राजनीतिक आडमा कब्जा शेरा दरबारको जग्गा फिर्ता ल्याउन मन्त्रालय नै बाधक
२३ वैशाख २०८३
•
१० मिनेट पाठ
राजनीतिक आडमा कब्जा शेरा दरबारको जग्गा फिर्ता ल्याउन मन्त्रालय नै बाधक
राजनीतिक आडमा कब्जा गरिएको सरकारी जग्गा फिर्ता ल्याउन भूमि व्यवस्था मन्त्रालय नै नचाहेको देखिन्छ। नुवाकोटको शेरा दरबारले चर्चेको १८४ मध्ये १६४ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रक्रियामा भूमि व्यवस्था मन्त्रालय नै बाधक देखिएको छ। 




नागरिकलाई प्राप्त कागजातअनुसार नुवाकोट मालपोल कार्यालयले भूमि व्यवस्था मन्त्रालय र भूमि व्यवस्था विभागलाई लेखेको पत्रको जवाफ नदिई करिब एक वर्षदेखि लुकाएर राखेको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले छानबिन गरेको तर सरकारका नाममा फिर्ता ल्याउन नसकेको नुवाकोटस्थित शेरा दरबारले चर्चेको १६४ रोपनी जग्गा विषयमा मालपोत कार्यालय नुवाकोटले मन्त्रालय र विभागलाई पठाएको पत्र अहिलेसम्म लुकाएर राखिएको हो। 

नुवकोटका तत्कालीन प्रमुख मालपोत अधिकृत देवीबहादुर भण्डारीले २०८१ चैत ४ गते भूमि व्यवस्था मन्त्रालय र भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई लेखेको पत्र नै लुकाइएको हो। नुवाकोट मालपोल कार्यालयको पत्र संख्या २०८१/८२ चलानी नम्बर ४१२३ को पत्र अहिले कहाँ छ भन्ने नै थाहै छैन।

‘प्रस्तुत विषयमा यस कार्यालयको हदबन्दी छानबिन सम्बन्धमा मुद्दा नम्बर १/०८१/८२ मा वादी नेपाल सरकारका तर्फबाट मालपोत कार्यालय नुवाकोट र प्रतिवादी कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौंमा दर्ता नम्बर प्रालि ४९७/०२७ दर्ता रही नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर २, शेराबगैंचामा कार्यालय रहेको साबिक गौरी शंकर फार्मिङ प्रालि हाल अन्नपूर्ण फार्मिङ प्रालिका सञ्चालकहरूका तर्फबाट सञ्चालक श्री मनोबल श्रेष्ठले मिति २०८१/१२/०१ मा पेस गर्नुभएको प्रतिउत्तर पत्र पेस तथा यस कार्यालयको मिति २०८१/१२/०४ गते पेस टिप्पणी आदेशको बुँदा नम्बर १ देखि १५ सम्मका उल्लिखित कानुनी प्रश्नहरूको  न्यायिक निरूपण हुन आवश्यक निर्देशनका लागि यसै पत्रसाथ संलग्न राखी पठाइएको व्यहोरा सादर अनुरोध छ,’ पत्रमा उल्लेख छ तर भूमि सुधार मन्त्रालयका कुनै पनि कर्मचारी यसबारे जानकारी दिन मान्दैनन्। भूमिसुधार मन्त्रालयका प्रवक्ता गणेशदत्त भट्टले यो विषयमा आफूलाई जानकारी नभएको बताए। ‘यो विषयमा मैले बुझ्नुपर्ने हुन्छ, पछिल्लो समय केही भएको छैन जस्तो लागेको छ,’ प्रवक्ता भट्टले भने।

अहिले पनि राजनीतिक आडमा कब्जा भइरहेको छ। दुई वर्ष अघि नै शेरा दरबार र त्यसले चर्चेको १६४ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउने क्रममा अन्नपूर्ण फार्मिङ (कम्पनी) लाई सात दिनको म्याद दिएर पत्राचार गरिएको थियो। फार्मिङका सञ्चालक मनोबल श्रेष्ठ एक वर्षदेखि तारेख धाइरहेका छन्। उनले पछिल्लो पटक २०८२ चैत २५ गते तारेख लिएका थिए भने आगामी तारेख आउँदो २५ गतेलाई तोकिएको छ।

शेरा दरबारले चर्चेको जग्गा अहिले अन्नपूर्ण फार्मिङका नाममा छ। नुवाकोट मालपोत कार्यालयले अन्नपूर्ण फार्मिङका सञ्चालक विकेश श्रेष्ठलाई सरकारका नाममा हुनुपर्ने उक्त जग्गा के–कति कारणले फार्मिङका नाममा गएको हो र कसरी भोगचलन गरिएको हो भन्दै स्पष्ट पार्न भूमिसुधारसम्बन्धी संक्षिप्त कार्यविधिअनुसार सात दिनको म्याद दिएर पत्राचार गरेको थियो। त्यसको जवाफ उनले २०८१ चैत १ गते नै बुझाइसकेका छन् तर पनि मन्त्रालयले समयमा काम नगर्दा त्यो जग्गा अहिले पनि फिर्ता आउन सकेको छैन।

तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य र हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालको स्वकीय सचिवसमेत रहेका श्रेष्ठले त्यो जग्गा अहिलेसम्म फिर्ता गरेका छैनन्। राजनीतिक आडमा कब्जा भएको सो जग्गा सुरु नापीमै कैफियत गरी अन्नपूर्ण फार्मिङका नाममा लगिएको थियो। सुरुमा सो जग्गा गौरीशंकर फार्मिङका नाममा दर्ता भएको र पछि नामसारी गरी अन्नपूर्ण फार्मिङका नाममा लगिएको थियो । २०३५ फागुन १२ गते शेरा दरबार र त्यसले चर्चेको कित्ता नम्बर ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ गौरीशंकर फार्मिङका नाममा नापी भएको थियो।

२०५२ सालमा सो जग्गा गौरीशंकरबाट अन्नपूर्ण फार्मिङका नाममा आएको थियो। त्यतिबेला अन्नपूर्ण फार्मिङका सञ्चालकहरू नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहिनी श्रेष्ठ थिए। सोही फार्मिङमा २०७३ सालमा विकेश श्रेष्ठ सेयर सदस्य भएका थिए। २०५२ सालमा हेलेन शाह र जयन्ती शाहका नाममा रहेको उक्त कम्पनीको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहिनी श्रेष्ठका नाममा हस्तान्तरण भएको थियो। त्यसपछि २०७३ असार ३ मा सेयर दाखिला खारेजीको निर्णयले विकेश श्रेष्ठका नाममा पाँच लाख ६७ हजार पाँच सय कित्ता सेयर पाँच करोड ६७ लाख ५० हजार रुपैयाँमा किनबेच भएको देखिन्छ।

त्यसैगरी अजयकुमार सूर्यवंशीका नाममा पनि सेयर रहेको छ। उनका नाममा चार लाख ६० हजार चार सय १० कित्ता सेयर चार करोड ६० लाख ४१ हजार रुपैयाँमा किनबेच भएको देखिन्छ। त्यसैगरी नुवाकोट विदुर नगपालिका वडा नम्बर ४ बस्ने ध्रुवलाल श्रेष्ठका नाममा सेयर कित्ता संख्या ४५ हजार ४५ लाख रुपैयाँमा किनबेच भएको देखिन्छ।

यसैगरी काठमाडौंको नागार्जुन नगपालिका वडा नम्बर ७ बस्ने सुमन पारिकका नाममा सेयर कित्ता संख्या ४५ हजार ४५ लाख रुपैयाँमा किनबेच भएको देखिन्छ। यी चार जनाका नाममा ११ करोड १७ लाख ९१ हजार सेयर खरिदबिक्री भई जग्गा कम्पनीको नाममा लगेको देखिन्छ। २०८० मंसिर १० गतेसम्म उनीहरूमध्ये विकेश र अजय यथावत् रही विकेशका छोरा मनोबल श्रेष्ठका नाममा ९० लाख रूपैयाँमा ९० लाख सेयर कित्ता बनाएर उनलाई नयाँ सेयरधनी बनाइएको थियो। हाल यसका सेयरधनी तीन जना मात्र छन्।

२०२१ सालमा भूमिसुधार ऐन आएपछि हदबन्दीका कारण व्यक्तिका नाममा नापी हुन नसकेपछि सो जग्गालाई गौरीशंकर फार्मिङका नाममा नापी गराइएको थियो। सुरुमै सरकारका नाममा रहेको जग्गा किन गौरीशंकर वा अन्नपूर्ण फार्मिङका नाममा पुग्यो भन्नेबारे भूमि व्यवस्था मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले खोतलेको थियो। शेरा दरबारको जग्गा गौरी शंकर फार्मिङको नाममा नापी भए पनि त्यसको सञ्चालक र सेयरधनी हेलेन शाह र विजया राज्यलक्ष्मी शाह नै थिए। २०२७ फागुन २८ मा स्थापित गौरी शंकर फार्मिङ नामक संस्था २०३६ असार १ को निर्णयपछि अन्नपूर्ण फार्मिङमा परिणत भएको देखिन्छ। 

२०४४ असार ११ गतेको तोक आदेशले मालपोत कार्यालयको स्रेस्तामा गौरीशंकरलाई काटेर अन्नपूर्ण फार्मिङ उल्लेख गरिएको थियो। २०५२ सालसम्म विजयाराज्य लक्ष्मी शाहका नाममा रहेको उक्त कम्पनीको सेयर जयन्ती शाहको नाममा गएको देखिन्छ। सरकारले शेरा दरबारको जग्गा कम्पनी र व्यक्तिका नाममा गएको पाइएपछि अनुसन्धान सुरु गरेको थियो। सिआइबीले थप अनुसन्धान प्रक्रियाका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गरेको थियो। अख्तियारले पनि त्यसबारे अनुसन्धान गरिरहेको छ।

के छ १५ बुँदामा?

नुवाकोट मालपोत कार्यालयद्वारा २०८१ चैत १२ गते भूमि व्यवस्था तथा अभिलेख विभागलाई पठाइएको पत्रमा १५ बुँदामा विभिन्न कानुनी प्रश्न उठाइएका थिए।

१. जग्गाधनी साबिक गौरीशंकर फार्र्मिङ प्रालि संशोधित हाल अन्नपूर्ण फार्मिङ प्रालि (सञ्चालक हेलेन शाह र विजयाराज्य लक्ष्मी शाह)  को मुद्दासँग सम्बन्धित विषयमा हदबन्दी छानबिन गर्ने अधिकार क्षेत्र भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार काठमाडौं वा मालपोत कार्यालय नुवाकोट कुन कार्यालयको हो?

२. मुद्दासँग सम्बन्धित सरकारीकरणका विषयमा हदबन्दीको छानबिनको अन्तिम टुंगो नलागेसम्म जफत गर्न के कुन आधार, कारण र कानुनले मालपोत कार्यालय नुवाकोटलाई मात्रै अधिकार प्रदान गर्छ?

३. भूमिसम्बन्धी ऐन २०२१ र भूमिसम्बन्धी नियमहरू २०२१ बमोजिम हदबन्दी छानबिन गर्ने प्रक्रियाका सम्बन्धमा प्रचलित ऐन, कानुन र प्रतिवादीको प्रत्युत्तरपत्रसमेतलाई हेर्दा हदबन्दी छानबिनको कार्यविधि अपनाउनुपर्ने वा नपर्ने?

४. मुद्दासँग सम्बन्धित विषयमा हदबन्दीसम्बन्धी नियमनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रकाशन गरेको सूचनाको म्यादभित्रै परेको निवेदनउपर मन्त्रालयले कारबाही किनारा नगर्दै यस कार्यालयले जफत प्रक्रिया गर्नु कानुनसम्मत हुन्छ वा हुँदैन?

५. मुद्दासँग सम्बन्धित विषयमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत अनुसन्धानका क्रममा रहेको विषयमा सम्मानित आयोगको अधिकार क्षेत्रमा परी विचाराधीन रहेको मुद्दामा यस कार्यालयले निर्णय दिन सक्छ कि सक्दैन?

६ जग्गा (नापजाँच) ऐन २०१९ बमोजिम नुवाकोट जिल्लामा जग्गा नाप जाँच हुँदा राजा र राजपरिवारको सदस्यहरू संविधान र ऐनकानुनभन्दा माथि भएका कारण संविधान र ऐनकानुन आकर्षित भएन । त्यसकारण नापी हुनु, स्रेस्ता पुर्जा तयार हुनु, जग्गा प्राप्त हुनु र जग्गा हक हस्तान्तरण हुनु स्वाभाविक हो वा होइन?

७. तत्कालीन नेपालको संविधान २०१९ ले राजामा अन्तरनिहीत राजकीय सत्ता र विशेषाधिकार प्रयोग गरी जारी भएको उक्त संविधान कार्यान्वयनको समयावधिमा जग्गाधनी गौरीशंकर फार्मिङ प्रालि (संशोधित अन्नपूर्ण फार्मिङ प्रालि) का नाउँमा कायम रहेको हाल विवादित कित्ता जग्गाहरू नापजाँच भई फिल्डबुक, नक्सा र स्रेस्ता पुर्जा तयार भई हालसम्म पनि मालपोत कार्यालय नुवाकोटको अभिलेखमा अध्यावधिक रहेको अवस्थालाई कानुनसम्मत भएको होइन भन्न मिल्ने वा नमिल्ने?

८. जग्गा नापजाँच ऐन २०१९ बमोजिम जग्गाधनी कानुनी व्यक्ति गौरीशंकर फार्मिङ प्रालि (संशोधित अन्नपूर्ण फार्मिङ प्रालि) र सञ्चालक प्राकृतिक व्यक्ति (सञ्चालक÷सेयरवाला) को स्थानमा ऐऐ रहेको र प्रालिले प्रचलित नेपाल कानुनबमोजिम जोजे गर्ने उद्देश्य राखेको हो सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएबमोजिम भइआएको सन्दर्भलाई हाल अन्यथा बोल्न मिल्ने वा नमिल्ने?

९. आफू जीवित हुँदै राजा र राजपरिवारका सदस्यहरू जसले संविधानतः विशेषधिकार पाएको सम्पत्ति प्राप्त गर्न र हक हस्तान्तरण गरेको विषय’ संवत् २०५२ मा हेलेन शाह र जयन्ती शाहका नाममा रहेको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी प्रधान र सोहिनी श्रेष्ठसमेत चार जनाका नाममा हस्तान्तरण भएको विषयलाई कानुनतः अन्यथा भन्न मिल्ने वा नमिल्ने?

१०. प्रचलित नेपाल कानुनबमोजिम सरकारी निकायको निर्णायानुसार नै सम्पूर्ण कामकारबाही भएको साबिकको जग्गाधनी गौरीशंकर प्रालि हाल अन्नपूर्ण फार्मिङ प्रालि हुनु सञ्चालक÷सेयर सदस्यहरू (व्यक्ति) कानुनबमोजिम नै रहेको हुँदा कानुनी व्यक्तिका हकमा कानुनी व्यक्ति नै रहेको र प्राकृतिक व्यक्तिका हकमा प्राकृतिक व्यक्ति नै कायम रहेको अवस्थामा यसलाई कानुनबमोजिम भएको होइन भन्न मिल्ने वा नमल्ने?

११. बहादुर शमशेर जबराकी नातिनी नरशम्शेर जबराकी छोरी श्री ५ महाराजाधिराज त्रिभुवन वीरविक्रम शाहदेवका छोराबुहारी श्री ५ अधिराजकुमार बसुन्धरा वीरविक्रम शाहदेवको महारानी श्री ५ अधिराजकुमारी हेलेन शाह हुन् भन्ने देखियो। हेलेन शाह संविधानतः विशेषधिकार पाएको व्यक्ति हुन् वा होइनन्? राजा र राजपरिवारको सदस्य हुन् वा होइनन्? निजहरूका नाउँमा रहेको स्थायी सम्पत्ति सम्बन्धमा भूमिसम्बन्धी ऐन २०२१ आकर्षित हुन्छ वा हुँदैन। यदि सर्वसाधारण व्यक्तिसरह हुन् भने नेपाल ट्रस्ट ऐन २०६४ बमोजिम नेपाल ट्रस्टमा निजहरूको सम्पत्ति किन ल्याइएन।

१२. आफू जीवित छँदै राजा र राजपरिवारका सदस्य जसले संविधानतः विशेषाधिकार पाएको स्थायी सम्पत्ति प्राप्त गर्न र हक हस्तान्तरण गरेको विषय कानुनतः के हुन्छ?

१३. यस्तै प्रकारको मुद्दाको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त के रहेको छ?

१४ मुद्दाको विषयमा प्रतिवादी जिकिरअनुसार नेपालको संविधानको धारा २५ बमोजिम संविधानको प्रस्तावना र मौलिक हकबाट संरक्षित छ भन्ने प्रत्युत्तरमा जिकिर गरेको देखिँदा के कुन आधार र कानुनी व्यवस्थाले सो प्रतिवादी जिकिर होइन भन्न मिल्ने हो?

१५. मालपोत कार्यालय नुवाकोटको विं.सं. २०८१/११/०५ को आदेशबमोजिम संक्षिप्त कार्यविधि ऐन २०२८ को दफा ७ अनुसूची–३ बमोजिम मिति २०८१/११/०९ मा जारी म्याद सूचनालाई प्रतिवादीले मिति २०८१/११/२६ मा म्याद बुझी पत्र प्राप्त भएको मितिले बाटाका म्यादबाहेक सात दिनभित्र जारी भएको इतलायनामा म्याद सूचनाबमोजिम यस मालपोत कर्यालय नुवाकोटमा प्रतिवादीले प्रत्युत्तरपत्रसहित मिति २०८१/१२/०१ मा म्यादभित्रै पेस गरेको प्रत्युत्तरपत्रमा विभिन्न २१ वटा प्रकरणमा दाबी जिकिर लिइएको विषयहरूलाई न्यायिक निरूपण नै नगरी साबिक गौरीशंकर फार्मिङ प्रालि (हाल कायम रहेको अन्नपूर्ण फार्मिङ प्रालि) का नाउँमा जग्गाधनी दर्ता स्रेस्ता कायम रहेको कार्यालयको अभिलेख भिडान गर्दा सोहीबमोजिम नै रहेको देखिएकोलाई विवादित भनिएको कित्ता जग्गाहरू सरकारीकरण गर्न मिल्ने वा नमिल्ने?
अर्को समाचार
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
२७ मिनेट अघि
•
१ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।




पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।

सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।

यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।

लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।

राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।

प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।

राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।

शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ सेकेन्ड अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस