निर्वाचन सुरक्षा: सरकारको तयारी चुस्त, दलहरू सुस्त
०७ पौष २०८२
•
६ मिनेट पाठ
निर्वाचन सुरक्षा: सरकारको तयारी चुस्त, दलहरू सुस्त
सरकारले तोकिएको समयमै निर्वाचन गर्न पाँच वटा प्रदेशमा सुरक्षा गोष्ठी गरिरहेको छ। मंसिर ९ गतेबाट सुरु सुरक्षा गोष्ठी अहिले पनि जारी छ। प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को निर्वाचनलाई ध्यानमा राखिएको र वातावरण पनि बन्दै गएको बताएकी छन्।




सरकारले जेनजी आन्दोलनका क्रममा लुटिएका एक हजार तीन सय ४२ थानमध्ये अधिकांश हतियार बरामद गरिएको र आन्दोलनका क्रममा क्षतिग्रस्त चार सय ६५ वटा प्रहरी कार्यालयलाई पुनः सञ्चालनमा ल्याइएको र चुनावी प्रयोजनका लागि निर्वाचन आयोगलाई ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको जनाएको छ।

निर्वाचन मिति घोषणापछि पनि आठ लाख ३७ हजार नयाँ युवाको मताधिकार सुनिश्चित गरिएको सरकारको दाबी छ। मुलुकका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले भने निर्वाचनका लागि भन्दा पनि संसद् पुनःस्थापना हुनुपर्ने भन्दै आएका छन्। 

ती दुई दलले सांसदको हस्ताक्षर गरेर संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा बुझाउने तयारी गरेका छन्। अन्य दलहरूले पनि चुनावी माहोल खडा गर्न सकेका छैनन्। नयाँ खुलेका केही दल देशव्यापी रूपमा सम्बोधन गर्दै हिँडेका छन्। एकता सभा गर्दै हिँडेको नेपाली कम्युनिस्ट पार्टीले पनि चुनावी माहोल बनाउन सकेको छैन।

दलहरूमा सुस्तता देखिए पनि सरकार भने धेरै अघि बढिसकेको छ। निर्वाचनका लागि सरकारले सुरक्षा योजना बनाउने, सुरक्षा अंगहरूमा निर्वाचन सेल गठन गर्ने, क्षेत्रीय सुरक्षा गोष्ठी आयोजना गर्नेजस्ता कार्यलाई तीव्रता दिइरहेको मात्र होइन, फागुन २१ मा तोकिएको निर्वाचन सुरक्षार्थ एक लाख ४० हजार ‘निर्वाचन प्रहरी’ भर्ना गर्न नेपाल प्रहरीले गृह मन्त्रालयमा प्रस्ताव पेस गरेको छ।

यो संख्या २०७९ सालको निर्वाचनको भन्दा धेरै हो। त्यतिबेला एक लाख ३६ हजार ‘म्यादी प्रहरी’ भर्ना गरिएको थियो। अहिले नाम रूपान्तरण गरेर ‘निर्वाचन प्रहरी’का रूपमा भर्ना गर्न प्रस्ताव गरिएको हो। यसपटक सुरक्षा चुनौती बढेको र मतदान केन्द्र पनि थपिने भएकाले प्रहरीको संख्या थप्नुपर्ने सरकारको निष्कर्ष छ।

निर्वाचनका लागि बनेको एकीकृत सुरक्षा योजना २०८२ बमोजिम नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको सुरक्षा अंगसँग समन्वयकारी भूमिकामा नेपाली सेना रहने तयारी गरिएको जनाइएको छ। आमजनसमुदायसमक्षसमेत समन्वयकारी भूमिका निर्वाह गरी निर्वाचनलाई भयरहित बनाउन सुरक्षा प्रदान गर्ने तयारी गरिरहेको नेपाली सेनाले जनाएको छ।

सेनाले दिएको जानकारी अनुसार तल्लो तहसम्म सुरक्षा योजना जानकारी दिने कामहरू भइरहेका छन्। निर्वाचनका बेला तेस्रो घेरामा बसेर सुरक्षा प्रदान गर्ने र सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सुरक्षा दिइरहेका महत्त्वपूर्ण प्रतिष्ठानहरूको सुरक्षा जिम्मा लिने काममा पनि सेना खटिनेछ। 

मतपत्र छपाइ, मतपेटिका ढुवानीमा पनि सुरक्षा प्रदान गर्ने गरी पनि सेना अघि बढिसकेको छ। ‘निर्वाचनका लागि बनेको एकीकृत सुरक्षा योजना २०८२ बमोजिम नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको सुरक्षा अंगसँग नेपाली सेना समन्वयकारी भूमिकामा रहन्छ। साथै आम जनसमुदायसमक्ष समन्वयकारी भूमिका निर्वाह गरी निर्वाचनलाई भयरहित बनाउन सुरक्षा प्रदान गर्न सेना तयारी अवस्थामा छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने।

नेपाल प्रहरीले पनि विगतमा भएका निर्वाचनको अनुभव र सिकाइसमेतका आधारमा मजबुत सुरक्षा व्यवस्था गर्न ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२’ अनुसार अघि बढेको जनाएको छ। ‘निर्वाचन आयोगबाट प्राप्त निर्णयहरूसमेतलाई आत्मसात् गरी उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरी दृढ संकल्पित छ’, नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले भने।

उनका अनुसार निर्वाचनमा नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण हुने भएकाले निर्वाचन लक्षित गस्तीलाई थप प्रभावकारी र पहुँचलाई व्यापक बनाइएको छ। हालसम्म लामो दुरीको गस्ती एक हजार एक सय ३६ पटक र सानो दुरीको गस्ती तीन लाख ८९ हजार नौ सय ६० पटक गरिएको छ। यी गस्तीमा १३ लाख ४६ हजार तीन सय २८ जनशक्ति परिचालित गरिएको छ। निर्वाचनको विषयलाई लिएर हुन सक्ने तोडफोड, आगजनीजस्ता क्रियाकलाप नियन्त्रण गर्न दिनानुदिन प्रहरीले गस्तीलाई अझ प्रभावकारी रूपमा वृद्धि गर्दै लगेको प्रहरीले जनाएको छ।

‘निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन प्रहरीले नियमित गस्तीका साथै सूचना संकलन, खतरा मूल्यांकनसहितको विश्लेषण तथा प्रवाहलाई प्रभावकारी बनाउने कार्य गरिरहेको छ। सीमा क्षेत्रमा हुने घुसपैठ र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नियमित अनुगमनमा प्रभावकारी रूपमा प्रहरी परिचालन गरिएको छ,’ डिआइजी काफ्लेले भने, ‘उम्मेदवार, मतदाता, राजनीतिक दलका नेता, महत्वपूर्ण व्यक्ति, निर्वाचन पर्यवेक्षक, सञ्चारकर्मी, चुनाव प्रचारप्रसार र विजय जुलुसको सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरिएको छ। निर्वाचन आयोग र पदाधिकारी, निर्वाचनमा खटिने कर्मचारी, राजनीतिक दलका कार्यालय, मतदानस्थल, निर्वाचन तथा मतदान सामग्री, मतपत्र छपाइ, मतपेटिका ढुवानी, मतगणनास्थल लगायतको सुरक्षा व्यवस्थापनमा समेत थप संवेदनशील भई आवश्यक रणनीतिहरू तयार गरिएका छन्।’

प्रहरीले उम्मेदवारको सुरक्षा सुनिश्चितता, सामाजिक सञ्जालहरूको दुरुपयोगबाट उत्पन्न हुन सक्ने प्रतिकूल अवस्थाको नियन्त्रण, देशभर स्वतन्त्र उम्मेदवारका नाममा राजनीतिक दल प्रमुख, उम्मेदवारहरूविरुद्धमा उत्पन्न हुन सक्ने गतिविधि नियन्त्रणमा समेत सक्रिय रूपमा अगाडि बढिरहेको जनाएको छ।

आन्दोलनका क्रममा लुटिएका तथा हराएका हतियारलगायत सामग्रीबाट हुन सक्ने सम्भावित खतरालाई निस्तेज गर्न त्यस्ता हतियारको पहिचान र बरामद गर्न नेपाल प्रहरीले विशेष टोली बनाई परिचालन गरेको जनाएको छ। ‘आन्दोलनका क्रममा लुटिएका तथा हराएका हतियार बरामदका साथै कारागारबाट फरार कैदीबन्दी एवं हिरासतबाट फरार थुनुवाहरूलाई पक्राउ गर्न प्रहरीले सात वटै प्रदेशमा विशेष अभियान सञ्चालन गरेको छ। निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गराउने क्रममा देखा पर्न सक्ने सम्भावित चुनौतीहरूको पहिचान र त्यस्ता चुनौतीहरूको सामना गर्न प्रहरी कटिबद्ध छ।’

निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन आवश्यक तयारीका निमित्त नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीको अध्यक्षतामा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ।

यसैगरी सशस्त्र प्रहरी बल नेपालले पनि निर्वाचन सुरक्षाका लागि तयारी पूरा गर्दै लगेको जनाएको छ। सशस्त्र प्रहरीले सीमा नाकामा हुने चोरी–तस्करी नियन्त्रण गर्नुका साथै निर्वाचनका लागि विशेष युनिट नै बनाएर परिचालित भएको बताएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डिइआइजी मनीष थापाले निर्वाचन लक्षित धेरै काम भइसकेको र भइरहेको बताए। ‘सशस्त्र प्रहरीले निर्वाचन सेल गठन गरिसकेको छ।

केन्द्रदेखि गुल्मसम्म सबै युनिटमा निर्वाचन लक्षित प्रशिक्षण दिइएको छ। सरकारले बनाएको एकीकृत सुरक्षा योजना २०८२ अनुसार नै सशस्त्र प्रहरीले सबै तयारी गरेको छ। निर्वाचनलाई सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था तयारी हालतमा छ,’ सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी मनीष थापाले भने।

नेपाली सेना र नेपाल प्रहरीले पनि यो विषयमा समन्वय गरिरहेका कारण सशस्त्र प्रहरीलाई आइपरेको जिम्मेवारीअनुसार नै खटिने पनि डिआइजी थापाले बताए।
अर्को समाचार
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
२ मिनेट अघि
•
१ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
इटहरी । गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्। उनले आगामी मंसिर १७ गते विवाह गर्न लागेको सार्वजनिक गर्दै विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्पन्न गर्ने बताएका छन्।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पहिलोपटक आफ्नो समुदायका माझ विवाहको कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए। उनले आफ्नो विवाहमा गुरुङ समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई प्राथमिकता दिने स्पष्ट पारे।
‘मंसिर १७ गते मैले विवाह गर्ने भएको छु। आफ्नो समुदायका माझ पहिलोपटक यो कुरा सार्वजनिक गर्न पाउँदा मलाई एकदमै खुसी र गर्व लागेको छ,’ उनले भने, ‘मेरो विवाह पनि एकदमै गुरुङ परम्पराअनुसार गर्ने सोच बनाएको छु।’
गुरुङले विवाहका लागि गोरखा रोज्नुको कारण आफ्नो पुर्खाको इतिहास, समुदायको पहिचान र मौलिक संस्कृति जोगाउने उद्देश्य रहेको बताए। आफूले अहिले आफ्नो खुसीका लागि मात्रै नभई आगामी पुस्तालाई आफ्नो इतिहास र पहिचान हस्तान्तरण गर्न पनि परम्परागत शैलीमा विवाह गर्न लागेको उनको भनाइ छ।
‘आफ्नो समुदाय, समाज, इतिहास, पुर्खा र गाउँठाउँ बिर्सेर अर्काको संस्कृति अपनाउँदै नयाँ शैलीमा विवाह गर्न मलाई मन छैन। आफ्नो देशको इतिहास, परम्परा, भेषभूषा र जातीय पहिचान जोगाउनका लागि गोरखा रोजेको हुँ,’ उनले भने।
उनले विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउने सामाजिक प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। ऋण लिएर भए पनि भव्य भोजभतेर र तामझाम गर्नुपर्ने मानसिकता गलत भएको उनको धारणा छ।
‘विवाह भनेको एकअर्काका लागि हो, अरूका लागि होइन। दुःख–सुखमा साथ दिने भनेको श्रीमान्–श्रीमती र आफ्नो परिवार हो। त्यसैले विवाहमा अनावश्यक खर्च र तामझाम गर्नुपर्छ भन्ने मलाई लाग्दैन,’ उनले भने।
गृहमन्त्री गुरुङले आफ्नो विवाहमा सीमित व्यक्तिहरू मात्रै सहभागी हुने जानकारी दिँदै सबैलाई निमन्त्रणा गर्न नसक्ने पनि बताए। पार्टी प्यालेसमा भव्य समारोह गर्न सकिने अवस्था भए पनि त्यसो नगरी परम्परागत शैलीमा विवाह गर्ने आफ्नो र हुनेवाला श्रीमती दुवैको इच्छा रहेको उनले सुनाए।
उनले गोरखाको उक्त स्थानलाई भविष्यमा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावनासमेत औँल्याए। आफ्नो विवाहले गाउँघरका होमस्टे, स्थानीय कला–संस्कृति र हिमाली पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने चाहना रहेको उनको भनाइ थियो।
‘गृहमन्त्री भएको समयमा पार्टी प्यालेसमा गएर आफ्नो खुसीका लागि मात्रै विवाह गर्न सकिन्थ्यो होला। तर, आफ्नो समुदाय र गाउँठाउँको पहिचान पनि जोगिनुपर्छ। त्यो ठाउँमा पर्यटक आउने वातावरण बनोस्, पर्यटन र वेडिङ डेस्टिनेसनका रूपमा विकास होस् भन्ने मेरो चाहना छ,’ उनले भने।
विवाहमा सरकारका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी हुने अपेक्षा गरिएको उनले बताए। यद्यपि, समारोहलाई निकै सीमित र सामान्य बनाउने उनको योजना छ।
सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा गुरुङ समुदायले पुर्‍याएको योगदान पनि स्मरण गरे। आफू सामान्य नागरिक हुँदादेखि नै समुदायले साथ र हौसला दिएको भन्दै उनले देश तथा विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायप्रति आभार व्यक्त गरे।
उनले विगतमा काठमाडौंको घोपा आन्दोलनका क्रममा पूर्वी नेपालले दिएको साथ कहिल्यै बिर्सन नसक्ने बताए। सात महिनासम्म चलेको आन्दोलनमा पूर्वका नागरिकले निरन्तर साथ दिएको स्मरण गर्दै उनले पूर्वी क्षेत्र आफ्नो मनमा विशेष स्थानमा रहेको उल्लेख गरे।
आफू अप्ठ्यारोमा पर्दा विभिन्न आरोप र आलोचनाबीच पनि गुरुङ समुदायले साथ दिएको उनको भनाइ थियो। उनले आफ्नो समुदायले सिकाएको देशप्रेमको पाठलाई आगामी पुस्ताले पनि आत्मसात् गर्नुपर्ने बताए।
‘आफ्नो पार्टीको झन्डाभन्दा देश माथि छ भन्ने पाठ हाम्रो समाजले सिकाएको छ। मेरो कठिन समयमा साथ दिने सम्पूर्ण गुरुङ समाजप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु,’ उनले भने।
गृहमन्त्री गुरुङले देशमा सुशासन र समृद्धिका लागि सरकार आवश्यक परे जुनसुकै हदसम्म जान तयार रहेको पनि बताए। नागरिकको सुरक्षा र देशको हितका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने, ‘नागरिकको सुरक्षाका लागि सुधन गुरुङ तयार छ।’


तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस