गत भदौमा भएको जेन-जी आन्दोलनपछि पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शनिबार पार्टीको केन्द्रीय कार्यालय, च्यासल पुगेका छन्।
पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली च्यासलस्थित कार्यालयमा पुगेका हुन्।
भदौ २३ र २४ गते देशव्यापी भएको जेन-जी आन्दोलनका क्रममा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। सोही आन्दोलनका क्रममा उनको बालकोटस्थित निजी निवास र च्यासलस्थित पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड भएको थियो।
त्यसयता ओली भक्तपुरको गुण्डुमा बस्दै आएका छन् र पार्टीका गतिविधि तथा बैठकहरू पनि त्यहीँबाट सञ्चालन हुँदै आएका थिए।
शनिबार आयोजित चियापान कार्यक्रममा अध्यक्ष ओलीसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवालीलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
जेन-जी आन्दोलनका कारण उत्पन्न परिस्थितिपछि एमालेले आफ्नो केन्द्रीय कार्यालयमा आयोजना गरेको यो पहिलो औपचारिक कार्यक्रम हो जसमा अध्यक्ष ओली स्वयम् उपस्थित भएका छन्।
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।
त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।
बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।
त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।
त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।