शीतलहरको चपेटामा मधेसका विपन्न बस्ती
०२ पौष २०७९
•
५ मिनेट पाठ
शीतलहरको चपेटामा मधेसका विपन्न बस्ती
शीतलहरबाट प्रभावित सिरहाको गोलबजार–१० धोबियाधारका मुसहर बालबालिका। तस्बिर: मिथिलेश/नागरिक
परालले छाएको सानो छाप्रो।एकातिर काठ र अर्कातिर परालको बेरा।चिसो भुइँमा बिछ्याइएको डसना। त्यसमाथि ओछ्याइएको पातलो सुकुल ।नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका ६० वर्षीय परमेश्वर पासवानको घरको दृश्य हो यो। दुई दिनदेखि चलेको शीतलहरको सिरेटोले परमेश्वरलाई अत्याएको छ। दुई वर्षअघि शीतलहरकै कारण उनकी पत्नी माकोदेवी पासवानको मृत्यु भएको थियो।




धनगढीमाई नगरपालिका–३ हनुमाननगरकी ६५ वर्षीया सुकनीदेवी सदायलाई शीतलहरको सिरेटोले कपाइरहेको छ। सडकछेउस्थित ऐलानी जग्गामा लहरै फुसका छाप्रा छन्।तिनैमध्ये एउटा छाप्रामा सुकनी सदायको पाँचजनाको परिवार अटाएको छ। चार छोरी र एक छोरा गरी पाँच सन्तानमध्ये दुई छोरीको विवाहमा सर्वस्व गुमाइसकेकी उनलाई न्यानो ओढ्ने,ओछ्याउने र लगाउने जोहो गर्न हम्मे छ।गोलबजार नगरपालिका–१० मुसहरी टोलकी ५० वर्षीया जंगली सदाय दिउँसो चल्ने हावामा ओछ्यानमुनिको पराल सुकाउँछिन्। राति चिसोले ओसिएको  भुइँमा ओछ्याइएको पराल दिनभरि हावामा सुकाएर राति फेरि बिछ्याउनु उनको दैनिकी हो। ‘चिसो भुइँ न्यानो पार्ने सहारा नै पराल हो। गर्मीमा जेनतेन चल्छ, जाडोमा गाह्रो हुन्छ,’ उनले भनिन्, ‘रुईको सिरक–डसना जोड्ने औकात छैन।हामी गरिबका लागि पराल नै सिरक–डसना।’

मधेसका दुर्गम क्षेत्रमा मंसिरको मध्यबाटै बिहान–साँझ चिसो सुरु भएर पुसदेखि ह्वात्तै बढ्छ। पुसको सुरुवातसँगै शरीर कठ्यांग्रिन थालेको छ। हुनेखानेले बाक्लो लुगा पहिरेर ज्यानलाई जतन गरेर राखेका छन्। तर आर्थिक स्थिति कमजोर हुने मधेसका सुकुम्बासी मुसहर, डोम, चमारलगायत समुदायमा भने बर्सेनि शीतलहर कहर बनेर आउँछ। बनिबुतो गरेर दुई छाक जेनतेन टार्ने सुकुम्बासी मुसहरलगायत समुदायका मानिसलाई चिसो छल्ने न्यानो कपडा र सिरक–डसना किन्ने हैसियत पुग्दैन। चिसो बढेपछि बस्तीका अभावग्रस्त नागरिक निदाउन सक्दैनन्। शरीर कठ्यांग्रिँदा राति निद्रा लाग्दैन, पराल बालेर आगो तापौं भने चिसो भुइँमा के बिछ्याउने ? पिरलोमै यस बस्तीको दिनरात कटिरहेको छ। यसै बस्तीकी ४० वर्षीया श्यामदेवी सदायको एककोठे छाप्रोमा सातजनाको परिवार कोचिएर बस्नुपर्ने बाध्यता छ। चारजना छोराछोरी र वृद्ध सासूलाई छाप्रोभित्र राखेर श्याम दम्पतीको रात घरबाहिर खुला आकाशमुनि बित्छ। ओढ्न–ओछ्याउन परालसँगै घरका पुराना कपडा प्रयोग गर्नु त्यो दम्पतीको बाध्यता हो।

धोबियाधार (खोला) को डिलमा रहेको सुकुम्बासी मुसहर बस्तीमा वर्षामा घर डुबान र हिउँदमा शीतलहर पिरलो बनेर आउँछन्। ‘पराल ओछ्याएर चिसो भुइँमा ओढ्ने पुरानो कपडा छ,’ उनले भनिन्, ‘गरिबलाई खान त पुग्दैन। कहाँबाट न्यानो लुगा लगाउनु ?’

शीतलहरका बेला मधेसको अभाव बस्तीमा कठ्यांग्रिएर मानिस मर्न थालेपछि बर्सेनि न्यानो कपडा बाँडिन्छ। उनीहरूको जीवनस्तर सुधार्न थुप्रै बजेट खर्चिन्छ। तर उनीहरू चिसोसँग सधैं पैठेजोरी खेल्न बाध्य छन्। ज्यानमारा बन्दै गएको शीतलहरबाट गरिब र विपन्न परिवारलाई जोगाउन सरकारी योजना पनि टालटुले मात्र छ। गत दुई वर्षमा चिसोले मधेस प्रदेशको विपन्न बस्तीमा १०० जनाको मृत्यु भइसकेको छ।

ज्यान जोगाउन संघर्ष

चिसो बढ्न थालेपछि सिरहाको अति विपन्न मुसहर समुदायमा चिन्ता थपिएको छ। प्रत्येक वर्ष जाडोमा कठ्यांग्रिँदो दैनिकी बिताउने मुसहर समुदाय कसरी ज्यान जोगाउने भनेर चिन्तामा छन्। उनीहरू के लाउने, के ओछ्याउने र के ओढ्ने भनेर चिन्तामा परेका हुन्। पुस–माघको शीतलहर कसरी काट्ने भन्ने चिन्ताले यस भेगका विपन्नलाई सताएको छ। चरम आर्थिक अभावमा रहेका उनीहरूका लागि जाडो मौसमको सहारा पराल नै बन्ने गरेको छ।  

‘जाडोमा पराल नै हाम्रो सहारा बन्छ, परालै ओढ्छौं, परालै ओछयाउँछौं र परालकै आगो ताप्छौं,’ सिरहा बरियारपट्टी गाउँपालिका मुसहरी टोलका फकिर सदायले भने, ‘हामी गरिबसँग अन्य विकल्पै छैन, के गर्ने बाध्यता यस्तै छ।’ जाडोयाममा ज्यान जोगाउने सकससँगै यस बस्तीमा हातमुख जोड्ने सकस पनि हुने गरेको उनीहरू बताउँछन्। जाडोयाममा भगवान् भरोसामा गुजारा चल्ने गरेको फकिरले बताए। ‘जाडोमा बाहिर काम गर्न हिम्मत हुन्न, बाहिर काम गर्न नगए हातमुख जोड्न समस्या हुन्छ,’ उनले भने। गरिबीका कारण टुटेको घरमा बस्नुपरेको र च्यातिएको कपडा जोडेर लाउनु परेको अधिकांश मुसहरको भनाइ छ। प्रत्येक वर्ष जाडो मौसम सुरु हुनासाथ गाउँका साहुमहाजनले दिने पुरानो कपडा उनीहरूको जाडो छल्ने उपाय बन्ने गर्छ।  

अलिअलि घामको सहाराले दिन बिताए पनि रात कटाउन निकै गाह्रो हुने गरेको सिरहा कचनारिकी ६० वर्षीया तेतरीदेवी सदायले बताइन्। ‘घरका बालबालिकालाई च्यातिएको लुगा र पराल ओढाएर सुताउँछौं,’ उनले भनिन्, ‘हामी बुढाबुढीको सहारा आगो ताप्ने घुर नै हो।’ उनले थपिन्, ‘मंसिरमा जोहो गरिएको पराल हाम्रो चुलोदेखि ओछ्यानसम्मको सहारा बन्छ।’

ज्यान लिने जाडो

गर्मीयाममा झाडापखालाले थलिँदा उति आत्तिइनन् बरियारपट्टीकी श्यामकुमारी मलिक। तर पुस लागेसँगै उनको पिरलो बढेको छ। छाप्रोमुनि एकसरो च्यातिएको लुगाका भरमा सिरेटो झेल्नु कम्ती कष्टकर हुँदैन। यसपालि पनि यहाँ पुरै डोम बस्ती शीतलहरले घेर्न थालेपछि उनी आत्तिएकी हुन्। पुसको ठिही टारिदिने लत्ताकपडा छैन उनीसँग।

यतिबेला मधेसका ग्रामीण भेगमा बसोबास गर्ने अधिकांश विपन्न परिवार श्यामकुमारीकै जस्तो पीडा भोगिरहेका छन्। चिसोसँगै बाक्लिएको शीतलहर झेल्न ओढ्ने–ओछ्याउने र न्यानो लुगा नहुँदा उनीहरू सकसमा छन्। मजदुरी गरी कमाएको पैसाले बालबच्चा र आफ्नो पेट भर्नै हम्मे पर्ने उनीहरू बताउँछन्।  

सुँगुर पाल्ने, बाँसका सामग्री बनाएर बेच्नेबाहेक डोम समुदायसँग जीवन धान्ने अर्को विकल्प छैन। ऐलानी जमिनमा छाप्रोको ओत लागेर घामपानी छलेर जीवन काट्दै आएका यो बस्तीमा चिसोले कसरी ज्यान जोगाउने भन्ने संघर्ष चलिरहेको छ। अशिक्षा र गरिबीको पराकाष्ठा, घरको बनावट र प्रकृतिलाई आफ्नो पहुँचमा राख्न नसक्दा विपन्न समुदाय जाडोमा प्रताडित हुनुपरिरहेको छ। आर्थिक अवस्थाकै कारण चिसोमा गरिब, सुकुम्बासी परिवार बढी प्रभावित हुन्छन्। जाडोबाट अन्य समुदाय र सर्वसाधारण पनि प्रभावित हुन्छन्, तीमध्ये पनि विशेषगरी विपन्न, सुकुम्बासी परिवार बढी समस्यामा पर्ने गरेका छन्। शीतलहरबाट बच्ने उपायबारे सरकारले नै गरिब, दलित, सुकुम्बासी बस्तीमा जनचेतना अभियान सञ्चालन गर्नुपर्ने र न्यानो कपडा खरिदका लागि सहयोग गर्नुपर्ने सामाजिक अभियन्ताहरू बताउँछन्।
अर्को समाचार
तरकारी बालीमा डढुवा रोगको जोखिम
२६ पौष २०८०
•
३ मिनेट पाठ
तरकारी बालीमा डढुवा रोगको जोखिम
फाइल तस्बिर
शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ।  लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो। विशेषगरी चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन्।




प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चिसो बढेपछि सार्वजनिक स्थलमा आगो ताप्न चाहने सर्वसाधारणका लागि दाउरा व्यवस्थापन गर्न मातहतका वन कार्यालयलाई निर्देशन दिएको छ।

तरकारी बालीमा डढुवाको जोखिम

शीतलहरका कारण डढुवा रोगले आलु, गोलभेँडालगायत तरकारी बालीमा समस्या देखिएको छ। ‘तीन दशक अघिसम्म यस्तो समस्या थिएन, जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिएको हुनसक्छ’, कैलालीका किसान नारायण चौधरीले भने, ‘आलु तथा गोलभेँडाको व्यावसायिक खेतीमा लागेकालाई यो रोगले निरुत्साहित बनाएको छ।’ जिल्लामा तरकारी खेती व्यावसायिक खेतीको क्षेत्रफल विस्तार हुँदै गए पनि बर्सेनि पुस महिनामा देखिने डढुवा रोगको समस्याबाट बाली जोगाउन मुस्किल हुने गरेको उनको अनुभव छ।

किसान वीरबहादुर चौधरीले भने, ‘पैसा हुनेले विषादी किनेर आलु, गोलभेँडा बालीमा छर्किन थालेका छन्, पैसाको अभावमा औषधि छर्किन नपाउनेले बालीले दिने उत्पादनको आसा मारेका छन्।’ यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ बनाएर गोलभेँडालगायतको तरकारी बालीको खेती गर्ने गरेका पनि छन्। टनेलको व्यवस्थापन गर्न नसक्नेले विषादी छर्किनुपर्ने हुन्छ।

प्रत्येक सात÷आठ दिनको फरकमा ढुसीनाशक विषादी छर्किन सकेमा मात्र बाली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकको छ। डढुवाको जोखिम बढेपछि धेरै किसान यतिबेला विषादी छर्कन थालेका छन्। हप्ता दिनको फरकमा विषादी छर्किनुपर्दा आलु तथा गोलभेँडालगायतको बालीको उत्पादन लागत खर्च बढ्ने गर्छ।

एउटै बालीमा पटकपटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएकालाई बाली जोगाउनै मुस्किल हुने गरेको साना र विपन्न किसानको भनाइ छ। पटकपटक विषादी छर्कंदा लागत खर्च धेरै पर्ने गरेको गुनासो उनीहरूको छ।

रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने र चिसो मौसमको सुषुुप्त अवस्थामा रहने ढुसी सक्रिय हुने भई बोटमा डढुवा रोगको संक्रमणको समस्या देखिने गरेको कृषि प्राविधिक बताउँछन्। यो रोग लागेमा आलु र गोलभेँडाको पात, डाँठ र लागेको फल सडेर जान्छ।

लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो मौसम भइरहँदा ओसिलो जग्गामा गरिएको आलु तथा गोलभेँडालगायतको बालीमा डढुवा संक्रमणको समस्या बढी देखिने गरेको कृषि प्राविधिक खगेन्द्रप्रसाद शर्मा बताउँछन्।

यसका लागि क्रिनोसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसीनाशक विषादीको पाउडर प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगबाट बाली बचाउन सकिने बताइएको छ।

रोग लाग्ने सम्भावना देखिएमा भने बोटमा तोकिएको मात्रामा ‘मेन्कोजे’ पाउडर पानीमा घोलर छर्किदा डढुवाको संक्रमणबाट बाली जोगाउन सकिने बताइएको छ। डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कञ्चनपुर जिल्लाको ठूलो क्षेत्रफलमा गरिने तोरी बालीको क्षेत्रफल घट्दै गएको किसानको अनुभव छ। ढुसीको सङ्क्रमण तोरीबालीमा पनि असर पुर्‍याउने गरेको छ।

डढुवा रोगको समस्या बढ्दै जाँदा तोरी खेती गरिने क्षेत्रफल पहिलेको तुलनामा ह्वात्तै घटेको किसानको भनाइ छ। ‘विसं २०५४ सम्ममा आफ्नो दुई बिघाको पूरै खेतबारीमा तोरी लगाउँथ्यौं’, किसान वीरबहादुरले भने, ‘त्यसपछिका वर्षमा भने डढुवा रोगको समस्या बढ्दै जाँदा यो बाली लगाउन छाड्नुप¥यो।’ पहिले गाउँमा हिउँदे याममा तोरी फुलेर हुने पहेँलपुर वातावरणले गाउँमा एक खालको रमाइलो हुने गरेको अनुभव उनको छ।

ढुसी रोगको समस्या बढ्दा तोरी बालीको विकल्पमा अधिकांश किसान धान र गहुँ खेती गरेर चित्त बुझाइरहेका छन्। छाडा छाडिएका पशु चौपायाले खेतबारीको बाली नष्ट गर्दा बाली जोगाउन किसानले अर्को समस्या बेहोर्नुपरेको छ।

बर्सेनि मौसममा भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भएमा पनि बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको संक्रमणको समस्याका साथै मित्रजीवभन्दा शत्रुजीव समस्या बढ्न थालेको बताइन्छ। –रासस
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस