यी सबै खुल्नुपर्छ’, प्रतिवेदनमा दिइएको सुझावमा उल्लेख छ। सुझावमा राहदानी, भ्रमण तालिकासहितको दुईतर्फी हवाई टिकट र भ्रमणसम्बन्धी कागजात, पेस गरेको राहदानी यात्रु आफैंले अनिवार्य बोक्नुपर्ने व्यवस्था गर्न सुझाइएको छ।

मन्त्रालयका प्रवक्ता एवं कार्यदलका संयोजक पोखरेलले महिलाको हकमा अलि संवेदशील भएर नै कार्यदलले सुझाव दिएको बताए। उनका अनुसार भिजिट भिसामा जाने महिलालाई गैरकानुनी काममा लगाइएको गुनासा आएकाले केही जटिल प्रावधान राख्न सुझाइएको हो। ‘महिलालाई गैरकानुनी ढंगले विदेश पठाउने र त्यहाँ पुर्‍याएर तोकिएको भन्दा विभिन्न काममा लगाउने गरिएकाले सरकारले यसको नियन्त्रण गर्न विधि बनाउँछ तर अहिले कार्यदलले दिएको सुझाव नै कार्यान्वयन हुन्छ भन्ने छैन,’ पोखरेलले भने। 

नेपालबाट भिजिट भिसामा महिलालाई विदेश लगेर गैरकानुनी धन्दामा संलग्न गराएका कारण समस्या उत्पन्न भएको निष्कर्ष कार्यदलको छ। विमानस्थलभित्र रहेका सरकारी कार्यालयका अधिकारी पनि यो विषयमा जिम्मेवार रहनुपर्ने प्रतिवेदनमा औंल्याइएको छ। ‘अध्यागमन कार्यालय, वायु सेवा कम्पनी, विमानस्थल प्रहरी, अपराध महाशाखा, लागुऔषध नियन्त्रण ब्युरो, पर्यटक प्रहरी, सेना, अनुसन्धान विभागबीच समन्वयकारी भूमिका आवश्यक छ’, प्रतिवेदनमा सुझाइएको छ।

कार्यदलले साउदी अरेबिया, दुबई, कतारलगायतका खाडी मुलुकमा रहेका नेपाली राजदूतावासले भिजिट भिसामा त्यहाँ गएका महिलाको अवस्थाबारे जानकारी राख्ने संयन्त्र निर्माण गर्न पनि सुझाएको छ। कार्यदलले दुई वर्षसम्म विदेश बसेका मात्रै भिजिट भिसाका लागि योग्य हुने सुझाव दिएको छ। ‘न्यूनतम दुई वर्ष विदेश बसेको र बैंकमा आवश्यक रकम मौज्दात भएका महिलालाई भिजिट भिसाका लागि योग्य ठहर्‍याउनुपर्छ’, सुझावमा उल्लेख छ।

महिलाका लागि भिजिट भिसामा जटिल प्रावधान राख्न सुझाइएपछि महिला नेत्रीहरूले गृहमन्त्री खाँणलाई भेटेर आपत्ति जनाइसकेका छन्। उनीहरूले महिलाका लागि मात्र कडा सर्त राखिए त्यो संविधानविपरीत हुने बताएका छन्।

नेत्रीहरूले महिलालाई भिजिट भिसामा विदेश जान वञ्चित गराउने प्रावधान राखे मान्य नहुने भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय, सांसदहरू रंगमती शाही, बिन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठले गृह मन्त्रालयमा पुगेर भिजिट भिसासम्बन्धी प्रतिवेदनमा असहमति जनाएका हुन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस