नेकपा (माओवादी केन्द्र) भित्र अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबिचको विवादलाई आन्तरिक लोकतन्त्रको अभ्यासको रूपमा अथ्र्याउन थालिएको छ।
शर्माले कुपोण्डोलस्थित सम्पर्क कार्यालयमा बसेर दाहालसँग नेतृत्वको बहस गरिरहँदा यसलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा अथ्र्याउन थालिएको हो।
शर्माले जनवर्गीय संगठनमार्फत तथा आफैं पनि पार्टी हेडक्वार्टरलाई चुनौती दिइरहेका छन्। नेतृत्व परिवर्तन र वाम आन्दोलनलाई एकताबद्ध बनाउने गरी शर्माले पार्टी हेडक्वार्टरलाई दिएको चुनौतीले दाहाललाई अप्ठेरोमा पारेको छ।
यसले गर्दा कुनै न कुनै सन्दर्भमा अध्यक्ष दाहालले शर्माको अन्तरसंघर्षले पार्टी धराशयी बनाउन खोजेको आरोप लगाउँदै आएका छन्। गत वर्ष (२०८१ साउनमा) पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेस गरेदेखि नै दाहाललाई अप्ठेरो पर्दै आएको छ।
शर्माले त्यतिबेला दाहाललाई सम्मानजनक बहिर्गमनको आग्रह गरेका थिए। दाहालले अहिलेसम्म पुर्याएको योगदान स्थापित गर्न र पार्टी निर्माणका निम्ति नेतृत्व परिवर्तन आवश्यक रहेको शर्माको प्रस्तावमा उल्लेख थियो। यही प्रस्ताव नै दाहालका लागि चुनौतीको पहाड बनेको छ।
यस्तो विषयले लामो रूप लिन थालेपछि केही दिनअघि दाहालले संगठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका थिए।
पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पार्टीभित्र उठेका विभिन्न बहस, संठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखेर आत्मसमीक्षा गर्न निर्देशन दिएको पार्टीका एक नेताले जानकारी दिए।
‘पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको छ तर यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि हुन सक्दैन। दसैंपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर प्रत्यक्ष संवाद गर्नेछु,’ दाहालले भनेका थिए।
पछिल्लो समय अध्यक्ष दाहाल र उपमहासचिव शर्माबिच अन्तरसंघर्ष चलिरहेका बेला दाहालले आफ्नो पार्टीमा कार्यकर्ताले देखेको कुरा प्रस्ट रूपमा राख्ने अवसर पाउने गरेको बताएका थिए।
‘हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो, जहाँ कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न सक्ने अवसर पाउँछन्। पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ,’ दाहालले भनेका थिए।
दाहाल–शर्माबिचको अन्तरसंघर्षलाई पार्टीका नेताहरूले स्वाभाविक प्रक्रियाका रूपमा लिएका छन्। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य महेश्वर दाहालले कम्युनिस्ट पार्टीमा लोकतन्त्रको अभ्यास र परिपाटी असहज र अपच भएजस्तो देखिएको बताए।
‘यही विषय कांग्रेसमा आयो भने सहज देखिन्छ। एमाले र माओवादीका विवाद आउँदा पार्टी नै विभाजनमा पुग्यो भन्न थालिन्छ,’ पोलिटब्युरो सदस्य दाहालले भने।
उनले एमाले, कांग्रेस र माओवादीभित्र यस्ता अन्तरसंघर्ष हुनु स्वाभाविक रहेको बताएछन्। ‘यस्ता विवादहरू आउँछन् कार्यकर्ताले स्वभाविक रूपमा लिएका बेला नेतृत्वको अडेस लागेर बस्नेहरूले चियाको कपमा तुफान ल्याउने काम गर्छन्, जुन गलत छ,’ पोलिटब्युरो सदस्य दाहालको भनाइ थियो।
पार्टीका केन्द्रीय सदस्य एवं सांसद माधव सापकोटाले आन्तरिक लोकतन्त्र माओवादी केन्द्रभित्र बलियो रहेको बताए। ‘अन्य पार्टीहरूले आफ्ना कुरा राखेबापत सामाजिक सञ्जालमा लेखेबापत कारबाही गरेका छन्। हाम्रो पार्टीमा प्रभाकरले खुलमखुला बाहिर अभिव्यक्ति दिनुभएको छ,’ सापकोटाले भने।
उनका अनुसार पदाधिकारीहरूले पार्टीभित्र राख्नुपर्ने विषयहरू बाहिर ल्याउनु जायज होइन। ‘उहाँले भित्र गर्नुपर्ने कुरा बाहिर गर्नुभएको छ। उहाँ पदाधिकारी हो, पार्टीभित्र बहस गर्न नसके आफ्ना कुरा दर्ज गर्ने तर बाहिर भन्ने होइन तैपनि उहाँलाई त्यो छुट रहेको देखिन्छ। यसले गर्दा माओवादी केन्द्रभित्र आन्तरिक जनवाद बलियो छ। अनुशासनका नाममा कसैलाई पनि कारबाही गरिएको छैन,’ सापकोटाले भने।
गत साउनमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्मा पक्षमा केही नेता खुलेका थिए। अध्यक्ष दाहालको कार्यशैली र भावी नेतृत्वबारे मुखर रूपमा बोल्दै आएका उपमहासचिव शर्माले जस्तै धारणा ती नेताहरूले पनि राखेका थिए। त्यो बैठकमा शर्मालाई आत्मालोचना गर्न दबाब दिइएको थियो। तर शर्माले दाहालले पनि आत्मालोचना गर्नुपर्ने भन्दै अडान राखेका थिए।
स्थायी कमिटी बैठकमा शर्माको पक्षबाट बोल्ने नेताहरूले बाहिर बोल्नेभन्दा भित्र बोलेर आलोचनामा भन्दा अतिभूतवादी प्रशंसाले बढी नोक्सान पुर्याउने बताएका थिए। उनीहरूले अध्यक्षको प्रशंसा पनि माक्र्सवादसम्मत नभएको बताउँदै अप्रिय भए पनि नेतृत्व परिवर्तन अपरिहार्य नभएको बताएका थिए।
दुई लाइन संघर्ष अप्रिय भए पनि योबिना पार्टी बाँच्दैन भनेर माओले समेत भनेको उल्लेख गर्दै दाहाल स्वस्थ हुँदै नेतृत्व हस्तान्तरण गर्नुपर्ने र उनले विशिष्ट पद लिएर बस्नुपर्ने धारणा उनीहरूले राखेपछि अहिले दाहाल–शर्माको विवाद उत्कर्षमा पुगेको छ। त्यहीबेला माओवादी केन्द्रका विशेष महाधिवेशनको बहस पनि जोडतोडले उठेको थियो। यद्यपि अध्यक्ष दाहालले दुई वर्षअघि नै विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेका छन्।
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।
कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।
राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।
उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।
उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...