बलियो बालेन्द्र : चुनावपछि पनि थामिएन ‘लहर’
१० चैत्र २०८२
•
५ मिनेट पाठ
बलियो बालेन्द्र : चुनावपछि पनि थामिएन ‘लहर’
चुनाव सकिएको छ। मतगणना टुङ्गिएको छ। सरकार गठनको कसरत सुरु भइसकेको छ। तर, एउटा कुरा अझै समाप्त भएको छैन– ‘बालेन लहर’। बरु, त्यो झनै प्रस्ट, झनै प्रभावशाली र झनै गहिरो बनेर देखिएको छ।




चुनावी मैदानमा जम्माजम्मी २७ मिनेट मात्र सार्वजनिक मन्तव्य दिएका बालेन्द्र शाह अहिले मौन छन्। तर यो मौनता शून्य होइन, एक प्रकारको राजनीतिक भाष्य बनेको छ। उनका शब्दभन्दा बढी उनका सङ्केतहरू बोलिरहेका छन्। ती सङ्केतहरूले नै अहिलेको सत्ता–समीकरणलाई प्रभावित गरिरहेका छन्।

राजनीतिमा प्रायः लहरहरू चुनावसँगै उठ्छन् र परिणामसँगै हराउँछन्। तर यस पटकको ‘बालेन लहर’ त्यो सामान्य चक्रबाट बाहिर देखिएको छ। पराजित दलका नेतादेखि विजयी शक्तिका शीर्ष नेतासम्मले स्वीकार गरेको एउटा यथार्थ हो–यो चुनाव केवल दलहरूबिचको प्रतिस्पर्धा थिएन, यो एउटा ‘लहर’सँगको सङ्घर्ष थियो।

नेपाली कांग्रेसका नेता उदयशम्सेर राणाले भनेझैँ–‘हामीले रास्वपासँग होइन, बालेन लहरसँग चुनाव लडेका थियौँ।’ यो भनाइ सामान्य राजनीतिक प्रतिक्रिया मात्र होइन, हारको कारण खोज्ने क्रममा आएको एक गहिरो स्वीकारोक्ति हो। कुनै एक व्यक्तिको प्रभावले सिङ्गो देशभर चुनावी परिणामलाई प्रभावित पार्नु, नेपाली राजनीतिमा विरलै देखिएको परिघटना हो।

चुनावको नतिजा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिट जितेको छ। यो आँकडा आफैँमा ऐतिहासिक छ। तर अचम्म के छ भने, पार्टीको यस्तो विशाल सफलता हुँदाहुँदै पनि चर्चा पार्टीभन्दा बढी एक व्यक्तिको भइरहेको छ । ती हुन् बालेन्द्र शाह।  

यसले नेपाली राजनीतिमा ‘व्यक्तित्व बनाम पार्टी’को बहसलाई पुनः केन्द्रमा ल्याउने खालको छ। के रास्वपाको जित पार्टीको सङ्गठन, विचार र नीति कारण भएको हो? वा त्यो जित ‘बालेन’ नामक ब्रान्डको परिणाम हो?

यस प्रश्नको उत्तर सजिलो छैन। तर चुनावी अभियानको शैली, जनतासँगको प्रत्यक्ष संवादको कमी हुँदाहुँदै पनि देखिएको लोकप्रियता, र परम्परागत भाषण शैलीभन्दा फरक प्रस्तुति यी सबैले एउटा कुरा प्रस्ट पार्छन्– त्यो हो बालेनले परम्परागत राजनीतिक सूत्रहरू भत्काएका छन्।

उनले धेरै बोलेनन्, तर धेरै सुनिए। उनले भीडमा धेरै समय बिताएनन्, तर भीड उनको नाममा उर्लियो। यो ‘एण्टि–पोलिटिक्स’ शैली हो, जहाँ नेताले आफूलाई सामान्य राजनीतिज्ञभन्दा फरक रूपमा प्रस्तुत गर्छ।

चुनावपछि पनि बालेनको मौनता जारी छ। सांस्कृतिक पर्वमा दिएका एक दुई शुभकामना बाहेक उनी  सामाजिक सञ्जालमा पनि मौन छन्।  पार्टीका अन्तक्र्रिया कार्यक्रमहरूमा उनी अनुपस्थित छन्। सार्वजनिक अभिव्यक्ति कम छन्। तर यसको अर्थ उनी निष्क्रिय छन् भन्ने होइन। स्रोतहरूका अनुसार उनी नयाँ मन्त्रिपरिषद् गठनको गृहकार्यमा व्यस्त छन्।

यो मौनता धेरै कोणबाट विश्लेषण भइरहेको छ। केहीले यसलाई रणनीतिक मौनता मान्छन्। जहाँ नेता कम बोल्छ, तर निर्णयमा बलियो देखिन्छ। केहीले यसलाई व्यक्तित्वगत शैली मान्छन् । जहाँ उनी भीडभन्दा टाढा बसेर काम गर्न रुचाउँछन्।

तर राजनीतिक दृष्टिले हेर्दा, यो मौनताले उनको ‘मिस्टिक’ अर्थात् रहस्यमय छवि निर्माण गरेको छ। जनताले उनलाई बुझ्न खोजिरहेका छन्, र यही खोजीले उनको लोकप्रियता अझ बढाइरहेको छ।चुनावपछि सबैभन्दा चासोको विषय हो, सरकार गठनको प्रक्रिया। यसमा पनि  बालेनको प्रभाव स्पष्ट देखिएको छ।

प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेनले १६ मन्त्रालयको प्रस्ताव अघि सारेका छन्। तर पार्टी सभापति रवि लामिछाने भने १८ मन्त्रालयकै पक्षमा छन्। यो मतभेद सामान्य देखिए पनि, यसको अर्थ गहिरो छ। पार्टीभित्र शक्ति सन्तुलन कसरी बन्दै छ भन्ने।

उपसभापति डीपी अर्यालजस्ता नेताहरू पनि अहिले रक्षात्मक अवस्थामा देखिएका छन्। गृहमन्त्रीको दाबेदार मानिएका उनी आफ्नै पद सुरक्षित गर्न सङ्घर्षरत छन्। बालेनका सहयोगी सुनिल लम्सालसँगको प्रतिस्पर्धामा उनी कमजोर देखिएका छन्।यो अवस्थाले देखाउँछ। बालेन केवल चुनाव जिताउने नेता मात्र होइनन्, उनी सत्ताको संरचना निर्माण गर्ने केन्द्रबिन्दु बन्दैछन्।

किन यस्तो भयो त ?,  विगतका दशकहरूमा जनतामा परम्परागत दलहरूप्रति निराशा बढ्दै गएको थियो। यी सबैले जनतामा ‘परिवर्तन’को खोजी बढाएको थियो।बालेनले यही मनोविज्ञानलाई समाते। उनले आफूलाई ‘व्यवस्थाभित्रको बाहिरी’ रूपमा प्रस्तुत गरे। उनी पूर्णतः बाहिरी पनि होइनन्, किनकि उनी प्रणालीभित्रै छन्। तर पूर्णतः परम्परागत पनि होइनन्।

‘हामीले सोचेका थियौ यो लहर काठमाडौँसम्म सीमित होला,’  राजेन्द्र महतो भन्छन्, ‘ तर गाउँ–गाउँमा, मधेसदेखि पहाडसम्म, बालेनको नामले हावा चलेको देखियो।’  अन्य  क्षेत्रका व्यक्तीको पनि यस्तै प्रतिक्रिया छ । ‘हामीले आफ्ना कार्यकर्तालाई मत हाल्न आग्रह ग¥यौँ, ’टिकापुरमा अशोक चौधरी भन्छन्, ‘तर उनीहरू आफैँ बालेनको नाममा प्रभावित भए ।’ यी भनाइहरूले देखाउँछ, यो केवल राजनीतिक लहर होइन, यो सामाजिक र मनोवैज्ञानिक परिवर्तनको सङ्केत हो।

सामान्यतया, चुनावमा पराजित पक्षले विजेताको आलोचना गर्छ। तर यस पटकको विशेषता के छ भने, विरोधीहरू पनि बालेनको प्रभावबाट प्रभावित देखिएका छन्।केहीले खुलेर प्रशंसा गरेका छन्, केहीले परोक्ष रूपमा स्वीकार गरेका छन्। तर एउटा कुरा साझा छ–कसैले पनि ‘बालेन लहर’लाई नकार्न सकेका छैनन्। यो अवस्था कुनै पनि लोकतन्त्रमा दुर्लभ हुन्छ।  

इतिहासले देखाउँछ, लहरहरू स्थायी हुँदैनन्। तिनीहरू समयसँगै कमजोर हुन्छन्। तर केही लहरहरू संस्थागत परिवर्तनमा परिणत हुन्छन्।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले जनमत कहिल्यै पनि एक ठाउँमा नबस्ने बताउँदै कसैले पनि घमण्ड गर्नु नहुने बताएका छन्। विगतका विजेताहरू वर्तमानमा कमजोर अवस्था रहेको देखाउँदै उनले यस्तो भनेका हुन्।

‘२०१६ सालमा नेपाली कांग्रेस दुई तिहाइमा थियो। २०४८ मा गिरिजाप्रसादले एकल सरकार गठन गर्नुभयो, आखिर पार्टी नै फुट्यो,’ नागरिकसँगको कुराकानीमा ज्ञवालीले भने, ‘त्यतिखेर पनि संसद् विघटन हुन पुग्यो। अर्को निर्वाचन भयो, अल्पमतको सरकार भयो। फेरि जनमत अर्कोतिर गयो।’ त्यस्तै २०६४ सालमा माओवादीले ६०१ मध्ये २२० सिट प्राप्त गर्ने माओवादीको अवस्था अहिले यस्तो भएको देखाउँदै उनले जनताको पक्षमा काम नगरे जनमत  फेरिने सुनाए।

यदि बालेनले आफ्नो लोकप्रियतालाई नीतिगत सुधार, प्रभावकारी शासन र पारदर्शितामा रूपान्तरण गर्न सके भने, यो लहर दीर्घकालीन परिवर्तनको आधार बन्न सक्छ। तर यदि यो केवल व्यक्तित्वमा सीमित रह्यो भने, समयसँगै यसको प्रभाव घट्न सक्छ।

आजको अवस्थामा हेर्दा, बालेन लहर केवल चुनावी घटना होइन । यो नेपाली राजनीतिको नयाँ अध्यायको सङ्केत हो। जहाँ  परम्परागत भाषणभन्दा मौनता प्रभावशाली छ।  सङ्गठनभन्दा व्यक्तित्व बलियो छ । र पुराना समीकरणभन्दा नयाँ प्रयोगहरू निर्णायक छन्।

चुनाव सकिएको छ, तर कथा सकिएको छैन। सायद यो त सुरुवात मात्र हो। एक यस्तो राजनीतिक यात्राको, जहाँ एउटा व्यक्तिले सिङ्गो प्रणालीलाई चुनौती दिएको छ। अब हेर्न बाँकी छ –यो लहर किनारामा पुगेर रोकिन्छ, वा सागरमा परिणत हुन्छ।
अर्को समाचार
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
२५ मिनेट अघि
•
१ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।




पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।

सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।

यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।

लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।

राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।

प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।

राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।

शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस