बुधबार गृहमन्त्रालयले अवैध क्रसर बन्द गराउन पठाएको पत्र बिहिबार मधेस प्रदेशका आठवटै प्रमुख जिल्ला अधिकारी(सिडिओ)हरुले प्राप्त गरिसकेका छन्। सिडिओले जिल्लाका एसपीलाई अवैध क्रसर बन्द गराउन पत्राचार गरेपनि शुक्रबार बिहानसम्म यस प्रदेशका कुनैपनि अवैध क्रसर बन्द भएको छैन।
लहानको खुट्टी खोलामा अवैध रुपमा संचालित स्टोन क्रसर उद्योग।पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जिल्लामा अवैध क्रसर संचालन नभएको दाबी गरे। उनले भने, ‘एकआध होलान्, यहाँ त्यस्तो क्रसर स्रसरको लफडा छैन।’
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार गृहको आदेशपत्र प्राप्त भएपछि जिल्लामा संचालित अवैध÷वैध क्रसरको तथ्यांक संकलन गर्दैछौं। उनले भने,‘अहिले गृहबाट कडा निर्देशन आएको छ अवैध जति सबै क्रसर बन्द हुन्छ।’
रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले गृहको पत्रको आसयअनुसार कारवाही अघि बढाउने बताएका छन्। ‘यहाँ संचालित अवैध क्रसर प्रहरीसँग समन्वय गरेर बन्द गराउँछौं, उनले भने।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार अवैध क्रसरहरु बन्द गराउन गृहको आदेशपत्र आज आएको छ। वैध क्रसरहरु तुरुन्त बन्द गराउन भनेर आदेश आएको उनले बताए।
‘हामीले प्रहरीलाई कारवाही अघि बढाउन भनिसक्या छौं, यहाँ संचालित अवैध क्रसरको विवरण लिएर कारवाही अघि बढाउने हो’ उनले भने, ‘हिजोसम्म के भयो त्यो कुरा छोडौं अब यसमा कुनै ‘कम्प्रोमाइज’ हुँदैन।’
महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीका अनुसार गृहको पत्र प्राप्त भएसँगै प्रहरी, स्थानीय तह र घरेलुसँग समन्वय गरी जिल्लामा संचालित अवैध क्रसरको विवरण लिइरहेको छ। अवैध रुपमा संचालनमा रहेको सम्पूर्ण क्रसरलाई बन्द गराउन प्रहरीलाई भनिसकेको उनले बताए।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गृहको पत्रअनुसार अवैध क्रसर बन्द गराउन प्रहरीलाई पत्राचार गरिसकेको बताए। ‘प्रहरीले माथिको आदेशअनुसार अवैध क्रसरहरु बन्द गराउँछ’, उनले भने।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले गृहबाट प्राप्त पत्र राखेर अवैध क्रसर बन्द गराउन जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको बताए। ‘अब प्रहरीले अवैध क्रसर पहिचान गरी बन्द गराउँछ’, उनले भने।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार अवैध रुपमा संचालित क्रसरको विवरण संकलन गरिरहेको छ। अवैध यकिन भए बन्द गराउने उनले बताए।
मधेस प्रदेशका जिल्लामा संचालित अवैध क्रसरहरु गृहको पत्रले पूर्णरुपमा बन्द हुनेमा स्थानीय विश्वस्त छैनन्। गृहको आदेश कार्यान्वयन गर्नेहरुले नै उक्त क्रसरहरुलाई संरक्षणमा गर्दै आएको स्थानीयको भनाइ छ।
सिरहाको कर्जन्हा नगरपालिका बडहरामालमा संचालित कमलामाई एग्रिगेट इण्डष्ट्रिज, नन्द बाबा ढुंगा क्रसिङ उघोग, जानकी क्रसर उघोग, धनगढीमाई नगरपालिका अयोध्यानगरमा गागन खोलाको पूर्व टाँसिएर संचालित सन्नी क्रसर उघोग, पुकार वालुवा प्रशोधन उद्योग, लहान नगरपालिका १४ वस्तीपुर स्थित खुट्टी खोलाको पश्चिम टाँसिएर संचालित जय काली ढुंगा क्रसिङ उघोग, हिमाल क्रसर उद्योग, अमर ढुंगा क्रसर उद्योग, श्री जगदम्वा ढुगां क्रसिङ्ग उघोग, गोलबजार नगरपालिका चन्द्रउदयपुरमा संचालित शिवम् क्रसर उद्योग, प्रशान्त बालुवा प्रशोधन उद्योग, लवटोली, माँ संतोषी क्रसिङ्ग उघोग नवीकरण बर्षौदेखि प्रहरी प्रशासन, घरेलु कार्यालय, सम्बन्धित पालिका, जिल्ला समन्वय समिति, आन्तरिक राजश्वसँगको सेटिङमा संचालनमा छन्।
धनुषामा दर्ता रहेको २१ वटा क्रसर तथा वालुवा प्रशोधन केन्द्रमध्ये महादेव महतो सुडी संचालक रहेको गणेशमान चारनाथ नगरपालिका गोद्दारमा संचालित कमला स्टोन क्रसर उद्योग, यसै पालिकाको लवटोलीमा संजय शर्मा संचालक रहेको कमलामाई क्रसर उद्योग, ज्ञानकुमारीदेवी संचालक रहेको श्रीरेश्वर महादेव क्रसर उद्योग, अरुणकुमार साह संचालक रहेको जयमातादी स्टोन क्रसर उद्योग, मिथिला नगरपालिकामा विनोद साह संचालक रहेको सुमित क्रसर उद्योग, मन्जु क्षेत्री संचालक रहेको धनेश्वर क्रसर उद्योग, सत्यदेवकुमार श्रेष्ठ संचालक रहेको मिथिला क्रसर एण्ड कंक्रीट उद्योग, रोहितकुमार साह संचालक रहेको साह टिट्टी उद्योग, जोगमायादेवी झा संचालक रहेको कुमारी माँ गिट्टी उद्योग, विनोद साह संचालक रहेको सुभाष क्रसर उद्योग, गाणेशमान चारनाथ नगरपालिका ८ मा नागेन्द्र साह र कुमारी साह संचालक रहेको संकटमोचन क्रसर उद्योग वर्षौदेखि नवीकरण प्रहरी प्रशासन, स्थानीय तह, घरेलु र समन्वय समितिको सेटिङमा संचालन हुँदै आएको छ।
सिरहा र धनुषामा मात्र नभई सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा पनि अवैध क्रसरको विगविगी छ। वर्षौदेखि सेटिङमा चल्दै आएको अवैध क्रसर धन्दामा गृहको पत्राचारपछि हलचल पैदा भएपनि पूर्णतः बन्द हुनेमा अझै शंका छ। प्रहरी प्रशासनको इमान्दार निगरानी नभएसम्म यो अवैध धन्दा बन्द हुन नसक्ने वातावरणप्रेमीहरु बताउँछन्। ‘यहाँ क्रसर डनहरुलाई डर भनेकै प्रहरीप्रशासनसँग छ’, धनुषाका एक वातावरण अभियानी भन्छन्, ‘बाँकीलाई त उनीहरु थर्काएरै तह लगाउँछन्।’
गृहले अवैध क्रसर बन्द गराउने अभियान चालेको यो पहिलो भने होइन। चार वर्षअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाले मापदण्ड नपुगेका क्रसरलाई कारबाहीको चेतावनी दिएका थिए । गृहमन्त्री थापाले ०७५ असारमा देशभरका जिल्ला प्रशासनबाट मापदण्ड पूरा नगरेका क्रसरहरूको विवरण मागेर कारबाहीको चेतावनी दिएका थिए । प्रमुख जिल्ला अधिकारीहरूलाई क्रसर उद्योगहरूको अनुगमन गरेर दर्ता र मापदण्ड पालना गरे–नगरेको, उद्देश्यअनुसार सञ्चालन भए–नभएको, प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) स्वीकृत गरे–नगरेको, सरकारलाई कर तिरे–नतिरेकोलगायत अद्यावधिक विवरण संकलन गरेर पठाउन गृहमन्त्री थापाले निर्देशन दिएका थिए । त्यतिबेला विनादर्ता सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योग तत्काल बन्द गर्ने–गराउने निर्देशन दिइएको थियो । नदीजन्य पदार्थमा आधारित उद्योग तथा त्यसको उत्खनन, संकलन र बिक्री–वितरणको समेत अनुगमन गरी मापदण्डविपरीत गतिविधि भए कारबाही गर्न निर्देशन दिइएको थियो । तर, गृहमन्त्रीका यी निर्णय र निर्देशन कार्यान्वयनमा जान सकेनन् । त्यो विषय त्यसै सेलायो ।
क्रसरसम्बन्धी साबिकको व्यवस्थालाई खुकुलो बनाउँदै गत ६ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ मा संशोधन गरेको थियो । तर, यसले क्रसरको दोहनलाई प्रश्रय दिने भन्दै विवाद भएर सर्वोच्चमा रिट दायर भएको थियो । सर्वोच्चले संशोधित मापदण्ड पालना नगर्न अन्तरिम आदेश जारी गरेपछि साबिककै व्यवस्था नै कायम भयो । क्रसरको जथाभावी उत्खनन् रोक्न भन्दै ऐन नै ल्याउने प्रयास सरकारले गरे पनि हालसम्म जारी हुन सकेको छैन ।
गृह मन्त्रालयले अवैध क्रसर उद्योगलाई नियन्त्रण गरेसँगै मुलुकभर नै निर्माण सामग्रीको चर्काे अभाव देखिएको छ। गृह मन्त्रालयले गत पुस २० गते ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गरेर अवैध क्रसर उद्योगलाई नियन्त्रण गर्न निर्देशन दिएको थियो।
गृहले निर्देशन दिएपछि हालसम्म ८ सयभन्दा धेरै अवैध क्रसर उद्योगलाई बन्द गरिएको छ। गृह मन्त्रालयले अवैध क्रसर उद्योग बन्द गरेसँगै सम्बद्ध आयोजना प्रमुख र निर्माण व्यवसायीले पूर्वाधार निर्माणमा आवश्यक पर्ने निर्माण सामग्रीको चर्काे अभाव भएको दाबी गरेका छन्। पूर्वाधार निर्माणको मुख्य सिजनमा क्रसर तथा अन्य खानीबाट गिटी, रोडा, ढुंगालगायत निर्माण सामग्रीको अभावका कारण राष्ट्रिय गौरवका आयोजनासमेत प्रभावित भएको बताइएको छ।
बालुवा अभावका कारण नागढुंगा सुरुङमार्ग निर्माणको काम पनि प्रभावित हुने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका डेपुटी प्रोजेक्ट डाइरेक्टर माधवप्रसाद अधिकारीले ठेकेदार कम्पनीले बालुवाको अभावका कारण नागढुंगा सुरुङमार्गको काम प्रभावित हुनसक्ने चेतावनी दिइसकेको बताए। ‘आयोजनासँग एक-दुई दिनलाई मात्र पुग्ने बालुवा स्टक रहेको छ,’ उनले भने, ‘अहिलेको अभाव केही दिनभित्रै सहज नभए काम रोकिने अवस्था सिर्जना हुने देखिन्छ।’
प्रोजेक्टका डेपुटी डाइरेक्टर अधिकारीले बालुवा उपलब्ध नभएर काम रोकिएको खण्डमा जापानी निर्माण कम्पनीले आयोजनासँग दैनिक डेढ करोड रूपैयाँ दाबी गर्ने बताए। ‘हाम्रो कारणले आयोजनाको काम एक दिन रोकिएको खण्डमा ठेकेदार कम्पनीले दैनिक डेढ करोड रूपैयाँसम्मको दाबी गर्न सक्नेछन्,’ उनले भने, ‘बालुवा अभावकै कारण आयोजनाको काम रोकिए दैनिक डेढ करोड रूपैयाँभन्दा धेरै क्षतिपूर्ति तिर्नुपर्नेछ। त्यसैले पनि अहिलेको समस्या तुरुन्तै समाधान गर्न जरुरी छ।’
आयोजनाको ठेकेदार कम्पनीले गोसाइँकुण्ड बालुवा प्रशोधन केन्द्रबाट बालुवा किन्दै आइरहेको थियो। प्रोजेक्टका डेपुटी डाइरेक्टर अधिकारीले अहिले कुनै पनि बालुवा प्रशोधन केन्द्र तथा क्रसर उद्योगसँग बालुवा खरिद गर्न नपाइएको बताए। ‘अहिले निर्माण सामग्रीको चर्काे अभाव छ,’ उनले भने, ‘यो अभाव कहिलेसम्म रहने कुनै ठेगाना छैन।’ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग बन्द हुँदा ४ खर्ब रूपैयाँबराबरका ८ हजार निर्माणाधीन आयोजनाको काम प्रभावित भएको दाबी गरे। ‘एकातर्फ पूर्वाधार निर्माणको मुख्य सिजनमा निर्माण सामग्रीको अभावले ८० प्रतिशतभन्दा धेरै निर्माणाधीन आयोजनाको काम ठप्प जस्तै छ।
अर्काेतर्फ सरकारी निकायले आयोजनाको काम गरेको रकम भुक्तानी नगरेकाले आयोजनाको काम रोकिँदै आइरहेको छ,’ उनले भने, ‘यस्तै अवस्था रहिरहने हो भने निर्माणाधीन सबै आयोजना बन्द गर्नुको विकल्प छैन।’ अहिले ८ हजार आयोजनामध्ये २० प्रतिशतको मात्र काम भइरहेको छ। गृहका प्रवक्ता तथा सहसचिव फडिन्द्रमणि पोखरेलले जिल्ला प्रशासन कार्यालयले गत पुस २० गते यता अवैध रहेका ८ सयभन्दा धेरै क्रसर उद्योग बन्द गराएको बताए। ‘हामीले शतप्रतिशत क्रसर उद्योग बन्द गराएका छैनौं। नेपालमा करिब ११ सयभन्दा धेरै क्रसर उद्योगहरू रहेका छन्। तीमध्ये ३ सयभन्दा धेरै क्रसर उद्योग नियमित रूपमा सञ्चालन हुँदै आइरहेका छन्,’ उनले भने, ‘समस्यामा प¥यो भन्दैमा अवैध काम गर्न त भएन नि !’
प्रवक्ता पोखरेलले कुनै पनि आयोजना विशेषका लागि खोलिएको कुनै पनि क्रसर उद्योग बन्द नगरेको दाबी गरे। ‘आयोजनाको डिपिआरमै उल्लेख गरिएका क्रसर उद्योग कुनै पनि बन्द गरेका छैनौं,’ उनले भने, ‘सम्बन्धित निर्माण व्यवसायीले पनि बालुवा तथा रोडा उपलब्ध गराउने क्रसर उद्योग दर्ता छ कि छैन भनेर मात्रै खरिद गर्नुप¥यो नि।’ प्रवक्ता पोखरेलले अवैध रहेका क्रसर उद्योगले वैध ढंगले दर्ता गर्न प्रक्रिया पूरा गरेर आएको खण्डमा सहजीकरण गरिने बताए। ‘अहिले जिल्ला प्रशासन कार्यालयले दर्ता नभएका र म्याद नाघेका क्रसर उद्योग बन्द गराएको छ,’ उनले भने, ‘कानुनअनुसार चलेका कुनै पनि क्रसर उद्योगलाई अवरोध गरेका छैनौं।’
यस्तो थियो गृहको निर्देशन
गृह मन्त्रालयले गत पुस २० गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यसअघि सर्वाेच्च अदालतबाट भएको आदेश कार्यान्वयन गर्न निर्देशनात्मक आदेश आएसँगै कानुनविपरीत दर्ता नगरी तथा नवीकरणलगायत अनुमति नलिई सञ्चालित ढुंगा, गिटी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न निर्देशन दिएको थियो। मन्त्रालयले विभिन्न आयोजना विकास तथा निर्माणको क्रममा सोही आयोजनाका लागि आवश्यक परिणाममा ढुंगा, गिटी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग÷निर्माण व्यवसायीले आयोजना समाप्त भएपछि पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए सोसमेत छानबिन गरी तत्काल बन्द गर्ने निर्णय गरेको थियो। मन्त्रालयले वातावरण संरक्षण ऐन र सर्वाेच्चबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले परिपत्र जारी गरेको जनाएको छ।
यस्तो थियो सर्वाेच्चको आदेश
सर्वाेच्चको फैसला कार्यान्वयन निर्देशनालयले २०७९ साउन ९ गते गृहलगायत सरकारी निकायलाई पत्र लेखेर सर्वाेच्चबाट २०७७ चैत ९ गतेको आदेश कार्यान्वयन गर्न निर्देशन दिएको थियो। सर्वाेच्चले सो आदेशमा नदी र खोलामा बालुवा, रोडा, गिटी र ढुंगाको उत्खनन गर्ने कार्य र त्यससँग सम्बन्धित बालुवा प्रशोधन र क्रसर उद्योगलाई बढी नियमित गर्ने, वातावरणीय क्षेत्रलाई पनि संरक्षण गर्न विशेष ध्यान पुर्याउनुपर्ने र मापदण्ड निर्देशिका २०७७ मा उल्लिखित दुरीका सम्बन्धमा गम्भीर पुनर्विचार गर्न आदेश दिएको थियो।
सर्वाेच्चको निर्देशनात्मक आदेशको बुँदा नम्बर ‘घ’ मा ‘नेपालभित्र हरेक जिल्लामा के कति संख्यामा बालुवा प्रशोधन र क्रसर उद्योग सञ्चालित छन्। तीमध्ये कतिवटा वैध र कतिवटा अवैध रूपमा सञ्चालित छन्। हरेक उद्योगको अभिलेख तयार गरी दर्ता भएका तर कुनै पनि मापदण्ड पूरा नगर्ने र दर्ता नै नगरी अवैध रूपमा सञ्चालित भइरहेका छन् भने दर्ता नै नगरी अवैध रूपमा सञ्चालित छन् भने कानुनी प्रक्रिया अपनाई बन्द गर्न लगाउने र दर्ता गरिएका तर मापदण्ड पूरा नगरी सञ्चालित उद्योगलाई पनि कानुनी प्रक्रिया अपनाएर बन्द गर्न लगाउने’ आदेश गरेको थियो।
सर्वाेच्चले दर्ता भएका तर मापदण्ड पूरा नगरी सञ्चालित उद्योगलाई एक पटकलाई निश्चित समय दिई मापदण्ड पूरा गर्न लगाउने र सोको पनि अवज्ञा गर्ने उद्योगको दर्ता नै खारेज गर्ने प्रक्रिया अपनाउनुपर्ने आदेश दिएको थियो। सर्वाेच्चको आदेशमा कुनै पनि व्यवसायीको एक्जाभेटर, ट्र्याक्टर, जेसिभी र टिपरलाई नदीजन्य सामग्रीको गैरकानुनी उत्खनन र ओसारपसार गर्ने कार्यका लागि खोला र नदीमा प्रवेश नै नदिने गरी अनिवार्य नियन्त्रण गर्नुपर्ने आदेशमा उल्लेख छ। निर्देशनालयले सोको अध्ययन गरेर अभिलेख तयार पारी जानकारी गराउन निर्देशन दिएको थियो।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले नेपालको कानुनअनुसार अहिले नेपालभर जति पनि क्रसर उद्योग छन्, ती कुनै पनि कानुनबमोजिम वैध हुन नसक्ने बताए। सरकारलाई कार्यान्वयन गर्नसक्ने खालको नियम तथा कानुन बनाउन पनि उनले अनुरोध गरे। ‘कार्यान्वयन गर्नसक्ने कानुन मात्र निर्माण गर्नुपर्ने हुन्छ। तर कार्यान्वयन गर्नै नसक्ने कानुन कसरी कार्यान्वयन होला !’ उनले भने।
महासंघ अध्यक्ष सिंहले राजनीतिक दलसँग सोझै पहुँचवाला र साँठगाँठ गर्नसक्ने शक्तिशाली व्यक्तिहरू अवैध क्रसरमा संलग्न भएकाले पनि नियमन र नियन्त्रण गर्न कठिनाइ भइरहेको बताए। ‘एउटा सामान्य व्यवसायीले नेपालको कुनै पनि भूभागमा क्रसर उद्योग खोल्नसक्ने अवस्था छैन,’ उनले भने। सिंहका अनुसार पुस २२ गतेअघिसम्म प्रतिटिपर गिटी, बालुवा र रोडाको २२ हजार रुयैयाँ थियो तर अहिले बजारमा निर्माणसामग्रीको मूल्य वृद्धि भएर २९ देखि ३२ हजार रूपैयाँसम्म पुगेको छ। जसकारण राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावित भएको छ। राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावित भएको पाटोलाई लेखाजोखा गरेर अघि बढेको खण्डमा राम्रो हुने पनि उनले बताए। ‘गृहले पनि यसअघिको सर्वाेच्चको फैसला मात्रै कार्यान्वयन गर्न खोजेको हो। तर यसको असर समग्र निर्माण क्षेत्रमा देखिएको छ,’ उनले भने, ‘अवैध क्रसर उद्योग नियन्त्रण गर्ने गृहको प्रयास राम्रो भए पनि यसले समग्रमा भने अर्कै असर पारेको छ।’
नेपाल निर्माण व्यवसायीका अनुसार मुलुकभर करिब १२ सय हाराहारीमा सानाठुला क्रसर तथा बालुवा प्रशोधन केन्द्र रहेका छन्। गृह मन्त्रालयले केही दिनअघि ६ सय ८८ वटाभन्दा धेरै अवैध क्रसर उद्योग बन्द गराएको छ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसर उद्योगले पनि विगतमा विद्यमान कानुनमा टेकेरै क्रसर उद्योग दर्ता गरेर सञ्चालन गर्दै आइरहेको दाबी गरे। ‘सरकारले अहिले क्रसर उद्योग दर्ताका लागि जुन मापदण्ड तोकेको छ। सो मापदण्डअनुसार मुलुकभर कुनै पनि ठाउँमा क्रसर उद्योग खोल्न सकिने अवस्था छैन,’ अध्यक्ष न्यौपानेले भने, ‘सरकारले ल्याएको मापदण्ड व्यावहारिक छ भने कुनै निश्चित ठाउँ नै उपलब्ध गराइदिनुपर्यो।’ महासंघका अनुसार विधिवत् हिसाबले दर्ता भएका क्रसरको संख्या ५ सयको हाराहारीमा छन्। ‘सरकारले दिएको निर्देशन पालना गर्दा सबै क्रसर उद्योग बन्द भएका छन्,’ उनले भने।
अध्यक्ष न्यौपानेले खानी विभागबाट अनुमति पाएकाबाहेक अन्य क्रसर उद्योगले कुनै पनि ठाउँबाट निर्माण सामग्री उत्खनन नगरेको दाबी गरे। ‘सबै क्रसर उद्योगले निर्माण सामग्रीको उत्खनन गर्ने होइनन्,’ उनले भने, ‘स्थानीय तहबाट अनुमति लिएका कम्पनीले निर्माण सामग्री उत्खनन गरेर मात्रै क्रसर उद्योगलाई निर्माण सामग्रीको कच्चा सामग्री उपलब्ध गराउने गर्छन्। स्थानीय तहबाट खरिद गरेका व्यवसायीबाट क्रसर उद्योगले खरिद गरी प्रशोधन गर्ने काम मात्रै गर्दै आइरहेका छन्।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...