आम निर्वाचनको मिति नजिकिएसँगै विदेशमा रहेका मतदातासहित देशभित्र नै अन्तरजिल्ला मताधिकारको विषयले स्थान पाउन थालेको छ। निर्वाचनको मिति नजिकिँदा विभिन्न राजनीतिक दल र अभियन्ताहरूले बेजिल्ला मताधिकारको अधिकार पनि खोजेसँगै निर्वाचन आयोग र सरकारले थप काम गर्नुपर्ने देखिएको छ। तथापी विभिन्न दबाबका बाबजुद समेत आयोग र सरकार मौन छ।
यता, नीति अनुसन्धान प्रतिष्ठानले भने देशभित्रका, जिल्ला बाहिरका (बेजिल्ला) र विदेशमा रहेका लाखौँ नेपाली नागरिकलाई मतदानको अधिकार दिन प्राविधिक र व्यवस्थापकीय रूपमा पूर्णतः सम्भव रहेको बताएको छ। प्रतिष्ठानले यी विषयमा न्यायिक र नागरिक अधिकारको कार्यान्वयनमा राजनीतिक इच्छाशक्तिको अभाव देखिएको निष्कर्ष निकालेको छ।
प्रतिष्ठानका अनुसार आयोगले माग गरेका साधन, स्रोत, जनशक्ति, विधि र प्रविधि उपलब्ध गराएमा आगामी फागुन २१ गते हुने निर्वाचनमा नै अन्तरजिल्ला र विदेशमा रहने नागरिकले मतदान गर्न पाउने व्यवस्था लागू गर्न सकिने छ।
नेपालको संविधानको धारा ८४ (५) ले १८ वर्ष उमेर पूरा भएका प्रत्येक नेपाली नागरिकलाई सङ्घीय कानुन बमोजिम प्रतिनिधि सभाको निर्वाचनमा कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार प्रदान गरेको छ। यसले मतदातालाई निश्चित मतदान केन्द्रमै उपस्थित हुनुपर्ने बाध्यता नराखेको प्रतिष्ठानको निष्कर्ष छ।
प्रतिष्ठानका अनुसार मताधिकार कार्यान्वयन गर्न सकिँदैन भन्ने कुरा झूठो रहेको र कानुन संशोधनको रोडम्याप तयार हुन आवश्यक छ। ‘यो कार्यान्वयन गर्न सकिँदैन भन्ने कुरा झूठो हो। यो एभिडेन्स (प्रमाण)मा आधारित गहन अध्ययन हो। कसले कहाँबाट भोट हाल्ने, कसरी गर्ने, कुन कानुन संशोधन गर्ने भन्ने सबै कुराको रोडम्याप तयार भइसकेको छ। यसलाई रोक्ने नियत भएका मान्छेहरूले मात्रै असम्भव भन्न सक्छन्,’ प्रतिष्ठानले भनेको छ।
प्रतिष्ठान स्रोतका अनुसार स्वदेशमा अन्तरजिल्लाका वा विदेशमा रहेका मतदाताको अधिकार कार्यान्वयनको जिम्मा आयोगको भए पनि यसको सफलता वा असफलताको मुख्य 'चाबी' प्रधानमन्त्रीको हातमा रहेको देखाएको छ।
प्रतिष्ठानका अनुसार प्रधानमन्त्रीले 'हुन्छ' भन्ने आदेश दिनेबित्तिकै आयोगले मागेका साधन र स्रोत उपलब्ध गराएर ४८ घण्टाभित्र अध्यादेशमार्फत कानुनी बाटो खुलाउन सकिन्छ। स्वयं निर्वाचन आयोगका पदाधिकारीहरूले पनि साधनस्रोत, जनशक्ति, कानुन र प्रविधि उपलब्ध भएमा यो कार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पारिसकेका छन्।
बेजिल्ला र विदेशबाट मतदानको अधिकार सुनिश्चित गर्न नसक्नु राज्यको औचित्यमाथि नै प्रश्न उठाउने विषय भएको भन्दै प्रतिष्ठानले लाखौँ नागरिकलाई मताधिकारबाट वञ्चित गर्नु नैतिक र कानुनी हिसाबले उचित नभएको बताएको छ।
विदेशमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा मौजुदा निर्वाचन कानुनहरूमा संशोधन गरी आयोगको वेबसाइटको क्षमता वृद्धि गरी गर्ने र अस्थायी सूचीकरणका लागि फिचर थप गर्ने र अस्थायी मतदाता नामावलीमा सूचीकरणका लागि सार्वजनिक आह्वान सकिने पनि अध्ययनले देखाएको छ।
त्यसैगरी, स्वदेशको हकमा भने नेपालमा अन्तरजिल्ला निर्वाचन क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूका लागि पालिकास्तरमा विशिष्टिकृत मतदान केन्द्रको व्यवस्था गरेर मतदाताको भौतिक उपस्थितिमा मतदान गर्ने गरी प्रत्यक्ष मतदानको तयारी गर्न सकिने नीति अनुसन्धानले जनाएको छ।
पर्वत। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्।
लामो समयदेखि स्थानीयवासीका लागि समस्या बन्दै आएको सुनछाप पहिरोले गत असोजमा थप क्षति पुर्याएपछि स्थानीय आवागमन, सडक यातायात तथा सिँचाइ सेवा प्रभावित बनेको छ। मन्त्री श्रेष्ठले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै पहिरोका कारण उत्पन्न समस्या, जोखिम र तत्काल आवश्यक पहलका विषयमा जानकारी लिएका हुन्।
अवलोकनपछि स्थानीय जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिसँग भएको छलफलमा पहिरोको तत्काल मर्मतसँगै दीर्घकालीन नियन्त्रण र प्रभावित पूर्वाधारको संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।
समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरेर एकीकृत योजना अघि बढाउने पहल सुरु गरिएको मन्त्री श्रेष्ठले बताए।
सो अवसरमा पर्वतका प्रतिनिधिसभा सदस्य सागर भूसालले सुनछाप पहिरोको नियन्त्रण अत्यावश्यक रहेको उल्लेख गर्दै यसको दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।
स्थानीय समस्या र आवश्यकताको वास्तविक पहिचान स्थलगत अवलोकनबाटै सम्भव हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि र समुदायसँगको सहकार्यमा पहिरो नियन्त्रण तथा प्रभावित पूर्वाधारको संरक्षणका लागि आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...