काठमाडौँको टुँडिखेलमा प्रसंशा संरक्षण समूहको आयोजनामा बिहीबारदेखि सुरु भएको गौरा पर्व आज सम्पन्न भएको छ। सो अवसरमा काठमाडौँमा बस्ने सुदूरपश्चिमेलीले तीन दिनसम्म धुमधामका साथ गौरा पर्व मनाएका छन्।
गौरा मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा उद्घाटन गरेका थिए। हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घरघरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको सुरु गर्ने चलन छ।
तीन दिनसम्म मनाइने गौरामा महिला व्रत बस्ने र गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाउने गर्छन्। यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भनिन्छ। गौराको दोस्रो दिन व्रतालु महिलाले पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन रहेको डोटी घर भई हाल काठमाडौँमा बस्दै आउएकी स्थानीय रहनी खड्काले बताइन्।
उनका अनुसार सप्तमीका दिन गौरा देवीलाई नजिकको मठमन्दिरमा भित्र्याएर पूजाअर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन्। गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउनेस्थल गौरा खलोमा पूजाआजा गर्छन्। साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा छ।
महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा गौरादेवीको बिरुडा थापिदिने अनि प्रसादका रुपमा सबैलाई वितरण गर्ने चलन रहेको डोटी घर भइ हाल कामको सिलसिलामा काठमाडौँ बस्दै आएकी तुलसी शाहीले बतताइन्। उनका अनुसार गौरा पर्वको प्रमुख आकर्षण भनेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने नै हो। त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ।
काठमाडौँमा बस्ने सुदूरपश्चिमेलीहरुले टुँडिखेलमा तीन दिनसम्म गौरासम्बन्धी विभिन्न देउडा, चैत, धुमारी, स्थानीय भाषासहितका खेल खेलेर आनन्द लिएका थिए। सो अवसरमा उनीहरुले देउडा र धमारी, ढुस्को, होरी खेलसमेत खेलेको अछामकी मङ्गलादेवी साउदले बताए। सुदूरपश्चिमेलमा गौरा पर्वलाई आफन्तसँग भेटघाट गर्ने समयसहित एकताको पर्वका रुपमा पनि लिइन्छ।
हुम्ली र बझाङी ठकुरी बस्तीको गौरा धनगढीमा पनि मनाइएको छ। सुदूरपश्चिमका अन्य जिल्लामा केही दिनअघि गौरा मनाएर सकिए पनि हुम्ला र बझाङका ठकुरीहरुले भने हिजोआज गौरा मनाइरहेका छन्।
बझाङमा पुर्ख्यौली घर भई धनगढीमा बसोबास गर्दै आएका बझाङी ठकुरीहरुले बुधबार धनगढीमा भव्यरुपमा गौरा पर्व मनाएका हुन्। तिजपछि उजेली गौरा भन्दै बझाङी ठकुरी समुदायले धनगढीको जुगेडा गाउँमा गौरा पर्व मनाएका हुन्। धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा गौरा भित्र्याएर तीन दिन ब्रत बसी बुधबार समापन गरेका छन्। ब्रतालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याएर तीन दिन ब्रत बसेर बुधबार समापन गरिएको सर्मिला सिंहले बताइन्। उनले भनिन्,‘पुर्ख्यौली घर बझाङ र हुम्लामा भएका ठकुरीहरुले यहाँ गौरा मनाएका हौँ।’
पुरुषहरुले ढाल तरबारसहितको खेल खेल्ने गर्छन् भने ब्रत बसेकी महिलाले गीत गाउने, नयाँ कपडा र गहनामा सजिएर नाच्ने गरिएको बताउँदै सिंहले भनिन्, ‘ब्रतालुहरुले हातमा पातीको डाँठ समातेर भगवानको गाथा गाउँदै गोल घेरा बनाई खेल खेल्ने गरिन्छ।’ तीजको ब्रतपछि मनाइने हुम्ली र बझाङी गौरालाई उजेली गौरा भनिएको बताउँदै पुर्ख्यौली घर बझाङ भई हाल धनगढी जुगेडामा बस्दै आएका रतनबहादुर सिंहले बताए। उनले भने, ‘हाम्रो र सुदूरपश्चिमका अन्य जिल्लामा मनाइने गौराको विधि र पद्दती एउटै भए पनि समय भने फरक छ ।’ हुम्ली र बझाङी ठकुरीहरुले तिजपछि मात्रै गौरा मनाउने गरेको उनले बताए। ‘हामीले जुम्ली राजाहरुको नीति र तिथिलाई मानेर परम्परादेखि तिजपछि नै गौरा मान्दै आएका हौँ,’ पुजारी चेतराज जोशीले भने, ‘हाम्रो गौरा जुम्ला, हुम्लाका राजा रजौटासँग मेल खान्छ र त्यही तिथिअनुसार तिजको ब्रत सकिएपछि मनाउने गर्छौं।’
हुम्ली र बझाङी ठकुरीहरुले तिजपछि गौराको पूजा गर्ने चलन रहेको बताउँदै धनगढी उपमहानगरपालिकाका उपमेयर सुशीला मिश्र भट्टले भनिन्, ‘सुदूरपश्चिमका अन्य जिल्लामा भन्दा बझाङी ठकुरीहरुको फरक चलन छ, त्यही अनुसार तिजपछि नै उहाँहरुले गौरा पर्व मनाउने गर्छन्।’ बझाङी ठकुरीहरुको गौराको आफ्नै महत्व र समय रहेको बताउँदै उनले भनिन्, ‘उहाँहरुको पर्वलाई पनि हामीले धनगढीमा मनाउन पाउँदा खुसी छौँ।’ उपमहानगरपालिकाले पनि बझाङी ठकुरीहरुको गौराघरका लागि सहयोग गर्ने उनले बताइन्।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...