कांग्रेसमा विवाद: निर्वाचन पराजयको जिम्मेवारी कस्को ? (Hold)
२८ फागुन २०८२
•
६ मिनेट पाठ
कांग्रेसमा विवाद: निर्वाचन पराजयको जिम्मेवारी कस्को ? (Hold)
‘निर्वाचनको जिम्मेवारी कसले लिने भन्नेबारेको प्रश्न सकियो होला, तर हामीले उठाएको सैद्धान्तिक पक्षको विमर्श सकिएको छैन। यो बहस महासमिति बैठकसम्म पुग्छ।’ नेपाली कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य एवं वर्तमान सभापति गगनकुमार थापाले २०७५ वैशाख १७ गते व्यक्त गरेको धारणा हो यो।




२०७४ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको समीक्षा गर्न चैत ९ गतेदेखि सुरु भएको केन्द्रीय समितिको वैशाख १७ गतेको बैठकले हारको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णय गरेको थियो।

थापाका साथै कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायतका नेताहरूले निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी सभापति शेरबहादुर देउवा र पदाधिकारीले लिनुपर्ने अडान बैठकमा राखेका थिए।

तर, केन्द्रीय समितिको बैठकले निर्वाचन हार्नुमा वाम गठबन्धन र मधेसमा मधेसकेन्द्रित दलको गठबन्धनलाई प्रमुख कारण मानेको थियो।

भारतले लगाएको नाकाबन्दीबाट पीडित नागरिकको मत वाम गठबन्धनले लिनुलगायतका विषयलाई केन्द्रीय समितिले पराजयको कारण मान्दै सभापति र पदाधिकारी मात्र नभएर त्यसको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णय बैठकले गरेको थियो।

तर, थापासहितका नेताहरूले त्यसको नैतिक जिम्मेवारी सभापतिसहितका पदाधिकारीले लिनुपर्ने अडान राख्दै त्यसलाई पार्टीको महासमिति बैठकमा लैजाने बताएका थिए।

त्यसको दश वर्ष बित्न नपाउँदै उनै थापामाथि अहिले त्यही नैतिकताको प्रश्न उठेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस नराम्ररी पराजित हुन पुगेको छ।

तत्कालीन सभापति शेरबहादुर देउवाको अनुहार र हस्ताक्षर लिएर निर्वाचनमा जान नसकिने जनाउँदै थापासहितका नेताहरूले पुसको अन्तिम साता एकपक्षीय विशेष महाधिवेशन गरेका थिए।

उनकै नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिले ‘कांग्रेस बदलियो, अब देश बदलिन्छ’ भन्ने नारासहित निर्वाचनमा होमिएको थियो। तर, निर्वाचन परिणाम कांग्रेसको प्रतिकूल आएको छ। झन्डै पाँच वर्षअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ नजिक पुगेको छ।

आठ दशकदेखि नेपालको राजनीतिक परिवर्तनको अगुवाइ गर्दै आएको कांग्रेस इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ।

सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १८ क्षेत्रमा मात्र परिणाम आफ्नो पक्षमा पार्न सकेको छ। निर्वाचन आयोगले बिहीबार साँझ दिएको जानकारी अनुसार कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १ सय ७२ मत पाएको छ।

२०७४ मा भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रले चुनावी तालमेल गर्दा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ क्षेत्रको परिणाम मात्र आफ्नो पक्षमा पारेको थियो।

समानुपातिकतर्फ कांग्रेसले ३२.७७ प्रतिशत अर्थात् ३४ लाखभन्दा बढी मत पाएको थियो। सम्पन्न निर्वाचनमा त्यतिबेलाको भन्दा प्रत्यक्षतर्फ मात्र होइन, समानुपातिकतर्फको मत पनि झन्डै आधा घटेको छ।

हुन त कांग्रेसले २०७९ को निर्वाचनमा अघिल्लोभन्दा सात लाख ५४ हजार मत गुमाउँदै २७ लाख १५ हजार २ सय २५ (२५.७१ प्रतिशत) मतसहित ८९ सिटका साथ प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बन्न पुगेको थियो।

तर अहिले सभापति थापासहित बहुसंख्यक नेताहरू निर्वाचनमा पराजित भएका छन्। त्यससँगै थापामाथि नैतिकताको प्रश्न मात्र उठेको छैन, विशेष महाधिवेशनको औचित्यसमेत समाप्त भएको असन्तुष्ट पक्षले जिकिर गर्दै आएका छन्।

जनताको म्यान्डेटलाई स्वीकार गरेर अघि बढ्ने जनाउँदै कांग्रेस राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारहरूसँग भने, ‘विशेष महाधिवेशनको औचित्य समाप्त भएको छ। सभापतिले नैतिकताका आधारमा राजीनामा गर्नुपर्दछ।’

थापाले उपसभापति विश्वप्रकाश शर्मासँग भेटी आफू सभापतिबाट राजीनामा गर्ने मनस्थितिमा रहेको जानकारी गराएको सूचना निकट स्रोतबाट बाहिरिएको थियो। तर, निर्वाचनमा पार्टीको हारका विषयमा कांग्रेस र त्यसका सभापति थापाले अहिलेसम्म औपचारिक धारणा बाहिर ल्याएका छैनन्।

विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित कांग्रेस नेता तथा कार्यकर्ता अहिले थापाको आलोचना र बचाउमा जुटेका छन्। देश र जनतालाई भन्दा आफू र आफ्नालाई केन्द्रमा राख्दा देशभित्र युवा र पाका पुस्ता मात्र होइन, वयस्कहरूको पनि साथ र समर्थन गुमाएको कांग्रेसले अब कसरी उनीहरूसँग जोडिने भन्नेमा ध्यान दिएको देखिँदैन।

पार्टीभित्र गुट र व्यक्तिगत स्वार्थलाई नै अहिले पनि केन्द्रमा राखेका कांग्रेसका नेता तथा कार्यकर्ता जनतासँग जोडिएर होइन, विगतमा जस्तै पछिल्लो निर्वाचनबाट जनअनुमोदित रास्वपामा विवाद र विग्रहको प्रतीक्षामा देखिएका छन्।

२०१५ र २०४८ सालको निर्वाचन बाहेक सधैं अन्य दलको विग्रह र विवादको लाभ उठाउँदै कांग्रेसले सत्ता र निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्दै आएको छ।

२०४८ सालको आम निर्वाचनमा जनताले कांग्रेसलाई बहुमत दिएका थिए। तर, आन्तरिक विवाद व्यवस्थापन गरेर सम्हालिन नसक्दा तीन वर्षमै देश मध्यावधि निर्वाचनमा गएको थियो। २०५१ मा भएको मध्यावधि निर्वाचनमा कांग्रेस दोस्रो दल बन्न पुग्यो।

तर, २०५४ सालमा एमाले विभाजन हुँदा २०५६ को आम निर्वाचनमा पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा अघि सारेको कांग्रेसले पुनः बहुमत पाएको थियो। फेरि सम्हालिन नसकेको कांग्रेस २०५९ मा विभाजित हुन पुग्यो।

राजाको प्रत्यक्ष शासनसहितका उतारचढावबीच २०६२–०६३ का आन्दोलनपछि २०६४ मा भएको संविधानसभा निर्वाचनमा कांग्रेस फेरि दोस्रो दलमा खुम्चन पुग्यो। हिंसात्मक आन्दोलन हुँदै शान्ति प्रक्रियामा आएको माओवादीले प्रत्यक्षतर्फ २४० मध्ये १२० सिट जित्दै पहिलो दल बन्न पुग्यो।

शासन–प्रशासनमा अनुभव नभएको माओवादी भारतसँग भएको विपा सम्झौतासहितका विषयमा विभाजित हुन पुग्यो। दुई वर्षका लागि भएको निर्वाचन अर्को दुई वर्ष थप्दा पनि बिना संविधान संविधानसभा विघटन हुन पुग्यो। र, २०७० मा भएको निर्वाचनमा कांग्रेस फेरि ठूलो दल बन्न पुग्यो।

कांग्रेस नेतृत्वमा २०७२ मा संविधानसभाबाट संविधान जारी भयो। नयाँ संविधान अनुसार २०७४ मा भएको पहिलो आम निर्वाचनमा एमाले र तत्कालीन माओवादी केन्द्रले चुनावी तालमेल गरे।

स्थिर सरकार र आर्थिक विकासको नारा दिएका उनीहरूलाई जनताले झन्डै अहिलेको रास्वपालाई जस्तै दुईदलीय गठबन्धनलाई दुईतिहाइ नजिकको अभिमत दिए।

तर, त्यसलाई सम्हाल्न नसक्दा पार्टी एकता प्रक्रिया पूरा नहुँदै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) — एमाले र माओवादी केन्द्र — विभाजित भएर तीन टुक्रा बन्न पुग्यो । त्यसको लाभ उठाउँदै सत्तारोहण गरेको कांग्रेस २०७९ को निर्वाचनमा चुनावी तालमेल गर्दै पहिलो दल बन्न पुग्यो । आफूलाई सुधार्ने भन्दा सत्ता र शक्तिको वरिपरि घुम्दा भदौ २३ र २४ गते भएको विद्रोहले शासनसत्ता गुमाउन पुगेको कांग्रेसले फागुन २१ गतेको निर्वाचनबाट जनमत पनि गुमाएको छ । तर, कांग्रेसका कतिपय नेताहरूको मानसिकता पार्टीलाई सुधार गरेर जाने र कमजोरी सच्याउनेभन्दा रास्वपाको विभाजन र विवादको पर्खाइमा रहेको देखिन्छ । पार्टीभित्रको बृहत् एकता र सुधार होइन, निर्वाचनमा पराजयको दोष एकले अर्कालाई लगाएर आफू पानीमाथिको ओभानो बन्न सक्रिय देखिन्छन् 
अर्को समाचार
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
२७ मिनेट अघि
•
१ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।




पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।

सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।

यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।

लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।

राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।

प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।

राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।

शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४० सेकेन्ड अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस